टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन्  « Khabarhub

टिचिङ अस्पतालमा टिकट पाउनै सास्ती, अस्पताल भन्छ– मन्दिरमा घण्टौँ लाइन बस्ने यहाँ झिँजो मान्छन् 


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज (टिचिङ अस्पताल) देशकै ठूलो र रेफरल अस्पताल हो । पूर्ण सरकारी नभए पनि अन्य अस्पतालको तुलनामा  यो अस्पतालमा उपचार सस्तो हुने भएपछि दैनिक हजारौँ बिरामी उपचारका लागि आउँछन् । ओपिडीका लागि बिहान ७ बजेदेखि नै टिकट काउण्टर खुल्ने टिचिङमा बिहान ५–६ बजेदेखि नै बिरामीको लाइन लाग्ने गर्दछ । 

टिकट काट्ने समय बिहान ७ देखि ११ र दिउँसो १ देखि २ गरी दुई सिफ्टमा राखिएको छ । बिहान ११ बजेपछि पुग्ने बिरामीले टिकटकै लागि २ घण्टा कुर्नुपर्ने बाध्यता छ ।

११ बजेपछि अस्पताल पुगेका एक सेवाग्राहीले टिकट काट्ने समय थाहा नपाएको गुनासो गर्दै भने– ‘आउँदा आउँदै ढिलो भयो । अब १ बजेसम्म बस्नुपर्ने भयो । आज पहिलो पटक आएको सोधपूछ कक्षमा सोध्दा टिकट लिने समय सकियो । अब १ बजेपछि मात्रै सुरु हुन्छ । त्यति बेलासम्म कुरेर बस्नुस् भन्दै थर्काएर पठाए ।’ 

एक वृद्ध आमा दाँत दुखाइको समस्या लिएर आएकी थिइन् । दुखाई सहन नसकी रन्थनिदै टिक काउन्टर नजिकैको एउटा कक्षमा पुगेर अनुनय विनय गरिन– ‘लौन बाबु मलाई साह्रै गाह्रो भयो टिकटको व्यवस्था गरिदिनुपर्‍यो ।’ त्यहाँका एक जना कर्मचारीले रुखो बोल्दै भने– ‘जतिखेर आयो त्यतिखेर कहाँ टिकट पाइन्छ । यो सरकारी अस्पताल हो ।’ 

टाउकोको समस्या लिएर कैलालीबाट उपचारका लागि आएकी एक सेवाग्राहीले भनिन्– ‘बसपार्कबाट हतार हतार सिधै अस्पताल आएँ, टिकटको समय सकिएको रहेछ । रातभरको यात्राबाट आएकी खाना पनि खाएको छैन । टिकट काट्ने समय अलि बढाइदिए टाढाबाट आउने बिरामीलाई सहज हुने थियो ।’ 

उनीजस्तै टाढाबाट आएका बिरामीहरू कोही टिकट काउन्टर खोजिरहेका थिए भने कोही पीडाले छटपटाइरहेका थिए । अस्पतालको टिकट काट्ने समयप्रति सबैको गुनासो थियो । अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्यारा सेवाग्राहीको गुनासो स्वीकार्दै अस्पताल प्रशासन प्रयासरत रहेको बताउँछन् । 

क्षमताभन्दा दोब्बर सेवाग्राहीलाई सेवा दिनुपर्ने बाध्यता

सूचना अधिकारी रोस्याराले भने अस्पताल सुरु भएदेखि नै चिकित्सक तथा नर्सहरू निरन्तर सेवामा खटिरहेका छौँ । देशभरकै रेफरल अस्पताल भएकाले जन्मेदेखि मृत्युसम्मका हरेक समस्या टिचिङ अस्पतालमा आउने गरेको छ ।

थापाथली स्थित प्रसूति गृहमा आमा तथा बच्चामा समस्या आएका, गंगालालमा आएका मुटु तथा फोक्सोका बिरामी, भक्तपुर क्यान्सर अस्पतालमा निको नभएका, कुनै दुर्घटनामा घाइते तथा मृत्यु भएकाहरुको शव परीक्षणको दायित्व टिचिङकै रहेकाले क्षमताभन्दा बढीलाई सेवा दिनु परेको अस्पताल प्रशासनको गुनासो छ । 

दैनिक २२ देखि २५ सय बिरामीलाई ओपिडी सेवा दिँदै आएको यो अस्पतालमा त्यति नै बिरामी टिकट नपाएर फर्किने गरेका छन् । किनकि अस्पतालको क्षमता, उपकरण लगायतको म्यानपावरले सेवा दिन सक्ने भनेको यत्ति मात्रै हो उनले भने । 

टिकट काट्ने समय थोरै भयो भन्ने सेवाग्राहीको गुनासो बारे रोस्यारा भन्छन्– चिकित्सकले जति बिरामी हेर्न सक्ने हो, त्यति मात्रै टिकट काटिने हुनाले समय थोरै राखेको हो । यो शिक्षण अस्पताल भएकाले चिकित्सकहरूको काम पनि त्यही अनुसारको हुन्छ । 

एक जना चिकित्सकले हप्तामा २ दिन शल्यक्रिया, २ दिन प्रशिक्षार्थी पढाउने र २ दिन ओपिडीको काम हेर्नुपर्छ । त्यसैले चिकित्सकले जति बिरामीलाई हेर्न सक्ने क्षमता अनुसार सीमित टिकट काट्ने गरिएको बाध्यता उनले जनाए । 

लाइनलाई व्यवस्थित गर्न अस्पताल प्रशासन प्रयासरत रहेको बताउँदै रोस्याराले भने  पछिल्लो समय रिपोर्टहरू सबै भेन्डिङ मेसिनमा हुन्छ । पहिले टोकन सिष्टम थियो भने अहिले त्यो सिष्टम हटाएर कार्ड आफै ओपिडी कक्षमा पठाउँछौँ । पहिले पहिले स्टाफहरूको बिरामी धेरै आउँछन् भन्ने थियो, अहिले स्टाफहरूको काउन्टर छुट्टै चलाइएको छ । 

सुधारका काम भइरहेको बताउँदै उनले भने– ‘एमआरआइको रिपोर्ट चाँडो निकाल्ने लगायतका प्रयास गरिरहेका छौँ । अस्पताल ठुलो क्षेत्रफलमा फैलिएको हुनाले बिरामीलाई विभाग खोज्न कठिनाइ नहोस् भनेर २ ठाउँमा नागरिक बडापत्र राखिएको छ । तर बिरामीहरू एक त आत्तिने र धेरै बिरामी पढ्न नसक्ने खालका पनि आउने भएकाले यसमा समस्या भइरहेको छ ।’  

युरोका बिरामी धेरै 

सूचना अधिकारी रोस्यारका अनुसार अहिले युरो सम्बन्धी बिरामीको संख्या एकदमै बढिरहेको छ । त्यो बाहेक पनि धेरै समस्या लिएर  आएका बिरामीको लाइन पनि त्यत्तिकै हुन्छ भने  अनलाइनबाट काट्ने पनि त्यत्ति नै हुन्छन् । 

अनलाइनबाट टिकट लिएका पुराना बिरामीको संख्या अनलिमिटेड छ भने नयाँ दैनिक ४५ जना राखिएको छ । टिकट खोल्यो कि १० मिनेटमा सबै सकिन्छ । त्यसैले सेवाग्राहीको गुनासो हामीले सम्बोधन गर्न सकेकै छैनौँ उनले भने । 

उनीहरूको गुनासोलाई सम्बोधन गर्न भनेर भर्खरै एक जना रजिष्ट्रार माग गरेर कोटा खोलाइएको छ । त्यसका बाबजुद पनि टिचिङ अस्पतालमै उपचार गर्छौँ भनेर आएका धेरै सेवाग्राहीलाई हामीले सेवा दिन पाएका छैनौँँ, रोस्याराले भने । 

‘रक्सी खान पैसा छ, उपचार गर्न छैन’

सेवाग्राहीहरूको व्यवहारप्रति गुनासो गर्दै उनले भने, नेपालीसँग चुरोट रक्सी खानलाई पैसा हुन्छ, हिमाल चढ्न पैसा हुन्छ तर उपचारमा आउँदा पैसा छैन भन्छन् । सरकारी हो भन्दैमा सबैलाई निःशुल्क गर्न त सकिँदैन नि । सरकारले तोके अनुसारको बिरामीहरूलाई निःशुल्क सेवा दिइरहेकै छौँ । 

तर घाँटीमा सुनको सिक्री लगाउने, हातमा रोलेक्स घडी लगाएका व्यक्तिहरू उपचार निःशुल्क माग गर्दै आउँछन् त्यस्ता व्यक्तिलाई निःशुल्क सेवा दिन सकिँदैन सूचना अधिकारी रोस्याराले भने । 

बिरामीले टिकट पाएन भन्ने गुनासो सधैँ आउँछ यत्ति ठूलो अस्पताल छ । दैनिक ६ सय १४ वटा अल्ट्रासाउण्ड हुन्छ । ती पनि त बिरामी हुन् । पशुपति लगायतका मन्दिरमा दर्शन गर्नका लागि सजिलै घण्टौँ लाइन लाग्ने सक्नेले आफ्नो स्वास्थ्यका लागि २ घण्टा लाइनमा बस्दा दुख भयो भन्छन् । त्यसैले हामी सबैले आफ्नो सोच बदल्न जरुरी रहेको रोस्यारा बताउँछन् । 

अस्पतालमा आउने सबै बिरामी कुनै न कुनै समस्या लिएरै आएका हुन्छन् । चिकित्सकहरू पनि त्यत्तिकै व्यस्त हुन्छन् समय त लाग्छ नि, आएका जति सबैलाई एकै पटक सेवा दिन सकिँदैन । अस्पतालको प्राङ्गणभित्र आइसकेपछि बिरामीको सुरक्षा र उपचार गर्ने जिम्मा अस्पतालको हो । त्यसैले अचानक केही भइहाल्यो भने आकस्मिक उपचार गरिन्छ, उनले भने । 

टिचिङमा दैनिक ८० जना बिरामीको शल्यक्रिया गरिन्छ । त्यत्तिकै मात्रामा माइनर अप्रेसन गरिन्छ भने २५ सय देखि ३ हजार बिरामी निको भएर जान्छन् । 

दैनिक अस्पतालमा जति बिरामी आउँछन् सबैलाई उपचार गरेर पठाउन त सम्भव हुँदैन । उनीहरूको समस्या पत्ता लगाउनका लागि सोधपुछसँगै आवश्यक रगत, पिसाब जाँच, अल्ट्रासाउण्ड, एक्स रे गर्नुपर्‍यो एक जना बिरामीलाई कम्तीमा पनि १० देखि १५ मिनेटको समय लाग्छ । यो कुरा सर्वसाधारणले बुझ्न जरुरी छ, उनले भने । 

टिकटको लागि मात्रै भनेर १२ १५ वटा काउन्टरहरू छन् तर पनि लाइन घट्दैन । त्यस्तै रगत जाँचको लागि पनि सके जति जनशक्ति र उपकरण लगाइएको छ । जस्तै १० वटा मेसिनमा दैनिक ६ सय १५ वटा अल्ट्रासाउण्ड गरिन्छ भने दैनिक ३० देखि ३५ वटा एमआरआई गरिन्छ । 

टिचिङ अस्पताल विश्वविद्यालय अन्तर्गतको अस्पताल हो सरकारसँग प्रत्यक्ष सम्बन्ध नभए पनि सरकारका नीतिसँग हामी जोडिएका छौँ । तर सरकारकै भर पर्ने हो भने अस्पताल नै बन्द गर्नुपर्ने अवस्था आउँछ । 

स्वास्थ्य बीमा बापतको भुक्तानी पाउन बाँकी 

स्वास्थ्य बीमा बापतको करिब ४० करोड भुक्तानी बाँकी रहेको बताउँदै सूचना अधिकारी रोस्याराले भने, यो कार्यक्रम अस्पताललाई डुबाउने खेल बनेको छ । 

केही समय अगाडी ६ करोड ९० लाख भुक्तानी भयो । 

अझै ४० करोडको हाराहारीमा अझै पुरानो भुक्तानी उठाउन बाँकी रहेको छ । तर पनि भुक्तानी गर्छौँ भन्ने आश्वासन बोर्डले दिएपछि स्वास्थ्य बीमा कार्यक्रम अहिले पनि निरन्तर रहेको जानकारी उनले दिए ।  

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : ११ बजे

निसीखोलामा पुतली नाचको रौनक

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोटमा पुतली नाच प्रदर्शन गरिएको छ

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी