पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो… | Khabarhub Khabarhub

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

तरकारीको विषादी भान्सा हुँदै मान्छेको पेटमा, असर स्नायुमा



सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई विषादीरहित भएको ठान्नु हुन्छ ? स्वास्थ्यवर्धक एवं पौष्टिक आहारका लागि भनेर खरिद गरिएको फलफूल र तरकारीले कुनै न कुनै रुपमा उपभोक्ताका शारीरमा उल्टो हानि पुर्‍याइरहेको तर्फ कमैले मात्र ध्यान दिने गरेका छन् ।

उपभोक्ता आफैँले सधैं चिनेजानेको व्यावसायिक कृषक वा व्यापारीबाट किनेको फलफूल वा तरकारीमा विषादी नभएको सोच्नु स्वाभाविकै होला । तर, अहिलेको अवस्था त्यस्तो छैन । ‘विषादीरहित फलफूल वा हरियो सागसब्जी किनेर घरमा ल्याएको छु’ भनेर मख्ख पर्ने दिन अब रहेन ।

यसको ज्वलन्त उदाहरण धरानस्थित कृषि उपज बजारमा स्थापना गरिएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशाला एकाइले दैनिक जारी गर्ने ल्याव रिपोर्टमा देख्न सकिन्छ ।

जब तीन साताअघि मकवानपुरको पालुङबाट ढुवानी गरेर ल्याइएको फूलकोपीमा ९७ प्रतिशत भन्दा बढी विषादी पाइयो, त्यसपछि सबैखाले फलफूल, तरकारी वा हरियो सागसब्जीको ल्याव परीक्षण गर्दा केही न केही मात्रामा हानिकारक विषादी भेटियो ।

कतिसम्म भने आल्चा (आरुबखडा जस्तै, तर पहेंलो फल) मा समेत विषादी पाइएको ल्याव रिपोर्टमा देख्न सकिन्छ । आल्चाको बोटलाई मझौलो रुख मानिन्छ । धनकुटाको ओख्रेमा उत्पादित आल्चामा कार्वामेट ३.४०२२ प्रतिशत र अर्गानोफस्फेट ०.२३६१ प्रतिशत पाइएको ल्याव रिपोर्ट छ ।

किसानको खेतबारीमा उत्पादित फलफूल र तरकारी किसानले वा व्यापारी व्यावसायीले धरानस्थित कृषि उपज बजारमा ल्याउने गर्छन् । थोक बिक्रेतामार्फत त्यो फलफूल र तरकारी खुद्रा व्यापारी हुँदै उपभोक्ताको भान्सामा पुग्छ । भान्साको चुलो हुँदै मानिसको शरीरमा पुग्छ ।

अत्यधिक विषादी प्रयोग हुन थालेपछि कृषि उपज बजार व्यवस्थापन समितिले सोझै खुद्रा व्यापारीकहाँ पठाउन अगाडि विषादी परीक्षण गर्नुपर्ने कडा प्रावधान राखेको बजार व्यबस्थापक लक्ष्मण भट्टराईले बताए ।

उनले खवरहबसँग भने, ‘उपभोक्ताले दैनिकरुपमा उपभोग गर्ने फलफूल, तरकारी वा सागसब्जीमा अत्यधिक विषादी प्रयोग हुनु चिन्ताको विषय बनेको छ । विषादी कम गर्ने वा शून्यमा झार्ने अभियानका रुपमा हामीले कडाइ गर्न थालेका छौं ।’

उनले अगाडि थपे, ‘मकवानपुरको पालुङबाट व्यापारीले ल्याएको फुलकोपीमा खानै अयोग्य हुने गरी विषादी पाइएपछि बजारमा पुगिसकेका सबै फूलकोपी (२ हजार ४ सय ४२ किलो) तत्काल फिर्ता ल्याएर नष्ट गर्‍यौं ।’

