‘कांग्रेसले झापा जिल्ला एमालेलाई जिम्मा दिएको हो ?’ | Khabarhub Khabarhub

अन्तर्वार्ता

‘कांग्रेसले झापा जिल्ला एमालेलाई जिम्मा दिएको हो ?’

देउवा दाइ सभापतिमा लड्न पाउनुहुन्न, अब कांग्रेसमा नयाँ गुट बन्छन् : सरिता प्रसाईं


२७ चैत्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : 9 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरिता प्रसाई ०७९ को संसदीय निर्वाचनमा खस आर्य समुदायबाट निर्वाचित युवा नेता हुन् । विगतमा वामपन्थीको गढ मानिने झापा जिल्लाबाट उदाएका कांग्रेस नेताहरुमध्ये प्रसाई पनि एक हुन् ।

नेपाल विद्यार्थी संघ (नेवि संघ) र नेपाल तरुण दल हुँदै पार्टी राजनीतिमा होमिएकी प्रसाईं कांग्रेसको १४औँ महाधिवेशनमा नेता डा. शेखर कोइरालाको प्यानलबाट केन्द्रीय सदस्य बनिन् । अहिले झापाका कांग्रेस नेताहरु कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा अर्र्कै गुटमा रहँदा प्रसाईं भने शेखर कोइराला समूहमा छिन् । पार्टीको १४औँ महाधिवेशनमा शेखर कोइरालालाई जिताउन सक्रिय रहेकी उनी आगामी १५ महाधिवेशनमा फेरि कोइरालालाई सभापतिमा जिताउन लागि परेकी छिन् ।

झापा जिल्ला प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । सरकारमा कांग्रेस र एमालेबीच सहकार्य भइरहँदा झापा जिल्लामा भने कांग्रेसलाई अप्ठ्यारो परिरहेको प्रसाईं स्वीकार्छिन् । तर, आगामी ०८४ को चुनावमा झापाबाट एमालेलाई हराउन कांग्रेस सफल हुने उनले बताइन् ।

प्रसाईंले खबरहबसँग भनिन् ‘अस्ति मैले दलको बैठकमा स्पष्ट राखेँ– झापा जिल्ला एमालेलाई नै जिम्मा दिएको हो, सभापतिज्यू, महामन्त्रीज्यू ? के हो कुरो ? अप्ठ्यारै छ हामीलाई ।’

यसै सन्दर्भमा संसदको हिउँदे अधिवेशनको समीक्षा, कांग्रेस एमाले गठबन्धन सरकार र कांग्रेसभित्रको गुटगत राजनीति लगायतका विषयमा खबरहबकर्मी केशव साउदले सांसद प्रसाईंसँग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

आगामी महाधिवेशनमा शेरबहादुर देउवाले पार्टी सभापतिमा नलड्ने भएका कारण उक्त समूहभित्रको गुट भत्किने प्रसाईंको विश्लेषण छ ।

भर्खरै संघीय संसदको हिउँदे अधिवेशन सकिएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । तर, अपेक्षा गरिएअनुसार अधिवेशनले ऐन–कानुन बनाउन सकेन भनिन्छ । एक विधायकको हैसियतले संसदको यो अधिवेशनलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

संसदको हिउँदे अधिवेशन भनेको विधेयक अधिवेशन नै हो । पहिलाको भन्दा अहिलेको अधिवेशनले धेरै विधेयकहरू पास गरेको छ । हामीले १० वटा विधेयकहरू पास ग¥यौँ । पाँचवटा अध्यादेश र पाँचवटा अरु विधेयकहरू पास भएका छन् । तर, जति हुनुपर्ने हो, त्यति भएन । समितिहरूले विधेयक पास गरेर संसदमा नपठाएका कारण बढीभन्दा बढी विधेयकहरू पारित गर्न नसकिएको हो । पहिलाको भन्दा त अलि बढी नै भएको छ, तर जति हुनुपर्ने थियो, त्यति भएनन् ।

सरकारले दिएको ‘बिजनेस’बारे संसदीय समितिले ढिलो गरी निर्णय लिनुको कारण के होला ? किन ढिलाइ हुन्छ ?

सरकारले विधेयक बनाएर सदनमा पेस गर्छ । पार्लियामेन्टले समितिहरूमा पठाउँछ । समितिमा धेरैले संशोधन पनि हालेका हुन्छन् । संशोधनकर्ता पनि बोलाउनुप¥यो । सरोकारवालाहरूसँग पनि छलफल गर्नुप¥यो । त्यतिले मात्रै हुँदैन, फेरि विशेषज्ञहरूसँग पनि छलफल गर्नुपर्ने हुन्छ । त्यसपछि दफावार छलफलमा जान्छ । यसको प्रक्रिया अलि लामो हुन्छ । हाउस (संसद बैठक) चलेका बेला समितिको बैठक चलाउन अलि गाह्रो हुन्छ । तर, गर्न चाहँदा फेरि छिट्टै पनि हुन्छ । यसमा के भन्ने ? कसलाई दोष लगाउने ? हामीले नै हो नगरेर ढिलो भयो भन्नुप¥यो ।

दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार चलाइराख्नुभएको छ । यो सरकार गठन हुँदा संविधान संशोधनको विषयलाई प्रमुख एजेन्डा बनाउनुभएको थियो, त्यसमा तपाईंहरू प्रवेश नै गर्नुभएको छैन नि ?

खास भन्ने हो भने देशका दुई ठूला दलहरू मिलेर सरकार बनाउने नै होइन । एउटा ठूलो दलले सरकार बनाउने हो, अर्को ठूलो दल प्रतिपक्षमा बस्नु पर्ने हो । तर, हाम्रो देशमा अस्थिर सरकार बनेर छ महिना, एक वर्षमा सरकार फेरिरहँदा जनता पनि एकदमै निराश भए ।

केन्द्रमा मात्रै होइन, प्रदेशहरूमा पनि यस्तो भयो । सात प्रदेश र संघमा गरी आठ वटा सरकारहरू यति हलचल भए कि कामहरू केही भएनन् । विकासका कामदेखि अन्य कुनै पनि काम नहुने, खाली सरकारहरूमात्रै हलचल–हलचल हुन लागे । को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने भन्नेतिरमात्रै गयो । त्यसकारण हामीले नचाहँदा–नचाहँदै पनि बाध्यात्मक स्थिति आयो ।
स्थिर सरकार नदिए त जनता पनि निराश हुने भए । हामी आफैं पनि निराश हुने भयौँ । एक वर्षमा दुईपल्ट सरकार परिवर्तन हुन्छ । प्रधानमन्त्री र मन्त्री बन्न कुद्दा–कुद्दै समय खेर जाने भयो । त्यसकारण यो बाध्यात्मक हिसाबले दुई ठूला दल मिलेर सरकार बनेको हो ।

सरकार त बन्यो, तर जुन हिसाबले सरकार बनेर काम गर्ने भनिएको हो । त्यो कामहरू भइसकेको छैन । तपाईंहरूले जुन संविधान संशोधनको कुरा उठाउनुहुन्छ । हामीले पनि त्यो भनिरहेका छौँ । संविधान संशोधन गर्ने भनेर सरकार गठन भएको हो, यो काम गर्नुपर्छ । ठूला दलहरू मिलेर बनेको सरकारले राम्रा काम गरोस्, भ्रष्टाचार रोकोस् भन्ने हाम्रो जुन इच्छा थियो, त्यो पनि हुन सकेको छैन । नेपाली कांग्रेसको सांसद भएको नाताले हामी जहिले पनि सरकारलाई खबरदारी गरिरहेका छौँ ।

नेपाली कांग्रेसभित्रै केपी ओली नेतृत्वको सरकारप्रति असन्तुष्टिहरू देखिने गरेका छन् नि ?

असन्तुष्टि होइन । दुई ठूला दल मिलेर सरकार बनाइसकेपछि पनि राम्रो काम गर्न सकेन भने त सडकमा यत्रा नारा–जुलुसहरू आइरहेका छन्, उनीहरूलाई त थप बल पुग्छ नि त । दुईवटै ठूला दलले जनतालाई आशा, भरोसा दिन सकेन भने अब जाने कहाँ भन्ने हुन्छ जनतालाई ।

त्यसकारणले हाम्रो त दायित्व हो सरकारले राम्रो काम गरोस्, जनताले चाहे अनुसार अगाडि बढोस् र जनताले राखेका अपेक्षा पूरा गरोस् भन्ने । प्रधानमन्त्री एमालेको हुनुहुन्छ, त्यसकारण हाम्रो कांग्रेसको कुनै दोष छैन भन्न त मिलेन नि । किनकि हामी पनि त सरकारमा छौँ ।

त्यसकारण राम्रो काम गर, सुशासन देऊ, भ्रष्टाचार रोक भन्नका लागि हामी बोलिराख्नु पर्छ । यो हाम्रो दायित्व पनि हो र कर्तव्य पनि हो । एउटा सांसद, पार्टीको केन्द्रीय सदस्यको नाताले खबरदारी बारम्बार गरिराख्नुपर्छ, गरिराखेका छौँ । यसलाई सरकारकाप्रति नै असन्तुष्टि भन्न मिलेन । सरकारलाई सही दिशामा हिँडाउन खोजेका हौँ ।

तपाईंको गृहप्रदेश कोशीमा केन्द्रको समीकरण विपरीत डा. शेखर कोइरालाले एमालेसँग गठबन्धन गरेर प्रदेश सरकार गठन गर्नुभएको थियो । पछि कोशीकै शैलीमा केन्द्रमा पनि एमालेसँगै समीकरण बन्यो । त्योबेला डा. शेखर कोइरालाको नीतिअनुसार कांग्रेस अघि बढ्यो भन्ने विश्लेषण पनि भयो । लगत्तै उहाँले दुई ठूला दल मिलेर सरकार बनाउन हुँदैनथ्यो भन्नुभयो नि ?

कांग्रेस र एमाले मिलेर सरकार बन्नुपर्ने अवस्था सिर्जना हुनुका बाध्यता बारेमा मैले यसअघि नै भनिसकेँ । मुलुकलाई स्थिरता दिन दुई ठूला दल मिल्नुपर्छ भन्ने मान्छे नै डा. शेखर कोइराला हो । उहाँले सरकार गलत छ भनेर त भन्नु भएको होइन, सरकारको जुन कार्यशैली छ, जुन निर्णय प्रक्रिया छ, जनतालाई सुशासन दिने कुरा, भ्रष्टाचार रोक्ने कुरा, नियुक्तिका विषय सही ढंगले गर है भन्नुभएको हो ।

अब फेरि अर्को ‘वैकल्पिक सरकार’मा जाने ठाउँ छ र ? छैन नि । त्यसकारणले उहाँले सरकारलाई खबरदारी गर्नुभएको हो । यो कुरा एउटा दलको नेताले बोल्नुपरेन र ? मैले पनि बोल्नुप¥यो, उहाँले पनि बोल्नुप¥यो, अरु सांसदहरूले पनि बोल्नु प¥यो । भोलि यो सरकारले राम्रो काम नगर्दा त जिल्ला–जिल्लामा दोष त हामीलाई दिन्छन् । जनताले प्रश्न गर्दा जवाफ त हामी नेता–सांसदले पनि त दिनुपर्छ नि ।

त्यसकारणले सरकार बनेकोमा खबरदारी होइन कि सरकारले गर्ने जुन काम छ, त्यसमा गलत नगर है, राम्रो काम गर है, जनताका आशाहरू निराशामा परिणत हुने काम नगर है, बाहिर सल्बलाइरहेका प्रतिगामीलाई सपोर्ट हुने काम नगर है भनेर त हामी भन्नै पर्छ । डा. शेखर कोइरालाले पनि त्यही भन्नुभएको हो ।

अब कांग्रेसको आन्तरिक विषयतर्फ लागौँ । पार्टीको १५ औँ महाधिवेशन समयमै हुनुपर्छ भन्ने स्वरहरू सुनिन्छन् । अर्कातिर कांग्रेसको इतिहास नै छैन समयमै महाधिवेशन भएको भन्ने पनि छ । कहिले हुन्छ कांग्रेस महाधिवेशन ?

नियमित कार्यकालमा एक वर्ष थपेर पार्टीको महाधिवेशन हुँदै आएको छ । अहिले पनि थपिएला । तर, त्यो थपेको समयबाट पनि पछाडि धकेल्नु भएन । किनभने त्यसपछि त तत्कालै संसदीय निर्वाचन आउँछ । स्थानीय तहको चुनाव आउँछ । पार्टीको अधिवेशनको रीस संसदीय चुनावमा, स्थानीय चुनावमा पोखिने भएकाले भोटलाई गाह्रो हुन्छ कि भनेर समयमै महाधिवेशन हुनुपर्छ भनिरहेका छौँ ।

समयमै अधिवेशन नभएर कांग्रेसका भ्रातृ संगठनहरूको अवस्थाका बारेमा मैले भन्नै पर्दैन । कुनै–कुनै भ्रातृ संगठनहरूको अधिवेशन नभएको ९–१० वर्ष नै भइसक्यो । जसले गर्दा संगठन धेरै नै ‘ब्याक’ भएका छन् । जस्तो कि अहिले स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन)को चुनावमै देखिएको छ ।

धेरै ‘ग्याप’ भइसकेपछि एकै ठाउँ मान्छेहरू ‘जाम’ भएकाले पार्टीमा सशक्त रुप हुँदैन । त्यसैले पार्टीको पनि टाइममा महाधिवेशन होस् । भ्रातृ संगठनको पनि टाइममा महाधिवेशन होस् भन्ने हाम्रो इच्छा हो । हामीले भनेका पनि हौँ ।

भ्रातृ संगठनको कुरा उठाउनुभयो । कांग्रेसले आफ्ना सबै भ्रात संगठनहरूलाई यही चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिएको थियो । निर्देशनअनुसार अधिकांशले महाधिवेशन गरिसक्ने सम्भावना टर्दै गएको देखिन्छ । चैतपछि पनि अहिलेकै नेतृत्वले निरन्तरता पाउँछन् कि निर्देशक समितिले भ्रातृ संस्था सञ्चालन गर्छन् ?

त्यो त पार्टी निर्णय गर्छ । म पनि छु तरुण दलको निर्देशक समितिमा । तर, हामीलाई त्यसबारे केही अधिकार छैन । अहिलेकै समितिहरूलाई निरन्तरता दिने कि, नयाँ तदर्थ समिति गठन गर्ने कि या निर्देशक समितिलाई अधिकार दिने भन्नेबारे पार्टीको केन्द्रीय समितिले निर्णय गर्छ ।

तरुण दलकोे निर्देशक समिति बनाएको डेढ–दुई महिना भयो । यसबीचमा हामीले विधान संशोधन गरेर जिल्लामा वडादेखि अधिवेशन गर्नका लागि सदस्यता बाँड्न लगाएका छौँ । ९–१० वर्षदेखि महाधिवेशन भएको छैन । संगठन नै पूरै खाली छ भने पछि डेढ–दुई महिनामा महाधिवेशन गर्न त सकिँदैन । पार्टीले चैत मसान्तभित्र महाधिवेशन सम्पन्न गरिसक्नु पर्ने भनेको छ । यसबारेमा निर्णय पार्टीले नै गर्छ ।

तर, तरुण दल, नेविसंघ, महिला संघको अधिवेशन नहुनु भनेको हाम्रा लागि दुःखद् कुरा हो । यसले कांग्रेसलाई ठूलो घाटा भइरहेको छ । यो बीचमा तरुण दलको निर्देशक समिति सदस्य बनिसकेपछि तीन–चार जिल्ला पुगेर फर्किएँ । हामीसँगैका साथीहरू अहिले पनि जिल्ला अध्यक्ष हुनुहुन्छ । १०, ११ वर्ष भयो म जिल्ला अध्यक्ष भएको भन्नुहुन्छ ।

नेतृत्व जाम भएर भ्रातृ संगठनहरू अप्ठ्यारोमा छन् । झगडा पनि त्यहीँ हुन्छ । हामीले अधिवेशन गरेको भए त यो बीचमा दुईवटा केन्द्रीय समिति बनिसकेको हुन्थ्यो । पार्टीको नेतृत्व पनि विकास हुन्थ्यो । पार्टीको संगठन पनि चुस्त हुन्थ्यो । त्यसकारण भ्रातृ संगठनको पनि महाधिवेशन टाइममा गरौँ, पार्टीको पनि महाधिवेशन टाइममा गरेर सिस्टममा लैजाऔँ भन्ने कुरा हो हाम्रो ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा कांग्रेस र एमालेलाई धक्का लाग्यो, नेकपा माओवादी केन्द्र उत्साहित देखियो । यसमा के भन्नुहुन्छ ?

मैले अघि नै भनेँ । संगठनको चुनाव नभएर, नेविसंघलाई हामीले बलियो गरी एकै ठाउँमा राख्न सकेनौँ । कतिपय ठाउँमा नेविसंघ नै दुई–तीन टिम बनाएर लड्यो । एक नेविसंघ, दुई नेविसंघ, तीन नेविसंघ भएर चुनाव लडे । त्रिभुवन युनिभर्सिटीमै लडे, पीके (पद्मकन्या)मै लडे, त्रिचन्द्रमा लडे । जित्न त हामीले जित्यौँ । तर, नेविसंघ एक ठाउँमा भएको भए त अझै दह्रो संगठन हुन्थ्यो नि ।

त्यो भ्रातृ संगठनको अधिवेशन नभएको कारणले हो । स्ववियुमा नेविसंघ कमजोर नै भएको त होइन तर, यसले अलिअलि धक्का भने लाग्यो । महाधिवेशन भएको भए चलायमान हुन्थ्यो, यस्तो हुन्थेन ।

कांग्रेसका नेताहरूलाई महाधिवेशनले छोइसकेको छ । कांग्रेसका परम्परागत गुटहरू भत्किने र नयाँ गुट बन्ने क्रम सुरु भएको हो र ?

यो त स्वाभाविक रुपमा हुने नै भयो नि । किनभने, सभापति शेरबहादुर देउवा दाइ अब विधानका कारण चुनाव लड्न पाउनुहुन्न । अहिलेको विधानको हिसाबले । त्यो भइसकेपछि त्यहाँका मान्छे पनि अरु टिममा जाने भए नि त । अब को–को नेता सभापतिमा प्रतिष्पर्धा गर्नुहुन्छ ? कुन–कुन र कस्तो–कस्तो टिम बन्छ ? सभापतिसँग अहिले रहनुभएका नेताहरूलाई कता–कता सहज हुन्छ, त्यस हिसाबले नयाँ गुट बन्छन् । निश्चय नै बन्ने भए । शेरबहादुर दाइ नै चुनाब लड्ने भए पहिलाको गुट रहन्थ्यो होला । अब उहाँ चुनाव नलड्ने भएपछि विभिन्न किसिमको परिस्थिति आउँछ जस्तो लाग्छ मलाई ।

तपाईं १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार बनेर निर्वाचन जितेको समूह यतिबेला एकजुट छैन भनिन्छ नि, हो ?

हामी त्योबेला डा. शेखर कोइरालाको टिमबाट चुनाव लडेका थियौँ । त्यो टिमबाट लडेका, त्यो टिमलाई सहयोग गरेका व्यक्तिहरू १५ औँ महाधिवेशनमा रहने–नरहने कुरा महाधिवेशनमै पुग्दा थाहा हुने कुरा हो । अहिले नै हामीले यो यता, उ त्यता भन्ने कुरा आउँदैन । हाम्रो समूहबाट शेखर कोइरालाबाहेक अरु कसैले पनि आफ्नै मुखले सभापतिमा म लड्छु भन्नुभएको छैन । अरु साथीहरूले भन्नुभएको होला । आफैँले नभन्दासम्म तँ लड्छस् भन्ने कुरा आउँदैन ।

हिजो शेरबहादुर दाइको टिम, हाम्रो टिम, प्रकाशमान दाइको टिम, विमल (विमलेन्द्र निधि) दाइको टिम थियो । प्रकाशमान दाइ र विमल दाइले दोस्रो चरणमा शेरबहादुर दाइलाई सहयोग गर्नुभयो । तर, अब टिम चाहिँ नयाँ किसिमले जान्छ, यो पक्कै हो ।

कांग्रेस नेता डा. शेखर कोइराला झन्–झन् कमजोर बन्दै जानुभयो भनिन्छ नि ?

योबारे मैले पनि अहिले भर्खरै एउटा समाचार पढेँ । कमजोर र दह्रो भन्ने कुरा आउने महाधिवेशनले देखाउला । केका आधारमा भनिन्छ ? केका आधारमा समाचार लेखियो ? शेखर दाइसँग भएका दुई–चारजना मान्छे बाहिर देखिएका होलान् । उहाँसँग आएका मान्छेहरूलाई विश्लेषण गर्नेहरू, समाचार लेख्नेहरूले देखेका छन् र ? अनि के आधारमा कमजोर भनियो ?

तपाईंको गृहजिल्ला झापा हो । झापामा त मुख्य प्रतिष्पर्धा नै कांग्रेस र एमालेका बीचमा देखिन्छ । फेरि तपाईंहरू यतिबेला सत्ता सहकार्यमा पनि हुनुहुन्छ । यसले आगामी निर्वाचनमा असर गर्छ कि गर्दैन ?

यसले झापामा असर राम्रोसँग गर्छ नि । यसबारेमा मैले अस्ति संसदीय दलको बैठकमा पनि कुरा उठाएँ । झापा जिल्लाको सबै जिम्मा त एमालेलाई दिइएको छ । प्रधानमन्त्री झापाकै, सभामुख झापाकै, मुख्यमन्त्री झापाकै, भौतिकमन्त्री झापाकै, चीनका राजदूत झापाकै, सुकुम्बासी आयोगका अध्यक्ष झापाकै । उहाँहरू सबै एमालेका नेता ।

झापा जिल्लाको सबै जिम्मा त एमालेलाई दिइएको छ । प्रधानमन्त्री झापाकै, सभामुख झापाकै, मुख्यमन्त्री झापाकै, भौतिकमन्त्री झापाकै, चीनका राजदूत झापाकै, सुकुम्बासी आयोगका अध्यक्ष झापाकै । उहाँहरू सबै एमालेका नेता

अस्ति मैले दलको बैठकमा स्पष्ट राखेँ– झापा जिल्ला एमालेलाई नै जिम्मा दिएको हो, सभापतिज्यू, महामन्त्रीज्यू ? के हो कुरो ? अप्ठ्यारै छ हामीलाई । किनभने, संगठन कसरी बनाउने हामीले झापामा ? सम्माननीयज्यू (प्रधानमन्त्री) जानु हुन्छ, अर्को सम्माननीयज्यू (सभामुख) जानुहुन्छ, मुख्यमन्त्री जानुहुन्छ, भौतिकमन्त्री (देवेन्द्र दाहाल) जानुहुन्छ सरर… । सुकुम्बासीको जग्गाको समस्यामा एमाले नै कुद्छ । भनेपछि कांग्रेसलाई गाह्रो त छ नि । तर, पनि हामी डराउँदैनौँ । हाम्रो प्रतिष्पर्धा एमालेसँगै नै हो । सरकारमा सँगै बसेर पनि झापामा तह लगाएर हामी हाम्रो पार्टीलाई जिताउन लाग्छौँ ।

एकातिर त्यसो भन्नुहुन्छ, अर्कोतिर झापामा कांग्रेसकै तीनवटा गुट प्रष्टै देखिन्छन्…

ती गुटहरू त पार्टीका चुनावमा हुन् । पार्टीको चुनावमा त आफूलाई मन परेको नेता चुन्न त पाइयो नि । पाइन्न र ? पार्टीको चुनावमा हामी त्यता–त्यता हौँला । संसदीय र स्थानीय चुनावमा हामी एकै ठाउँमा हुन्छौँ । हाम्रो कुनै गुट हुँदैन ।

फेरि झापामै अहिले नयाँ व्यक्ति आएका छन् नि, दुर्गा प्रसाईं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाकै हुन् । राजावादीले कांग्रेसलाई अप्ठ्यारो पार्दैनन् ?

नयाँ मान्छे आएर हामी पार्टी खोल्छौँ, हामी चुनाव लड्छौँ भन्न त पाइयो नि । हामीले ल्याएको प्रजातन्त्रमा आउँछौँ भन्यो भने हामीले नाईँ भन्न पाइएन । तर, संगठन दह्रो गरेर हिम्मतको साथ लड्नु पर्छ, उहाँहरूलाई पनि हामीले स्वागत गर्नुपर्छ । लड्नेलाई नलड भन्न पाइएन । संविधानले नै अधिकार दिएको छ । तर, हामी आत्तिनुपर्ने अवस्था हुन्न ।

तपाईं र दुर्गा प्रसाईंबीच के साइनो पर्छ ? उहाँ झापामा कत्तिको प्रभाव पार्न सक्ने व्यक्ति हो ?

नाता पर्छ । साइनोले उहाँ मेरो काका हो । अब त्यो त चुनाव लडेपछि मात्रै थाहा हुन्छ । अहिलेसम्म चुनाव लड्नुभएको छैन । पहिला म माओवादी हो भन्नुहुन्थ्यो । पछि एमालेको केन्द्रीय सदस्य भएँ भन्नुहुन्थ्यो । अहिले राजावादी भन्नुहुन्छ । दुर्गा प्रसाईंलाई झापाका जनताले कुन हिसाबले हेरेका छन् भन्ने बारेमा चुनाव लडेपछि मात्रै थाहा हुने कुरो हो ।

प्रकाशित मिति : २७ चैत्र २०८१, बुधबार  १० : ४४ बजे

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

सञ्चारीका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित (सूचीसहित)

काठमाडौं – सञ्चारिका समूहको नवौं महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी १४९

आज २०८२ साल वैशाख ६ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल वैशाख ६ गते शनिबार। वैशाख

बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन स् आफ्नै गाउँ फर्किए

खोटाङ – १८ वर्ष पहिले बसाइँ सरेर गएका बराहपोखरी गाउँपालिका–६