नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै « Khabarhub

नेताका छोराछोरी, सोसल मिडिया र भ्रष्टाचारको एजेन्डा बोकेर जेनजी पुस्ता सडकमा आउँदै

नेपो बेबी ट्रेण्ड : हाम्रो कर हाम्रा लागि, नेताका सन्तानका लागि होइन



काठमाडौं – सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको ओली सरकारले अब जेनजी पुस्ताको आन्दोलनको सामना गर्नुपर्ने भएको छ । टिकटकमार्फत स्वतः आन्दोलनको घोषणा गरेर सोमबारदेखि यो पुस्ता सडकमा आउन लागेको हो ।

सरकारले बेलैमा संयम अपनाएन भने नयाँ पुस्ताको स्वतस्फूर्त आन्दोलन वर्तमान सत्ताका लागि निकै महंगो पर्न सक्ने विश्लेषण हुन थालेको छ ।

सरकारले अहिले फेसबुक लगायत २६ सामाजिक सञ्जाल बन्द गरेको छ । सञ्जाल बन्द गरेर आफूविरुद्धका प्रश्नमा बन्देज लगाएको बेला टिकटकमा भने ‘नेपो बेबी ट्रेण्ड’ ले तहल्का मच्चाइरहेको छ । उनीहरुले नेताका छोराछोरीको जीवनशैलीदेखि पहिरनसम्म प्रश्न गरिरहेका छन् । टिकटकमा ‘करप्ट पोलिटियन चाइल्ड’ का हजारौं भिडियो बनेका छन् ।

‘मैले दिनरात काम गर्नुपर्छ, किनभने मैले नेताका छोराछोरीको आलिशान जीवनशैलीका लागि कर तिर्नुपर्छ ।’ त्यसैगरी ‘मेरो कर देश विकासका लागि, नेताको छोराछोरीको लक्जरियसका लागि होइन ।’ ‘नेताका सन्तान विदेशबाट गुचीको ब्याग लिएर फर्कन्छन्, जनताका छोराछोरी बाकसमा’ लगायतका नाराहरुसहित सोसल मिडिया संगिएका छन् ।

जेनजी पुस्ताले नेताका छोराछोरीको जीवनशैलीमाथि प्रश्न गरिरहेका छन् । जनताका छोराछोरी आजपनि सिटामोलको अभावमा बाँच्नुपरेको छ । दुर्गममा तुइनमा झुण्डिएर स्कुल हिँडेका सन्तान घर फर्किन्छ वा फर्किँदैन ठेगान छैन । पौष्टिक आहार, शिक्षा र स्वास्थ्यजस्ता आधाभूत आवश्यकता प्राप्त गरेका छैनन् । तर, नेताका छोराछोरीको जीवनशैली राजामहाराजाको सरह हुनु भनेको नागरिकको करको दुरुपयोग भएको जेनजीको ठम्याइ छ ।

जनताका छोराछोरीले वैदेशिक रोजगारमार्फत पठाएको रेट्यिान्सले देशको अर्थतन्त्र धानेको छ । तर, नेताका छोराछोरी विदेशमा लाखांै खर्च गरेर घुमिरहेका छन् र देशलाई ऋणमा डुबाएर उनीहरु मोजमस्तीको जीवनशैली बाँचिरहेका छन् भन्ने आरोप जेनजी पुस्ताको हो ।

उनीहरूले आफ्ना अभिभावक र आफूले तिरेको करमा भ्रष्टाचार गर्दै नेताहरूले आफ्ना सन्तानको जीवन सम्पन्न बनाएको भन्दै विशेषगरी रिडइट, इन्टाग्राम र टिकटकमा चलिरहेको प्रतिरोध आन्दोलन सामाजिक सञ्जालबाट सोमबार मैदानमा आउने घोषणा गरेका छन् ।

उनीहरूले भ्रष्टाचारको विरोध गर्दै सोमबार बिहान ९ बजे काठमाडौंमा विरोध प्रदर्शनको आह्वान गरेका छन् । साथै, देशका अन्य भागमा पनि सहभागी हुन आह्वान गरिएको छ । उता, स्वतस्फूर्त आन्दोलनको घोषणासँगै सरकारी अधिकारीहरु सुरक्षा विश्लेषणतिर लागेका छन् ।

मुख्य रुपमा सामाजिक सञ्जालमा विभिन्न नेताका छोराछोरीको विरोध भइरहेको छ ।

जयवीर सिंह

जयवीर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु देउवाका छोरा हुन् । उनी महिलाको स्वास्थ्य र आवश्यकतासँग जोडिएको सेनिटरी प्याड खरिदको विषयमा मुछिएको भन्दै सामाजिक सञ्जालमा आलोचनाको तारो बनेका छन् । त्यसैगरी उनलाई हिल्टन होटलसँग जोडेरसमेत विवादमा तानिएको छ ।

दुई वर्ष अगाडि विवाह गरेका जयवीर र उनकी श्रीमती शिवाना श्रेष्ठले मस्तीको जीवन बिताइरहेको आरोप जेनजी पुस्ताको छ । शेरबहादुर देउवा बारम्बार प्रधानमन्त्री भएकै कारणले छोरा र बुहारीको आलिशान जीवनशैली स्वभाविक हो रु जेनजीको प्रश्न छ ।

श्रृङखला खतिवडा

समाजवादी पार्टीका नेता विरोध खतिवडा र मुनु सिग्देलकी छोरी हुन् पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा । दुई वर्ष अगाडि सञ्चार उद्यमी सम्भव सिरोहियासँग विवाह बन्धनमा बाँधिएकी श्रृंखलाको जीवनशैलीमाथि पनि जेनजीले प्रश्न उठाएका छन् ।

कम्युनिष्ट नेताकी छोरी श्रृङखलाले एक अन्तर्वार्तामा आफ्नो बाल्यकाल निकै सानो घरमा बितेको बताएकी थिइन् । जम्मा तीन कोठाको घरमा उनले हाउसमेटसँग कोठा सेयर गरेर बसेको बताएकी थिइन् । प्रायः अन्तवार्तामा आफूलाई सामान्य रुपमा प्रस्तुत गरे पनि जेनजीले उनलाई प्रहार गरेका छन् ।

स्मिता दाहाल

स्मिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन् । परिवारका अधिकांश सदस्य राजनीतिमा भए पनि स्मिता अविछिन्न संगीत साधनामा छिन् । बालगीत हुँदै गायनमा लागेकी उनका पाँच दर्जन गीत रेकर्ड भएका छन् । तर, प्रचण्डकी नातिनी भएकैले उनले अवसरहरु पाएको जेनजी पुस्ताको गुनासो छ ।

जेनजीले स्मिता मात्रै नभएर प्रचण्डका छोराछोरी सबैको जीवनशैलीमाथि प्रश्न गरेका छन् । केही समय अगाडि मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरी र नातिनीहरुले लुइस भ्याटन, गुची जस्ता ब्राण्डका सामान लिने गरेको अन्तवार्तामा बताएका थिए । जसको मूल्य ३० देखि ४० लाख रुपैयाँसम्म पर्छ । जेनजी पुस्ताले प्रचण्डपुत्री गंगा दाहालको तस्बिर पनि सामाजिक सञ्जालमा हालिरहेका छन् ।

डा‍. एन्जिला बस्नेत

एमाले नेता महेश बस्नेतकी छोरी हुन् एन्जिला । गत वैशाखमा विवाह बन्धनमा बाँधिएकी छोरीको विवाहमा गरिएको खर्चलाई लिएर विरोध भएको थियो । भक्तपुरको गठ्ठाघरस्थित ‘जर्मन होम्स पार्टी भेन्यु’मा भएको विवाह समारोहले ६ घण्टा ट्राफिक जामसमेत भएको थियो ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, मन्त्रिपरिषदका सदस्यहरू, सुरक्षा निकायका उच्च अधिकारीहरू, पार्टी नेतागण तथा स्थानीय प्रभावशाली व्यक्तित्वसहित करिब ३ हजार पाहुनाको उपस्थिति रहेको थियो । जबकि कानूनले ५१ जनमात्रै जन्ती लान पाइने भनेको छ ।

एकता ढकाल

नेपाल परिवार दलका अध्यक्ष तथा नेकपा एमालेबाट समानुपातिक सांसद् बनेका पूर्वमन्त्री एकनाथ ढकालकी छोरी हुन्– एकता ढकाल । एकनाथका पाँच छोरीमध्ये जेनजी ट्रेण्डले एकताको जीवनशैलीमा माथि प्रश्न गरेको छन् । उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । एकता सानै उमेरदेखि व्यवसायमा जोडिएकी छन् । एकनाथ गोरखा बोर्लाङमा एक सामान्य परिवारमा जन्मिएका व्यक्ति हुन् ।

युनिभर्सल पिस फेडेरेसन नेपालको प्रमुख रहेका ढकालले प्रधानमन्त्री केपी ओलीलाई खुशी पारेर एमालेभित्रैका त्यागी नेताहरुलाई पछाडि सांसद पद हात पारेका छन् ।

विडम्बना के छ भने अहिले उनी आफूलाई परिवार दलको अध्यक्ष बताउँछन् तर एमालेको सांसद छन् । एउटै सांसद दुईवटा दलको प्रतिनिधि हुन नेपालको निर्वाचसम्बन्धी कानूनले दिँदैन । तर, विगतमा माधव नेपाल समेतलाई ओली वाइनको विवादमा तानेका ढकालले संसदमा एक व्यक्ति दुई पार्टीको भूमिका खेलिरहेका छन् । सामान्य परिवारमा जन्मेका उनी प्रायः विदेश भ्रमणमा डुलिरहन्छन् ।

अन्तराष्ट्रिय कार्यक्रममको नाममा प्रधानमन्त्री केपी शर्मा लगायतका शीर्ष नेताहरुलाई तीन दिन सोल्टी होटलमा होल्ड गर्न सक्ने क्षमता ढकालमा छ । उनी र उनका छोरीहरु सञ्जालमा भव्य जीवनशैली र विदेश भ्रमणमा गइरहेको पोस्ट गरिरहेका हुन्छन्, जसले जेनजी पुस्तालाई आक्रोशित बनाएको छ ।

यी लगायत कांग्रेस गण्डकीका सांसद तथा मन्त्री विन्दुकुमार थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता स्व. दीपक बोहरा, पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, नेपाल टेलिकमकी महाप्रबन्धक संगीता पहाडी र पूर्वप्रहरी प्रमुखहरु लगायतका छोराछोरीको महङगो जीवनशैलीलाई सामाजिक सञ्जालमा ‘एक्सपोज’ गरिएको छ ।

के हो ‘नेपो बेबिज’ ट्रेण्ड ?

यो जेनजी पुस्ताले ल्याएको नयाँ अभियान हो । ‘नेपोटिजम’ र ‘बेबी’ शब्द मिलेर बनेको यसको अर्थ नातावाद र परिवारवाद हो ।

सारमा यो ट्रेण्ड कहिलेदेखि सुरु भयो भन्ने एकिन छैन । तर मनोरञ्जन उद्योगमा निकै प्रचलनमा रहेको शब्द हो । हलिउड तथा बलिउड सुपरस्टारका छोराछोरीले सजिलै अवसर प्राप्त गर्ने विषयमा यसको चर्चा हुन्छ ।

छिमेकी देश भारतको फिल्म उद्योगमा नेपोटिजमको बारेमा सुशान्त सिंह राजपुतको निधनपछि निकै बहस चल्यो । राजपुतको आतमहत्या नभएर परिवारवाद हाबी हुदाँ असाधारण व्यक्तिले मृत्यु रोजेको आरोप लागेको थियो ।

नेपो बेबीहरुका अभिभावक धनी र शक्तिशाली हुन्छन् । उनीहरुले आफ्नो शक्ति र प्रभावले आफ्ना छोराछोरीलाई विशेष अवसर प्रदान गर्छन् । यस्ता बेबीहरुले प्रतिभा नहुदाँ पनि र कम मेहनतले सफलता हासिल गर्छन् । योग्यतालाई पन्छाएर अभिभावकको प्रभावले सजिलै उनीहरुले अवसर हड्प्छन् ।

राजनीतिक रुपमा भने यसको ट्रेण्ड इण्डोनेशियाबाट भएको हो । इण्डोनेशियाका पुर्व राष्ट्रपति जोको विडोडो (जो हाल ७औं पटक राष्ट्रपति छन्) जेठा छोरा जिब्रान राकबुमिङलाई उपराष्ट्रपतिको उम्मेदवारीको सन्दर्भमा विरोध सुरु भयो ।

जिब्रानले २०२४ मा उपराष्ट्रपतिको उम्मेदवारी दिएका थिए । उनी त्यतिबेला २६ वर्षका मात्रै थिए । जबकी इण्डोनिशियाको कानुन अनुसार उपराष्ट्रपति हुन ४० वर्षको उमेरहद छ । उनको उम्मेदवारीलाई जायज बनाउन अदालतले कानुनमा अपवादको व्यवस्था गर्‍यो । जिब्रानका अंकल त्यतिबेला संवैधानिक अदालतका प्रमुख न्यायाधीश थिए ।

यो निर्णयलाई विपक्षी तथा नागरिकले नातावादको चरम दुरुपयोगको भएको भन्दै विरोध सुरु गरे । राजनीतिक वंशवादको विरुद्धमा अभियान चल्यो जिब्रानको राजनीतिलाई नेपो बेबीको व्याख्या गर्दै विरोध भयो । जसको कारण उनी उपराष्ट्रपति बन्न पाएनन् । यस ट्रेन्ड सरकार विरुद्धको आन्दोलन सफल पारेको देखिन्छ ।

इण्डोनिशियाबाट सुरु भएको यस ट्रेण्ड बङ्गलादेश, श्रीलङका, थाइल्याण्ड हुँदै नेपाल भित्रिएको छ ।

पुराना दलका नेता तथा सत्तामाथिको आक्रोश नेताका छोराछोरीहरुमाथि पोख्नु जायज हो कि नाजायज ? यो बेग्लै बहसको विषय हो । तर, देशको भविष्य मानिने देशको कर्णाधार किशोर पुस्तालाई शासकहरुले कन्भिन्स गर्न सकेनन् भने यो आन्दोलनको परिणााम दीर्घकालसम्म पर्ने र सत्ता नै ढल्पलाउन सक्ने जोखिमप्रति सरोकारवालाहरुले बेलैमा सतर्क हुनुपर्ने देखिन्छ । किशोर पुस्तालाई गाली गरेर सरकारले उम्कन मिल्दैन ।

यसका लागि तत्कालै समाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा गर्न समे सरकारविरुद्धको आक्रोश केही मथ्थर हुने थियो कि ?

काठमाडौंका मेयर बालेन्द्र शाहले ठीकै प्रश्न उठाएका हुन्–

‘भोलिको र्‍याली स्पष्ट स्वतस्फुर्तरुपमा Gen Z को हो । उहाँहरू भनेको २८ वर्षमुनि हुनुहुन्छ, जस्को लागि म पनि अझै बुढो देखिन्छु । मलाई पनि उहाँहरूको इच्छा , उद्देश्य , सोच बुझ्न मन छ । भोलि यो स्वतस्फुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता , सांसद , बहुला, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नु होला । म उमेर हदबन्दीका कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ । प्रिय Gen z भन्नुस् तपाईँहरुले कस्तो देश देख्न चाहनुहुन्छ ?’

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ४ : ०३ बजे

बाबुरामले भने, हाम्रो पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर नयाँलाई मौका दिउँ

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुको पुस्ता राजनीतिक नेतृत्वबाट बिदा भएर

लोकतन्त्रको भविष्यप्रति एमाले महासचिव चिन्ता : ‘जनताको शासन हो कि अधिनायकको बाटो ?’

काठमाडौँ -नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकमा लोकतन्त्रको भविष्यप्रति

देश लिकभन्दा बाहिर गयो : राजेन्द्र लिङ्देन

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले

आगामी १० वर्षमा देश कहाँ पुर्‍ याउने ? दीर्घकालीन योजना बनाऔँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश विकासका लागि आगामी

कांग्रेस महाधिवेशनमा गीत गाउँदै रेशम चौधरीले भने ‘धेरै भोट पाएर होला झ्यालखानामा छु’

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नेपाली कांग्रेसको १५