ग्राण्डी सिटीले युवतीको तिघ्राको अप्रेशन बिगारेपछि… | Khabarhub Khabarhub

डाक्टर Vs अदालत

ग्राण्डी सिटीले युवतीको तिघ्राको अप्रेशन बिगारेपछि…

अस्पतालले देखायो युवतीको छाला र नियतमा खोट, अदालत भन्छ– डाक्टर नै दोषी


२४ असार २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 14 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय राजधानी काठमाडौंमा यो साता चिकित्सकहरु बिरामीको उपचार नै प्रभावित हुने गरी सडक आन्दोलनमा उत्रिए । गत चैत्रमा खुलेको उपभोक्ता अदालतले काठमाडौंका तीनवटा अस्पताल (ओम, हिमाल र ग्राण्डी सिटी) लाई लाखौं रुपैयाँको क्षतिपूर्ति तिराउने फैसला सुनाएलगत्तै चिकित्सकहरु अदालतविरुद्ध सडकमा उत्रिएका हुन् ।

शुरु अदालतको फैसलाबारे चित्त नबुझेमा उच्च अदालत वा सर्वोच्च अदालतसम्म पुनरावेदन गर्न पाउने हक हुँदाहुँदै न्यायालयकै विरुद्ध डाक्टरहरु किन सडकमा उत्रिएका होलान् ? यो प्रश्न आन्दोलनकारी संस्था नेपाल चिकित्सक संघ, अस्पताल प्रशासन र सडकमा नारा लगाउने चिकित्सकहरुतर्फ सोझियो । फलस्वरुप मंगलबार आन्दोलन फिर्ता लिन चिकित्सकहरु सहमत देखिएका छन् । सरकारले पनि कानून फेर्ने सहमति जनाएको छ ।

उता, अदालतको निर्णयविरुद्ध सडकमा आएका चिकित्सकहरुले नेपाल मेडिकल काउन्सिल हुँदाहुँदै उपभोक्ता अदालतले ‘अस्पतालको केस’ हेर्न नमिल्ने तर्क गरिरहेका छन् । तथापि, यसअघि पनि डाक्टरको लापरवाहीविरुद्ध जिल्ला अदालतमा मुद्दा चल्ने गरेको थियो र त्यसको विरोधमा चिकित्सहरुले सडक तताएका थिएनन् ।

पछिल्लो समय काठमाडौंको कमलादीमा रहेको ग्रान्डीसिटी अस्पताल, ज्ञानेश्वरस्थित हिमाल अस्पताल र चाबहिलमा रहेको ओम अस्पतालविरुद्ध उपभोक्ता अदालतले तीनवटा फैसला सुनायो । तिनै फैसलाको विरोधमा डाक्टरहरु आक्रोशित भएर सडकमा उत्रिएका हुन् ।

त्यसो त चिकित्सकहरुले आन्दोलन गरिरहेकै बेला मंगलबार मात्रै थापाथलीस्थित नर्भिक अस्पतालले ७० वर्षे एक महिलाको उपचारमा लापरवाही गरेवापत १८ लाख क्षतिपूर्ति तिरेर उपभोक्ता अदालतमा मिलापत्र गरेको छ ।

त्यस्तै, नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा कार्यरत चिकित्सक र महाराजगञ्जको सरकारी अस्पताल कान्ति बाल अस्पतालका चितित्सकविरुद्ध पनि उपभोक्ता अदालत, त्रिपुरेश्वरमा दुईवटा मुद्दा विचाराधीन छन् ।

कान्ति अूस्पतालविरुद्ध बच्चाको मृत्यु भएको मुद्दा परेको छ भने एभरेष्ट अस्पतालविरुद्ध बच्चाकी आमाको मृत्यु भएको मुद्दा उपभोक्ता अदालतमा विचाराधीन छ । दुबै मुद्दामा पीडितले क्षतिपूर्तिको माग गरेका छन् ।

चिकित्सकहरुले आन्दोलनमा उत्रनुपर्ने कारणका रुपमा व्याख्या गरेको ग्रान्डी सिटी हस्पिटलको घटना के थियो ? आउनुहोस् त्यसबारे यहाँ केस स्टडी गरौं–

तिघ्राको उपचारमा लापरवाही गर्दा….

धरान स्थायी घर भई काठमाडौंमा बसोबास गर्ने एक २८ वर्षे नेपाली युवती अष्ट्रेलियामा मोडलिङमा काम गरिरहेकी थिइन् । उनी सुन्दरी प्रतियोगितामा भाग लिने तयारीमा थिइन् । यसही क्रममा उनले आफ्ना दुबै तिघ्राको आकार मिलाउने निर्णय लिइन् । उनको यही निर्णय अन्ततः ग्राण्डी सिटी हस्पिटलविरुद्धको मुद्दामा परिणत हुने दुःखद स्थितिमा पुग्यो ।

पीडित युवतीले गत ०८१ चैत ११ गते उपभोक्ता अदालतमा दर्ता गराएको फिरादपत्रको सार यस्तो छ–

सांकेतिक तस्बिर

म फिरादी अष्ट्रेलियामा मोडलिङको काम गर्दै आएकोमा भविश्यमा सुन्दरी प्रतियोगितामा भाग लिने तयारी गरिरहेकी थिएँ । यसै क्रममा मैले आफूलाई आकर्षक देखाउनका लागि मेरा दुबै तिघ्राहरुको आकार मिलाउने मन गरेकाले सो काम नेपालमा नै सस्तो, सुलभ र भरपर्दो हुने जानकारी पाएपछि सन् २०२३ को अन्त्यतिर नेपाल आएकी थिएँ ।

नेपाल आएपछि दक्ष सेवाका लागि बुझदै जाँदा डा. सञ्जीव त्रिपाठीलाई भेट गरी मेरो शरीरको बोसो निकाल्दा छाला लुज हुने– नहुने सम्बन्धमा परामर्श लिँदा सो नहुने र अलिअलि भएमा पछि आफैं आकारमा आउने भनी आश्वस्त पार्नुभएको थियो ।

निजको सल्लाहबमोजिम मिति २०२४ फेब्रुअरी १६ मा अपरेशनको मिति तय गरियो । अपरेशनको मिति तय भएको दिन दुई पटक सर्जरी गर्नुपर्ने बारेमा मलाई जानकारी गराइएको थिएन । अपरेशनका क्रममा मेरी दुबै जाँघको आकार छरितो देखाउने उद्देश्य रहेकाले कन्टुरिङ मात्र गरिदिनु, धेरै बोसो नझिकिदिनुहोला भनेकोमा डा. सञ्जीव त्रिपाठीले २ लिटर झिक्नुपर्छ भन्नु भएको तर मेरो थाईबाट ४ लिटर झिक्ने कार्य भयो ।

मेरो अपरेशनको समय ४ घण्टासम्म लाग्ने भनेकोमा मेरा आफन्तलाई जानकारी नगराई ७ घण्टा लगाइयो । २०२४ फेब्रुअरी १७ मा अस्पतालबाट डिस्चार्ज भई २०२४ फेब्रुअरी १९ मा मेरा जाँघहरुको आकार एकै प्रकारको नभएको भनी प्रश्न गर्दा सुन्निएका कारणबाट हो, पूरै नर्मलमा आउन ६ देखि ८ महिना लाग्ने जानकारी गराइयो ।

अपरेशनको तीन महिनापछि मेरो लुज छाला आकारमा नआई खत, फाईब्रोसिस, गाँठाहरु रही बोसो झुण्डिएको देखियो । जसको समाधान गर्न डा सञ्जीव त्रिपाठीको सल्लाह बमोजिम पुनः mini thai lift को २५, सेक्टेम्वर २०२४ मा अपरेशन भयो ।
मेरो अपरेशन गरेको स्थानमा १ अक्टोवर २०२४ मा टाँका खुलेपछि डाक्टरले मलाई विश्वास दिलाई जिउ ज्यानमा क्षति पुग्ने काम गरेको आशंका भई डाक्टरको योग्यतामाथि शंका हुन पुग्यो । निरन्तर फलोअप गरिरहेको अवस्थामा विपक्षी डाक्टरले चाँडै ठिक हुन्छ भनिरहने तर सम्पर्कमा नआउन खोज्नुभयो ।

पछि अन्य डाक्टरहरुसँग बुझ्दा विदेशमा अरु आवश्यक सर्जरी गरेमा जाँघमा केही सुधार हुन्छ, सोको लागि ७७०० USD लाग्ने भनेका छन् ।

डा. सञ्जीव त्रिपाठीलाई ग्राण्डी सिटी हस्पिटलले कारवाही नगरेकोले विभागीय कारवाहीका लागि नेपाल मेडिकल काउन्सिलमा उजुरी गरेकी छु । विपक्षीको लापरवाहीयुक्त अपरेशनका कारण मेरा दुवै जाँघमा दुखाईको पीडा रहेको, छाला लुज र खराब भएको, खत एवं गाँठाहरु देखिई कुरुप भएको अवस्था छ । डाक्टरको यस किसिमको लापरवाहीमा अस्पतालको समेत मिलेमतो रहेको हुँदा अस्पताल जिम्मेवारीबाट पन्छिन सक्ने होइन ।

विपक्षी चिकित्सकले झुट्टा परामर्श दिएको, योग्यता ढाँटेको, ठगी एवं गैरजिम्मेवारीपन देखाएको र लापरवाहीयुक्त कार्य गरी होसियारी नअपनाएका कारण मेरो स्वास्थ्यसम्वन्धी संविधान प्रदत्त हकको हनन भएको छ ।

विपक्षीहरुले उपभोक्ता संरक्षण ऐन, जनस्वास्थ्य सेवा ऐन, मुलुकी देवानी संहिता अन्तर्गतको दुष्कृति गरी मलाई आर्थिक र गैह्र आर्थिक रुपमा ३ करोड १७ लाख बराबरको क्षति पुर्‍याउनु भएको हुँदा विपक्षीहरुबाट एकल र संयुक्तरुपमा फिराद दावी बमोजिमको क्षति भराई मुलुकी अपराध संहिताको दफा २३२ बमोजिम सजाय गरिपाऊँ ।

ग्राण्डी सिटीको जवाफ

युवतीले लगाएको अराोपको हकमा ग्राण्डी सिटी अस्पतालले भने आरोपलाई अस्वीकार गर्दै युवतीको छालालाई दोष दिएको देखिन्छ । पढौं, अस्पताल प्रशासनले उपभोक्ता अदालतमा बुझाएको प्रत्युत्तर पत्रको सार संक्षेप–

फिरादी यस हस्पिटलमा लिपोसक्सन अपरेशन गर्न आउनुभएको, अपरेशनको कार्य सम्पन्न गरी जानुभएकोमा कुनै विवाद छैन । लेखिएका अन्य व्यहोराहरु पूर्णरुपमा झूटा रहेको छ । अस्पतालबाट डिस्चार्ज भइसकेको १० महिनासम्म अस्पताल एवं संलग्न डाक्टरसँग रकमको बार्गेनिङ गरी दुःख दिइरहनुभएको र माग बमोजिमको उद्देश्य पूरा नभएपछि झूटा व्यहोरा खडा गरी जालझेलपूर्ण किसिमबाट प्रस्तुत फिरादपत्र दायर गर्नुभएको हुँदा खारेज गरिपाउन भएको सत्यतथ्य व्यहोरा निम्न प्रकरणहरुमा उल्लेख गरेको छु । मुद्दासँग सम्बन्धित तथ्य निम्न बमोजिम रहेको छ ।

क. ग्राण्डी सिटी हस्पिटल प्रा.लि. समितिभेज इन्टरप्राइजेज अस्पताल थाइल्याण्ड, बैंककको सहयोगमा अस्पतालको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने गरी सेवा दिने उद्देश्यबाट ग्राण्डी इन्टरनेशनल अस्पताल लि. टोखा, काठमाडौं स्थापना भएपछि उक्त अस्पतालले अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य मापदण्ड पूरा गर्ने प्रयोजनका लागि शहरको केन्द्र भागमा सेवा उपलब्ध गराउनुपर्ने भई मिति २०७०/०२/०२ मा. काठमाडौं महानगरपालिका वडा नं.२७ कान्तिपथस्थित ज्योति भवनमा शाखाको रुपमा स्थापना गरिएको थियो । पछि ग्राण्डी ईन्टरनेशनल अस्पताल लि.ले आफूलाई शाखाको रुपमा सञ्चालन गर्न आवश्यक नपरेको र छुट्टै अस्पताल सञ्चालन भएमा कुनै अब्जेक्सन छैन भनी जानकारी गरेपश्चात छुट्टै अस्पतालको रुपमा सञ्चालन गर्न अनुमति प्राप्त गरी सञ्चालनमा रही आएको छ ।

फिरादीको शारीरिक मानसिक अवस्था र परामर्शको विवरण : फिरादी बर्ष २८ की … अस्पतालको ओपिडीमा २४, सेक्टेम्वर २०२३ मा परामर्शका लागि पहिलोपटक आउनु भएको थियो । अस्पताल आएको करिव ५ महिनापछि अपरेशन गर्ने निर्णय गर्नुभएको र यो बीचमा अन्य अस्पतालका प्लाष्टिक सर्जन डाक्टरहरुसँग परामर्श गरी यस अस्पतालमा अपरेशन गर्ने निर्णय गरेको भनी जानकारी गर्नुभएको थियो ।

फिरादीको समस्या थाई तथा पेटको अगाडि र पछाडिको बोसो बढी भएको भन्ने थियो । यस्तो बोसोलाई मेडिकल भाषामा Stubborn भन्ने बुझिन्छ ।

अपरेशन अगाडि फिरादीको तौल ७५ के.जी. र उचाई १६४ सी.एम. रही Body Max Index २८ को हाराहारीमा देखिएकाले यो तथ्याङ्कलाई बढी तौल भएको भन्ने बुझिन्छ ।

फिरादीले आफ्नो थाईको आकार धेरै ठूलो भई कपडा लगाउँदा असहज भएको, थाईको भित्री भागहरु एक आपसमा ठोक्किने, घर्षण हुने कारणले हिँड्न अप्ठ्यारो भएको जानकारी गर्नु भएकोमा स्वास्थ्य परीक्षण हुँदा उल्लेखित समस्या देखिएको थियो ।
फिरादीले आफ्नो चिउँडोमुनिको बोसो र मोटो तिघ्रा मन नपरेकाले सर्जरी गरी पातलो बनाउन चाहेको र पहिलो चरणमा जाँघ (तिघ्रा) को सर्जरी गर्ने ईच्छा जाहेर गर्नुभएको थियो ।

फिरादीले आफ्नो कन्सल्टेशनमा आफू डिप्रेशन र एन्जाईटीको बिरामी रहेको तर हाल कुनै किसिमको औषधी सेवन नगरेको भन्नुभएको तर एनेस्थेसिया डाक्टरसँग आफूले ब anxiety and other psychological problem को औषधी सेवन गरिरहेको व्यहोरा उल्लेख गर्नु भएको छ ।

फिरादीलाई अस्पतालबाट ओपीडी सेवाबाट दिएको परामर्शमा शल्यक्रियाका क्रममा एवं शल्यक्रियापछि हुन सक्ने निम्न बमोजिमको कम्प्लिकेशनका बारेमा परामर्श जानकारी गरिएको व्यहोरा निवेदन गर्दछु ।

Local

Odema, ecchymosis

Seromas

Haematomas

Wound infection

Under correction

Over correction

Irregularities

Skin Laxity

Hyperpigmentation

Scar related

Skin necrosis

Neurological

Umbilical deviation

Systemic

Significant blood loss

Hypothermia

Visceral perforation=

Fulminant infection

Fat embolism syndrome

DVI, thromboembolism

Pulmonary oedema

Dissatisfied patient

पहिलो अपरेशनसम्वन्धी विवरण : मिति १६ फेब्रुअरी २०२४ मा शल्यक्रिया हुनुभन्दा अगाडि फिरादीलाई निजको शारीरिक बनोट लुज र छाला तन्किने किसिमको रहेकाले अपरेशनपछि पूर्णरुपमा खुम्चिएर आकारमा नआउन सक्ने सम्भावना रहेको भनी जानकारी गरेकोमा सामान्य लुज हुने सम्भावनालाई स्वीकार गर्नु भई फिरादीको लिखित सहमतिपछि शल्यक्रियापूर्व गर्नुपर्ने स्वास्थ्य परीक्षण सम्पन्न गरी निजकै ईच्छानुसार Upper Back, थाई र चिन (Chin) को लाईभस्टक्सन गरी दुवै थाई, चिउँडो र थाईको पछाडिको माथिल्लो भागको शल्यक्रियाको कार्य सफलतापूर्वक सम्पन्न भएको थियो ।

अपरेशन अगाडि कुनै पनि प्लाष्टिक सर्जनले कति लिटर बोसो निस्किन्छ भन्न सक्ने अवस्था हुँदैन । फिरादीको ईच्छा स्लिम थाई बनाउने भएकाले सोलाई मध्यनजर गरी बोसो निकाल्ने कार्य हुन्छ ।

फिरादीको हकमा थाईबाट करिव ३.८ लि. फ्याट निस्किएको थियो । निजको शरीरको तौल र मोटाइ अनुसार सो मात्रा धेरै सामान्य हो । थाईबाट ७ लिटर सम्म फ्याट निकालिएका रेकर्डहरु रहेका छन् ।

Liposuction अर्थात बोसो निकाल्ने शल्यक्रिया Day care surgery भई अस्पताल बस्न नपर्ने भएता पनि फिरादीमा एन्जाईटीको समस्या देखिएकाले भोलिपल्ट मात्र डिस्चार्ज गरिएको थियो ।

फिरादीले शल्यक्रियापछि अस्पतालको सिफारिसबमोजिम लगाउनुपर्ने कम्प्रेसन गार्मेन्ट, खानुपर्ने Collagen Supplement के कति खानु भयो, पोष्ट सर्जरी फलोअप गर्नुपर्ने निर्देशनको पालना गरे नगरेको कुनै पनि जानकारी अस्पताल एवं डाक्टरलाई गर्नु भएन ।

स्वस्थ र टाइट शारीरिक बनोट भएका व्यक्तिहरुको सामान्यतया Liposuction गरेको ३ देखि ४ महिनासम्ममा छालाहरु खुम्चिएर शरीरको आकार दिने अनुमान गरिन्छ । तर, बिरामीको उमेर, वंशाणु गुण, लुज शारीरिक बनोट, अन्य स्वास्थ्य समस्या, अपरेशनपछिको थेरापी, पहिरन, आहार विहार आदिका कारणबाट अनुमान भन्दा फरक परिणाम आउन सक्ने कुरामा डाक्टरको कुनै भूमिका हुन सक्दैन ।

दोस्रो अपरेशनसम्वन्धी विवरण : मिति १६ फेब्रुअरी २०२४ मा भएको Liposuction अपरेशनपछि मिति १९ फेब्रुअरी २०२४ मा अस्पतालवाट ड्रेसिङ्ग गरी जानु भएपछि करिब ७ महिनापछि आफ्नो शरीर र छाला पूर्ण आकारमा नआई खत रेसाहरु, मसिना गाँठाहरु देखिएको, छालामा बोसो थैली झुण्डिएको भन्ने जानकारी गराउनु भएकोमा परीक्षण गर्दा ठूलो असर परेको देखिएन ।

थाईको Liposuction पछि यस किसिमका सामान्य समस्याहरु आउने गर्दछन् र फिरादीलाई पनि पूर्वजानकारी गराइएको थियो । थाईको केही बोसोका गाँठा र लुज छालालाई सामान्य शल्यक्रिया गर्न सुझाइएकोमा फिरादीले थाई लिफ्ट/थैलिप सर्जरी गर्ने भन्नुभयो, जुन नितान्त Cosmetic Surgery हो । Cosmetic Thigh lift surgery घुँडादेखि तिघ्राबीचको भाग (Groin) सम्म गर्नुपर्ने हुन्छ ।

बिरामीको शारीरिक बनोटका कारण भित्री थाईको घुँडादेखि तिघ्राको भित्री भागसम्म छाला लुज रहेकाले Standard Thigh lift गर्ने सल्लाह दिइएको थियो ।

फिरादीले छोटो लुगा लगाउनुपर्ने र मध्य थाई भन्दा मुनि दाग, रेसा देखिन नहुने भन्नु भएकोमा Standard Thigh lift नगर्दा थाईको सेप आकारमा नहुने बारेमा पटक–पटक जानकारी गर्दा फिरादीले नमानेपछि फिरादीको लिखित सहमति लिई शल्यक्रियापूर्व गर्नुपर्ने स्वास्थ्य परीक्षण सम्पन्न गरी निजकै ईच्छानुसार मिति २५ सेक्टेम्बर २०२४ मा तिघ्राको बीच भाग भन्दा माथिवाट Mini thigh lift or short scar thigh lift सर्जरी गरिएको हो । शल्यक्रियामा सिनियर प्लाष्टिक सर्जन डा. सुरेन्द्रजंग बस्नेत, डा. कृष्ण कुमार नगरकोटी, डा. सञ्जीव त्रिपाठीबाट मिनी शल्यक्रिया सम्पन्न भई भोलिपल्ट डिस्चार्ज हुनुभएको थियो ।

यसबीचमा कुनै किसिमको complications नरहेको व्यहोरा निवेदन गर्दछु । डिस्चार्जपछि घाउ निको नहुँदासम्म बिरामीले पालना गर्नुपर्ने नियम तथा खानपानका बारेमा जानकारी गराई पठाएकोमा फिरादीले सोको पालना गरेको देखिएन । तिघ्रामा बल पर्ने गरी जबर्जस्ती हिँडडुल गरेको, टाँका लगाएको स्थानमा नियमित ड्रेसिङ्ग गरेको नदेखिएका कारण अपरेशन गरेको केही दिनमा टाँका खुस्किएको अवस्थामा अस्पताल आउनु भएकाले तत्कालै पुनः टाँका लगाई थप स्वास्थ्य उपचार गरी पठाइएको हो ।

यसरी अस्पतालले दिएको परामर्श बमोजिम Standard Thigh lift नगर्दा र पुनः टाँका लगाएको अवस्थामा Scar केही मोटो र Thigh Shape पूर्णरुपमा आकारमा नभएको हुन सक्ने व्यहोरा निवेदन गर्दछु ।

शल्यक्रियापछि फिरादीबाट भएका अमानवीय व्यवहारहरु : प्रकरण नं. (ग) र (घ) को विवरणबमोजिम शल्यक्रिया सम्पन्न भएको केही समयपछि शल्यक्रियामा आफू सन्तुष्ट हुन नसकेको भनेर अनेक किसिमले अत्यधिक फोन म्यासेज गरेर दुःख दिइरहनु भएकोमा अस्पताल तथा डाक्टरहरुबाट निःशुल्क काउन्सिलिङ्ग सेवा प्रदान गरिरहेको अवस्था थियो ।

सोपछि पनि फिरादीले चित नबुझाई करोडौं रकमको मोलमोलाई गर्न थालेपछि निजको क्रियाकलापमा शंका लागि अपरेशन अएको ७/८ महिनापछि फिरादीलाई अस्पतालमा बोलाएकोमा निजका साथ अन्य ४/५ जना अपरिचित व्यक्तिहरुसहित उपस्थित भई अमानवीय व्यवहार देखाएको, पटकपटक अस्पतालको ओपीडी शाखामा आई विवाद गर्ने, फोन रेकर्ड गर्ने, फाइल अभिलेखहरु कब्जामा लिन खोज्ने, फोटो खिच्ने गरी कर्मचारी र डाक्टरसमेतलाई धम्की दिएकाले शान्ति सुरक्षाका लागि दरबारमार्ग प्रहरी बृत्तमा निवेदन दिनुपरेको थियो ।

फिरादीको उपचारमा कुनै गल्ती नभएको, निजकै मञ्जुरी र सल्लाहमा निजले भनेबमोजिम सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अवस्थामा करोडौं रकम माग गर्नुमा निजको मनसाय कुनै पनि बाहानामा रकम असुल गर्ने उद्देश्य रहेको भन्ने प्रष्ट छ । अस्पताल तथा डाक्टरवाट आफूले माग गरेको करोडौं रकम नपाएमा मुद्दा हाल्ने धम्की दिई डाक्टरको विरुद्ध मेडिकल काउन्सिलमा उजुरी गरेको, सोसल मिडियामा अस्पताल तथा डाक्टरको विरुद्ध अनर्गल प्रचार गरी भिडियो अपलोड गरी डाक्टर तथा अस्पतालको विरुद्ध झुट्टा व्यहोराको प्रस्तुत फिरादपत्र दर्ता गर्नुभएको अवस्था छ ।

फिरादीले अन्य अस्पतालका डाक्टरलाई समेत दुर्व्यवहार गरेका कारण मुद्दा चलिरहेको : फिरादीले ग्राण्डी ईन्टरनेशनल हस्पिटल लि. टोखामा कार्यरत प्लाष्टिक सर्जन डा. जशवन शाक्यलाई पनि यस्तै किसिमवाट विभिन्न आरोप लगाई क्षतिपूर्ति माग गर्नु भएकोमा उद्देश्य सफल हुन नसक्दा निज डाक्टर विरुद्ध मेडिकल काउन्सिलमा उजुरी गर्ने आएकोमा निजको उजुरी खारेज भएको छ ।

त्यसैगरी सामाजिक सञ्जालमा अपमानित हुने किसिमका गाली गलौजयुक्त भिडियोहरु अपलोड गरेका कारण फिरादीका विरुद्ध डा जसवन शाक्यले सम्मानित काठमाडौं जिल्ला अदालतमा गाली बेईज्जती मु.नं. ०८१ २९४६ मुद्दा दायर गर्नु भई विचाराधीन अवस्थामा रहेको छ भने निजका विरुद्ध साइबर ब्यूरोमा समेत उजुरी गर्नु भएको छ ।

फिरादीले फरक–फरक अस्पतालमा काम गर्ने Plastic surgeon डाक्टरहरु उपर विवाद गरी मेडिकल काउन्सिल एवं अदालतमा मुद्दा दायर गर्ने, मेडिकल काउन्सिल एवं सोका पदाधिकारीहरुलाई गाली गरी सामाजिक सञ्जालमा भिडियो राख्ने समेतका क्रियाकलाप र व्यवहार हेर्दा निज Psychologically unstable patiant रहनुभएको हो भन्ने देखाउँछ ।

डाक्टरको योग्यता र शल्यक्रियामा प्रयोग भएको उपकरण सम्वन्धमा : शल्यक्रियामा संलग्न डा. सञ्जीव त्रिपाठी सन् २०१५ मा Plastic Surgery मा MD भई नेपाल मेडिकल काउन्सिलको Plastic Surgeon का रुपमा दर्ता भइसक्नु भएको र जापान, अमेरिका, जर्मनी, थाईल्याण्डमा प्लाष्टिक सर्जरीका फरक विधाहरुमा तालिम लिनुभएको छ । Plastic Surgery भित्रको Cosmetic Surgery मा समेत तालिम प्राप्त हुनुहुन्छ ।

फिरादीले डाक्टरलाई अस्पतालबाट निकाल्नु पर्ने भनी अनुचित दबाव दिई आइरहनु भएको छ । ग्राण्डी सिटी हस्पिटलमा Switzerland Nouvang कम्पनीको अत्याधुनिक Power assisted liposcation machine बाट सर्जरी हुने गरेको छ । जहाँसम्म उक्त मेशिन उपकरण सम्भवतः नेपालमा यस अस्पतालसँग मात्र रहेको छ । यस तथ्यले फिरादीको दावी झुट्टा रहेको भन्ने प्रमाणित भइरहेको छ ।

प्रकरण नं. ३ को तथ्य र निम्न आधारसमेतले फिरादपत्र खारेज गरि पाउन निवेदन गर्दछु –

क. झुट्टा परामर्श, जानकारी र गलत आश्वासन दिई हेलचेक्र्याइँ तथा लापरवाही गरेको भन्ने दावी झुट्टा रहेको छ । फिरादीलाई अस्पतालबाट दिएको परामर्शमा शल्यक्रियाको क्रममा एवं शल्यक्रियापछि हुन सक्ने कम्प्लिकेशनका बारेमा के हुने भनी प्रतिउतरको प्रकरण नं. ३ (ख) मा उल्लेख भएको शीर्षकहरुको पर्याप्त परामर्श एंव जानकारी गरिएको थियो । उक्त अवस्थाहरुका बारेमा के कति पालना गर्नुभयो भएन, अस्पताल तथा डाक्टरलाई कुनै जानकारी गर्नु भएको छैन । फिरादी काठमाण्डौं बाहिरको भएको कारणले गर्दा Whatsapp मा प्रश्न सोध्ने र परामर्श लिने सुविधा समेत प्रदान गरिएको थियो । सामान्यतया यस्तो सुविधा डाक्टरहरुले बिरामीलाई दिने गर्दैनन् ।

उक्त सुविधा दिएको फाइदा उठाई रेकर्ड गरेर प्रमाणका रुपमा अदालतमा पेश गर्नुमा निजको मनशाय नियोजितरुपमा पछि रकमको सौदावाजी गर्नको लागि थियो भन्ने तथ्य हाल आएर प्रमाणित भएको छ । यसर्थ गलत सूचना र झुट्टो आश्वासन दिई सेवा र दक्षता सम्वन्धी भ्रमपूर्ण सुचना गरी चरम हेलचेक्रा्याइँ र लापरवाही गरेको भन्ने फिराद दावीलाई विश्वसनीय बस्तुनिष्ठ तथ्य र प्रमाणवाट पुष्टि गर्न सक्नु भएको छैन । केवल काल्पनिक व्यहोरा खड़ा गरी फिरादपत्रमा उल्लेख गरेको आधारमा क्षतिपूर्ति र सजायको दावी पुग्न नसक्ने हुँदा फिरादपत्र खारेज गरिपॉऊ ।

ख. फिरादीको दुवै चरणको शल्यक्रिया हुनु भन्दा अगाडी मिति १६ फेब्रुअरी २०२४ र २५ सेक्टेम्वर २०२४ मा सबै उपचारको कन्सेन्ट (Consent) लिएर गरिएको छ । उपचार पद्दतिमा अवलम्वन गरिने प्रक्रिया र त्यसबाट हुन सक्ने संभावित असरका बारेमा जानकारी दिई मञ्जुरी लिएर उपचार सेवा गर्नुपर्ने भन्ने Informed and effective consent को सिद्धान्तका बारेमा बोलिएको Centerbury VS Spence and Hatcher VS Black मुद्दाको फैसलाको सिद्धान्तबमोजिम शल्यक्रियामा आफ्नो मञ्जुरी नभएको भन्ने दावीलाई उल्लेखित मितिमा गरेका कन्सेन्ट (Consent) लिखतले खण्डन गरिसकेको छ ।

ग. सर्जरीपछि छाला लुज हुनुमा हेलचेक्रयाइँ र लापरवाहीयुक्त किसिमबाट शल्यक्रिया गरेको भन्ने फिरादपत्रको व्यहोरा हेर्दा क्षतिपूर्ति भनी दाबी गरेको रकमलाई स्थापित गराउन डाक्टरको दोष देखाउन खोजिएको रहेछ । थाईको छाला लुज हुनुमा डाक्टरको गल्ती देखिएको छैन । शल्यक्रियापछि छाला लुज हुन सक्ने कारणसहित पूर्ण आकारमा हुन नसक्ने आधारहरुका बारेमा काउन्सिलिङका क्रममा जानकारी गरिएको थियो, लुज हुँदैन भनिएको छैन । (No Doctor can predict this before surgery and there is not any mechanism or test to predict this problem before surgery= No guarantee can be given by any doctor regarding this issue).

फिरादीको घाउको टाका चुँडिनु र निजले चाहेअनुसार Result नआउनुमा छालाको Quality,, डाक्टरको सल्लाहबमोजिम शल्यक्रियापछिको नियमहरुको पालना नगरेको, थाईलाई दबाव हुने क्रियाकलापमा संलग्न रहेको एवं फिरादीको मानसिक अवस्थाले समेत भएको देखिन्छ ।

घ. शरीरमा पर्न सक्ने खतरा सम्बन्धी गलत जानकारी दिई बढी बोसो (Fat) निकालिएका कारण थाईको आकार समान नभएको भन्ने दाबी आफैंमा गलत छ । फिरादीको तौल के.जी., उचाई १६४ सी.एम. र Body Max Index २८ को हाराहारीमा देखिएकाले यो तथ्याङ्कलाई बढी तौल भएको मानिन्छ । शल्यक्रिया अगाडि सर्जनले कति फ्याट निस्किन्छ भन्ने अनुमान लगाउने हो, शल्यक्रियाको क्रममा अनुमान गरेको सास फरक आउनु स्वाभाविक हो । फिरादीको हकमा निजको ईच्छानुसारको आकारमा ल्याउने आधारबाट फ्याट निकाल्ने क्रममा ३.८ लि. निस्किएको थियो ।

Liposuction cur शल्यक्रिया गर्दा लामो समय लागि धेरै फ्याट निकाल्दा डाक्टरलाई धेरै स्ट्रेस र थकान हुने गर्दछ । यस्तो अवस्थामा बिरामीको हितलाई हेरिने हुँदा शल्यक्रियामा संलग्न सर्जनको बदनियत रहेको भन्ने अनुमान गर्न सकिँदैन । नियोजित रुपमा अपरेशन विगारेको भन्ने विश्वास गर्ने आधार देखिएको छैन ।

अप्रेशनपछि शरीरको कुनै भाग सुनिनु र दुखाई हुनु नर्मल प्रकृया हो । यसबारेमा फिरादीलाई शल्यक्रिया गर्नु अगाडि जानकारी गरिएको छ । शल्यक्रिया सम्पन्न भएको मितिले एक बर्षसम्म आफ्नो शरीरबाट बढी बोसो निकालिएको एवं तोकिएको भन्दा बढी समय लगाएको भन्ने शिकायत समेत नगर्नुभएको अवस्थामा मुद्दा दायर गरेकै कारणबाट फिराद दावी पुग्न नसक्ने हुँदा झुट्टा व्यहोराको फिरादपत्र खारेज गरी पाँऊ ।

ङ. फिरादीले विभिन्न प्रकारका साईकट्रिक औषधी (Diazepam (Trade name Valium and Vaniofaxine) सेवन गरेको कुरा Pre anestheisa sheet मा प्रष्टसँग उल्लेख गरेको देखिन्छ । यो औषधीको असर भनेको आफूले गरेको कुरा भुल्ने, confusion हुने गर्दछ । (Benzodiazepines, such as a diazepam, can cuse anterograde amnesia, confusion and sedation= The elderly are more porne to diazepamÚs confusion, amnesia, ataxia, hangover symptoms, and falls= Long–torm use of benzodiazepines, such as diazepam, induces tolerance, dependency and withdrawal syndrome= Like other benzodiazepine, diazepam impairs short–torm money and learning new information).

उपरोक्त तथ्यवाट हेर्दा फिरादीले विनाकारण आवेशमा आई अमानवीय व्यवहार देखाउने, अस्पतालमा अभद्र व्यवहार गर्ने, फाईल प्रमाण कागजातहरु कब्जा गर्न खोज्ने, डाक्टरहरुसँग विवाद गरी पैसाको मोलमोलाई गर्ने सो प्रयोजनको लागि उजुरी गर्ने, गाली गलौज सहितका भिडियो तयार गरी सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेको हुँदा फिरादी Psychologically unstable patiant रहनु भएको हो भन्ने आधारवाट समेत दावी वास्तविक नभएको हुँदा फिरादपत्र खारेज गरिपाँऊ ।

च. फिरादीले अन्य अस्पतालमा कार्यरत सर्जनहरुसँग परामर्श लिइसकेपछि यस अस्पतालमा आउनु भएको उल्लेख गर्नु भएको छ। परामर्शका क्रममा संयम भएर एकै स्थानमा नबस्ने, हड़बढाउने, अस्थिर हाउभाउ देखाउने, कुराहरु लुकाएजस्तो गर्ने देखिएपछि अस्पतालवाट भनेको मितिमा शल्यक्रिया गर्न नसकिने, लामो समय लाग्ने, अरु सर्जनहरुको पनि समय मिलाउनु पर्ने जानकारी गरी सकेसम्म शल्यक्रिया नगर्न सुझाइएको थियो । तर, निजले समय कुर्ने र यसै अस्पतालमा शल्यक्रिया गरिदिन अनुरोध गर्नु भएकाले अस्पतालबाट सर्जरी गरिदिने निर्णय भएको थियो । फिरादीको ईच्छा विपरीत शल्यक्रिया गरेको भन्ने दावी सत्य होइन ।

फिरादीले अस्पतालमा हरेक पटकको छलफल परामर्शको अडियो रेकर्ड गरेको देखियो । यसले निजको मनशाय गलत र अनुकुल समयमा व्यक्तिगत स्वार्थका लागि प्रमाणका रुपमा प्रस्तुत गर्ने पूर्वयोजना अनुरूप काम गरेकी बन्ने प्रस्तुत मुद्दाले पुष्टि गरेको छ । यसरी विभिन्न तथ्य लुकाई अदालतलाई आफ्नो हितमा प्रयोग गर्न सफा हात नलिई अदालत आउने पक्षलाई सहयोग गर्न नमिल्ने (ने.का.प. २०७६ अंक ५ नि.नं. १०२७७) भन्ने प्रतिपादित नजिर सिद्धान्त समेतका आधारमा फिरादपत्र खारेज गरीपाँऊ ।

छ. हामी प्रतिवादीले फिरादपत्रमा उल्लेख भएको कानूनी व्यवस्थाको विपरीत कुनै काम कारवाही नगरेको व्यहोरा प्रष्ट पार्न चाहन्छौं । फिरादपत्रमा संविधानको धारा ३५ को हक हनन भएकोमा धारा ४४ बमोजिम क्षतिपूर्ति, मुलुकी देवानी संहिता २०७४ को दफा ८, १४. ६७२, ६७५, विपरीतको कार्य गरेकोमा दफा ६८२ बमोजिम क्षतिपूर्ति, जनस्वास्थ्य सेवा ऐन २०७५ को ७ र १०, उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ७, १६, १८, विपरीत कार्य गरेकोमा दफा ५१, ५२ बमोजिम क्षतिपूर्तिको माग दावी गर्नुभएको रहेछ । हामी प्रतिवादीले उल्लेखित कानूनी व्यवस्थाको उल्लघन हुने कुनै पनि कार्य नगरेको सम्वन्धमा यसै प्रतिउत्तरसाथ संलग्न प्रमाण कागजात एवं माथिका विभिन्न प्रकरणहरुमा उल्लेख गरिएको तथ्य विवरणले प्रमाणित गरिरहेको हुँदा फिराद दावी झुट्टा रहेको व्यहोरा निवेदन गर्दछु ।

. फिरादीले शल्यक्रियामा संलग्न सर्जनसँग व्यक्तिगतरुपमा लाखौं रकम माग गरिरहेको भन्ने जानकारी भएको थियो । सो उद्देश्य पूरा नभएका कारण शल्यक्रियामा संलग्न सर्जनहरुलाई कारवाही गरी पाउन निवेदनसमेत गर्नुभएको थियो । जुन तथ्यले अस्पताल र डाक्टरसँग फिरादीले रिसईवी र प्रतिशोधको भावना लिएको देखिन्छ ।

शल्यक्रियामा संलग्न डाक्टरवाट परामर्श एवं उपचारमा कुनै गल्ती कमि कमजोरी भएको देखिएको छैन । अस्पतालले निजको माग बमोजिम कारवाही नगरेको प्रतिशोधमा अस्पताललाई समेत मुद्दा दायर गरेको फिरादपत्रको व्यहोराबाट बुझ्न सकिन्छ ।
अनुचित समृद्धि प्राप्त गर्ने मनशायले दायर गरेको फिरादपत्रको आधारमा क्षति भराउन नमिल्ने व्यहोरा निवेदन गर्दछु ।

फिरादीले विना आधार प्रमाण काल्पनिक शीर्षक राखी हावाका भरमा अस्पतालमा शल्यक्रिया गर्दाको खर्च १० लाख, क्षतिको उपचारको खोजी र परामर्श वापत ७ लाख, आय आर्जनको नोक्सानी १ करोड १० लाख, भविश्यमा गरिने उपचार खर्च ७५ लाख एवं सन्ताप, उद्वेग, पीडा, आघात, चिन्ता, दिग्दारी वापत ७५ लाख रुपैयाँ गरी ३ करोड १७ लाख रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने भनी दाबी गरेको देखियो । सो दाबी पूर्णरुपमा काल्पनिक, झुट्टा र अनुचित समृद्धि लिने दुषित मनशाययुक्त रहेको छ ।

अस्पतालमा १० लाख रकम खर्च भएको दाबी लिएको रहेछ । जबकि निजको शल्यक्रियामा Pharmacy खर्चसमेत करिव ५ लाख ५० हजार खर्च भएको छ । यसले फिरादीको दावी पूर्णरुपमा झुट्टा रहेको प्रमाणित हुन्छ ।

फिरादीलाई अस्पतालमा बोलाएर शल्यक्रिया गर्न लगाएको होइन । निजले हामी प्रतिवादीको सिफारिसमा Liposuction को शल्यक्रिया गरेको नभई आफैंले प्रस्ताव गरी आउनुभएको छ । कहाँ, कोसँग के परामर्श लिनुभयो भएन, कति रकम भुक्तानी गर्नु भयो भएन, तथ्यगतरुपमा प्रमाणित कागजात पेश नगरेको तथा पेश भएको खण्डमा समेत उक्त दायित्व हामी प्रतिवादीको हुन सक्दैन । सर्जरी नगर्नका लागि परामर्श दिँदा समेत समय पर्खिएर बस्नु भएको थियो ।

फिरादी अष्ट्रेलियाबाट आउनु, नआउनु, जानु नजानु, काम गर्नु नगर्नु निजको व्यक्तिगत इच्छाको विषय हो । मोडलका रुपमा काम गरे वा नगरेको, beauty and dermal therapist भए नभएको, अष्ट्रेलियामा के काम गर्नु हुन्थ्यो, के कति आय आर्जन थियो भन्ने हामी प्रतिवादीहरुको सरोकारको विषय होइन ।

सर्जरीका कारणबाट निजलाई अष्ट्रेलिया नजानको लागि परामर्श दिएको छैन । कहाँ जानुहुन्छ, कोसँग कस्तो आर्थिक कारोवार गर्नुहुन्छ, अस्पतालको विषय हुन सक्दैन । शल्यक्रियाहरु सफलतापूर्वक सम्पन्न भई कुनै समस्या नदेखिएको अवस्थामा बर्ष दिनपछि आएर विल भरपाई, सम्झौता, तथ्य, आधार प्रमाणले पुष्टि गर्न नसकेको रु. ३ करोड १७ लाख रकम क्षतिपूर्ति दिनुपर्ने भनी फिरादपत्र दायर गरेकै आधारमा दावी ठहर हुन नसक्ने हुँदा ग्रैहकानूनी तवरले रकम असुल गरी अनुचित सम्बृद्धि (Unjust Inrichement) लिने दुषित मनशायबाट दायर भएको प्रस्तुत फिरादपत्र पूर्णरुपमा खारेज गरी न्याय गरिपाँऊ ।

…जुन ऐनअन्तर्गत मुद्दा दायर गरिएको छ, सोही ऐनमा भएको व्यवस्था बमोजिम सजायको माग गरिन्छ । फिरादपत्र विशेष कानून (उपभोक्ता संरक्षण ऐन २०७५) अन्तर्गत दर्ता भएकोमा मुलुकी देवानी संहिता अन्तरर्गतको क्षति दावी गरी फौजदारी अपराध संहिता अन्तर्गतको सजाय माग गरिएको छ । यद्यपि हामी प्रतिवादीहरुबाट कुनै कसुर नगरेको अवस्थामा काल्पनिक व्यहोरा र शीर्षकका आधारमा क्षतिपूर्ति दिई सजायको भागिदार हुन नसक्ने हुँदा केवल रकम असुल गर्ने वदनियतपूर्ण नियतवाट झुट्टा व्यहोरा तयार गरी फिरादपत्र दायर गरेको हुँदा पूर्ण रुपमा खारेज गरी न्याय गरिपाऊँ ।

उपभोक्ता अदालत भन्छ– अस्पताल र डाक्टर नै दोषी

युवतीले ३ करोड १७ लाख क्षतिपूर्ति माग गरेकोमा उपभोक्ता अदालतले ग्रान्डी अस्पताल र चिकित्सक डा. सञ्जीव त्रिपाठीसमेतबाट कुल ५७ लाख १९ हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ । अदालतको यो निर्णयले युवती पीडित रहेको र अस्पताल अनि डाक्टरलाई दोषी प्रमाणित गरेको छ । उपभोक्ता अदालतको निर्णय चित्त नबुझेमा पूर्णपाठ आएको ३० दिनभित्र ग्रान्डी सिटि हस्पिटल र डा. त्रिपाठी उच्च अदालत जानुपर्ने हुन्छ । तर, फैसला आउनासाथ त्यसलाईसमेत राम्रोसँग नपढी उनीहरु अदालतविरुद्ध सडक आन्दोलनमा उत्रेका छन् ।

अदालतकाे निर्णयको सार यस्तो छ-

यसमा निवेदक…. प्रतिवादी ग्राण्डी सिटी हस्पिटलमा कार्यरत प्रतिवादी चिकित्सक संजिव त्रिपाठीबाट आफ्नो शरीरको दुवै जाँघ (तिघ्राहरुको सौन्दर्यकरणसम्बन्धी उपचार लिपोसक्सन (Liposuction) गरेकोमा विवाद नरहेको, मिसिल संलग्न विशेषज्ञको राय हेर्दा निज निवेदकको उपचार पश्चात निजको तिघ्रामा Contour Deformity र Scar (दाग) रहन गई जटिलता उत्पन्न भएको भन्ने देखिएको, उल्लिखित जटिलताहरु सामान्य अवस्थामा फर्काउन सकिने भन्ने विशेषज्ञको राय नदेखिएको, उपचारसम्बन्धी फायलमा रहेको चिकित्सक र बिरामीबिच भएको मन्जुरीनामा हेर्दा उक्त उपचार (शल्यक्रिया) को सम्भावित Complication जस्तै Contour Deformity हुन सक्ने बारेमा बिरामीसँग पूर्वसहमति र मन्जुरी लिएको नदेखिएको समेतका मिसिल संलग्न प्रमाण कागजको मूल्याङ्कनबाट प्रतिवादीहरुले आफूले सेवाग्राहीलाई दिनुपर्ने गुणस्तरीय सेवा प्रदान नगरेका कारण निवेदकलाई पर्न गएको शारीरिक तथा मानसिक पीडा, निजको उमेर, निजले गर्न सक्ने जिविको पार्जनमा पर्न गएको असर समेतलाई विचार गरी प्रतिवादीहरुबाट उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ५१ र ५२ समेतला आधारमा निवेदकलाई जम्मा ५७ लाख १९ हजार रुपैयाँ दिलाई भराई दिने ठहर्छ ।

उल्लिखित क्षतिपूर्ति रकममध्ये प्रतिवादीहरुले उपचारमा गरेको लापरबाहीको तुलनात्मक दायित्वलाई विचार गरी प्रतिवादी डा. संजिव त्रिपाठीबाट ७० प्रतिशत रु.४० लाख ३ हजार ३ सय रुपैयाँ र प्रतिवादी ग्राण्डी सिटी हस्पिटलबाट ३० प्रतिशत १७ लाख १५ हजार ७ सय रुपैयाँ दिलाई भराई दिने ठहर्छ ।

प्रकाशित मिति : २४ असार २०८२, मंगलबार  १० : २८ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय