काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिँयाले सार्वजनिक पुस्तकालयको विकासमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् ।
भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजको आज आयोजित २२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सार्वजनिक पुस्तकालय निर्माणका लागि बागमती प्रदेशले सहयोग गर्न तयार रहेको बताए ।
मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोगसँगै पुस्तक पढ्ने बानी हराउँदै गएकामा चिन्ता व्यक्त गरे । उनले युवालाई प्रविधियुक्त पुस्तकालयमा जोड्नका लागि यस्ता सार्वजनिक पुस्तकालयको महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
सार्वजनिक पुस्तकलायलाई अन्तरराष्ट्रियस्तरको पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । पाठकको अभिरुचिअनुसार पुस्तक तथा शैक्षिक सामग्री यस पुस्तकालयमा अद्यावधिक गर्नुपर्ने मुख्यमन्त्री बानियाँले बताए ।
काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय समाजका अध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले पुस्तकालयलाई यसअघि सङ्घीय सरकारबाट सहयोग प्राप्त भइरहेको भए पनि पछिल्लो समय सहयोग नहुँदा पुस्तकालय सञ्चालनमा समस्या भएको बताए । उनले पुस्तकालयको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारको सहयोग आवश्यक रहेको उल्लेख गरे ।
शिक्षा मन्त्रालयअन्तर्गत केशर पुस्तकालयका प्रमुख यादवचन्द्र निरौलाले प्रदेश सरकारको आफ्नै पुस्तकालयका रूपमा यस सार्वजनिक पुस्तकालयलाई विकास गर्दै लैजानुपर्नेमा जोड दिए । प्रदेश सरकारभित्र यसलाई नमूना पुस्तकालयका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।
पुस्तकालय समाजका उपाध्यक्ष एवं प्रदेशसभा सदस्य याङकिला शेर्पा, पर्वतस्थित मोती पुस्तकालयका संस्थापक भोलानाथ शर्मा, समाजका सदस्यद्धय तीर्थराज वन्त र भोलाकुमार श्रेष्ठलगायतले पुस्तकालयको संस्थागत विकासका लागि तीनै तहका सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले पुस्तकालयका संस्थापक सदस्य जुजुभाइ डङ्गोलद्वारा लिखित ‘पुस्तकालय : अध्ययन संस्कृतिको आधार’ पुस्तक विमोचन गरेका थिए ।
संस्थापक सदस्य डङ्गोलले राजधानी काठमाडौंका बासिन्दालाई अध्ययन संस्कृतिको विकास गर्नका लागि योगदान पुर्याउने उद्देश्यले २०६० सालमा सार्वजनिक पुस्तकालयको स्थापना गरिएको जानकारी दिए ।
पुस्तकालयका प्रशासक तथा व्यवस्थापक लीलाप्रसाद भट्टराईले पुस्तकालयमा दैनिक दुई सयभन्दा बढी पाठकहरू अध्ययनका लागि आउने गरेको बताए । यस्तै दैनिक ५० भन्दा बढी पाठकले घरमा पुस्तक लगेर पढ्ने गरेको उनको भनाइ छ ।
कार्यक्रममा पुस्तकालयका संस्थापक अध्यक्ष एवं पूर्वमन्त्री डा नारायण खड्का, पूर्वराज्यमन्त्री भक्तबहादुर बलायर, पूर्वसचिव किशोर थापा, पूर्व राजदूतद्वय राजेश्वर देवकोटा र डा मोहनप्रसाद लोहनी, संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति डा कुलप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया