आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी | Khabarhub Khabarhub

आईपीओ निष्कासनमा चलखेलको खबरपछि मिडियामाथि खनिए सेबोन कर्मचारी


२५ जेठ २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –नेपाल धितोपत्र बोर्ड (सेबोन)को ३३औँ वार्षिकोत्सव अवसरमा ललितपुरस्थित होटल हिमालयमा उत्सव समारोह आयोजना गरिएको थियो । समारोहका प्रमुख अतिथी उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए ।

होटलको माथिल्लो तलाको सानो–सानो हल बोर्डका कर्मचारी, लगानीकर्ता र पत्रकारहरूले भरिभराउ थियो । निर्धारित समयमै सुरु वार्षिकोत्सव समारोहमा प्रमुख वक्ताको रूपमा बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सम्बोधन गरे ।

सम्बोधनमा श्रेष्ठले स्वागत मन्तव्य राख्दै बोर्डको भवन बनाउन जग्गा किन्ने प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिए भने कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने समेत बताए ।

प्रमुख अतिथि अर्थमन्त्री पौडेललाई समयको व्यस्तता भन्दै श्रेष्ठपछि नै बोल्न दिइयो । पौडेलले अध्यक्ष श्रेष्ठलाई बिचौलियाको फन्दामा नपर्न भन्दै सुझाव दिए । धितोपत्र बोर्डलाई दबाब र प्रभावमा पार्नेहरूबाट सचेत भएर बजार विकासमा लाग्न आग्रह गरे ।

वार्षिकोत्सव समारोह चलिरहेकै थियो, तर कार्यक्रम नसकिँदै प्रमुख अतिथि अर्थमन्त्री पौडेल बाहिरिए ।

यता हलभित्र भने कार्यक्रम चलिरहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्न धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी सङ्गठनका अध्यक्ष नारायण पौडेल आए । अध्यक्ष पौडेलले नेपालको पूँजी बजार सीमिततामा अल्झिनु विडम्बना रहेको बताएका थिए ।

सङ्गठनको तर्फबाट उच्च व्यवस्थापनसँग सहकार्य चाहेको अध्यक्ष पौडेलले बताएका थिए । ‘बोर्डका अध्यक्षज्यूहरूलाई जोडेर विभिन्न खालका समाचार प्रकाशित हुनुले कर्मचारीहरूमा त्रासको वातावरण सिर्जना भएको छ’, अध्यक्ष पौडेलले भने ।

त्यसपछि सम्बोधन गर्ने मञ्चमा बोर्डका सहायक निर्देशक अजय ढुङ्गाना उक्लिए । ढुङ्गानाले आफ्नो मन्तव्यमा धितोपत्र बोर्डलक्षित केही कुरा राखे । कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेदेखि बोर्डको आफ्नै भवन नभएको भन्दै ढुङ्गानाले गुनासो गरे ।

ढुङ्गानाले अर्थमन्त्रीलाई पनि केही गुनासो गरेका थिए । तर, त्यो गुनासो सुन्नुपर्ने अर्थमन्त्री भने हलमा थिएनन् । त्यही पनि ढुङ्गानाले अहिले संशोधनको क्रममा रहेको धितोपत्र ऐन फिर्ता लिन आग्रह गरे ।

ढुङ्गानाले आफ्नो मन्तव्यको अन्त्यतिर पुगेपछि पत्रकारलक्षित कुरा गरे । पत्रकारले गम्भीर, तर मिथ्यापूर्ण आरोप बोर्ड र बोर्ड अध्यक्षप्रति लगाएको उनले दाबी गरे ।

‘तपाईँहरूले गम्भीर, तर मिथ्यापूर्ण आरोप बोर्ड र बोर्ड अध्यक्षप्रति लगाउनुभएको छ’, ढुङ्गानाले भने । ढुङ्गानाले यसो भन्दै गर्दा बोर्डका कर्मचारीले केही बेरसम्म ताली बजाएका थिए ।

तर, ढुङ्गाना भने त्यत्तिमै रोकिएनन् । अगाडि भने, ‘आरोप लगाउनेमा तपाईँहरूमात्रै हुनुहुन्न, तर तपाईँहरूमार्फत् आरोप लगाउनेहरू सबैलाई सोध्न चाहन्छु – आरोपको परिणाम के हुन्छ ? ख्याल गर्नुभएको छ ? अनाहकमा एउटा जिम्मेवार नियामकको जोखिमको पर्दाफास भएको छ । यसले लगानीकर्ताको खर्बौँ रुपैयाँ लगानी क्षणभरमै गुम्न सक्छ । बोर्डमा कार्यरत कर्मचारीहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याउन सक्छ ।’

ढुङ्गानाले मिडियाप्रति खनिन अझै रोकिएनन् । पत्रकारले प्रमाणबिना समाचार लेखेको भन्दै गुनासो गरे ।

‘कानुनको सर्वमान्य सिद्धान्त हो – आरोप लगाउनेले प्रमाणको भार पु‍र्‍याउनुपर्छ । प्रमाण ऐन, २०३१ को आशय पनि यही हो’, ढुङ्गानाले थपे, ‘तर तपाईँहरूले अनाहकमा आरोप लगाउनुभयो र छोडिदिनुभयो, प्रमाण खै भनेर सोध्दा खोलाले बगायो भनेजस्तो छ ।’

सहायक निर्देशक ढुङ्गानाले पत्रकारप्रति आक्रोश पोख्नु पछाडिको कारण केही समयअघि धितोपत्र बोर्डले हाइड्रोपावरको आईपीओ जारी गर्दा कमिसन मागेको समाचार थियो ।

के थियो घटना ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान)ले आईपीओ निष्कासन अनुमति नदिएको र कमिसन मागेको भन्दै बोर्डमाथि आरोप लगाएको थियो ।

गत वैशाख २३ गते ऊर्जा व्यवसायीहरूले एक छलफल राखेका थिए, जहाँ धितोपत्र बोर्डमा हाइड्रोपावरको आईपीओ निष्कासन गर्न कमिसन मागेको आरोप लगाएका थिए ।

सोही आरोपसहित सञ्चारमाध्यममा समाचार बाहिरिएको थियो । धितोपत्र बोर्डको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत पसिसकेको थियो । आयोगले धितोपत्र बोर्डमा प्रवेश गरेर कागजातसमेत जफत गरेको थियो ।

आईपीओ निष्कासनको अनुमति माग्न आएका हाइड्रो व्यवसायीहरूसँग धितोपत्र बोर्डका हाकिमका नाममा घुस मागिएको हाइड्रो व्यवसायीहरूको आरोप लगाएका थिए । तर, घुस कसले कोसँग माग्यो भन्नेचाहिँ ईप्पानका अधिकारीहरूले खुलाएका भने छैनन् ।

यो विषयमा धितोपत्र बोर्डले भने सञ्चार माध्यममा आएको समाचारको खण्डन गरिसकेको छ । सोही विषयलाई लिएर आइतबार सहायक निर्देशक ढुङ्गानाले पत्रकारप्रति गुनासो पोखेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ५ : ४६ बजे

मनसुनको एक महिना : ३१ जनाको मृत्यु, ११२ घाइते

काठमाडौं– गत जेठ १५ देखि यही असार १६ गतेसम्म ६७४

बाबुरामको टिप्पणी- कुलिङ पिरियडमा भएको बदमासी निकृष्ट र लाजमर्दो

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम

सिरहामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

सिरहा– असार महिनाको मध्यभागसम्म आइपुग्दा पनि सिरहाका धेरै खेत सुक्खै

कर्णाली प्रदेशका उत्कृष्ट ३० जना शिक्षक सम्मानित

सुर्खेत– कर्णालीका १० जिल्लाका ३० जना शिक्षकलाई सम्मान गरिएको छ

ङुइला नाका तीन महिनाका लागि खुल्ला

गोरखा– तिब्बती क्षेत्र आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको