जेनेभा – सिरियामा शासक बशर अल–असदलाई सत्ताच्युत गरेको एक वर्षसम्म पनि सिरियाको सङ्क्रमणकाल नाजुक भएको र देशमा प्रतिकार र प्रतिशोधको चक्र अन्त्य हुन अझै बाँकी रहेको संयुक्त राष्ट्रसङ्घका अन्वेषकहरूले आइतबार बताएका छन्।
इस्लामिक नेतृत्वको सेनाले असदलाई सत्ताच्युत गर्न चट्याङी आक्रमण गरी करिब १४ वर्षको युद्धपछि सन् २०२४ डिसेम्बर ८ मा सत्ता परिवर्तन भएको थियो । देशमा शासक परिवर्तन भएको एक बर्ष पूरा भएपनि सर्वसाधारणले परिवर्तनपछिको अपेक्षित लाभ प्राप्त गर्न नसकिरहेको सिरियाली राजनीतिबारे जानकार विश्लेषकहरूले जनाएका छन् ।
सिरियामा सन् २०११ मार्चदेखि सबै अन्तर्राष्ट्रिय मानवअधिकार कानून उल्लङ्घनका घटनाहरूको अनुसन्धान र रेकर्ड गर्ने संयुक्त राष्ट्रसङ्घको स्वतन्त्र अन्तर्राष्ट्रिय जाँचबुझ आयोग बनेको छ। आयोगले सिरियाले विगतका दशकहरूमा भएका अपराध र दुव्र्यवहारलाई सम्बोधन गर्न अहिलेसम्म चालेका कदमहरूका लागि सरकारप्रति आभार प्रकट गर्दै जनताको अपेक्षित लाभका लागि अझै केही गर्नुपर्ने आवश्यकता रहेको बताएको छ।
असदको पतनपछिका हिंसात्मक घटनाहरूले नयाँ विस्थापन र ध्रुवीकरण निम्त्याएको छ, जसले ‘देशको भविष्यको दिशाको बारेमा चिन्ता बढाएको’ बताएको छ। आयोगले असदको शासनले गरेको दुव्र्यवहारको ‘भयानक सूची’ सिरियाका जनताविरुद्ध ‘औद्योगिक आपराधिक हिंसा’ भएको बताएको छ।
“सिरिया एक राष्ट्रको रूपमा भविष्यतर्फ अघि बढ्न जारी राख्न सकोस् भन्नका लागि बदला र प्रतिशोधको चक्रलाई अन्त्य गरिनु पर्छ । यसले समानता, कानूनको शासन, नाम र कर्ममा सबैका लागि शान्ति र सुरक्षाको पूर्ण सम्मानको ग्यारेन्टी गर्दछ,” आयोगले भनेको छ।
“सिरियाको सङ्क्रमणकाल ‘कमजोर’ परिवर्तनसहित अघि बढिरहेको छ। देशभरिका धेरैले सत्ता परिवर्तनको वार्षिकोत्सव मनाउने तयारीमा जुटेका समय अरूहरू आफ्नो वर्तमान सुरक्षाको लागि डराइरहेका छन् ।
सुरक्षाका कारण धेरै यस जाडोमा फेरि विस्थापित भई शिविरमा पालमुनि दिनरात विताउन बाध्य हुनुपर्ने देखिएको छ। सिरियामा जबरजस्ती बेपत्ता पारिएका हजारौँको ‘अज्ञात’ भाग्य एक खुला घाउ हो। आयोगले युद्ध र विनाशको विरासतबाट बाहिर निस्कन ‘ठूलो शक्ति, धैर्य र सहयोग’ चाहिन्छ भनेको छ।
“सिरियाली जनता लामो समयदेखि वञ्चित अधिकारहरूको पूर्ण सम्मानका साथ शान्तिपूर्ण रूपमा बाँच्न योग्य छन् र हामीलाई कुनै शङ्का छैन कि उनीहरू यस कार्यमा अघिबढ्न सक्षम हुनेछन्,” विज्ञप्तिमा भनिएको छ।
तीन सदस्यीय आयोगलाई उल्लङ्घनका अपराधीहरूलाई अन्ततः जवाफदेही बनाउने सुनिश्चित गर्ने उद्देश्यका साथ तथ्यहरू स्थापित गर्ने जिम्मेवारी दिइएको छ।संयुक्त राष्ट्रसङ्घको मानवअधिकार परिषद्ले अप्रिलमा थप एक वर्षका लागि आफ्नो जिम्मेवारी थप गरेको थियो ।













प्रतिक्रिया