बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो « Khabarhub

बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि लगानी जुट्यो


२३ श्रावण २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

गोरखा– बूढीगण्डकी जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । साहस ऊर्जा मुख्य साझेदार रहेको टाइम्स इनर्जीले निर्माण गर्न लागेको कूल ३४१ मेगावाट क्षमताको आयोजनाका लागि १० वटा बैंकले लगानी गर्ने भएका हुन् । 

अनुमानित ७० अर्ब लागतमा निर्माण हुन लागेको आयोजनाका लागि ५२ अर्ब ५० करोड रुपैयाँ लगानी गर्न टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा टाइम्स इनर्जीका सुशील थापा र बैंकहरुको नेतृत्व गरेको नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीयओ) ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरे । 

सम्झौताअनुसार एनआईएमबीले १० अर्ब, नबिल बैंकले आठ अर्ब, लक्ष्मी सनराइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । 

साथै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुच्छ्रे बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । सम्झौतापत्रमा पाँच वर्ष चार महिनाभित्र ऋण भुक्तानी गर्ने उल्लेख गरिएको छ ।

प्रवर्द्धक कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । वर्षायामका लागि प्रतियुनिट चार रुपैयाँ ८० पैसा, सामान्य सुक्खायामका लागि आठ रुपैयाँ ४० पैसा र मुख्य सुक्खायामका लागि १० रुपैयाँ ५५ पैसामा बिक्री गर्ने गरी सम्झौता गरिएको छ । 

कूल २५ प्रतिशत लगानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछ । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ ।

परियोजनामा प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँ लगानी हुनेछ । परियोजनाबाट वर्षायाममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ । 

लगानी सम्झौता समारोहमा प्रवर्द्धक कम्पनी टाइम्स इनर्जीले आउँदो भदौबाट बाँध तथा पावरहाउस निर्माणका लागि जग्गा तयार गर्ने काम सुरु हुने र चैतबाट निर्माण सुरु गर्ने जानकारी दिएको छ । 

आयोजनाले २०८७ साल पुस १५ गतेदेखि विद्यत्को व्यावसायिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको छ । उत्पादित विद्युत् ४५ किलोमिटर पर रहेको नुवाकोटको रातामाटे सबस्टेशनमा लगेर जोडिनेछ । सो सवस्टेशन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सहयोगमा निर्माण भइरहेको छ । 

गोरखाको चुमनुब्री–३ सल्लेरीमा बाँध बनाएर ६.९ किलोमिटर सुरुङमार्फत पानी झारेर धार्चे गाउँपालिका–३ तातोपानीमा पावर हाउस निर्माण गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले यसअघि निजी क्षेत्रकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलुखोला दूधकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको र २८५ मेगावाट क्षमताको माथिल्लो तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको अनुभव छ । यो आयोजना निजी क्षेत्रबाट सञ्चालित अहिलेसम्मको ठूलो आयोजना हो । रासस

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ६ : ५५ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक