क्षतिग्रस्त बाटो बनाउन दश अर्ब राशि कसरी जुट्ला ? « Khabarhub

क्षतिग्रस्त बाटो बनाउन दश अर्ब राशि कसरी जुट्ला ?

१७ हजार मिटर बाटो र १६ वटा पुलमा क्षति



असोज १८ गतेदेखि २० गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोले देशभरको सडक सञ्जाल यतिबेला क्षतिग्रस्त बनेका छन । सडक विभागका अनुसार बाढी पहिरोका कारण ७ अर्ब ११ लाख ८१ हजार ५ सय रुपैँया बराबरको क्षति पुगेको हो । यस्तै ९१ करोड रुपैयाँ लागतमा निर्माण गरिएका १६ वटा पुल पुनः निर्माण गर्नुपर्ने भएका छन । 

जसका लागि अब १० अर्ब ६८ करोड रुपैँया बराबर लगानी जोहो गर्नुपर्ने दायित्व सरकारमाथि थपिएको सडक विभागका प्रवक्ता प्रभात कुमार झाले बताएका छन्।

‘तीन दिनसम्म अविरल रुपमा परेको वर्षाले हाम्रा राजमार्गको करिब २ सय ३७ ठाउँको १७ हजार १ सय ९ मिटर खण्डमा समस्या ल्याएको छ,’।

उनले थपे, ‘निर्माण सम्पन्न भएका ३ वटा स्टिल, ३ वटा बेलिब्रिज र ७ वटा ढलान पुलमा बाढी पहिरोले क्षति पुर्यायको छ, निर्माणाधीन ३ वटा ढलान पुल गरी १६ वटा पुल मर्मत सम्भार गर्नुपर्नेछ,’ झाले बताए । 

‘अहिले सडकको अवरोध हटाएर आवतजावत गर्न सक्नेगरी काम गरेका छौं, हाम्रा देशभर रहेका कार्यालयले पठाएको तथ्यांकअनुसार विभाग मातहतमा रहेका मुख्य राजमार्ग पुनः निर्माणका लागि दश अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक आंकलन आएको छ त्यसमा आवश्यकता अनुरूप थप गर्नुपर्ने पनि हुनसक्छ, हामी एकीकृत तथ्याकंसहित बजेटका लागि १-२ दिन भित्र फाइल लिएर मन्त्रालय जाने तयारीमा छौं’ उनले बताए । 

उनका अनुसार सम्पूर्ण सडक सुधारलाई छोडेर २ सय बढी स्थानमा निरन्तर खसिरहने पहिरो नियन्त्रण गर्न मात्रै २६ अर्ब रुपैयाँ बराबरको स्रोत आवश्यक पर्ने देखिएको छ । 

 भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट चालू आर्थिक वर्षमा सडक मर्मत तथा सुधारका लागि विभागले ३ करोड ३७ लाख एक हजार १ सय ३८ रुपैयाँ, राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना कार्यक्रममा ८ अर्ब रुपैयाँ र सडक बोर्डबाट करिब ४ अर्ब २८ करोड २४ लाख रुपैयाँ प्राप्त गरेको थियो । 

विभागले देशभरका राजमार्गको पहिरो व्यवस्थापनका लागि मात्रै २६ अर्ब रुपैयाँ लगानी आवश्यक रहेको दाबी गरिरहँदा सरकारबाट भने समग्र सडकका लागि करिब १२ अर्ब ३१ करोड रुपैयाँ मात्रै विनियोजन भएको छ । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीका अनुसार क्षतिग्रस्त सडक पुनः निर्माणका लागि सरोकारवाला निकायहरूसँगको छलफल पछि मात्रै आर्थिक स्रोत सुनिश्चित हुने बताए । 

‘राजमार्ग मर्मत सम्भारका लागि हरेक वर्ष विनियोजन हुँदै आएको बजेटले सामान्य मर्मत सम्भारको काम गर्दै गर्छौ त्यसले पुगेन भने, बढी खर्च लाग्ने र नयाँ संरचना बनाउनुपर्ने ठाउँमा चाहीँ मन्त्रालयकै अन्य आयोजनाबाट वा विपत उद्धार कोषसँग छलफल गरेपछि मात्रै अगाडि कसरी बढ्ने छलफल गरेर त्यहाँबाट पनि नहुने देखियो भने फेरि अर्थ मन्त्रालयलाई आग्रह गर्नुपर्ने हुन्छ के हुन्छ त्यो थप छलफल गरेपछि मात्रै भन्न सकिन्छ,’ प्रवक्ता अधिकारीले भने। 

उनले थपे, देशभरको सडक मर्मत सम्भारका लागि बजेट पर्याप्त भएको छैन त्यसकारण काम पनि जति गर्नुपर्ने त्यति गरेको छैन तर अहिले बीपी हाइवे, पृथ्वी हाइवेमा मर्मतका लागि केही बजेट त्यहाँ निकासा भाको छ त्यो बजेट पहिले खर्च हुन्छ,’ । 

सडक सुधारका लागि सम्बन्धित निकायको आन्तरिक स्रोत पर्याप्त नभएमा आवश्यकता र औचित्यका आधारमा थप बजेट रकमान्तर गरिने अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेले बताए । 

 ‘अहिलेसम्म भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कुनै माग भएको छैन, बजेट अपुग भएमा आवश्यकता र औचित्यका आधारमा बजेट कार्यान्वयनका मार्गदर्शन अनुरूप निकाश गरिनेछ,’ पाण्डेले जानकारी दिए । 

देशभर रहेका ८० वटा राष्ट्रिय राजमार्ग सडक विभाग मातहत छन । 

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार  ४ : ४३ बजे

चीनले भन्यो : हिमाल र नदीले जोडिएको छिमेकीलाई जलवायु परिवर्तनको मुद्दामा सघाउन तयार छौँ

काठमाडौं – नेपालमा आएको विनाशकारी बाढीपछि विश्वका प्रमुख हरितगृह ग्यास

हाम्रो दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बा बनेर उभिनुभएको छ : प्रधानमन्त्री शाह

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मित्र राष्ट्रहरू विपद्को घडीमा

बढ्यो ग्यासको मूल्य

काठमाडाैं – सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको भन्दै खाना

देउवा समूहले अनुमोदन गर्‍यो १५औँ महाधिवेशनको कार्यतालिका

काठमाडौं – नेपाली कांग्रेसकाे शेरबहादुर देउवा पक्षले पार्टीकाे १५औँ केन्द्रीय

चिलिमेको सुरुङमा पुगे राजदूत श्रीवास्तव, उद्धार प्रयास गर्दै भारतीय र नेपाली टोली

काठमाडौं– नेपालस्थित भारतीय राजदूत नवीन श्रीवास्तवले रसुवाको स्याफ्रुबेँसीस्थित चिलिमे जलविद्युत्