काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारभित्र निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गर्दै संसद् भवनको परिसरभित्र निर्माण गरिने ‘जिएन-जी सहिद योद्धाहरूका सालिक’ का लागि आवश्यक पर्ने उपयुक्त ठाउँको अवलोकन गरेका छन् ।
जिएन-जी सहिद योद्धाका परिवार र मन्त्रालय सम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यहरूसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धता बुझ्न र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा आइतबार त्यहाँ पुगेका हुन् ।
सरकारले भदौ ३० गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार जिएन-जी आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेनजी स्मारक पार्क बनाउने निर्णय गरेको थियो भने कार्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्दोलनमा मारिएका ४२ जना जिएन-जी युवा र तीन प्रहरीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।
भवनको निरीक्षण गर्दै मन्त्री अर्यालले निर्माण हुँदै गरेका भवनभित्र प्रतिनिधि सभा र राष्ट्रिय सभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षहरूको प्रगति तथा प्राविधिक पक्षसमेत बुझेका छन् ।
सोही क्रममा मन्त्री अर्यालले संसद् भवनको भौतिक प्रगतिबारे स्थलमा उपलब्ध भएका इन्जिनियरहरूसँग जानकारीसमेत लिएका थिए ।
साथै उनले संसद् भवनभित्र बन्दै गरेका अन्य प्राविधिक र प्रशासनिक भवनहरूको पनि निरीक्षण गर्दै आवश्यक जानकारी पनि लिए ।
इन्जिनियरहरूसँग कुरा गर्दै मन्त्री अर्यालले संसद् भवन निर्माणका लागि थपिएको पछिल्लो समयावधि भित्र परियोजनाको काम सम्पन्न हुने वा नहुनेबारे चासोसमेत प्रकट गरेका थिए ।













प्रतिक्रिया