काठमाडौं- विश्व बैंकको ऋणमा नेपालको मुख्य सडकहरू फसेका छन् । तीन तहका सरकार मध्ये प्रदेश सरकार पुँजीगत खर्चमा अगाडि देखिएको छ ।
सातामा शेयर कारोबारको अन्तिम दिन नेप्सेमा गिरावट आएको छ । नेप्सेका कर्मचारीले शेयर खरिदबिक्री गर्ने विषयमा विज्ञहरूको धारणा फरकफरक देखिएको छ ।
आजका आर्थिक समाचार :
विश्व बैंकको ऋणमा नेपालको ‘लाइफलाइन’ यसरी बन्दैछ ‘डेथलाइन’
त्रिभुवन राजपथको काठमाडौंतर्फ रहेको नागबेली पहाडी सडक चिर्दै बग्ने झ्याप्ले खोलामा गएको असोज ११ गते राति गेग्रान सहितको पहिरोले यात्रु सवार गाडीहरू पुर्यो । कम्तिमा ३५ जनाको ज्यान गयो ।
पहिरो गएको घण्टौँसम्म पनि उद्धारकर्मीहरू गाडी पुरेको स्थानसम्म पुग्न सकेनन्। किनकी विश्व बैंकले विभिन्न शर्त राखी ऋण दिएर चौडा गर्न भित्ता ताछिएको सो सडकको प्रस्थानविन्दु नागढुङ्गादेखि नै पहिरोले सडक अवरुद्ध थियो । सिङ्गो राज्य संयन्त्र लाग्दा पनि सो सडकको पहिरो पन्छाउने स्थिति थिएन ।
नेप्सेमा दुई धार : कर्मचारीले शेयर किनबेच गर्न मिल्छ ?
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) भित्र यतिखेर एउटा नीतिगत बहस गर्माएको छ । नेप्सेको अनलाइन डाटा प्रणालीभित्र पहुँच भएका कर्मचारी र नेप्सेका उच्चतहका कर्मचारीहरुले शेयर खरीद–बिक्रीको कारोबार गर्न पाउँछन् कि पाउँदैनन् ? त्यसरी कर्मचारीहरुले नै शेयर खरिद–बिक्री गर्नुलाई ‘स्वार्थ बाझिने भित्री कारोबार’ मान्ने कि नमान्ने ?
खबरहबलाई प्राप्त सूचनाअनुसार नेप्सेमा कार्यरतक कर्मचारीहरुले नै शेयरको कारोबार गर्ने गरेको पाइएको छ । नेप्सेमा सीईओपछिको दोस्रो बरियतामा रहेका निरञ्जन फुँयालले समेत नेप्सेको डाटा प्रणालीभित्रबाट ब्रोकर नम्बर ५० मार्फत शेयर कारोबार गरेको तथ्यसहित गत आइतबार खबरहबले समाचार प्रकाशित गरेको थियो ।
पुँजीगत खर्चमा प्रदेश सरकार अब्बल, चालु खर्चमा आत्मनिर्भर
पुँजीगत खर्चमा संघीय सरकार भन्दा प्रदेश सरकार अगाडि रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष (आव) २०८०/०८१ को एकीकृत वित्तीय विवरणले तीनै तहका सरकारमध्ये पुँजीगत खर्चमा प्रदेश सरकार अघि रहेको देखाएको हो ।
गत आवमा प्रदेश सरकारहरूको चालु तर्फको यथार्थ खर्च ७२ अर्ब दुई करोड ७० लाख रुपैयाँ भएको थियो । यस्तै: पुँजीगत तर्फको खर्च एक खर्ब १२ अर्ब ३२ करोड रुपैयाँ भएको थियो । आर्थिक वर्षभर प्रदेश सरकारहरूले जम्मा एक खर्ब ८४ अर्ब ११ करोड दुई लाख रुपैयाँ खर्च गरेका थिए ।
लगातार ६ दिन बढेको बजार आज १८ अंकले घट्यो
विदेशी नयाँ वर्ष सन् २०२५ देखि लगातार बढेको शेयर बजार आज भने घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १८.१४ अंकले घटेर २६३५.०९ विन्दुमा पुगेको छ ।
आज नेप्से ०.६८ प्रतिशतले घट्दा कारोबार भने वृद्धि भएको छ । आज ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख २३ हजार ३७९ कित्ता शेयर कारोबार भएको छ । आज ५५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८० वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । ७ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
आठौ संस्करणको ‘विराट एक्स्पो’ माघ ११ देखि
उद्योग संगठन मोरङले माघ ११ देखि २० गतेसम्म विराटनगरको डिग्री क्याम्पस मैदानमा आठौ संस्करणको विराट एक्स्पो आयोजना गर्ने भएको छ । आर्थिक एवम् औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले एक्स्पो आयोजना हुने संगठनले जनाएको छ ।
‘डिजिटल कोशी ब्रिजिङ इनोभेशन एण्ड इन्भेष्टमेन्ट’ थिममा एक्स्पो २०२५ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ । औद्योगिक एक्स्पोको माध्यमबाट उत्पादक र उपभोक्ताबीच व्यावसायिक अनुभवको प्रत्यक्ष आदानप्रदान गर्ने, उद्यमी/व्यवसायीबीच व्यवसायिक सम्बन्ध विकास र नयाँ प्रविधि पहिचान स्थापित तथा नवीनतम व्यवसायिक आइडिया भएका युवाहरूलाई उद्यमशीलतामा रूपान्तरण गर्न मद्दत पुग्ने विश्वास आयोजकको छ ।
उपल्लो मुस्ताङमा एकै वर्षमा चार लाख पर्यटक
सन् २०२४ मा चार हजार बढी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२३ को तुलनामा २०२४ मा १४ दशमलव २० प्रतिशतले पर्यटक आगमन वृद्धि भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को लोमान्थाङ कार्यालयले जनाएको छ ।
कार्यालयका प्रमुख उमेश पौडेलले सन् २०२३ मा तीन हजार चार सय ८४ विदेशी पर्यटक यहाँ आएका बताउँदै सन् २०२४ मा चार हजार ६१ जना विदेशीले उपल्लो मुस्ताङ भ्रमण गरेका जानकारी दिए ।
माटोका भाँडा बनाउने व्यवसायीको चिन्ता- युवा बाहिरिए, पुस्तान्तरण भएन
पछिल्लो समय जिल्लामा माटोका भाँडा बनाउने सिपालु कालिगडको अभाव हुन थालेपछि व्यवसायी समस्यामा परेका छन् । युवा शिक्षा तथा वैदेशिक रोजगारीका लागि बाहिर जानु, पुस्तान्तरण नहुनु, भाँडा बनाउने माटो सहजै नपाउनुलगायत कारणले कालिगड पेसा सङ्कटमा परेसँगै व्यवसायी समस्यामा परेका हुन् ।
दक्ष कालिगडको कमी, भाँडा बनाउन आवश्यक पर्ने माटो सहजै पाउन छोडेपछि पूर्वी नेपालको बिर्तामोड र भारतबाट माटोका विभिन्न तयारी भाँडा ल्याएर बिक्री गरिरहेको भाँडा व्यवसायी गणेश शाहले बताए ।
प्रतिक्रिया