काठमाडौं – महानायक राजेश हमाल अमेरिकाबाट सिधै काठमाडौंको सुन्धारास्थित एक हलमा पुगे । यो बिहीबार साँझको कुरा हो । उनी त्यसरी हलमा पुग्नुको कारण थियो– उनकाे कमब्याक फिल्म ‘नरसिंहा : अवतार’को ट्रेलर रिलिज ।
अमेरिकामा आयोजित अवार्ड कार्यक्रममा उपस्थिति जनाएर स्वदेश फर्किएका हमाल सिधै हलमा आएको कार्यक्रम सञ्चालक नरेश भट्टराईले जानकारी दिएका थिए । दिवाकर भट्टराई निर्देशित यस फिल्मबाट ९ वर्षपछि हमाल कमब्याक गर्दैछन् । यस फिल्ममा राज कटुवाल, सनिशा भट्टराई र नीति शाह शीर्ष भूमिकामा रहेको बताइएको छ ।
हमाल कमब्याक फिल्मममा पनि एक्सन अवतारमा प्रस्तुत भएका छन् । ट्रेलरले फिल्म एक्सन प्रधान रहेको संकेत गर्छ ।

राजेशको ट्रेडमार्क डाइलग
‘हे’ भन्दा कसको याद आउँछ भन्ने प्रश्नमा प्रायः सबैको जवाफ हुन्छ– राजेश हमाल । राजेशकाे चर्चित डाइलग हो– ‘हे’ । धेरैले त यसलाई उनको ट्रेडमार्क पनि भन्ने गर्छन् ।
फिल्ममा ९ वर्ष देखा नपर्दा पनि राजेशलाई अन्तर्वार्तासमेत ‘हे’ भन्न लगाइन्छ । यो संवाद र राजेश नजिक छन् भन्ने उदाहरण यो पनि हो । ‘कमब्याक’ फिल्म ‘नरसिंहा : अवतार’ मा पनि राजेशको ट्रेडमार्क डाइलग ‘हे’ राखिएको छ । जुन ट्रेलरमा पनि देख्न सकिन्छ ।
ट्रेलर सार्वजनिक कार्यक्रममा यो संवादको चर्चा नहुने कुरै भएन । राजेशलाई प्रश्न गरियो– ‘हे’ डाइलग तपाईंको रुचिमा राखिएको कि निर्देशकको ?
त्यसपछि राजेशले निर्देशक दिवाकार भट्टराई नै प्रश्न गरे, ‘यो चाहिँ तपाईंकै बढी जोड हो जस्तो छ हैन ?’
निर्देशक भट्टराईले स्वीकार गरे । राजेशले अगाडि भने, ‘मैले चाहिँ यो संवाद बारे सोचेको पनि थिइनँ । उहाँले राखौं भन्नुभयो, मलाई पनि ठीकै लाग्यो । यो छायाङ्कन स्थलमै गरिएको निर्णय हो ।’

३० वर्षपछिको सहकार्य
राजेश र नायक सरोज खनाल समकालीन कलाकार हुन् । उनीहरुले यसअघि चार फिल्ममा सहकार्य गरेका थिए ।
वि.सं २०५१ मा प्रदर्शनमा आएको फिल्म ‘चाहना’ उनीहरूको अन्तिम सहकार्य थियो । ३० वर्षपछि उनीहरूले ‘नरसिंहा : अवतार’ मा सहकार्य गरेका हुन् ।
फिल्ममा सहकार्य नभए पनि राजेश र आफूबीच बर्सेनि भेट भइरहने सरोज बताउँछन् । उनी भन्छन्, ‘हामीले सँगै फिल्म नगरेको मात्रै हो । हाम्रो विभिन्न कार्यक्रम र विदेश भ्रमणमा भेट भइरहन्थ्यो ।’
यही भेटले ३० वर्षपछि एकै फिल्म गर्दा ‘लामो समयपछि सहकार्य’ को महसुस नभएको सरोजले सुनाए ।
३० वर्षपछि सहकार्य गर्दा सरोजले राजेशमा केही फरकपन भने पाएछन् । उनलाई राजेश अझ मिहिनेती बनेको महसुस भएछ । उनले एक किस्सा सुनाए, ‘फिल्ममा राजेशजीको डाइलगमा मेरो रियाक्सन खिच्दा असिस्टेन डाइरेक्टरहरूले संवाद बोल्दा हुन्थ्यो । पहिला त्यसरी नै छायाङ्कन हुन्थ्यो । यो पटक मेरो रियाक्सन खिच्दा असिस्टेन डाइरेक्टरको प्रयोग नगरी आफैँले डाइलग बोल्नुभयो । उहाँ साँच्चै फिल्ममा गम्भीर भएर लाग्नुभएको छ । उहाँ थप मिहिनेत बन्नुभएछ जस्तो लाग्यो ।’

पोस्टरमा ‘अवतार’ हरायो
नाम मिलेको कारण फिल्म ‘एक्टर’ र ‘एक्टर : टेक वान’ को विवाद अदालतसम्म पुगेको तीन महिना मात्रै पूरा भयो ।
राजेशको कमब्याक फिल्म ‘नरसिंहा : अवतार’ हो । ‘नरसिंहा’ नामको अर्को पनि फिल्म छ ।
‘नरसिंहा : अवतार’को ट्रेलर सार्वजनिक कार्यक्रममा राखिएको भर्चुअल पोस्टरमा फिल्मको नाम ‘नरसिंहा’ मात्रै लेखिएको थियो । ‘अवतार’ छुटेको थियो । त्यसपछि पत्रकारले प्रश्न गरे– फिल्मको नाम त ‘नरसिंहा : अवतार’ हो, किन नरसिंहा मात्रै लेखियो, अवतार त गायब भयो नि ?
त्यसपछि निर्देशक भट्टराईले गहिरिएर पोस्टर हेरे । ‘अवतार’ नदेखेपछि पत्रकारतर्फ फर्किएर मुसुक्क हाँसे ।
रोचक कुरा त निर्देशक भट्टराईलाई नै पोस्टरमा ‘अवतार’ छुटेको थाहा रहेनछ । तर, सम्बन्धित व्यक्तिहरूसँग फिल्मको नामबारे छलफल भएकाले समस्या नहुने उनले बताए । भने, ‘यो नाममा विवाद हुँदैन । मैले सम्बन्धित व्यक्तिहरूको अनुमतिमा नै नाम लिएको हुँ । म यो विषयमा सचेत नै छु । समस्या नहुने गरी काम गरेको हो ।’

रोमान्टिक राजेश
राजेश बौद्धिक नायकको छवि बनाएका कलाकार हुन् । उनको बौद्धिकता प्रश्नको जवाफ सामना गर्दा झल्किन्छ ।
उनी जस्तो प्रश्न उस्तै उत्तर दिन माहिर मानिन्छन् ।
राजेशले ट्रेलरमा नायिका नीति शाहलाई ‘आई लभ यू’ भन्दै निधारमा चुम्बन गरेको दृश्य छ ।
यो दृश्यलाई उनको वास्तविक जीवनसँग जोडेर एक महिला पत्रकारले प्रश्न सोधिन्, ‘वास्तवमा तपाईंकाे व्यक्तित्व बोल्ड छ, बाघ जस्तो । अनि घरमा श्रीमति मधु भट्टराईसँग कतिको सफ्ट हुनुहुन्छ ?’
यो ठ्ट्यौली प्रश्नलाई राजेशले उस्तै जवाफ फर्काए । भने, ‘घरमा मात्रै किन तपाईं यहाँ अगाडि आउनुहोस् म सफ्ट भइहाल्छु । मेरो सामुन्ने आउनुस् मैनबत्ती पग्लिए जस्तो पग्लिहाल्छु ।’
राजेशको यो ठट्यौली जवाफले हलभरी हाँसो फैलियो । फेरि ती पत्रकारले प्रश्न गरिन्, ‘यो जवाफ मधुजीले सुन्नुभयो भने घरमा पस्न नदिनु होला नि ?’
राजेश प्रश्नसँग किन भाग्थे ? ठट्यौली पारामा हाँस्दै जवाफ दिए, ‘वषौंदेखि गर्दै आएको काममा म चुक्छु होला त ।’
यो प्रश्नोत्तरले हलभरी हाँसो फैलियो । अनि राजेशलाई धेरै हाँसोमजाक धेरै भए जस्तो लागेछ क्यार । ती पत्रकार थप प्रश्न सोध्न खोज्दै थिइन् । राजेशले ‘प्रश्नका लागि धन्यवाद’ भनेर उनलाई रोके ।
प्रतिक्रिया