विषादीका बारेमा नेपालमा एउटा मापदण्ड छ ।

कुनै पनि फलफूल, तरकारी वा हरियो सागसब्जीमा ३५ प्रतिशत मात्र विषादी प्रयोग भए खान योग्य हुन्छ । ४५ प्रतिशत जति विषादी भए केही दिन क्वारेन्टाइनमा राखेर खान सकिने बताइएको छ । तर, ४५ प्रतिशत भन्दा बढी विषादी पाइएमा नष्ट नै गर्नुपर्ने प्रावधान राखिएको प्राविधिकहरु बताउँछन् ।

खासमा विषादी भनेको जति प्रतिशत भए पनि शरीरका लागि अखाद्य, हानिकारक चिज हो । तर, उत्पादन बढाउने उद्देश्यले व्यावसायिक किसानले अनेक प्रकारका किटनाशक विषादी प्रयोग गर्ने गर्छन् ।

तरकारी, फलफूल सागसव्जी मसला, दाल, खसि बोकासहित वार्षिक रुपमा ७ अर्ब रुपैयाँ बराबरको कृषिजन्य बस्तुको कारोवार धरानको कृषि उपज बजारमा हुने गरेको छ । यहाँ भित्रिने र बाहिरिने सबैखाले तरकारी र फलफूलको विषादी जाँच गरेर मात्र निकासी, पैठारी, आयात र निर्यात गर्ने योजना अनुसार अहिले कडाइ गरिएको व्यवस्थापक भट्टराईले खबरहबसँग बताए ।

उनले भने, ‘यस कार्यमा स्थानीय सरकार, प्रदेश सरकार, संघ र स्थानीय प्रशासनसँग सहकार्यमा सबैको जाँच गरेर मात्र आपूर्ति व्यवस्था मिलाउने योजना बनाउँदै छौं ।’

विषेश गरी कार्वामेट र अर्गानोफस्फेटको ल्याब परीक्षण गरिँदै आएको भट्टराईले बताए । उनका अनुसार बिहानको ४ बजेसम्म सबैको ल्याव रिपोर्ट दिने व्यवस्था गरिए पनि धेरै प्रकारका फलफूल तरकारी भए थप समय लाग्न सक्छ । जसले गर्दा खुद्रा व्यापारीकोमा पुग्न केही ढिलाइ हुने गरेको छ ।

व्यवस्थापक भट्टराईले भन्छन्, ‘कषि बजारको प्रयोगशाला २४ सै घण्टा खुल्ला राखिएको छ । दैनिक बिहान ५ बजे परीक्षणको रिपोर्ट आएपछि मात्रै फलफूल, तरकारी वा हरियो सागसब्जी विक्री वितरणका लागि पठाइने गरिएको छ ।’

उनले हालसम्म काउलीमा विषादीको मात्रा उच्च देखिएको बताए । भारतीय करेला र सिमिमा भने केही समय पर्खेर खान मिल्ने मात्राको विषाली भेटिएको उनी बताउँछन् । यसको अर्थ, ४५ प्रतिशत विषादी प्रयोग भएको करेला र सिमी भारतीय बजारबाट धरानमा आयात भइरहेको छ ।

साना व्यवसायीहरु, जो कृषि बजारमा नपुर्‍याई डोकोमा राखेर चोकचोकमा खुद्रा विक्री गर्छन्, उनीहरुलाई पनि छड्के चेक जाँच गर्ने योजना रहेको भट्टराईले सुनाए । यसअघि कृषि बजारमा आउने तरकारीको विषादी परीक्षण गरिए पनि नतिजा नपर्खी खुद्रा बजारमा पठाइन्थ्यो । खुद्रा व्यापारीहरु विहान ४ बजे नै कृषि बजारमा तरकारी, फलफूल लिन पुग्थे ।

धरानमा पूर्वी पहाडी जिल्ला र पश्चिम नेपालका साथै भारतको बंगाल, विहारबाट समेत फलफूल र तरकारी आउने गरेको छ । ती तरकारी, फलफूलको विषादी परीक्षणको नतिजा आएपछि मात्रै खुद्रा बजार पठाउने नयाँ व्यवस्था गरिएको व्यवस्थापक भट्टराईले बताए ।

धरानको कृषि बजारस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा अहिलेसम्म तीन हजार भन्दा बढी नमुनाको परीक्षण भैसकेको छ । व्यवस्थापक भट्टराईका अनुसार ल्याब परीक्षण नगरी फलफूल तरकारी बेचेको पाइएमा नियन्त्रणमा लिइने गरिएको छ ।

विषादी प्रयोग नगरेको तरकारी फलफूल वा सागसब्जी किन्नका लागि उपभोक्ताले या त अग्र्यानिक कृषि फर्ममा पुग्नुपर्छ, या आफ्नै खेतबारीमा खेती गर्नुपर्छ । तर, बढ्दो शहरीकरणका कारण जमिनको अभावमा खेती गर्ने कुरै भएन ।

अग्र्यानिक फर्ममा उत्पादित हरियो सागसब्जी, तरकारी पर्याप्त पाइँदैन । पाइहाले पनि दोब्बर मूल्य तिर्नुपर्छ । अन्ततः हरियो सागसब्जी, फलफूल तरकारीसँगै आधुनिक उपभोक्ताहरु विषादी खान बाध्य भएका छन् ।

नेपालमा विषादी प्रयोगको अवस्था

नेपालमा पाँच समूहका ३ हजार २० प्रकारका विषादी प्रयोग भएको क्वारेन्टिन एवं विषादी व्यवस्थापन केन्द्रको तथ्याङ्कमा उल्लेख छ । तिनीहरुमा अर्गानो क्लोरिन समुहका अल्ड्रिन, डाइअल्ड्री, डीडीटी, बीएचसी, क्लोरेडेन, लिण्डेन, इन्डोसल्फान लगायत पर्छन् ।

अर्गानोक्लोरिन समूहको विषादीले मानव शरीरमा सिधै असर पार्ने किटनासक विषादीका विशेषज्ञहरुले बताएका छन् । यो समूहको विषादीले केन्द्रीय स्नायु प्रणाली कमजोर बनाउँछ । शरीरको बोसोयुक्त अंग वा मांसपेशीमा त्यो विषादी लामो समयसम्म रहन्छ । यो समुहको विषादीले मानिसको शरीरमा रगतमार्फत अक्सिजनमा साइटो अक्सिडेज इन्जाइमको प्रवाहलाई अवरोध गर्छ । यसले स्नायु प्रणालीलाई असन्तुलित र निस्कृय पार्ने हुनाले कलेजो र मृगौला बिगार्न सक्छ ।

यस्तै, अर्गानोफस्फेटस समूहको विषादीमा डाइक्लोरोभस, क्लोरोपाइरिफस, मालाथिन आदि पर्छन् । नेपालमा अर्गानो क्लोरिन समूहको विषादीमा पूरै प्रतिवन्ध लगाइएपछि विकल्पमा अर्गानोफस्फेटस समूहका विषादी प्रयोगमा ल्याइएको बताइन्छ । प्रतिवन्धित गरिएको विषादी र विकल्पमा प्रयोगमा ल्याइएका विषादीको असरमा भने खासै फरक छैन । नाम मात्र फरक रहेको विज्ञहरुको भनाइ छ ।

अर्गानोफस्फेटले मस्तिष्को मुख्य स्नायु प्रणालीमा असर पुर्‍याउँछ । कतिसम्म भने मेरुदण्ड र मस्तिष्कको बाहिरी नसालाई समेत तीव्ररुपमा असर पुर्‍याएर यसले एसिटायल कोलिनइस्टेरेज इन्जाइम प्रवाह नै रोकिदिन्छ ।

अर्को विषादी समूहहो– कार्वामेट । यो समूहमा कार्वारिल, कार्वाफ्यूरान, कार्वोसल्फान लगायतका विषादी रहेका छन् । फलफूल तरकारीमा व्यावसायिक किसान र व्यापारीहरुले यी विषादी अत्यधिक मात्रमा प्रयोग गर्दै आएका छन् ।

कर्वामेट समूहको विषादीले पनि शरीरको जैविक प्रक्रियामा अवरोध पुर्‍याउँछ । यसले पनि मान्छेको शरीरको कोलिनइस्टेरेज इन्जाइमको गतिविधिमा अवरोध गरेर समस्या उत्पन्न गराउँछ ।

फलफूल तरकारीको उत्पादन बढाउने उद्देश्यले आधुनिक किसानहरुले सिन्थेटिक पाइरेथ्रोइडट्स समूहका विषादी पनि अत्यधिक प्रयोग गर्ने गरेका छन् । यो समुहमा परमेथ्रिन, साइपरमेथ्रिन, फेम्भलरेट, डेल्टामेथ्रिन लगायतका विषादीहरु रहेका छन् ।

सिन्थेटिक पाइरेथ्रोइड्स समूहको विषादी मानिसका लागि कम घातक र माटोमा पनि कम समयमात्र अवषेश रहने भए पनि निरन्तर प्रयोग गर्दा किरामा प्रतिरोधात्मक क्षमता विकास हुने भएकाले हानिकारक मानिन्छ ।

स्वास–प्रश्वास (फोक्सो), छाला, मुख र आँखाबाट विषादी मानिसको शरीरमा प्रवेश गर्छ । किटनाशक विषादीका कारण क्यान्सर, पक्षघात, मुटु, कलेजो, मिर्गाैला र पेटसम्बन्धी विभिन्न रोग लाग्न सक्ने विषेशज्ञहरुले बताउँदै आएका छन् । सबैभन्दा बढी बेमौसमी तरकारी, फलफूल र सागसव्जीमा विषादी प्रयोग हुने गरेको छ ।

विषादी प्रयोग गर्ने किसानलाई सिधै असर पर्ने नै भयो, यो विषादी प्रयोग गरेको फलफूल, तरकारी वा सागसब्जी बजारमा पुगेपछि किनेर खाने आम उपभोक्ताको शरीरमा पनि पुग्ने भएकाले सचेत हुन जरुरी छ ।

ढुसी लाग्नबाट बचाउन किसानहरुले प्रयोग गर्ने अर्को विषादी हो– फन्जिसाइट । खेतबारी वा फर्ममा उत्पादन भइसकेको फलफूल तरकारीमा ढुसी नलागी जस्ताको त्यस्तै रहोस् भनेर फन्जिसाइट विषादी प्रयोग गर्ने गरिएको छ ।

नेपाल सरकारले हालै २१ किसिमका विषादीमा प्रतिवन्ध लगाएको छ । ती प्रतिवन्धित विषादीहरुमा क्लोरडेन, इण्ड्रिन, डीडीटी, डाइअल्ड्रिन, अल्ड्रिन, लिण्डेन, फस्फामिडीन, हेप्टाक्लोर, मिरेक्स, टोक्साफेन, विएचसी, फोरेट, कार्वोफ्यूरान, कार्वोरिल, अर्गेनोमर्करी क्लोराइड, मेनोक्रोटोफस, मिथायल पाराथायन, इण्डिोसल्फान, ट्रायजोफस र डाइक्लोरभस रहेका छन् ।

खेतबारीमा विषादी प्रयोग गर्न किसानले अनिवार्य अनुमति लिनुपर्ने प्रावधान ०७५ माघमा बनेको जीवनाशक विषादी व्यवस्थापन सम्बन्धी ऐनमा व्यवस्था गरिएको छ । तर, यसको कार्यान्वयन भने शून्य रहेको छ ।

ऐनको दफा ८ मा विषादी प्रयोग गर्ने, छर्किने व्यावसाय गर्नेले केन्द्रबाट अनिवार्य अनुमति लिनुपर्ने र विषादीको प्रयोग, उत्पादन, निकासी–पैठारी, व्यवासायिक प्रयोग, भण्डारण, विक्री वितरण, ओसारपसार र प्याकिङ गर्नका लागि तीन बर्षको इजाजत लिनुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : २५ जेठ २०८२, आइतबार  ८ : ४५ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले