ओलीको प्यानल सार्वजनिक भएपछि मात्रै पोखरेलले टीम घोषणा गर्ने « Khabarhub

एमाले महाधिवेशन

ओलीको प्यानल सार्वजनिक भएपछि मात्रै पोखरेलले टीम घोषणा गर्ने

विधान संशोधन गर्दा ७० वर्षे र दुई कार्यकाल फर्काउन माग



काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशन आउन अब ४ दिन बाँकी छ। ११ औँ महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ।

अहिलेसम्म दुई नेताहरूबीच प्रतिस्पर्धा हुने टुंगो लाग्दा अन्य पदाधिकारीकारे दवै पक्षबाट कुनै निर्णय भएको छैन ।

कुन टिमबाट कसले के पदमा उम्मेदवारी दिन्छन् ? यो कुरा सार्वजनिक गरिएको छैन। टिम सार्वजनिक नभए पनि पोखरेल र ओली रणनीति बनाउन लागिरहेका छन् ।

एमाले केन्द्रीय कार्यालय च्यासलको चहलपहल र बाहिरको राजनीतिक परिवेशलाई हेर्दा अहिले नेताहरू प्रतिनिधिसँग समूहगत छलफलमा छन् । उनीहरू एकअर्काका असन्तुष्टिमा पनि खेलिरहेका छन् ।

स्रोतका अनुसार अध्यक्ष ओली पक्षको प्यानल सार्वजनिक नभएसम्म वरिष्ठ उपाध्यक्ष ईश्वर पक्षले पनि आफ्नो टीम सार्वजनिक नगर्ने पक्षमा देखिएका छन् ।

दुवै पक्षले आफ्नो टिमबारे संवाद र छलफल गरिरहेका छन् । पोखरेल पक्ष ओलीको टीम सार्वजनिक नभएसम्म पर्ख र हेराको रणनीति रहेको नेताहरू बाउँछन् ।

‘हामी ओली समूहले प्यानल सार्वजनिक नगरेसम्म चुप बस्छौँ’, पोखरेल पक्षका एक नेताले खबरहबलाई भने, ‘सायद महाधिवेशन उद्घाटनपछि मात्रै हाम्रो प्यानल सार्वजनिक हुन्छ। सकेसम्म वरिष्ठ उपाध्यक्षलाई नै अध्यक्षमा सर्वसमत गरेर जाने वातावरण बनाउँछौं। नभए उनीहरूले प्यानल सार्वजनिक गरेपछि मात्रै हामी पनि गर्छौँ ।’

उता गुण्डु मुकाम बनाएका ओली वरिष्ठ उपाध्यक्ष पोखरेल पक्षलाई मनाएर पदाधिकारी संख्या १९ नै कायम गर्ने दाउमा छ । यसो भएमा पोखरेल वरिष्ठमै कायम भएर ओलीलाई सर्वसम्मत नेतृत्वमा कायम गर्न सकिने रणनीति गुण्डुको छ। तर वरिष्ठ उपाध्यक्ष पोखरेल कुनै हालतमा अध्यक्षको उम्मेदवारीबाट पछि नहट्ने बताउँछन्।

सोमबार मात्रै पोखरेल समूहले महाधिवेशनमा पेश गर्ने गरी छुट्टै दस्तावेज महासचिव शंकर पोखरेललाई बुझाएको छ। तर उक्त दस्तावेज ओली आफैंले भने लिन अस्वीकार गरे । उनी पार्टी केन्द्रीय कार्यालयमा उपस्थित नै भएनन् । तापनि ओलीले उक्त दस्तावेजको अध्ययन गरिसकेका छन् ।

दस्तावेजको डिजिटल भर्सन ओलीले अध्ययन गरेका थिए । तर मिडियामा खपतका लागि पोखरेलसम्मले दस्तावेज सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएको स्रोतले जनाएको छ।

पोखरेल पक्षको असन्तुष्टि

अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरू व्यवस्थापनका लागि ११ औँ महाधिवेशनको हलबाट विधान संशोधन गर्ने तयारी गरिसकेका छन् ।

‘विधान संशोधन हुन पनि सक्छ, यसमा छलफल भइरहेको छ । महाधिवेशन प्रतिनिधि सहभागी हलले नै विधान संशोधन गरौँ भनेमा गर्नुपर्ने हुन्छ’, एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘विधानमा केही कुरा त्रुटीपूर्ण भएकाले त्यसलाई सच्याउन संशोधन प्रस्ताव महाधिवेशनको हलमा लैजाने तयारी भइरहेको हुनसक्छ ।’

यता पोखरेल पक्षीय स्थायी कमिटी सदसस्य कर्णबहादुर थापा अध्यक्ष ओलीले विधान संशोधन प्रस्ताव महाधिवेशनको हलमा लगे प्रतिवाद गर्ने बताउँछन्।

उनी एमाले कसैको प्राइभेट कम्पनी नभएकाले नेतृत्वअनुकूल विधान परिवर्तन गर्नु स्वार्थपूर्ण व्यवहार हुने बताउँछन् ।

‘पार्टी भनेको कसैको प्राइभेट कम्पनी होइन। आफूअनुकूल विधान परिवर्तन गरेर नेता व्यवस्थापन गर्ने भए प्राइभेट कम्पनी खोले हुन्छ’, थापाले खबरहबलाई भने, ‘हामीले पार्टी विधि र नीतिअनुसार चल्नुपर्छ भनेर पटकपटक आवाज उठाएको हो । यदि विधान परिवर्तन हुनुपर्छ भने दुई कार्यकालबाट बढी अध्यक्ष नहुने बनाऊँ । ओलीले म बिदा भएँ भन्नुपर्छ, ७० वर्षे उमेरहद पनि लागु गरौँ।’

उता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य आफू पनि ७० वर्ष नाघेकाले नेतृत्वबाट हट्न कुनै समस्या नरहेको बताउँछिन्।

महाधिवेशनको हलबाट विधान संशोधन हुने भए ७० वर्षको उमेर हद लगाएर दुई कार्यकाल फर्काउन उनले ओलीलाई चुनौती दिएकी छन्।

‘मैले त बारम्बार भन्दै आएको छु, ७० वर्षका नेताहरू बिदा हौँ। यदि विधान संशोधन प्रस्ताव हलमा लाने भए ७० वर्षे उमेर हद लागू गरौँ । दुई कार्यकाल मात्रै नेतृत्वमा रहने व्यवस्था गरौं’, शाक्यले ओलीलाई चुनौती दिँदै भनिन्, ‘विधान संशोधन गर्ने साँच्चिकै हिम्मत अध्यक्षज्यूमा भए यो निर्णय गरेर देखाउनुस्, तपाईंलाई हामी सलाम गर्नेछौँ। म त माला लगाएर सम्मान नै गर्छु ।’

ओलीले यस अगाडि दुई कार्यकाल मात्रै पार्टी अध्यक्ष हुन पाउने विधान र ७० वर्षको उमेर हद आफू अध्यक्ष भएपछि हटाएका थिए। अहिले एमालेको विधानमा ७० वर्षको उमेर हद र दुई कार्यकालको विषय राखिएको छैन।

तेस्रो पटक अध्यक्ष हुन लागेका ओली आफूलाई ७० प्रतिशत महाधिवेशन प्रतिनिधिले मतदान गर्ने दाबी गरिरहेका छन्। तर पोखरेल पक्षले भने रणनीतिक हिसाबले उनलाई रोक्न लागिरहेको छ । एमाले महाधिवेशन प्रतिनिधिहरूको जनभावना अध्ययन गर्दा ओलीलाई साथ बलियो देखिन्छ । तर पोखरेल पक्ष यसपाली बाहिर ओलीलाई भोट नहाल्ने दाबी गरिरहेका छन्।

स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले खबरहबसँगको कुराकानीमा महाधिवेशन प्रतिनिधिले विद्रोह गर्ने बताउँछिन् । ‘यो पाली महाधिवेशन प्रतिनिधिले बाहिर देखिएको जस्तो सरल हिसाबले आफ्नो नेतृत्व चुन्ने छैनन् । विद्रोह गरेर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्ने छन्’, उनी भन्छिन् ।

मंसिर २७ गतेदेखि २९ गतेसम्म हुने महाधिवेशनमा करिब २३०० प्रतिनिधिले भाग लिनेछन्। जसमा प्रत्येक निर्वाचन क्षेत्रबाट ४० वर्षमुनिका एक युवा अनिवार्य, कम्तीमा एकजना महिलासहित ४ प्रतिनिधि छानिएका छ्न ।

त्यसबाहेक केन्द्रीय कमिटीका ३५५ सदस्य केन्द्रीय अनुशासन आयोगका ३० सदस्य, लेखाका ३० सदस्य निर्वाचन आयोगका २५ सदस्य सल्लाहकार परिषद्बाट २५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् । सबै जिल्ला र १६५ वटै निर्वाचन क्षेत्रबाट १२०० सदस्य महाधिवेशन प्रतिनिधि चुनिँदा ओली पक्षले बहुमत प्रतिनिधि आएको दाबी गरिरहेको छ ।

‘प्रतिनिधिहरूले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्नुहुन्छ यो या त्यो भन्ने छैन’, उपमहासचिव ज्ञवाली भन्छन, ‘हामीले प्रतिनिधि यो या त्यो भनेर चुनेका छैनौँ। उहाँहरूले नै अध्यक्षको विकल्प देख्नुभएको छैन । अरु बाहिर कराएर केही हुनेवाला छैन।’

दुवै पक्षको टिम तयार हुँदै

अहिले दुवै पक्ष पदाधिकारीसहितको प्यानल तयारीमा लागेका छन् । केन्द्रीय सदस्यमा भन्दा पदाधिकारीमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। पदाधिकारीमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने अवस्थामा अहिलेसम्मको अवस्थामा एकलौटी आउने सम्भावना कम छ । यस्तै केन्द्रीय कमिटीमा पनि प्यानलगत पर्चा बाँडेर मतदान हुने अवस्था छ । त्यहाँ पनि दुवै प्यानलबाट केन्द्रीय सदस्यहरू निर्वाचित हुने सम्भावना छ ।

‘हामीले आठौँ र नवौं महाधिवेशनमा पनि देखेकै हो । दुवै प्यानल बनाए पनि प्रतिनिधिले छानेर मत हाल्छन्’, स्थायी कमिटी सदस्य पाण्डेले खबरहबलाई भनिन, ‘प्यानल बनाएर जानुभन्दा स्वतन्त्र हिसाबले व्यक्तिलाई नै उठ्न दिए सहज हुन्छ ।’

एमाले उपाध्यक्ष विष्णु पौडेल छलफल भइरहेकाले अहिले को नेता कता भनेर किटान गर्न नसकिने अवस्था रहेको बताउँछन्। ‘म अध्यक्ष ओलीलाई सहयोग गरेर जाने पक्षमा छु। अरू साथीहरू कता हुनुहुन्छ, टिम तयार पार्दै हुनुहुन्छ होला’, पौडेलले खबरहबलाई भने, ‘हामीले सकभर सर्वसम्मतिको प्रयास गर्नेछौँ। यदि सहमति नभए प्यानलमा प्रतिस्पर्धा हुनेछ ।’

उपाध्यक्ष शाक्य पनि टिमबारे छलफल भइरहेको बताउँछिन् । उनी कुन नेता कुन टिममा खुल्ने कुरा २७,२८ गतेपछि मात्रै थाहा हुने बताउँछिन्।

‘अहिले हल्ला मात्रै आएको छ । कुन नेता कता खुल्छन्, मंसिर २७,२८ गते मात्रै थाहा हुन्छ’, उनले भनिन्, ‘हामीले त वर्तमान आवश्यकता र पार्टीलाई ऊर्जाशील बनाउन अध्यक्ष ओलीलाई नेतृत्वबाट हट्नुहोस् भनिरहेकै छौँ ।’

गत भदौ २०-२२ गते ललितपुरको गोदावरीमा भएको दोस्रो विधान अधिवेशनबाट पारित विधान अनुसार २५१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ। नेताहरूका अनुसार विधान संशोधन प्रस्ताव उपाध्यक्ष विष्णु पौडेलले हलमा लैजाँदा केन्द्रीय कमिटीका आकार बढाउने विषयमा प्रस्ताव जाने छैन ।

तर पदाधिकारीमा उपाध्यक्ष , उपमहासचिव र सचिवको सङ्ख्या बढाउने तयारी गरिएको छ। नयाँ विधान अनुसार एमालेमा अहिले १५ पदाधिकारी रहने व्यवस्था छ । दशौँ महाधिवेशनपछि १९ सदस्यीय पदाधिकारी चयन भएका थिए । अब पौडेलले दशौँकै पदाधिकारी सङ्ख्या कायम गर्ने प्रस्ताव महाधिवेशनको हलमा लैजाने तयारी गरिरहेका छन् ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलबार  १ : १७ बजे

विश्वले अभूतपूर्व जल संकटको सामना गरिरहेको छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले विश्व अभूतपूर्व

भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरले भेटे प्रधानमन्त्री कार्कीलाई

काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु

तीन वर्षमा पनि बनेन रेसुङ्गा सभाहल

गुल्मी– यहाँको रेसुङ्गा नगरपालिकामा निर्माणाधीन अत्याधुनिक सभाहल निर्माण तीन वर्षसम्म

काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

ठेकेदारले समयमा काम नगर्दा देश र जनतालाई घाटा भयो : मन्त्री घिसिङ

पाटन (ललितपुर)- ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात,