नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार   « Khabarhub

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  



काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् । नेपालमा पनि राणा शासनदेखि गणतन्त्र स्थापनासम्मको इतिहास हेर्दा युवाकै सक्रियता र निर्णायक भूमिका थियो । राजनैतिक मात्रै होइन, सामाजिक परिवर्तनमा पनि उनीहरूको उत्तिकै सशक्त भूमिका रहँदै आएको छ ।
 
तर त्यो युवा पंक्तिलाई पाका नेताले कहिल्यै नेतृत्वमा आउन दिएका छैनन् । नेपालको दृश्य कस्तो छ भने ७० नाघेकैको शासन र शक्तिमा रजगज छ। 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले युवालाई नेतृत्वमा लैजाने केही आशा जागेको थियो । तर उक्त आन्दोलनले नयाँ राजनैतिक परिवर्तनको ढोका खोलेको अवस्थामा नयाँ पुस्ताले फेरि निराश हुनुपर्ने दृश्य देखिएको छ । 

उक्त आन्दोलनले सुशासन, पारदर्शिता र पुस्तान्तरण खोजेको थियो । सुशासन र पारदर्शिता व्यवहारबाट प्रत्याभूत हुँदै जाने विषय तर पुस्तान्तरण तत्कालै सम्भव थियो । 

कानुनले पार्टी र सरकारको नेतृत्व गर्न उमेरको हदबन्दी तोकेको त छैन । विश्वलाई नियाल्दा पनि वृद्धवयमा देशको नेतृत्व गर्ने नभएका होइनन् । तर नेपालमा भने पटक पटक परीक्षण भएर असफल भइसक्दा पनि पद ओगट्ने रोग लागेको छ। 

खासमा वि.सं.२०४६ को राजनीतिक परिवर्तयता सत्ता र शक्तिमा उही पुराना अनुहारले रजगज गरिरहेका छन् । वर्षौँदेखि सरकार र पार्टीमा सिन्डिकेट जमाएका नेतृत्वले अझै पनि पद छाड्न सकेका छैनन् । 

जेन–जी आन्दोलनले परिवर्तन र पुस्तान्तरण खोजे पनि भदौ २७ गते ७० नाघेकी सुशीला कार्कीको हातमा सत्ताको बागडोर पुगेको छ । दलमा पाकाको सिन्डिकेट कायमै हुँदा जेन–जीको उथलपुथलपछि पनि उनै ७० नाघेकाले देश सम्हाल्नु परेको छ। 

सुशीला कार्की

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश दुई दिनसम्म सरकारविहीन बन्यो । संवेदनशील समयमा मुलुकको बागडोर सम्हाल्न देशकै पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की ४४ औँ र पहिलो महिला प्रधानमन्त्री भइन् । 

७३ वर्षीया कार्कीले भदौ २७ देखि अर्को निर्वाचन नभएसम्म देशलाई हाँक्ने छिन् । जेन–जी आन्दोलनका मागलाई प्राथमिकता दिँदै सरकार चलाइरहेकी उनको जन्म २००८ जेठ २५ गते मोरङमा भएको हो । 

शेरबहादुर देउवा

जेन–जी आन्दोलनका क्रममा कुटपिट गरिँदा घाइते बनेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले सिंगापुरमा उपचाररत छन् । पार्टीमा १५ औँ महाधिवेशनको मुद्दा चर्किँदै गर्दा उनले पार्टीको जिम्मेवारी उपसभापति पूर्णबहादुर खड्कालाई सुम्पिएका छन् ।

उनले खड्कालाई कार्यवाहक मात्रै दिएका हुन्, नेतृत्व पूरै छोडका छैनन् । उनकै निर्देशनअनुसार अहिले खड्का विशेष महाधिवेशन टार्न लागेका छन् । देउवाले कार्यवाहकको जिम्मा खड्कालाई दिए पनि प्रधानमन्त्री या सभापतिमा फेरि एक पट आउने भित्री चाहना उनमा रहेको निकटस्थ बताउँछन् । 

७९ वर्षीय देउवा स्वयम्ले यसबारे हालसम्म मुख खोलेका छैनन् । ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग गरेको संस्थापन इतर पक्षका कुरा पनि उनले सुनेका छैनन् । उपचारमा जानुअघि यसबारेमा उनले मुख खोलेनन् । 

पार्टीभित्र पुस्तान्तरणको विषयमा त औपचारिक रूपमा आवाज उठेकै छैन । देशको परिस्थतिअनुरुप ताजा नेतृत्वसहित निर्वाचनमा जान इतर पक्षले दबाब दिइरहेको छ । तर उक्त मागलाई बेवास्ता गरेर पेलेरै जाने संस्थापन पक्षको चाहना देउवाकै भएको व्याख्या कांग्रेसजन गर्छन् । 

पार्टीभित्र विकसित घटनाक्रम हेर्दा उनले छैटौँ पटक प्रधानमन्त्रीको आकांक्षा मार्न नसकेको देखिन्छ । उनी मिलेसम्म १५ औँ महाधिवेशनबाट सभापतिमा फर्किने अवस्था नभएकाले प्रधानमन्त्री हुने योजनामा छ । 

२०२८ सालमा नेपाल विद्यार्थी संगठनको अध्यक्षमा निर्वाचित भएपछि नेतृत्वमा रहँदै आएका उनी २०७२ सालदेखि नेपाली कांग्रेस सभापतिमा छन् । 

२०७८ मंसिरको १४ औँ महाधिवेशनबाट सभापति बनेका देउवाको कार्यकाल सकिन अझै १० महिना बाँकी छ । विधानको दफा ५६ अनुसार कुनै पनि व्यक्ति २ पटक भन्दा बढी एउटै पदको उम्मेद्वार बन्न नसक्ने प्रावधान छ । जसअनुसार अब देउवा सभापति पदका लागि उम्मेदवार बन्न मिल्दैन ।

कृष्णप्रसाद सिटौला

कृष्ण सिटौला नेपाली कांग्रेसका प्रभावशाली नेता हुन् । कुनै समय पार्टीको महामन्त्री समेत रहिसकेका सिटौला संस्थापन निकट नेता मानिन्छन् ।

वि.स. २००३ मा जन्मेका सिटौला अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपनि पछि राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

विमलेन्द्र निधि

कांग्रेस नेता निधिले ०७२ र ०७८ को महाधिवेशनमा देउवालाई सभापति बन्न सघाए । एक कार्यकाल उपसभापति बनिसकेका उनी यतिबेला देउवाको बफादार पात्र बन्दै उनको मत आफ्नो पोल्टोमा पार्ने दौडाहामा छन् ।

जसबाट उनी १५ औँ महाधिवेशनबाट सभापतिको आशमा छन् । २०७३ सालमा उपप्रधान तथा गृहमन्त्री बनिसकेका निधि ६९ वर्ष पुगिसकेका छन् ।

विजयकुमार गच्छदार

गच्छदार पनि कांग्रेस नेता हुन् । उनी ७२ वर्ष लागिसकेका छन् । २०२७ देखि राजनैतिक जीवन सुरु गरेका उनी २०४८ यता १२ पटक मन्त्री र चार पटक उपप्रधानमन्त्री बनिसकेका छन् । ७२ वर्ष पुगिसकेका उनी भ्रष्टाचार मुद्दा लागे पनि कांग्रेसको एक शक्ति बनिरहन चाहन्छन् । गच्छदार २०१० साल माघ १९ गते सुनसरीको दुहबी नगरपालिका–२ मा जन्मिएका हुन् । 

डा. शशांक कोइराला

२०४८ को आन्दोलनपछि राजनीतिक जीवनमा सक्रिय ६७ वर्षीय डा. कोइरालाले आफूलाई सभापतिको दाबेदार ठानेका छन् । उनले आफू सभापति भए पार्टीलाई नयाँ हिसाबले चलाउने दाबी गर्दै आएका छन् । 

उनी गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विरोधी विचार बोक्ने नेता हुन् । हिन्दुराष्ट्र निर्माणको मद्दा उनी र शेरबहादुर देउवाबीचको साझा विचार हो । पार्टीमा महामन्त्रीको जिम्मेवारी सम्हालिसकेका उनले ०६४ देखि नवलपरासी निर्वाचन क्षेत्र नं. १ बाट चुनाव लड्दै र जित्दै आएका छन् । 

पूर्णबहादुर खड्का 

सभापति देउवानिकट ६९ वर्षीय खड्का यतिबेला पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा छन् । उनीमाथि अहिले दुई महामन्त्रीको मागअनुसार महाधिवेशनको विषय टुंगो लागाउने जिम्मेवारी छ । २०१२ फागुन १७ गते जन्मेका खड्काले २०३१ सालबाट औपचारिक राजनीति सुरु गरेका थिए । खड्का पार्टीमा उपसभापति तथा सरकारको उपप्रधान तथा गृह मन्त्री बनिसकेका छन् ।

प्रकाशमान सिंह 

२०१२ सालमा जन्मिएका ६९ वर्षीय सिंह पनि सभापति देउवाका प्रिय पात्रका रूपमा चिनिन्छन्। राष्ट्रियसभा तथा संविधानसभा सदस्य हुँदै उपप्रधानमन्त्रीसम्मको जिम्मेवारी सम्हालेका उनी पनि पुस्तान्तरणको पक्षमा देखिदैन । सिंह यतिबेला पार्टीभित्र आफूअनुकूल माहोल निर्माणमा प्रयासरत देखिन्छन् ।
 
गोपालमान श्रेष्ठ 

देउवानिकट श्रेष्ठ २०४८ यता उपप्रधानमन्त्रीसहित चारपटक मन्त्री बनिसके । ७७ वर्ष लागिसकेका श्रेष्ठले यतिबेला राजसंस्था स्थापित गर्नुपर्ने वकालत गर्दै आइरहेका छन् । पार्टीमा उनले उपसभापतिसम्मको जिम्मेवारी सम्हालिसकेका छन् ।
 
प्रकाशशरण महत 

अर्थ, परराष्ट्र, ऊर्जा जस्ता शक्तिशाली मन्त्रालयको नेतृत्व गरिसकेका महत यतिबेला पार्टी प्रवक्ताको जिम्मेवारीमा छन् । उनी पनि सभापति देउवाका विश्वास पात्र हुन् । ६६ वर्षीय महत पनि तत्काल निर्वाचन गरेर ताजा नेतृत्वसहित चुनावमा जाने पक्षमा देखिँदैनन् । 

केपी शर्मा ओली

२००८ फागुन ११ गते जन्मिएका ७४ वर्षीय केपी शर्मा ओली एक दशकदेखि पार्टी अध्यक्षको भूमिकामा छन् । २०२७ सालबाट राजनैतिक आन्दोलनमा होमिएका उनले २०७१ को नौऔँ महाधिवेशनयता एमाले हाँकिरहेका छन् । 

एमाले र माओवादी मिलेर नेकपा बनेर फुटेको अवस्थापछि पार्टी विधानमा राखिएको ७० वर्षे उमेरहद उनले हटाएका छन् । उनले कार्यकारी पदमा दुई वर्षे कार्यकालको व्यवस्थाले पनि विधानबाट फ्याँकिसकेका छन् । 

अध्यक्ष बन्न ओलीका लागि अब कुनै अवरोध छैन । एमालेमा नेतृत्व परिवर्तनका लागि सामूहिक आवाज उठेको देखिँदैन । कथमकदाचित् उठे पनि त्यो आवाज निर्णायक बनेको पाइँदैन । 

पार्टीभित्र परिवर्तनको आवाज चर्काउन खोजिए भीम रावल जस्तो सजायको भागिदार बनाइने डर छ । उक्त डरका कारण एमालेमा पुस्तान्तरणको ढोका अध्यक्ष ओलीले बन्द गर्ने करिब पक्का छ । 

पुष्पकमल दाहाल (प्रचण्ड) 

१० वर्ष लामो युद्ध हाँकेर २०६२/०६३ को जनआन्दोलनपछि शक्तिमा उदाएका दाहालले पटक पटक सरकारको नेतृत्व गरिसके । अहिले उनै दाहाल आफ्नो साख बचाउने कसरतमा छन् । उनी हरेक पटक गठबन्धन फेरेर सरकारमा चलाउँछन्।   अहिले उनी त्यही रस्साकस्सीमा देखिन्छन् । ७० वर्षीय दाहाल आफ्नो नेतृत्वको दशवर्षे युद्धले उब्जाएका संक्रमणकालीन मुद्दा समाधानमा जुटेका छैनन् । 

ती मुद्दा उनको प्राथमिकतामा देखिँदैनन् । फागुन २१ गते तोकिएको निर्वाचनका लागि यतिबेला उनी वाम एकताको नाममा विगतमा जस्तै सरकारसँग बार्गेनिङ गर्न सक्ने शक्ति जुटाउन लागिपरिसकेका छन् । लामो समयदेखि सरकार र पार्टीको नेतृत्वमा देउवा ओलीले जस्तै सिन्डिकेट जमाएका दाहाललाई पनि परिवर्तन अपाच्य भयो । नयाँ पार्टीमा पनि उनी संयोजककै भूमिकामा पुगेका छन् । 

माधवकुमार नेपाल   

देशकै ठूलो दल नेकपा एमालेमा १५ वर्ष नेतृत्व सम्हालेका नेपाल अध्यक्ष ओलीको अहम् बढेको भन्दै ४ वर्षअघि नयाँ पार्टी खोल्न पुगे । तर पार्टी खोलेको ४ वर्षमै उनी प्रचण्डसहित नयाँ पार्टीमा सह–संयोजकको भूमिकामा पुगे । देशको मुख्य पार्टी हुँदै प्रधानमन्त्रीसम्म भइसकेका उनी एमालेभन्दा सानो दलको सहसंयोजक बनेका छन् । उनी एक पटक प्रधानमन्त्री हुने घनचक्करमा छन् । 

पार्टी विलय गराउने उनको निर्णयमा रामकुमारी झाँक्री, घनश्याम भुसााल लयायतले विद्रोह गरेरसाथ छाडे । रामकुमारी एमालेमा फर्किँदैछिन् भने घनश्याम नयाँ संघर्षतिर छन् । २००९ फागुन २३ गते जन्मिएका ७३ वर्षीय नेपालको नयाँ दलको यात्रा भने अनिश्चियले भरिएको छ । 

वामदेव गौतम 

वाम गठबन्धको नारासहित दाहाल नेतृत्वको पार्टीमा ओत लिन पुगेका ज्येष्ठ नेता गौतम पनि अझै सकृय राजनीति छोड्ने पक्षमा छैनन् । उपप्रधानसहित गृहमन्त्री बनिसकेका उनी यतिबेला दाहाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा विलय भएका छन् । 

२००९ असार २६ गते जन्मिएका ७८ वर्षीय गौतम २०२९ सालमा रुपन्देही जिल्ला कमिटी सचिवका रूपमा नेतृत्वमा आएका थिए । मदन भण्डारी र जीवराज आश्रितसँग मिलेर मुक्ति मोर्चा स्थापना गर्न उनको महत्वपूर्ण भूमिका थियो ।
 
झलनाथ खनाल 

प्रधानमन्त्री र एमालेको अध्यक्ष बनिसकेका ७६ वर्षीय खनाल पनि यतिबेला प्रचण्डकै शरणमा पुगेका छन् । वाम गठबन्धन घोषणाको अन्तिम क्षणमा भृकुटीमण्डप पुगेका उनको गतिविधि हेर्दा उनी पनि नेतृत्व मोहमा परेर जुनसुकै तहको सम्झौता गर्न नहिच्किचाउने नेताका रूपमा देखिएका छन् ।

यसपटक आलीले बेवास्ता गरेपछि उनी नेपालकै पाइला पछ्याउँदै हिँडेका छन् । २००७ सालमा देशले राणाशासनबाट मुक्ति पाएको वर्ष जन्मिएका उनी विश्राम गर्ने मुडमा देखिँदैनन् । 

प्रकाशित मिति : २१ कार्तिक २०८२, शुक्रबार  ७ : ०३ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन