लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याइने « Khabarhub

लहानमा अवैध क्लिनिकहरूमाथि कडाइ, कानुनी दायरामा ल्याइने


२५ असार २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

सिरहा– लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरु गरेको छ ।

मंगलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए । अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, बिना दर्ता क्लिनिक सञ्चालन गरेका पाइएपछि उक्त क्लिनिक मंगलबार नै सिल गरिएको छ । 

इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले भने, ‘प्रथम दृष्टिमा नै क्लिनिक अवैध देखिएकाले जिल्ला प्रशासन कार्यालयको परामर्शमा ताला लगाएर सिल गरिएको हो । अब कानुनी प्रक्रिया अगाडि बढ्ने छ ।’

क्लिनिकका सञ्चालक डा. धीरजकुमार साहले आफू सरकारी अस्पतालमा कार्यरत रहेको स्वीकार गरेका छन् । क्लिनिकको बोर्डमा पनि ‘लहान अस्पतालमा कार्यरत’ भनेर उल्लेख गरिएको छ, जुन सरकारी कर्मचारी आचारसंहिता विपरीत हो । लहान नगरपालिका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीका अनुसार यो विषयमा छानबिन हुनेछ ।

उनका अनुसार जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम स्वास्थ्य क्लिनिकले ‘डि’ र ‘ई’ वर्गको प्रयोगशाला राख्नुपर्ने व्यवस्था रहेको छ । तर, यस क्लिनिकले कुनै प्रकारको प्रयोगशाला राखेको पाइएन । त्यसैले बिना परीक्षण बिरामीको शल्यक्रिया गर्दा जोखिम आउन सक्छ ।  

त्यस्तै, अनुगमनको क्रममा हस्पिटल चोककै ‘राधा कृष्ण डेन्टल क्लिनिक’ पनि सञ्चालनको लागि कुनै पनि इजाजतबिनै सञ्चालन गरेको पाइएको छ । त्यस्तै, दन्तसम्बन्धी ‘बिडिएस’ डक्टर हुनुपर्नेमा त्यो पनि नरहेको पाइएको हो । उक्त क्लिनिकलाई तीन दिनभित्र नगरपालिकामा आवश्यक कागजपत्र बुझाउन निर्देशन दिइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीले जानकारी दिए । 

यसैगरी, लहान-११ मा रहेको लीला मदन प्रसूति गृहले पनि सञ्चालनको लागि नगरपालिकाबाट अनुमति पत्र लिए पनि २०७७ सालदेखि नवीकरण नगरेको पाइएको छ । नगरपालिका स्वास्थ्य शाखा प्रमुख चौधरीका अनुसार, लहान नगरपालिकाभित्र जम्मा ४४ वटा क्लिनिक सञ्चालनमा रहे पनि आठ वटा क्लिनिकले मात्र इजाजत पत्र लिएर सञ्चालन गरेको छ भने  अन्यले बिना अनुमति निर्वाध सञ्चालन गरेको पाइएको छ । दर्ता गरेका कुनै पनि क्लिनिकले नवीकरण गरेका छैनन् । 

अनुगमनको क्रममा अधिकांश क्लिनिकले अस्पतालजन्य फोहरको उचित व्यवस्थापन नगरेको, प्रयोगशाला सुविधा नपुगेको, सङ्क्रमित फोहर खुला स्थानमा फालेको, प्रयोग गरिएका औजार सुरक्षित तरिकाले नष्ट नगरेको जस्ता गम्भीर त्रुटि पाइएको छ । यसले सङ्क्रमणको जोखिम थप बढाएको अनुगमन टोलीको निष्कर्ष छ ।

स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा लापरबाही गम्भीर विषय भएकाले अब यस्ता क्लिनिकमाथि थप निगरानी र कानुनी कारबाही अघि बढाइने इलाका प्रशासन कार्यालय लहानका प्रमुख गोकर्णराज सुयलले बताए। 
 

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : १८ बजे

साढे पाँच वर्षपछि नागढुंगा सुरुङमार्ग खुल्दै, ७ मिनेटमै धादिङ-काठमाडौँ यात्रा

काठमाडौँ – सरकारले आधा दशक लगाएर बनाएको सिस्नेखोला–नागढुङ्गा (२.६८८किलोमिटर) सुरुङमार्ग

तीन दिनभित्र अतिक्रमित जग्गाको विवरण उपलब्ध गराउन पत्राचार

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको

म्याग्दीको प्राकृतिक तातोपानी कुण्ड ओझेलमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–४ बगरस्थित प्राकृतिक तातोपानी कुण्ड ओझेलमा परेको

सारङ्गीको धुनले धानेको जिन्दगी

सुनसरी– सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौँ– अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच औपचारिक