सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त | Khabarhub Khabarhub

भाषा

सिरिजङ्गा लिपिको विकासक्रम र विवादको फेहरिस्त



भाषा भनेको मानव मनको भाव, विचार, धारणा र अनुभूति व्यक्त गर्ने माध्यम हो । यो मानव जातिको प्राचीन सम्पदा हो । यसले अन्य जीवप्राणीलाई मानवदेखि छुट्याउने काम पनि गर्दछ । कुनै पनि भाषालाई लेख्य माध्यमबाट प्रस्तुत गर्ने अङ्क, अक्षर, चित्र आदिलाई लिपि भनिन्छ ।

भाषाको अमूर्त खण्ड खण्ड ध्वनीलाई प्रतिनिधित्व गर्ने मूर्त स्वरूप वा भाषालाई बुझ्न, बुझाउनको लागि बनाइएको सांकेतिक चिह्नलाई लिपि भनिन्छ । लिपि सम्बन्धित भाषासँग परस्पर र प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ ।

भाषालाई स्थायी रूप दिन प्रयोग हुने रेखात्मक चिह्न वा वर्णलाई लिपि भनिन्छ । यो सम्बन्धित भाषाको अक्षर लेखिने लेख्य चिह्न वा प्रणाली हो ।

लिपिका प्रकार

मानव उच्चार्य ध्वनि वा वर्णलाई टिप्ने काम लिपिको हुने गर्छ । प्रत्येक उच्चारण हुने वर्णका लागि एउटा छुट्टै लेख्य चिह्न हुनु राम्रो मानिन्छ । लेख्य पद्धति वा लेखन शैलीका आधारमा लिपिहरू मूलतः पाँच प्रकारका छन् ।

शाब्दिक लिपि : मानव जातिको सबैभन्दा पहिलो लिपि हो । यसलाई वर्णाकार लिपि, चित्र लिपि, भाव लिपि वा अर्थ लिपि पनि भनिन्छ । ई.पू. ४००० देखि ई.पू. २००० वर्षको अवधिमा यसको विकास भएको हो । मिश्र लिपि, चिनियाँ लिपि यस लिपिका उदाहरण हुन् ।

आक्षेरिक लिपि : अक्षरको शब्दको सबैभन्दा सानो इकाई हो । यो शाब्दिक लिपिपछि विकास भएको हो । आक्षरिक लिपिले सिङ्गो एउटा अक्षरको प्रतिनिधित्व गर्दछ । यस प्रकारको लिपिमा धेरै व्यञ्जन र स्वर वर्ण मिसिएका हुन्छन् । जस्तो : फोनेसियन लिपि, जापानी लिपि, चेरोकी लिपि ।

वर्ण आक्षेरिक लिपि : यो ई.पू. तेस्रो शताब्दीतिर विकास भएको हो । यस लिपि चिह्नमा एकभन्दा धेरै वर्ण हुन्छन् । यसमा स्वतन्त्र रूपमा स्वर वर्णहरू पूर्णाकारमा हुन्छन् । व्यञ्जन वर्णसँग टाँसिदा मात्राका रूपमा देखिन्छन् । ब्राह्मी, देवनागरी, गुरुमुखी, तमिल, बङ्गाली, सम्भोटा, कैथी, रञ्जना, सिरिजङ्गा आदि यस लिपिका उदाहरण हुन् । यस परिवारका लिपिहरू देब्रेबाट दाहिनेतिर लेखिन्छन् ।

वार्णिक लिपि : यो चौथो शताब्दीतिर देखा परेको हो । यस प्रकारको लिपिमा स्वर वर्ण पूर्णाकारमा हुन्छ । मात्राको प्रयोग हुँदैन । स्वर वर्ण व्यञ्जनको अगाडि पछाडि दुवैतिर आउन सक्छ । यस लिपिमा ल्याटिन(रोमन), युनानी, अरबी(अरबी, उर्दू, फारसी, काश्मिरी), इब्रानी, सिरिलिक(रुस) लिपिहरू पर्छन् ।

ध्वन्यात्मक लिपि : भाषा उच्चारणको सबैभन्दा सानो इकाई ध्वनि हो । ध्वन्यात्मक लिपिको विकास सन् १८८८ मा भएको थियो । ध्वनि लिपिमा प्रत्येक उच्चार्य वर्णका लागि एउटा मात्र लेख्य चिह्न हुन्छ । व्यञ्जन वर्णको अगाडि पछाडि दुवैतिर स्वर वर्ण आउन सक्छ । भाषा वैज्ञानिकहरूले भाषाको अध्ययन अनुसन्धान गर्न अन्तर्राष्ट्रिय ध्वन्यात्मक वर्णमाला(आईपीए) को प्रयोग गर्छन् । यो ल्याटिन लिपिको आधारमा विकास भएको हो । विश्वका सबै मानवीय भाषाका सबै प्रकारका ध्वनि लेख्न यो लिपि सक्षम छ ।

विश्वका ७,१६८ भाषा लेखनमा २९३ लिपि प्रयोगमा छन् । यो भनेको २४.४६ भाषाका लागि एउटा लिपि प्रयोग हुनु हो । भारतमा बोलिने ४४७ भाषाका लागि २५ वटा लिपिहरूको प्रयोग हुन्छ ।

नेपालमा १२५ जातजाति छन् । १२४ भाषाका लागि १५ वटा मात्र लिपिहरू प्रचलनमा छन् । ती ब्राह्मी, सम्भोटा, देवनागरी, बाङ्ला, नेवाः(रञ्जना, भुजिमोल, रञ्जना), तिरहुता, कैथी, गुरुमुखी, सिरिजङ्गा, रोङ, ओलचिकी, कोइँच, खेमा, अरबी र ल्याटिन लिपिहरू हुन् ।

ब्राह्मी लिपि विश्वको प्राचीनतम् लिपिमध्ये एक हो । ब्राह्मी लिपिबाट उत्तर भारतीय लिपिहरू विकास भए । नेपालको प्रचलित वा सबैभन्दा बढी प्रयोग भएको देवनागरी लिपि पनि ब्रहमी लिपिबाट जन्मेको हो ।

बेलायतले विश्वमा आफ्नो साम्राज्य फैलाएसँगै आफ्नो अंग्रेजी भाषा र रोम लिपि पनि फैलायो । नेपालमा खस भाषाको विकाससँगै देवनागरी लिपिको पनि विकास भयो । नेपालमा बढी प्रयोगमा आएका लिपिहरू मध्ये देवनागरी, रञ्जना, सिरिजङ्गा, तिरुहता आदि हुन् । नेपालमा प्रयोगमा आएका लिपिहरू मध्ये तेस्रो स्थानमा सिरिजङ्गा लिपि प्रयोग भएको पाइन्छ । सिरिजङ्गा लिपि विशेषगरी याक्थुङ लिम्बू भाषालाई प्रतिनिधित्व गर्ने लिपि हो ।

हाल नेपालमा प्रयोग भइरहेको देवनागरी लिपि भारतले संयुक्त राष्ट्र संघमा दर्ता गरिसकेको कारण नेपालले संयुक्त राष्ट्र संघको सदस्यता ग्रहण गर्न रञ्जना लिपि(नेवारी) दर्ता गरेको छ । संयुक्त राष्ट्र संघको सदस्यता ग्रहण गर्न लिपि अनिवार्य हुनुपर्ने मापदण्ड तोकिएको छ

सिरिजङ्गा लिपि र सिरिजङ्गा सिं थेबे

याक्थुङ समुदायले बोल्ने भाषा याक्थुङ भाषा वा याक्थुङ पाःन् भनिन्छ । भाषा भोट बर्मेली भाषा परिवारभित्रको एक भाषा हो । यसका भाषिकाहरूमा फेदाप्पे, छत्थरे, तम्मरखोले, पान्थरे पर्छन् । केही भाषाशास्त्रीहरूले याङरुपे र चौबिसेलाई छुट्टै भाषिकाका रूपमा गणना गरेका छन् । याक्थुङ भाषा नेपालको लिम्बुवान क्षेत्र र उत्तरपूर्वीको भारतको राज्यहरूमा बहुसंख्यक याक्थुङ समुदायले बोल्ने गर्छन् ।

याङ्वरक थुमको सिनाम तेल्लकमा वि.सं. १७६१ (सन् १७०४) मा जन्मेका सिरिजङ्गा सिं थेवेले यो लिपिको संरक्षण, सम्र्बदन, प्रर्बधन तथा प्रचार प्रसार गरेकाले यस लिपिलाई सिरिजङ्गा लिपि भनिएको हो । सिरिजङ्गाको याक्थुङ्बा लिम्बू सिंथेबे परिवारमा भएको थियो ।

सिंथेबे वंशावली संकलन गरिरहेका झापा, दमकका दुर्गाबहादुर सिंथेबेका अनुसार, साम्मिकिहाङको सोह्र पुस्तामुनि तान्छोहाङ र उनीदेखि पनि सात पुस्तामुनि पारुजङ्गा थिए । पारुजङ्गा र पुःधाहाङ्माको कोखबाट धनहाङ, सिरिजङ्गा र एक छोरी लाःइनहाङ्मा थिए । अम्लाबुङ पाँचथरका अम्बिकाप्रसाद आङदेम्बेसँग भएको वि.सं. १८८९ को सक्कल उतार गरिएको कागजमा वंशावली टिपोट गर्ने क्रममा भुइँफुटुवा ताङसाङहाङदेखि मुनि सिरिजङ्गा र थेबेहाङको नाम लेखिएको भेटिन्छ ।

याक्थुङ भाषा लिपिको संरक्षण तथा प्रचार प्रसार गर्ने सिलसिलामा राज्य विप्लवमा परी आफ्नो अस्तित्वका खातिर उनले सहादत प्राप्त गरेका थिए । वि.सं. १७९८ (सन् १७४१) मा सुक्खिमको कालिज खोला र रेशी खोलाको दोभानमा रहेको मौवाको रूखमा बाँधी त्यहाँका पेमायोन्जी गुम्बाका ठाछाङ लामाहरूले गोपे बाँसको वाणले हानी हत्या गरे ।

सिरिजङ्गालाई चयनपुरका गोर्खालीहरूबाट याक्थुङ लिम्बू लिपि–भाषा चलाएकोमा निगरानी सुरु हुन थाल्यो । उनी कावेली र तमोर दोभान, कावेली र इङ्वा दोभान, कावेली र तावा दोभान, कावेली र हाप्पुखोला दोभानका गुफाहरूमा लुक्दै हिँड्न थाले । उनलाई आफ्ना वंशरपरिवार र दाजुभाइबाट साथ भएन । उनी तिम्बुङपोखरीको बाटो हुँदै सिक्किम जाने–आउने गर्थे । अन्ततः उनी आफ्ना चेलाहरूसहित सिक्किम गए । अध्ययनले उनका चेलाहरूमा तमोरखोला नाङखोल्याङका रुपिहाङ र फावाखोला बोख्खिमतिरका चिरियाङ, फदुहाङ, सुख्खुबा, इलाम आदि देखिन्छन् ।

सिक्किमको बर्मियकस्थित मार्तामको चप्लेटी ढुंगोमा याक्थुङ दाजुभाइहरूलाई बोलाएर उनले भाषा–लिपि पढाउन थाले । उति नै बेला पेमियोन्ची गुम्बाका टछाङ लामाहरूले याक्थुङ्बा लिम्बू भाषा—लिपि प्रचारप्रसार गरेर राजद्रोह गरेको आरोप लगाए । मार्तामको चेप्लेटी ढुंगोमा आफ्ना चेलाहरूलाई पढाइरहेका बखत उनलाई लामाहरूले पक्रिएर मुखमा विष्टा कोचिदिए । मौवाको रूखमा बाँधेर गोपेबाँसको विषालु काँणले हानेर रेस्सीखोलाको विशाल छाँगोमा फालिदिए ।

सिरिजङ्गाको मृत्युको समयमा सिक्किममा छैटौँ छोग्याल तेन्जिङ नामग्याल(सन् १७६९–१७९३) राजा देखिन्छन् । यता नेपालमा भने सेन र लिम्बूहरूको शासन रहेको विजयपुर–मोरोङ राज्य गोर्खालीले कब्जा गरिसकेको थियो । गोर्खालीहरू सिक्किम कब्जा भनेर थुमथुमका लिम्बूहरूलाई फकाउँदै थिए । सिक्किम भने लिम्बू गाउँहरूमा भोटे भाषा सम्बोटा लिपि र बौद्घ धर्म लादिरहेको थियो ।

उतिबेला याङरुप, तमोरखोला, मिवाखोला, मैवाखोला थुमका लिम्बूहरू सिक्किमसँग नजिक थिए । सिक्किमको नेपालको पूर्वी चयनपुरसम्म शासन चल्थ्यो । सिरिजङ्गाले याक्थुङ लिम्बूहरूलाई याक्थुङ भाषा, सिरिजङ्गा लिपि पढाउन छाडेनन् । अन्ततः भोटेहरूले सिरिजङ्गाको हत्या गरे । सिरिजङ्गाको हत्यापश्चात् लिम्बूहरूले सिक्किमको साथ छोडे । गोर्खा–लिम्बूवान–सिक्किमको युद्घमा लिम्बूहरूले गोर्खालीलाई सघाए । सिक्किमले च्याङथाप्पु–फालेलुङ कट्न सकेन । यदि सिरिजङ्गा नभएका भए नेपालको पूर्वी सिमाना तेह्रथुमको आठराईमा लाग्थ्यो ।

‘हिस्ट्री अफ सिक्किम’ मा लेखिएका गोरखाका राजा ‘सिंह’ भनेर प्रतापसिंह शाहलाई भनिएको हो । सिरिजङ्गाका समकालीन प्रतापसिंह शाह देखिन्छन् । प्रतापसिंह शाहको राज्यकाललाई मानेर सिरिजङ्गाको जन्म–मृत्युको तिथिमिति तोक्नु सान्दर्भिक हुन्छ ।

इमानसिंह चेम्जोङले सिरिजङ्गाको जन्ममिति सन् १७०४ (वि.सं. १७६१) र मृत्यु सन् १७४१ (वि.सं १७९८) लेखेका छन् । प्रतापसिंह शाहको मृत्यु वि.सं. १८३४ मा भएको थियो । उनको राज्यकाल वि.सं. १८३१ बाट सुरु भएको थियो ।

वि.सं. १८३१ देखि १८३४ भित्र सिरिजङ्गाको मृत्युको तिथि मिति तोक्दा वस्तुगत देखिन्छ । उनको मृत्यु वि.सं. १८३४ लाई मान्दा सिरिजङ्गाको मृत्यु चेम्जोङले तोकेभन्दा ३६ वर्ष तलमाथि फरक हुन जान्छ ।

सिरिजङ्गा एक मिथक, अर्का इतिहास

इतिहासकार इमानसिङ चेम्जोङले पहिलो सिरिजङ्गा र त्यसपछि पहिलो सिरिजङ्गाकै अवतार दोस्रो सिरिजङ्गाको परिकल्पना गरेका छन् । यसमा बंगाली लेखक बाबु शरदचन्द्र दासको प्रभाव परेको देखिन्छ ।

दास सन् १८८१ मा दार्जिलिङ हुँदै सिक्किमबाट ल्हासासम्मको यात्रामा निस्केका थिए । उनले सिक्किमका हिःगाउँ, कालिखोला, लिङचोमका गाउँहरू डुल्दा लिम्बूहरूले सिरिजङ्गालाई एक दैवी शक्तिका दाता र झारफुक गर्ने देवारीका रूपमा पाएको टिपोट गरेका छन् ।

दासले सिरिजङ्गालाई बौद्धगुरु पद्मसम्भवको अवतारको रूपमा हिमालयन भुटियाको रूपमा चिनिने नवौं शताब्दीका दैवी गुणले युक्त देवाङ्सी भनेर सन् १९८८ (सन् १९०२ प.प्र.) मा प्रकाशनमा आएको ‘सेन्ट्रल ल्हासा एन्ड टिबेट’ को पृष्ठ ४ मा लेखेका छन् ।

उनले उनै सिरिजङ्गाले लिम्बू लिपि पनि आविष्कार गरेको लेखेका छन् । दासले सिरिजङ्गालाई कसरी हिमालका भुटिया र नवौं शताब्दीका पद्मसम्भवका अवतार लेखे ? त्यसो त सिरिजङ्गाले आफ्ना लेखोटमा ‘गेवानी लामा, उगेन पोमा’ जस्ता गुरु पद्मसम्भवलाई लगाइने उपमा थुप्रै ठाउँमा लेखेका छन् ।

पद्मसम्भव भारतको पञ्जाबको उडियानमा जन्मिएका थिए । बौद्ध साहित्यमा उडियानका महागुरुलाई ‘उगेन पोमा’ भनिन्छ । पद्मसम्भवलाई सिरिजङ्गाले गुरु मानेका छन् । उनको समय सन् ७०० तिर हो । पद्मसम्भवको अवतार भनेपछि २०० वर्षको फरक पारेर दासले नै नवौं शताब्दीमा सिरिजङ्गाको अस्तित्व भएको अनुमान गरेको बुझिन्छ ।

दासको नवौं शताब्दीको सिरिजङ्गालाई चेम्जोङले पनि नवौं शताब्दीकै पहिलो सिरिजङ्गा बनाएको बुझिन्छ । दासबाट प्रभावित भएका चेम्जोङले पाँचथरका अम्लाबुङको कागजमा सिरिजङ्गा र थेबेहाङ पनि पढेको देखिन्छ । अम्लाबुङमा रहेको कागज र दासको पुस्तकलाई अघि सार्दै चेम्जोङले पहिलो सिरिजङ्गा बनाएका थिए ।

चेम्जोङले लेखेका अवतारी सिरिजङ्गा (चर्चा गरिएका) को चर्चा गरौं । चेम्जोङले वि.सं. २०१८ मा प्रकाशनमा ल्याएको पुस्तक ‘लिम्बू–अंग्रेजी–नेपाली शब्दकोश’ को पृष्ठ २६–२८ अनुसार, ‘सन् १७४० मा सिक्किमका राजाका बत्तासे छोराको विषयलाई लिएर लाप्चा मन्त्री छाङजोत कर्वाङ र भोटे मन्त्री टामडिङ ग्याल्पोबीच झगडा भयो ।

लिम्बू–लाप्चाहरू मिलेर भोटे मन्त्री टामडिङ ग्याल्पोलाई लखेटे । उति नै बेला याङ्रोकका किराती पण्डितले आठ चेलासहित ‘राजा सिरिजङ्गाको अवतार हुँ’ भन्दै लिम्बू भाषा–लिपिको प्रचार गरे । लिम्बू भाषा–लिपिको प्रचार गरेको अभियोगमा राब्देन्ची दरबारको आदेशमा पेमियोन्ची गुम्बाका टछाङ लामाहरूले सिरिजङ्गाको प्राण लिएका थिए ।’

चेम्जोङले आफ्ना पुस्तकहरूमा थुतोव नामग्याल र येशे डोल्माको ‘हिस्ट्री अफ् सिक्किम’ लाई प्रशस्तै उद्धृत गरेका छन् । यी माथिका चेम्जोङका कथनको स्रोत पनि ‘हिस्ट्री अफ सिक्किम’ पुस्तक नै हो ।

पुस्तकको पृष्ठ ४३ मा सन् १७५२ (वि.सं. १८०९) मा पहाडिया र चोङ (लिम्बू)हरूले सिङराग्यालको नेतृत्वमा सिक्किम राजाको विरुद्धमा विद्रोह गरेको लेखिएको छ । निर्मम ढंगले कारवाङ (मुख्यमन्त्री) ले विद्रोह दबाए । विद्रोहीहरूलाई केही विशेषाधिकार पनि दिइयो । तर, यो अनुच्छेदमा सिरिजङ्गाबारे कहीँकतै उल्लेख छैन ।

उक्त पुस्तककै काजीहरूको वंशावली खण्डको पृष्ठ २२ मा सिरिजङ्गाले लामाहरूविरुद्घ दाउपेच गरेकाले उनलाई लामाहरूले मारेको र उनको मृत्यु हुँदा नेपालमा सिंह वा प्रतापसिंह शाह राज्य गर्दै गरेको लेखिएको तथ्यलाई चेम्जोङले उद्धृत गरेका छैनन् । उनले सिरिजङ्गालाई भोटेहरूबाट मारिएको लेखे पनि सिंह वा प्रतापसिंहको पालामा मारिएको भनेर लेखेनन् ।

चेम्जोङले सिरिजङ्गाको अध्ययन–अनुसन्धानमा आफ्नो सिंगो जीवन व्यतित गरे पनि उनी उसबेलाका लेखकहरूको प्रभावमा नराम्ररी फसेका छन् । उनले सिरिजङ्गा र उनको अवतारीको अवधारणा ल्याउँदा सिरिजङ्गा पहिलो र दोस्रो दुइटा भई मिथक बनेका छन् । वास्तवमा सिरिजङ्गा इतिहास हुन्, मिथक होइनन् । सिरिजङ्गा अठारौं शताब्दी उत्तराद्र्घका प्रतापसिंह शाहका समकालीन थिए ।

ताप्लेजुङ सिनामका वि.सं २०७० का संविधानसभा सदस्य भूपेन्द्र थेबेका अनुसार, ‘सिरिजङ्गा साप्लालुङ निकाल्न वि.सं. २०४२ र ४३ तिर स्व. रामबहादुर थेबे, डम्बरबहादुर थेबे, रनबहादुर राउतलगायत सत्तेमाङ (सत्तेहाङ्मा र हिन्दुकृत लिम्बूहरू) हाप्पुखोलामा भेला भए । हाप्पुखोलामा झरिरहेको विशाल छाँगाको भित्तापट्टि सिरिजङ्गाले खोपेको ढुंगो राखिएको थियो । भेलाले मौरी काढ्न खप्पिस खाम्देम्बेका नरबहादुर राउतलाई साप्लालुङ निकाल्न लगाउने निर्णय गर्‍यो ।

मौरीको मह काढ्दा प्रयोग गरिने लठ्ठो (सेन) नीलो दहमाथि झारियो । लठ्ठालाई रूखमाथि चढेर पैंठ मारियो । राउतलाई साप्लालुङ राख्न कोक्रो दिइयो । कोक्रोमा डोरी बाँधेर रूखमा पनि पैंठ मारियो ।

राउत सेनमा टेक्दै हाप्पुखोलाको भित्तामा पुगे । राउतले सिला उठाए र कोक्रोमा राखे । तर, कोक्रोमा जोडिएको डोरी अचानक चुँडियो । कोक्रोसँगै साप्लालुङ पनि पानीमा खस्यो । सिरिजङ्गा साप्लालुङ निकाल्न सकिएन ।’

प्राचीन सिरिजङ्गा लिपि र वर्ण

ब्रिटिस लेखक एच् एच् रिस्लेका अनुसार सिरिजङ्गा सिं थेबेले तागेरानिङ्वाभुमाङको आत्मा मुबेक्वामाको देहमा प्रवेशपछि अक्षरको आविष्कार गरेको पुस्तक निकाल्न थालेको कुरा उल्लेख गरेका छन् ।

उनै मुबेक्वामाले सिरिजङ्गालाई ढुंगामा कोरिएको याक्थुङ भाषा र लिपि देखाएको बताएका छन् । सिरिजङ्गा लिपि अन्य लिपिबाट विकसित नभएर सिरिजङ्गा आफैँले निर्माण गरेका हुन् । किनकि, प्राचीन वर्णहरूले अन्य समुदाय नभएर याक्थुङ समुदायको लवज, उच्चारण र मनोविज्ञानलाई मात्रै सम्बोधन गर्दछ ।

सिरिजङ्गा लिपिमा (का, वा, आ, मा, ता, या, धा, ना, शा, ङा, सा, वा, हा, ला, जा, फा, खा, रा, चा, ञा) २० ओटा मात्र वर्ण वा अक्षर थिए । जसमा एउटा मात्र स्वर वर्ण (आ) भेटिन्छ । यसको आधारमा सन् १९५० तिर लालसोर सेन्दाङ, पदम सिं मुरिङला, सुबेदार बाजवीर थलङ, इमान सिं चेम्जोङको समूहले तुम याक्थुङ निङवाभु साप्ला र याक्थुङ निसेगेक साप्ला हस्तलिखित पुस्तक तयार गरेका थिए । यहीँ पुस्तक सिक्किममा लामो समय पठनपाठन समेत भएको थियो ।

सन् १९३१ मा खस भाषा र देवनागरी लिपिको प्रभावमा परेर सिरिजङ्गा लिपि संसोधन गर्ने क्रममा इमान सिं चेम्जोेङ र रनध्वज नेम्बाङले केही वर्णहरू थपेर देवनागरी लिपि जस्तो स्वर वर्ण र व्यञ्जन वर्णको विकास गरे ।

हज्सन पाण्डुलिपिमा सिरिजङ्गा लिपि

सिरिजङ्गाबारे हज्सन पाण्डुलिपिमा थुप्रै लेखोट संकलन गरिएका छन् । तीमध्ये बेलायती विद्वान्, प्रकृतिवादी र एथ्नोलोजिस्ट ब्रायन हटन हज्सन नेपालमा रेसिडेन्ट भएर सन १८२० देखि १८४५ सम्म रहे ।

फेरि सन् १८४५ देखि १८५८ सम्म दार्जिलिङमा रहँदा उनले पूर्वी नेपाल र सिक्किमका याक्थुङ लिम्बू गाउँहरूबाट लिम्बू जातिबारे सिरिजङ्गा र उनका चेलाहरूले लेखेका लेखोटहरू संकलन गरेका थिए ।

उनले मैवाखोलाका जोभानसिं फागो, छथर ताङ्खुवाका गुनमान खजुम र च्याङ्ग्रेसिं फेदाङ्मालाई लिम्बूका मुन्धुम, संस्कार, भाषा, इतिहास भन्न–लेख्न लगाएर अभिलेखीकरण गरेका थिए ।

खरिदार जित मोहन र हवल्दार रणध्वज हज्सनका थप सहयोगी थिए । हज्सनले संकलन गरेका लेखोटहरूलाई ‘हज्सन पाण्डुलिपि’ भनिएको हो । हज्सनका सयभन्दा बढी खण्डहरू विगत १५० वर्षदेखि इन्डिया अफिस लाइब्रेरी, लन्डनमा सुरक्षित रूपमा राखिएको छ । सन् १९५५ मा प्रोफेसर आर.के. स्प्रिगले हज्सन पाण्डुलिपिमा पाइएका केही लिम्बू सामग्री नेपाल ल्याएपछि चेम्जोङले सिरिजङ्गाबारे अध्ययन गर्ने मौका पाएका थिए ।

उक्त पाण्डुलिपिमा भेटिएका सिरिजङ्गाका लेखोट समेटेर उनले सन् १९६१ मा ‘किरात मुन्धुम खाहुन’ भनेर प्रकाशन गरेपछि सिरिजङ्गाबारे चर्चा हुन थालेको हो । यसैले सिरिजङ्गालाई आम मानिसबीच चिनाउने इतिहासकार चेम्जोङ नै हुन् ।

हज्सन पाण्डुलिपिको खण्ड ७३ र ८८ मा सिरिजङ्गा आफैंले बीस वर्ण भएका बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरू याक्थुङ लिम्बू भाषा र लिपिमा लेखिएका छन् । खण्ड ८६ मा सिरिजङ्गाका मुन्धुम र खाहुन (उपदेश)हरू भेटिन्छन् ।

हज्सन पाण्डुलिपिको खण्ड ७९, ८६, ८८ का पत्रहरूमा सिरिजङ्गा आफैंले याक्थुङहरूको साप्ला र भाषा लिपि बनाएको र निकालेको लेखिएको छ । उनले बाह्रखरी अभ्यास गरेका पत्रहरू भेटिन्छन् । पत्रहरूमा सिरिजङ्गाले उतिबेलाको याक्थुङ समाज, इतिहास र राजनीतिक व्यवस्थाबारे लेखेका छन् ।

याक्थुङ भाषा र सिरिजङ्गाका लिपिमा मात्र लेखिएका यस्ता पत्रहरूमा सिरिजङ्गाले आफू ससुवा लिलिम याक्थुङहाङको सन्तानले मुबोक्वामा (तागेरा निङवाफुमामाङरदेव)बाट पुस्तक भेटेको, बनाएको र लेख्न सिकेको लेखेका छन् । लेखोटहरूमा मुन्धुम (सामाजिक इतिहास) र खाहुन (उपदेश)हरू भेटिन्छन् ।

मुन्धुममा जून, घाम, आकाश, पानी, पशुपक्षी, रूखपात, मनुष्यको उत्पतिको चर्चा छ । उनले पशुपक्षीको उत्पत्ति पुःधामलुङमा र साधामलुङमा भनेर ताप्लेजुङ मिवाखोला र तमोरखोलाको शिरमा पर्ने इङ्लेक्पा पहाडको फेदीलाई भनेका छन् ।

मनुष्यको उत्पत्ति इमि लुङधुङमा भएको भनेर लेलेपको लुङधुङ गाउँको गोला जाँदा बाटोमा पर्ने काइ लुङधुङ(हाडनाता बिग्रिएको ढुंगा÷हल्लिने ढुंगा) लाई भनेका छन् ।

मुन्धुमअनुसार, त्यहाँ याक्थुङका पहिलो पूर्खा मुजिङ्ना खेयङ्नाका सन्तानहरू सुच्छुरु सुहाम्फेबा र तेत्लारा लाहादङ्नाहरू हाडनाता बिग्रिएका थिए । उनले वर्तमान ताप्लेजुङको पाथिभरादेवीलाई मुक्तिफोमामाङर देउता लेखेका छन् । हाल कुम्भकर्ण भनिने पहाडलाई फक्ताङलुङ लेखेका छन् ।

त्यस्तै, मेहेले, सुरुङखिम, सादेवा, साप्लाखुमाथिको सिरिङचोक्मा भनिने डाँडालाई सिदिङचोक्मामाङ भनेका छन् । फलैंचा च्याङथाप्पुको पहाडलाई चाङधुम्बो र च्याङथाप्पुमाथिको फालेलुङ पहाडलाई इसाङलेमामाङ भनेर देउदेउताको नाममा टिपोट गरेका छन् ।

पाण्डुलिपिकै ८५ खण्डका ‘लक्ष्मी संवाद’ शीर्षकका पत्रहरू हेरे सजिलो हुन्छ । उक्त खण्डका पत्रहरू जोभानसिं फागोले भ्याएसम्म उल्था गरेका छन् । सिरिजङ्गाले मुन्धुम र खाहुन लेख्ने क्रममा लामाहरूसँग सम्बन्धित मन्त्रहरू पनि लेखेका छन् ।

सम्बोधनका क्रममा आफ्ना लामा गुरुहरूका नाम पनि लेखेका छन् । जस्तो : गेवालामा, उगेन पोमा, गेवालानी‘ इत्यादि । त्यस्तै‘लामाखाम पाम‘लामाको ठाउँ लेखेका छन् । यसदेखि बाहेक उनले विभिन्न प्रसंगमा ‘धर्म, पाप, पापी, चोरी, राजा, काशी, खण्ड, गोत्र, माहादेवा, गङ्गाजी, धूवाँखानीजस्ता शब्दहरू पनि प्रयोग गरेका छन् । उनी बौद्घ र हिन्दु सभ्यताका जानकार देखिन्छन् ।

हज्सन पाण्डुलिपिको खण्ड ७३ को पत्र १५३ र १५६ (दुई थान)हरूमा सिरिजङ्गाले सपनामा रूखका पातमा अक्षर देखेको र ब्युँझिएपछि अक्षर लेख्न थालेको लेखिएको छ । याक्थुङहरू ज्ञान, बुद्घिको धनी भएपछि राजकाजमा विद्रोह उठाउँछन् भनेर लामाहरूले उनको हत्या गरेको लेखिएको छ । यी पत्रहरू सिरिजङ्गाका कुनै चेलाले लेखेको हुन सक्छ ।

सिरिजङ्गाबारे लेखिएको भरपर्दाे पुस्तक सिक्किमका नवौं राजा थुतोव नामग्याल र रानी येशे डोल्माले सन् १९०८ मा लेखेको ‘हिस्ट्री अफ् सिक्किम’ हो ।

पुस्तकको काजीहरूको वंशावली खण्डको पृष्ठ २२ मा सिरिजङ्गाबारे यस्तो लेखिएको छ : ‘लिम्बूका पूजारी येबा र येमा, फेदाङमाले भनिल्याएका मुन्धुमअनुसार परमात्मा तागेरा निङ्वाफुमाले मुबोक्वामालाई चराको विष्टा र बाँसको खरानीको मनुष्य बनाउन लगाए ।

पहिलो मनुष्य मुजिङ्ना खेयङ्ना भइन् । उनले हावासँग संसर्ग गरी सुसुवेङ लालावेङ सन्तान जन्माएका थिए । उनीपछि सुहाम्फेवा र लाहादङ्नाहरू भए । धेरै पुस्तापछि याङरुपमा सिरिजङ्गाबा देखिए ।

उनका लिम्बू मुन्धुम पढ्ने प्रचार गर्ने दीक्षित आठ चेला थिए । उनलाई सिक्किमका राजा र लामाहरूको विरुद्घमा लागेको आरोप लाग्यो । उनलाई विषालु काँणले हानियो । खोलामा फालियो । उनको प्राण गएन । उनको मुखमा चराको विष्टा कोचियो । उनको प्राण गयो । उनको आत्माले चराको रूप लिएर उड्यो । उतिबेला गोरखाका राजा सिंह थिए ।’

सिरिजङ्गा लिपिको विकासक्रम

भारतको सुखिममा सिरिजङ्गा लिपिलाई लिम्बू लिपि भन्छन् । कसैले याक्थुङ लिपि पनि भनेका छन् । किरात धर्मावलम्बी र सत्यहाङ्मापन्थीले किराँत लिपि भन्दै र लेख्दै आइरहेका छन् । सन् १९२५ मा दार्जिलिङ जिल्लाको कालिम्पोङमा गठन भएको तुम् याक्थुङहाङ चुम्लुङले सिरिजङ्गा लिपि नामाकरण गरेका थिए ।

सन् १९९२ मा धरानमा भएको किरात याक्थुङ चुम्लुङको दोस्रो महाधिवेशनले ‘किरात सिरिजङ्गा लिपि’ नामकरण गर्ने संस्थागत निर्णय गरेको थियो । सर्वाेच्च अदालतको राष्ट्रिय अभिलेखामा ‘किराँत लिपि’ नै उल्लेख भएको छ ।

किरात राई समुदायले किराँत लिपि नामाकरण गरी प्रयोग गर्दै आइरहेका छन् । वि.सं. २०७८ असार २७ गते चार जातीय संस्था (किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, किरात सुनुवार सेवा समाज र किरात याक्खा छुम्मा) ले एक बैठकको आयोजना गरी सिरिजङ्गा लिपिलाई थप समृद्ध (वर्ण थप्ने) गर्दै आम रूपमा प्रचलनमा ल्याउनका लागि किरात लिपि नामाकरण गर्ने प्रयास गरेका थिए ।

तथापि चार जातीय संस्थाहरूको प्रयासलाई युमा साम्यो पक्षधर, सत्यहाङ्मा पन्थी र लिपि प्रयोगकर्ताहरूले चर्को विरोध जनाएका थिए । यद्यपि सुनुवारले भने बेग्लै कोँयच लिपि तयार गरी युनिकोड निर्माण गरिरहेका छन् ।

उक्त लिपिलाई कोइँच लिपि कि किराँत लिपि नाम दिने भन्नेमा छलफल पनि चलिरहेको छ । सिक्किममा राई समुदायले आफैँले विकसित गरेको ‘सुम्हुम् लिपि’ चलाउँदै आएका छन् ।

प्रचलित र प्रस्तावित सिरिजङ्गा लिपि

प्रचलित सिरिजङ्गा लिपिमा नौ वटा(अ, आ, इ, उ, ए, ऐ, ओ, औ, एः) स्वर वर्णहरू छन् । यसमध्ये ५ ओटा (अ, आ, इ, उ, एः) मा ध्वनिक चिह्न केम्भ्रेङ प्रयोग गरी प्रस्तावितमा १४ ओटा स्वर वर्ण बनाएका छन् । त्यसैगरी प्रचलित सिरिजङ्गा लिपिमा २४ ओटा (क, ख, ग, घ, ङ, च, छ, ज, त, थ, द, ध, न, प, फ, व, भ, म, य, र, ल, व, स, ह) छन् । यसमा ध्वनिक चिह्न मुक्फ्रेङलाई थपेर २५ ओटा बनाइएको छ ।

पछिल्लो समयमा वि.सं. २०५७ सालतिर नेपाल प्रज्ञा प्रतिष्ठानको तत्कालीन कुलपति वैरागी काइलाको नेतृत्वमा डा. माधव प्रसाद पोख्रेल समेतको भाषाशास्त्रीको टोलीले भाषा विज्ञानको आधारमा यन्त्रद्वारा मापन गरी प्रचलितबाट प्रस्तावित तर्फ स्तरीकरण गरेका हुन् । लिपि स्तरीकरण गरेपछि इमान सिं चेम्जोङद्वारा सम्पादित लिम्बू–नेपाली–अंग्रेजी शब्दकोश (२०१८) लाई वि.सं. २०५१ मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति वैरागी काइलाद्वारा पुनः सम्पादन गरी प्रकाशन गरे ।

यसपछि प्रकाशन भएका पाठ्यपुस्तक तथा पाठ्यसामग्रीहरू प्रस्तावित सिरिजङ्गा लिपिमा प्रकाशन भइरहेका छन् । वि.सं. २०५५ देखि २०५९ सम्म कक्षा १ देखि कक्षा ५ सम्मको (आनी पाःन्) पाठ्युपस्तक दिलेन्द्र कुरुम्वाङ, रण बहादुर मेन्याङ्वो, विजय लिम्बू लगायतले प्रचलित सिरिजङ्गा लिपिमा सम्पादन गरेका थिए ।

प्रचलित लिपिबाट प्रस्तावित लिपिमा स्तरीकरण गर्दा सिरिजङ्गा लिपि भित्रकै ध्वनिक चिह्न (कुसेक् सक्) लाई स्वर वर्ण र व्यञ्जन वर्णमा तानिएको मात्र हो । यी वर्णहरू प्रचलितमा पनि प्रयोग भएकै हुन् ।

विवादमा सिरिजङ्गा लिपि

हाम्रो देश नेपाल संघीय राज्य प्रणालीमा भएसँगै स्थानीय तहमा थुप्रै अधिकारहरू पनि प्राप्त भए । कुनै पनि जातिको पहिचानसँग उसको भाषा लिपि पनि जोडिएर आउँछ । आफ्नो भाषा लिपि संरक्षण, सवर्दन गर्नको लागि मातृभाषा पठनपाठन गर्न स्थानीय तहले सम्बन्धित जाति वा समुदायलाई नै पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्ने अधिकार पनि सुम्पिन थाले ।

यसै क्रममा बिभिन्न ठाँउमा लिपिको समस्या देखियो । यही समस्या समाधान गर्नको लागि चार जातीय संस्था (कियाचु, किराया, कियाछु र किसुसेस) ले सिरिजङ्गा लिपिलाई ‘किरात वा किरात सिरिजङ्गा लिपि’ नामाकरण गरी आवश्यकता अनुसार केही वर्ण थप गर्ने प्रयास गरेका छन् ।

सिरिजङ्गा लिपिमा ट, ठ, ड, ढ, ण लगायत केही वर्णहरू छैनन् । किरात भाषा मानिने राई जाति भित्रको बान्तावा, आठपहरीया, याम्फू लगायतका केही राई वंशहरूले उक्त वर्णहरू प्रयोग गरेको पाइन्छ ।

केही वंशहरूलाई समेट्नका लागि लिम्बू, याक्खा केही राइ भाषामा प्रयोग नआउने वर्णहरू थपेर नामाकरण, संरचना र उच्चारण फेरबदल गर्नु भनेको सिरिजङ्गाको पहिचान नामेट गर्नु हो । विकासको नाममा सांस्कृतिक अतिक्रमण गर्नु हो ।

आज एउटा समुदायका लागि केही वर्ण थपौँला, भोलि अर्को समुदाय आफू पनि किरात हुँ भन्दै आउला, उसले पनि भाषिक वर्णहरू विकास गर्न चाहन्छ । यसरी निरन्तर थप्दै जानु भनेको वर्णमाला अस्थिर राख्नु हो ।

सिरिजङ्गा लिपि अन्य जाति वा समुदायले प्रयोग गर्नु हुन्न भन्ने कदापि होइन । सिरिजङ्गा लिपिले सम्बन्धित भाषाको ध्वनिक प्रतिनिधि गर्नु सक्नुपर्‍यो । यस लिपिले केही राई वंशका भाषा प्रतिनिधित्व गर्न सक्दैन । राई जातिका केही वंशका लागि वर्णहरू विकास गर्न सकिन्छ । राई जातिभित्रको भाषिक विविधताको कारण दिनानुदिन भाषा मरिरहेको छ ।

यसो हुनुमा फरक फरक वंश भाषिकाबीच विवाह गरेपछि भाषा प्रयोगमा आउँदैन । भाषा प्रयोगमा नआएपछि नयाँ पुस्ताले सिक्ने अवसर पाउदैन । उनीहरूको भाषाका लागि बिकास गरिएका वर्णहरू उनीहरूको भाषा मरेपछि ती वर्णहरूको औचित्य हुन्छ जस्तो लाग्दैन ।

थोरै वक्ताका लागि वर्ण विकास गरेर सिरिजङ्गा लिपिको संरचना बिगार्दै सिङ्गो लिम्बू, याक्खा लगायत अन्य ट, ठ, ड, ढ, ण जस्ता वर्णहरू नभएका समुदायको जनजिब्रो बिगार्नु भनेको सांस्कृतिक विचलन ल्याउनु हो । बौद्धिक सम्पति र सिर्जनामाथिको हस्तक्षेप हो ।

सिरिजङ्गाको योगदानको अवमूल्यन

‘वाले खुम्मा वा खोंगी । फाक्ले खुम्मा फाक खोंगी ।। सिरिजङ्गा याक्थुङ साप्ला केजोक्पा । मेम्बात्लो हाङले आम्सेत्लो ।।’

अर्थात्, ‘कुखुरालाई काबुमा राख्न खोंगीमा राखिए जस्तै सुँगुरलाई कँज्याउन खोरमा राखिन्छ । सिरिजङ्गाले याक्थुङ्बा लिम्बू कागज बनाएको नभन्नू । यसो भन्नेलाई राजाले मार्छ । लिम्बू लिपि र भाषाका सर्जक एवम् सहिद सिरिजङ्गाका यी शब्दलाई इतिहासकार इमानसिं चेम्जोङले संकलन गरेका हुन् ।

सिरिजङ्गाको योगदानलाई कदर गर्दै सरकारले वि.सं. २०४९ मा उनको तस्वीर अंकित टिकट चलायो । सिक्किममा सिरिजङ्गा लिपिमा सन् १९६८ देखि याक्थुङ लिम्बू भाषाको पठनपाठन भइरहेको छ । नेपालमा प्रजातन्त्र पुनःस्थापना भएयता सिरिजङ्गा लिपिको पठन–पाठन सुरु हुँदै छ । वि.सं. २०६७ मा वैरागी काइँला नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपति भएका बेला विसं २०१८ सालमा इमानसिंह चेम्जोङले छापेको पुस्तक ‘लिम्बू–नेपाली–अङ्ग्रेजी शब्दकोश’ लाई संशोधन गरी प्रकाशनमा ल्याए ।

शब्दकोशभित्र हज्सन (सन् १८४४), क्याम्पबेल (सन् १८५५), थलङ (सन् १९२८) हरूले प्रयोग गरेको लेख्य परम्परालाई उद्धृत गर्दै प्रयोग गरिएको लिपिलाई सिरिजङ्गा लेखिएको र सिरिजङ्गा वर्णमाला र सिरिजङ्गा लिपिबाट शब्दकोश नै तयार भएको छ ।

अहिले आएर किरात याक्थुङ चुम्लुङले किरात राई यायोक्खासँग मिलेर ‘सिरिजङ्गा लिपि’ लाई ‘किरात सिरिजङ्गा’ लिपि बनाएर चलाउन खोजिरहेको छ । ‘किरात सिरिजङ्गा लिपि समायोजनसम्बन्धी विज्ञ कार्यदलको प्रतिवेदन’मा थपिएका स्वर र व्यञ्जन वर्णप्रति याक्थुङ लिम्बूहरूको घोर असहमति छ । ती अक्षरहरू लेखन तथा पठनपाठन प्रक्रियामा अनुपयुक्त मात्रै होइन, पूर्ण असान्दर्भिक पनि छन् ।

सिरिजङ्गाको सम्मानमा उनैको नामबाट लिपिको नाम राख्नु उपयुक्त र सर्वस्वीकार्य हुन्छ । सिरिजङ्गाको नाम अघिपछि कुनै फुर्का र शब्दावली आवश्यक छैन ।

सिरिजङ्गा लिपिमा हालसम्म २५ व्यञ्जन थिए । २३ थपेर अब ४८ व्यञ्जनको बनाएपछि अध्ययनमा समस्या सिर्जना भएको छ । सोही लिपि र वर्णमालामा लेखिएका सयौँ पुस्तक, पुस्तिका, सोधग्रन्थ, जर्नलहरूको औचित्य संकटमा परेको छ ।

भारतको सिक्किममा पुरानै वर्णमालाकै आधारमा विश्वविद्यालयको विद्यावारिधि तहसम्म अध्ययन अध्यापन भइरहेकाले नयाँ वर्णमाला र नामकरणले अन्यौलता मात्रै सिर्जना गरेको छ । सिरिजङ्गा लिपिको पुरातात्विकता, ऐतिहासिकतालाई जोडेर राईहरूले बौद्धिक सम्पत्तिको प्राधिकार लिन चुम्लुङसँग सम्बन्ध विस्तार गरेको देखिन्छ । उनले बनाएको लिपिलाई सिरिजङ्गा लिपि भन्ने जन्मसिद्ध अधिकार याक्थुङ लिम्बूलाई मात्रै छ ।

उपसंहार

विश्वका सबै जाति वा समुदायले सिरिजङ्गा लिपि चलाउन सक्छन् । तर, सिरिजङ्गा लिपि हालको जुन प्रचलितमा नौवटा स्वर वर्ण र २४ वटा व्यञ्जन वर्ण छन्, त्यसैलाई मापदण्ड बनाएर प्रयोग गरेमा विवादरहित हुन्छ । हाम्रा जनजिब्रोमा नभएका वर्णहरू थपेर, फरक नामाकरण गर्दै संरचनाहरू फेरबदल गर्नु सहिद सिरिजङ्गा सिं थेबे, कैयन् भाषाका साधक, सेवक र सर्जकहरूको अपमान हो ।

यसले भविष्यमा हाम्रो भाषाको मौलिकतामाथि ऐतिहासिक क्षति पुर्‍याउनेछ । समय, काल र परिस्थितिअनुसार लिपिको विकास हुनुपर्छ । तर, विकासको नाममा भाषिक अराजकता ल्याउनुहुन्न । हामीले लेख्दै र पढ्दै आएको रोमन लिपि थपघट भएको इतिहास छैन । तापनि विश्वको प्रायः सबै जाति समुदायले प्रयोग गर्दै आइरहेका छन् ।

नेपालको प्रचलित कामकाजको लिपि देवनागरी लिपिमा केही वर्ण नचाहिँदा निक्कै वर्णहरूलाई फालिएका छन् र अझै पनि उस्तै ध्वनि सुनिने वर्णहरूलाई फालिने क्रम जारी छ । सिरिजङ्गा लिपि चाहिँ विकासको नाममा वृद्धि हुँदै आइरहेको छ ।

सिरिजङ्गा लिपिका निर्माणकर्ता, विकासकर्ता र प्रचारक सिरिजङ्गा सिं थेबेलाई उनको योगदानका लागि नेपाल सरकारले अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्नुपर्छ । इतिहासकार डा. रमेश ढुङ्गेलले त सिरिजङ्गालाई दक्षिण एसियाकै एक महान् विभूति भनेका छन् । सिरिजङ्गा लिपि, याक्थुङ लिम्बू भाषा र साहित्यकै विकास र प्रबद्र्धनमा अतुलनीय योगदान पुर्‍याएबापत् सन् २०१७ मा भारत सरकारले सिक्किमका स्व. बिर्ख बहादुर(बी.बी.) मुरिङ्लालाई पदमश्री सम्मानले विभूषित समेत गरेका थिए ।

दुईखाले वर्णमाला, लेखन पद्धति र इतिहासले समुदाय थप रनभुल्लमा मात्रै पर्नेछ । यसर्थ, ऐतिहासिक योगदान, विकासक्रम र पुरातात्विक महत्वलाई ख्याल राखेर सिरिजङ्गा लिपि प्रयोगको व्यापकतामा ध्यान दिन जरुरी छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  १२ : ३५ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन