मेरा प्रिय दाइमध्येका एक हुन्– नन्दु उप्रेती, जसलाई कुनै समय कवि नन्दु ‘परिश्रमी’को नामबाट टाढैबाट चिनेँ, एक कविको रूपमा । सशरीर भेटिएपछि त हामी दाजुभाइ भइहाल्यौँ ।
हामीबीच कहिलेकाहीँ ज्ञान र दर्शनका कुरा, सञ्चोविसन्चोदेखि सुखदुःखका कुरा हुन्छ । समकालीन राजनीति र साहित्यका बारेमा त, कुराकानी हुने नै भयो ।
यसै मेसोमा उहाँसँग धनकुटाबाट कुनै समय इलाम पढ्न गएका पहलमान बस्नेत र हेमचन्द्र भण्डारीको बारेमा पनि कुराकानी भयो ।
मैले सोधेँ– ‘उहाँहरूले त इलाम रहँदा विद्यार्थी आन्दोलनमा जोडतोडले काम गर्नुभएको रहेछ नि ?’
‘हो त, उहाँहरूमध्ये जुलुसको नेतृत्वमा अघिसरा चाहिँ पहलमान हुनुहुन्थ्यो, होस्टल नपाउन्जेल हाम्रै घरमा बस्नुभयो’, नन्दु दाइबाट मेरो जिज्ञासा शान्त भयो । उनका अनुसार पहलमान बस्नेत, नामजस्तै काम गर्ने मानिस, असाध्यै आँटिला थिए ।
धनकुटा नगरको बामपन्थी आन्दोलनबारे यतिखेर केही सम्झिरहेछु । तर खोटाङका बौद्धिक मित्रहरू डा. धनप्रसाद सुवेदी र भगवती शर्माले ‘उदय बस्नेतलाई पनि नबिर्सनु होला नि’ भन्ने खबरदारी गरिरहेका छन् । म स्पष्ट छु, भीरगाउँका उदय बस्नेतले खोटाङको बाम आन्दोलनलाई ठूलो मलजल प्रदान गरे । यता धनकुटामा उनका भाइ पहलमान बस्नेत र चन्द्र बस्नेतसहित सिङ्गो परिवार यो आन्दोलनमा समाहित भएको मैले सानै उमेरदेखि प्रत्यक्ष देख्ने अवसर पाएँ । यो खप्तरी बस्नेत परिवारको बाम आन्दोलनमा संलग्नताको सिलसिला भीरगाउँ र सिङ्गो धनकुटा जिल्ला हुँदै खोटाङ र सोलुसम्म फैलियो ।
बस्नेत दाजुभाइको गिरफ्तारी
२०३३ सालको वर्षात यामको एक बिहान धनकुटा नगरका विभिन्न ठाउँमा एक पर्चा फेला पर्याे । पर्चाको शिर भागमा छापिएको बोल्ड अक्षर नै बडो जोसिलो थियो, ‘तिरो नतिरौँ, शोषण नसहौँ ।’
यस्तो पर्चा बजारभरि देखा परेपछि तत्कालीन प्रशासन चनाखो हुने नै भयो । त्यसलाई भीरगाउँका तत्कालीन प्रधानपञ्चले ठूलो अवसरको रूपमा प्रयोग गरे । उनी थिए– कुनै समय राइटर पद खाएका चक्रबहादुर कार्की । त्यो पर्चा काण्ड लगत्तै भीरगाउँका एकाघरका तीन बस्नेत दाजुभाइको हातमा हतकडी लाग्यो । उदय बस्नेत, पहलमान बस्नेत र चन्द्र बस्नेतको हातमा लागेको थियो, त्यो हतकडी । उनै चक्रबहादुर राइटरले पोलेछन्, तत्कालीन प्रशासनमा । यी निर्दोष दाजुभाइ तिनै निराधार पोलका कारण तीन महिना प्रहरी हिरासतमा बसे ।
यी तिनै भाइ त्यो समय शिक्षण पेशामा आवद्ध थिए । तीनैमा क्रमैसँग बामपन्थ सवार हुँदै थियो । अन्याय नसहने किसिमका थिए । तत्कालिन व्यवस्था टिकाउन अन्याय र अत्याचारमा विश्वास गर्ने ती तत्कालीन प्रधानपञ्चलाई यी दाजुभाइको गतिविधि वा विचार मन पर्ने कुरै भएन । त्यस घटनाअघि नै एक सुधारवादी कार्यक्रममा सहभागी भई आफ्नो सामान्य धारणा राख्दा उदय बस्नेत पक्राउ परिसकेका थिए ।
कुरा के परेछ भने धनकुटाको जोरपाटी भन्ने ठाउँमा एक भेला बोलाइयो, वरिपरिका प्रधानपञ्चहरूको पहलमा । यस्तो भेलाको पहलकदमी गर्ने तत्कालीन तेलियाका प्रधानपञ्च ओझाहाङ लिम्बू र ताङ्खुवाका हरिनारायण दाहाल थिए । त्यहाँ एक बौद्धिक व्यक्तित्वको हैसियतबाट उदय बस्नेतलाई पनि निम्तो पुगेछ । उनले आफ्नो सामान्य भनाइको क्रममा भनेछन्, ‘जुन ठाउँमा एउटा पाटी छैन, त्यही ठाउँको नाम जोरपाटी ?’
यही अभिव्यक्तिका कारण उदयले प्रहरीखोरको बास भोगिसकेका थिए । उनको बारेमा तत्कालीन प्रमुख जिल्ला अधिकारी हरिभक्त रञ्जितकार कहाँ पोलझोस पुग्यो, ‘यहाँ त पार्टी खोल्ने पो कुरा हुँदैछ त !’
जोरपाटी भन्ने ठाउँमा पाटीपौवा बनाउने सम्बन्धमा भेला थियो, त्यही भेलामा उदयको यस्तो धारणा आएको थियो । पोलाहाले ‘पाटी’लाई ‘पार्टी’ भनिदिए । उनको गिरफ्तारी भयो ।
मोटरबाटो बनिनसकेको त्यो समयमा जोरपाटी बटुवाहरूको बाक्लो आवातजावत हुने ठाउँ भएकोले त्यहाँ कसरी पाटीपौवा निर्माण गर्ने भन्ने विषयमा छलफल थियो । त्यो घटनामा उदय गिरफ्तारीमा परे, यता दुई प्रधानपञ्च ओझाहाङ र हरिनारायणले प्रमुख जिल्ला अधिकारीबाट ठूलो खप्की खाए । तीमध्ये तेलियाका तत्कालीन प्रधानपञ्च ओझाहाङ लिम्बूका छोरा हिम्मतसिंह खजुम जीवनभर बामपन्थी भए । उनी महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियू सभापति हुँदा धनकुटामा २०३८ सालमा तत्कालीन मालेमा काम गर्ने चित्र निरौला उपसभापति थिए ।
यसरी बस्नेत परिवारले दुःख पाइरहेको बेला त्यो परिवारबाट केवल उदय मात्र होइन, भाइहरू पहलमान र चन्द्र बस्नेतलाई पनि हतकडी लगाएर ल्याए, भीरगाउँबाट धनकुटा सदरमुकाममा । शिक्षणजस्तो सामान्य पेशा गरेर परिवार पालिरहेका तीनै जनालाई हतकडी लगाएर ल्याइँदा बस्नेत परिवारले भोगेको आर्थिक र मनोवैज्ञानिक पीडा कस्तो थियो होला ?
पर्चा यसरी छरियो
फेरि एकपटक माथि उल्लेख गरिएको पर्चाकाण्डका बारेमा चर्चा गरौँ । खासमा यो पर्चाकाण्डमा यी बस्नेत दाजुभाइको सहभागिता थिएन । त्यो समय उनीहरू भीरगाउँमा थिए । तर यो पर्चा छर्ने त धनकुटा नगर साविकको वडा नम्बर ३ स्थित आत्माराका पोखरेलहरू थिए । तत्कालीन बाम आन्दोलनको एक घटक ‘रातो झण्डा समूह’ले यो पर्चा छापेको थियो । यो पर्चा धनकुटा नगरको बजार क्षेत्रमा छर्न दुई पोखरेल खटिए ।
त्यो समय रमेश पोखरेल विरामी अवस्थाका कारण धनकुटा अस्पतालमा भर्ना भएका थिए । बिरामी कुरुवाको जिम्मा दाजुभाइ खलकका जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलमा आइपर्याे । दुवैले साँझको ७ बजेतिर विरामी रमेश पोखरेलबाट भोजन गराए । विरामीको अवस्था सामान्य थियो ।
जीवप्रसाद र राजकुमारमा आफ्ना परिवारका सदस्य रमेशको अस्वस्थ अवस्थाभन्दा देशको ठूलो चिन्ता थियो । त्यसपछि यी दुई पोखरेलले बाटो तताए । उनीहरू विभिन्न बाटो छल्दै हालको धनकुटा क्याम्पसको प्राध्यापक निवास रहेको ठाउँमा पुगे, जहाँ त्यो समय धनकुटा क्याम्पस सञ्चालित थियो । त्यहाँबाट पर्चा लिएर सार्वजनिक महत्वको ठाउँमा छर्दै उनीहरू धनकुटा अस्पतालमा आइपुगे र फेरि बिरामी रमेश पोखरेलको कुरुवा बने ।
त्यो समय धनकुटामा रातो झण्डा समूहको प्रभाव व्यापक थियो । आनन्दसन्तोषी राई, गोपाल गुरागाईँ, भक्त बोलना राई लगायत त्यो समूहका नेता थिए । जीवप्रसाद पोखरेल र राजकुमार पोखरेलहरू जोशिला कार्यकर्ता । पछि जीवप्रसाद धनकुटा नगरपालिकाको उपमेयरसम्म हुनुभयो भने राजकुमार त्रिभुवन विश्वविद्यालय इतिहास विभागको प्राध्यापक । उनले कम्युनिस्ट आन्दोलनकै विषयमा विद्यावारिधि गरे ।
यो पर्चाकाण्डलाई भीरगाउँका तत्कालीन चक्रबहादुर कार्कीले ठूलो अवसरका रूपमा लिए । उनले बस्नेत दाजुभाइलाई पर्चाकाण्डका नाइकेका रूपमा पोल लगाए, प्रशासनमा । ती दाजुभाइको हातमा हतकडी लागिहाल्यो ।
समय क्रममा यी तीन दाजुभाइमा बामपन्थ सवार हुन थालिहाल्यो, यसै भएन उसै भएन । क्रमशः पार्टीको सम्पर्कमा पुगे यी दाजुभाइ । छिन्ताङ काण्डको समयमा त उदयलाई नख्खु जेल पुर्याए । त्यहाँबाट निस्कनासाथ उदयको भूमिगत राजनीति सुरु भयो । यता नख्खु जेलमै भेटिएका नेता भोजपुर कुलुङका घनेन्द्र बस्नेतकी बहिनी शकुन्तला र उदयका भाइ चन्द्रको पनि लगनगाँठो गाँसियो । उनीहरूले अनेक हण्डर खाँदै परिवार बचाउँदै धनकुटाको बाम आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको एउटा साक्षी म आफैँ पनि हुँ ।
मेधावी जहिल्यै दोस्रो
कुनै समय धनकुटा बहुमुखी क्याम्पसमा राम्रा अंग्रेजी प्राध्यापकको नाम लिनुपर्दा दुईजनाको नाम लिइन्थ्यो, एक जना गोविन्दराज भट्टराई र अर्का नीलबहादुर बस्नेत । पछि लक्ष्मीबहादुर महर्जन पनि थपिएका थिए । उनीहरूमध्ये बस्नेत सर विदेशबाट डिग्री गरेर आएको भनी चर्चित थिए ।
उनी बेलायतको इडनवर्गस्थित स्कटिश सेन्ट फर एजुकेशन ओभरसिज मोरे हाउस कलेज अफ एजुकेशनबाट स्नातकोत्तर तहको उपाधि लिएर आएका थिए । उनले लामो समय धनकुटा बहुमुखी क्याम्पसमा रहेर ज्ञानको ज्योति बाँडे । तर उनी भीरगाउँमा पढुञ्जेल मेधावी भइकन पनि कक्षामा दोस्रो भइरहनु पर्ने ।
कारण उनै थिए, चक्रबहादुर कार्की । उनका एक छोरा जहिल्यै पनि प्रथम भइरहनुपर्ने । चन्द्र सूर्य भइन्जेल राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य हुन सक्दैन भन्ने अदूरदृष्टि भएका यी प्रधानपञ्चलाई आफ्ना एक छोरा पनि विद्यालयमा प्रथम भएको देखिरहने रहर रहेछ । यदि उनका ती छोरालाई प्रथम बनाइएन भने त्यो कर्मका संलग्न शिक्षक कुटिने, लखेटिने वा निष्कासनमा पर्ने अवस्था हुने गर्दथ्याे । त्यसैले नीलबहादुर बस्नेतजस्तो मेधावी जबरजस्ती दोस्रो स्थानमा खुसी हुनुपर्दथ्याे ।
यस्तो अत्याचार भोगेर आउने बस्नेत सरले जहिल्यै पनि बाम रुझान राखिरहेको भेटेँ । यस्तो अत्याचारको कारण बामआन्दोलनका अग्राख बनेर त धनकुटामा उदय, पहलमान र चन्द्रहरू निस्के ।
यी तीन भाइमध्ये उदयले पञ्चायतकालभरि सोलु र खोटाङजस्तो दुर्गम पहाडी जिल्लामा गएर पार्टीको सङ्गठन गरे । बहुदल आएको केही वर्षपछि उनी धनकुटा आए । केही समयको सक्रियतापछि उनी एकाएक निस्क्रिय देखिए । सम्भवतः केही पार्टीभित्र केही कुरा मिलेन कि !
पछि उनले माओवादी रोजे र भूमिगत भए । ढल्कँदो उमेरमा बन्दुक समाए । तर दिवङ्गत आमाको कोरा बसिरहेकै बेला उनलाई गिरफ्तार गरियो । सैनिक क्याम्पभित्र निक्कै यातना दिइएको पनि सुन्नमा आएको थियो ।
अनेकौँ उतारचढाव र सङ्घर्ष गर्दै आफ्नो उर्वर समय देश र जनताको मुक्तिका लागि समर्पित गर्ने नेता उदय बस्नेतको अघिल्लो महिना ८४ वर्षको उमेरमा निधन भयो । उनको योगदान र समर्पणलाई एमाले र माओवादी दुवैले उचित मूल्याङ्कन गरेको भने खासै देख्न पाइएन ।













प्रतिक्रिया