वासिङ्टन- अमेरिकी नियामक निकायले अर्बपति उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सलाई पृथ्वीको कक्षमा १० लाखसम्म स्याटेलाइट प्रक्षेपण गर्न अनुमति दिएको छ ।
अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने उद्देश्यले अघि सारिएको यस परियोजनालाई अमेरिकी फेडरल कम्युनिकेसन्स कमिसन (एफसीसी) ले बुधबार स्वीकृति दिएको हो । ‘स्टारमाइन्ड’ नाम दिइएको यस परियोजनाअन्तर्गत प्रक्षेपण गरिने स्याटेलाइटले कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी डेटा प्रशोधन गरी त्यसको नतिजा पृथ्वीमा पठाउनेछन् ।
स्पेसएक्सले यी स्याटेलाइटलाई सूर्यको प्रकाशबाट प्राप्त ऊर्जामार्फत सञ्चालन गर्ने योजना बनाएको छ । कम्पनीका अनुसार अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्दा एआई प्रविधिका लागि आवश्यक पर्ने बढ्दो कम्प्युटिङ क्षमता उपलब्ध गराउन सकिनेछ ।
पृथ्वीमा उपलब्ध ऊर्जा तथा अन्य पूर्वाधारले भविष्यमा बढ्ने कम्प्युटिङ आवश्यकतालाई धान्न कठिन हुने स्पेसएक्सको भनाइ छ । त्यसैले अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्नु तुलनात्मक रूपमा किफायती विकल्प हुन सक्ने कम्पनीको विश्वास छ ।
एफसीसीले यस परियोजनाले अमेरिकाको तीव्र गतिमा विस्तार भइरहेको सुपर इन्टेलिजेन्स उद्योगलाई थप मजबुत बनाउने जनाएको छ । एफसीसीका अध्यक्ष ब्रेन्डन कारले यस निर्णयलाई अमेरिकाको प्राविधिक तथा आर्थिक नेतृत्वका लागि महत्त्वपूर्ण उपलब्धि बताएका छन् ।
उनले यो परियोजनाले अमेरिकी कम्प्युटिङ पूर्वाधार विकासका लागि नयाँ सम्भावनाको ढोका खोल्ने बताए।
अमेरिकाका विभिन्न क्षेत्रमा जमिनमा डेटा सेन्टर विस्तार गर्दा स्थानीय बासिन्दाले विरोध गरिरहेका बेला अन्तरिक्षमा डेटा सेन्टर स्थापना गर्ने योजनाले स्वीकृति पाएको हो ।
अनुमति घोषणापछि स्पेसएक्सका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल एक्समार्फत खुसी व्यक्त गर्दै यसलाई अमेरिका र विश्वकै लागि ठूलो उपलब्धि हुने बताएका छन् ।














प्रतिक्रिया