इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ? | Khabarhub Khabarhub

इजलासमै विषपान गरी सेतो वस्त्रमा अनसन बसेकी बिनु को हुन्‌ ?



काठमाडौँ – कहिले सर्वोच्च अदालतको गेटमा कालो त कहिले रातो रङ्ग छ्यापेर न्यायालयलाई झक्झक्याइरहने पात्र हुन् – विनु यादव । घरेलु हिंसा र बलात्कार मामिलामा पीडक दाबी गरिएका व्यक्तिलाई रामेछाप जिल्ला अदालतले सफाइ दिएपछि उनले इजलासमै विषसेवन गरी आत्महत्या प्रयाससमेत गरिन् ।

उनले न्यायको लागि जस्तोसुकै सङ्घर्ष गर्ने उच्च मनोबल लिएर सडकमा छिन् । सर्वोच्च अदालत, माइतीघर मण्डला र रामेछाप जिल्ला अदालत उनको घर बनेको छ । जीवनको ऊर्जाशील समय त्यहीँ बितेको छ । तर उनी न्याय नलिई नफर्किने अडानमा छिन् ।

आफ्नो न्यायको लागि भन्दै लडेकी विनु अन्य महिला पीडितहरूका लागि पनि लड्ने भएकी छिन् । कानुनको विज्ञ नभए पनि अनुभवका आधारमा कानुनी प्रक्रियामा पीडितलाई सघाउने गरेकी छिन् । अन्यायमा परेका महिलाहरूका साथमा हातेमालो गरेकी छिन् । उनीहरूको आवाज बन्ने प्रयास गरेकी छिन् ।

त्यसैगरी पछिल्लो समय चर्चित हुन र मिडियाबाजी गर्न नक्कली पीडित सडकमा आउने गरेको उनको ठम्याइ छ । उनीहरूले गर्दा वास्तविक पीडितको मुद्दा छायाँमा पर्ने हुन्छ । हाल उनी एक सामाजिक संस्थामा काम गर्छिन् । जसले मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाको हक अधिकार र सुरक्षा लगायतमा काम गर्छ ।

भर्खरै सरकारले बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउने तयारी गरेको विरोधमा ६ दिन आमरण अनसन बसिन् । सेतो सारी, रातो पोते र सिन्दुर लगाएर बहुविवाहको सांकेतिक विरोध गरिन् । एक महिला र बच्चाको हक दिलाउने बहुविवाहको कानुनले अर्की महिलालाई सिन्दुर र पोतेभित्रै विधवा बनाउने भन्दै उनले उक्त विम्बको प्रयोग गरेकी थिइन् ।

को हुन् विनु यादव ?

विनु २०५० सालमा सिरहामा जन्मिएकी हुन् । बुवाको जागिरको सिलसिलामा सोलुखुम्बुले शिक्षा दीक्षा दियो । उनले आफूलाई मधेश र हिमालकी छोरीको रूपमा चिनाउँछिन् । स्नातकसम्म अध्ययन गरेकी उनले स्वास्थ्य विषयमा सीएमए गरेकी छिन् ।
दुई दिदीबहिनी र एक भाइ छन् ।

एकल आमाले हुर्काएको सन्तान उनी सानैदेखि टाठीबाठी थिइन् । पढाइमा अब्बल पनि । हस्पिटलतिर काम गर्थिन् । आमाले ‘यही छोरीले पाल्छे, बुढेसकालको सहारा बन्छे’ भन्नुहन्थ्यो । आमाले धेरै सपना देखेकी थिइन् । तर अहिले आमा विरामी भएर चौबीस घण्टा अक्सिजनको सहारामा प्राण धान्नुपर्ने अवस्थामा छिन् ।

बिहेपछि विनुको जिन्दगीले सोच्दै नसोचेका युर्टन लिएपछि उनीहरूको परिवार अदालतको मुभमेन्ट भन्दा अगाडि बढ्न सकेको छैन । उनको समय न्याय माग्दै सडकमा बितिरहेको छ ।

उनको मुद्दा के हो ?

बिनु र उनको श्रीमान् प्रदीपको पहिलोपटक २०७४ सालमा भेट भएको थियो । साथीबाट सुरु भएको सम्बन्ध विस्तारै प्रेममा विस्तार हुँदै गयो । उनीहरू एकअर्कालाई मन पराउन थाले । जीवनभर सँगैसाथ रहने वाचा कसम गरे । त्यसै सिलसिलामा दुवैको सहमतिमा शारीरिक सम्बन्ध राखे ।

बिहे गरे । आजिवन सँगै रहने निर्णय गरेकाले उनीहरूले सुरक्षातर्फ ध्यान दिएनन् । स्वाभाविक हो, उमेर पुगेको युवती गर्भवती भइन् । उनी बच्चा जन्माउन चाहन्थिन् । तर प्रेमीले गर्भपतनको दबाब दिन थाले । त्यहिबाट उनीहरूबीच मतभेद सुरु भयो । बच्चा राख्ने र फाल्ने विवाद चलिरहँदै गर्दा बिनुको स्वास्थ्य असहज हुँदै गयो ।

०७५ चैत्र २० गते त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेर चेकजाँच गर्दा ‘एक्टोपिक प्रेग्नेन्सी’ भएको रहेछ । बच्चा पाठेघरको नलीमा बसेकाले डाक्टरले तत्काल अप्रेसन गर्नुपर्ने सल्लाह दिए । चैत २२ गते अस्पतालमा डिस्चार्ज गरेर प्रदीपले उनलाई एक होटलमा लगेर राखे । काठमाडौँ, भक्तपुरमा घर भएको मान्छेले अप्रेसन गरेको बिरामीलाई होटलमा राखे । अप्रेसनपछि घरपरिवारमा सबैले थाहा पाए । अप्रेसन गरेको दुई दिन मात्रै भएको थियो । होटलमै चैत २४ गते प्रेमीले शारीरिक सम्बन्ध राख्न खोजे । उनले मानिनन् । तर टाँका लगाएको शिथिल शरीरसँग जबर्जस्ती सम्बन्ध बनाए । स्वास्थ्य अवस्था नाजुक भएपछि उनी पुनः अस्पताल भर्ना भइन् । तर प्रदीप अस्पतालबाटै फरार भए ।

आफूले ‘नाइँ’ भन्दाभन्दै पनि अप्रेसन गरेको बिरामीसँग सम्बन्ध बनाउनु बलात्कार गर्नु हो भन्ने उनलाई पत्तो थिएन । यस्तो यस्तो भयो गर्‍यो भन्दै हिँडिन् । पछि पो श्रीमान्ले गरेको बलात्कार रहेछ भनेर बुझिन् । आफूले काम गर्ने कार्यालयमा दुई हप्तासम्म बसिन् तर प्रदीप सम्पर्कमा आएनन् ।

प्रदीपबाट बलात्कृत भएको उल्लेख गर्दै ०७६ बैशाखमा महानगरीय प्रहरी परिसर काठमाडौँको महिला तथा बालबालिका सेवा केन्द्र कालीमाटी पुगेर जाहेरी दिइन् । पछि उनलाई प्रदीप र उनको परिवारले बिहे गर्ने बुहारी बनाउने आश्वासन दिए । जबर्जस्ती करणी मुद्दा प्रदीपकै मामा डीएसपी भएकाले फिर्ता गर्न लगाए ।

सबै कुरा बिर्सिएर माफ दिने पक्षमा गइन् र जाहेरी फिर्ता लिइन् । ०७६ मंसिर २५ गते भद्रकाली मन्दिरमा हिन्दु परम्पराअनुसार विवाह गरे । विवाह लगत्तै श्रीमान् र उसको परिवारले हेला गर्न थाले । जे सोचेर जाहेरी फिर्ता लिएकी थिइन् , त्यसको उल्टो हुँदै गयो । जबर्जस्ती करणीको मुद्दाबाट जोगिन मात्रै उनीहरूले विवाहको नाटक रचेका रहेछन् । बलात्कारको हदम्याद कटाउनको लागि मात्रै शरण दिएका थिए ।

बिहे भए पनि उनीहरूको व्यवहारले भारी मन लिएर श्रीमान्सँग रामेछाप पुगिन् । रामेछापमा बिनुलाई काका ससुरा (पवन कठायत) को होटलमा राखियो । घरकै परिवारले हेला गरेको बुझेपछि ससुरा पवनकुमारले पनि त्यसको फाइदा लुट्ने मनसायले शरीरमा जथाभावी छुन थाले ।

काका ससुराको व्यवहार श्रीमान्लाई सुनाउँदा विश्वास गरेनन् । त्यसपछि विभिन्न आरोप लगाएर उल्टै मानसिक यातना दिन थाले । कठिन समयको बावजुद पनि बिनु पुनः गर्भवती भइन् । तर गर्भ फाल्न बाध्य गराए । हेप्ने, एक्लो बनाउने, कोही नबोल्ने र घरमै थुनेर राखे जस्तो बनाए । देशमा कोरोनाको महामारी थियो ।

उनी परिवारको अवहेलना, तिरस्कार र गर्भपतन चारैतिरको समस्याले डिप्रेसन भयो । फेरि पनि बिहे पछिको दोस्रो गर्भ रह्यो । यो पटक औषधी खुवाएर गर्भपतन गराउन खोज्दा धेरै रगत बगेपछि काठमाडौँ ल्याए । तर काठमाडौँ ल्याएर त्यत्तिकै छोडेर सम्बन्ध विच्छेदको मुद्दा हाल्न गए ।

त्योभन्दा अगाडि अंश दिनुपर्छ भनेर सम्पत्ति अर्काको नाममा राखेर सम्बन्ध विच्छेदको मुद्दा हाले । त्यसपछि उनले रामेछाप जिल्ला अदालतमा मुद्दा हालिन् । पद, पहुँच, शक्ति, पैसा र कानुनी ज्ञानको अभावले भौँतारिइन् । न्याय निम्ति भन्दै विभिन्न सङ्घसंस्था र न्यायिक निकायमा धाइन् । तर, जतासुकै उनीहरूकै मान्छे, पीडककै लागि बोल्नेहरू थिए ।

कसैको छोरीलाई प्रेममा पारेर उसको जवानी सिध्याएर, शारीरिक, मानसिक यातना दिएर अलपत्र छोड्न नपाइने भन्दै उनी सङ्घर्षमा छिन् । पैसा र शक्तिको प्रभावमा न्यायालयले सुनुवाइ गरेको उनको आरोप छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ४ : २२ बजे

मार्तडी र कोल्टीमा सहुलियत पसल सञ्चालन

बाजुरा– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लाका मार्तडी र कोल्टीमा

कांग्रेसको पुनर्गठन प्रस्ताव गर्दै गगनले भने : महामन्त्री पद छोड्न तयार छु

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेन-जी आन्दोलनपछिका घटनाप्रति फेरि

उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन उद्योग मन्त्रालयको आग्रह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्री तथा

कोरला नाकाबाट एक सय बढी विद्युतीय सवारी आयात

मुस्ताङ– यहाँको लोमान्थाङस्थित कोरला नाकाबाट १०० बढी विद्युतीय सवारी आयात