जब ‘खोपीको देवता’ बाहिर निक्लियो….. | Khabarhub Khabarhub

पूर्वराष्ट्रपतिको देश दौडाहा

जब ‘खोपीको देवता’ बाहिर निक्लियो…..

राष्ट्रपति हुञ्जेल सेनाको नियन्त्रण, नागरिक बनेपछि स्वतन्त्र !



काठमाडौं– राष्ट्रपति भनेको राष्ट्राध्यक्ष अर्थात् देशको अभिभावक हो । राजनीतिमा राष्ट्रपतिभन्दा अर्को ठूलो पद र पावर हुँदैन । तर, राष्ट्रको सबैभन्दा ठूलो पदमा बसेको मान्छेले पनि आफूले चाहेको ठाउँमा जान पाउँदैन । आफूले इच्छाएको खान पाउँदैन । राष्ट्रपति जेलमा जस्तै बन्धनमा हुँदोरहेछ । यसको ज्वलन्त उदाहरण हुन्– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ।

भण्डारी दुई कार्यकाल गरी ०७२ कात्तिक ११ देखि ०७९ फागुन २९ सम्म करिब ७ वर्ष राष्ट्रपतिजस्तो सर्वोच्च पदमा रहिन् । तर, जतिबेला पनि सेनाको घेरामा बस्नुपर्ने बाध्यताका कारण उनले मनको धोको पूरा गर्न पाइनन् । अर्थात्, उनी राष्ट्रपति भए पनि स्वतन्त्र रहिनन् ।

तत्कालीन राष्ट्रपति भण्डारीले ०७८ सालको अन्त्यतिर बिराटनगर उपमहानगर पालिकाका तत्कालीन मेयर भीम पराजुलीलाई शीतलनिवासमा डाकिन् । आफ्नो मनको बह बिसाउन उनले पराजुलीलाई बोलाएकी थिइन् ।

तत्कालीन मेयर पराजुलीसँग तत्कालीन राष्ट्रपति भण्डारीको आग्रह थियो– मलाई एकरात बिराटनगरमा बास बस्न मन छ । आफूले पढेको कलेज, घुमेको ठाउँ अनि पुराना साथीभाइसँग साक्षात्कार गर्न मन छ । तर, सेनाले इटहरी ब्यारेकमै बस्नुपर्छ, बिराटनगरमा बास बस्न मिल्दैन भन्छ । लौ न मेयरसाहेब, एक रात भए पनि बिराटनगरमै बास बस्ने वातावरण मिलाइदिनुपर्‍यो ।

करिब ७ वर्षसम्म राष्ट्रपति भण्डारीको बिराटनगरमा बास बस्ने सपना पूरा भएन । कार्यक्रमहरुमा पूर्वी नेपालका विभिन्न जिल्लामा गए पनि सेनाले जता–जता भन्यो, त्यतै बस्नुपर्ने बाध्यतामा थिइन् उनी ।

देशको राष्ट्र प्रमुखले चाहेका बेला आम नागरिकसँग सम्वाद गर्न पाउनुपर्ने हो । तर, गणतन्त्रको राष्ट्रपतिले सुरक्षाका नाममा सेनाको घेराभित्र ‘खोपीको देवता’ बनेर बस्नुपर्ने अभ्यास हामीले गर्दै आएका छौं । हिजो रामवरण यादव र विद्या भण्डारीले पनि यस्तै बन्धन व्यहोरे, आज रामचन्द्र पौडेलको हालत पनि त्यस्तै छ ।

राष्ट्रपतिबाट बिदा भएपछि बल्ल विद्या भण्डारी स्वतन्त्र बनेकी छन् । उनले बिराटनगर पुगेर धित मर्ने गरी पुराना साथीभाइसँग भेट गरेकी छिन् । अझ उनले खोपीको देउता बनेर नबस्ने र राजनीतिमा सक्रिय हुने ‘म्यासेज’ दिइरहेको एमाले नेताहरु नै बताउँछन् ।

यो पनि पढ्नुहोस् :

ओलीलाई एमालेभित्रै ‘कु’ को डर

सुरक्षाका नाममा खोपीको बास !

बिराटनगर उपमहानगरपालिकाका तत्कालीन मेयर भीम पराजुली शीतलनिवासमा विद्या भण्डारीसँग भएको पुरानो भेटको स्मरण गर्दै खबरहबसँग भन्छन्, ‘०७८ सालको अन्त्यतिर विद्या भण्डारीले म र सांसद ऋषिकेश पोखरेललाई भेट्न बोलाउनुभएको थियो । हामी राष्ट्रपति निवास गयौँ । उहाँले मोरङका विद्यालय र विपन्न समुदायको क्षेत्रमा काम गर्न चाहेको बताउनुभयो ।’

पराजुली अगाडि भन्छन्, ‘त्यसबेला उहाँले अग्रज र बुद्धिजीवीसँग भेटघाट गर्न खोज्नुभएको थियो । तर, सुरक्षाका कारण भ्रमण गर्न अनुमति पाउनुभएन ।’

त्यसबेला विद्या भण्डारीले पढेको महेन्द्र मोरङ क्यापसमा भण्डारीकै पहलमा केही गाडीसमेत खरिद गरेको पराजुलीले खबरहबलाई बताए । उनले तत्कालीन राष्ट्रपतिको चाहनाबारे स्पष्ट पार्दै भने, ‘उहाँ लामो बसाइ गरेर बिराटनगरमा घुम्न चाहनुहुन्थ्यो तर उहाँको प्रोटोकलले दिएन । उहाँले म मेयर भएको हुनाले मलाई पनि वाताववरण मिलाइदिनु भन्नुभएको थियो । तर, निर्वाचन नजिकिएको र शान्ति सुरक्षालाई ध्यानमा राख्नुपर्ने भएकाले मिलेन ।’

राष्ट्रप्रमुख भइसकेको व्यक्तिले एक सातासम्म यात्रा गर्दा धेरै खर्च हुने र विभिन्न ठाउँमा सवारी आवत–जावत रोक्नुपर्ने कारण पनि भ्रमण अनुमति नपाएको हुन सक्ने नेपाल प्रहरीका एक अधिकारी बताउँछन् । ती अधिकारी भन्छन्, ‘०७९ को निर्वाचन आउन लागेको रहेछ । त्यसमा पनि राष्ट्रप्रमुख जस्तो मान्छेले जनता भेट्ने भन्दै एक साता मिलाउन समस्या हुन्छ । खर्च पनि बढी, फेरि छ्यास्स केही भइहाल्यो भने सुरक्षाकर्मीलाई नै प्रश्न उठ्छ । त्यसैले उहाँले भ्रमण अनुमति नपाउनु स्वाभाविक कुरा हो ।’

राष्ट्रपतिबाट हटेपछि बल्ल स्वतन्त्र

राष्ट्रपति हुँदा मनको चाहना पूरा गर्न नपाएकी भण्डारीले योपटक आफ्नो धोको पूरा गरेकी छन् । गत माघ १४ गते विराटनगर पुगेकी भण्डारी २२ गतेमात्रै काठमाडौं फर्किइन् ।

विद्यार्थी कालमा विद्या विराटनगरको कञ्चनवारी क्षेत्रमा डेरामा बस्थिन् । रेग्मी थरका व्यक्तिको घरमा बसेर उनले कलेज पढिन् । भोजपुरबाट एसएलसी गरेपछि उनी विराटनगर झरेकी हुन् । शिक्षित परिवारमा जन्मिएकी विद्याका बुबा रामबहादुर पाण्डे शिक्षक थिए । आमा मिथिला पाण्डे अहिले चतरा आश्रममा बस्दै आएकी छिन् ।

विद्या भण्डारीले बिराटनगरमा पढ्दा पढ्दै बेलबारीको नक्सलबारी स्कुलमा केही वर्ष शिक्षिकाका रुपमा जागिरसमेत खाएकी थिइन् ।

८ दिनसम्म कहाँ–कहाँ डुलिन् विद्या ?

मोरङका एमाले सहसचिव तथा मदन भण्डारी फाउण्डेसन कोशी प्रदेश सचिव सोमराज थापाका अनुसार विद्या भण्डारी योपटक मोरङमा हर्षोल्लासका साथ घुमिन् ।

माघ १४ गते बेलुका बिराटनगर विमानस्थल ओर्लिएकी विद्यालाई मोरङका अग्रज महिला तथा पार्टी नेताहरूले विमानस्थलमै स्वागत गरे । त्यसपछि उनी बिग होटलमा पुगिन् जहाँ अगुवा महिलाहरूसँग भेटघाट गरिन् । सोही दिन छोटो पत्रकार भेटघाट समेत गरिएको थियो । त्यसपछि उनले महेन्द्र मोरङ क्याम्पसका पूर्वविद्यार्थीसँग भेटघाट गरिन् ।

माघ १५ गते इटहरी जनता माविले आयोजना गरेको औपचारिक कार्यक्रममा उपस्थित भएकी विद्याले जनता माविको १२ कोठे नयाँ भवन उदघाटन गर्दै विद्यालयको ६८ औं वार्षिकोत्सवमा सहभागिता जनाइन् ।

माघ १६ गते बुढिगंगा गाउँपालिकामा अवस्थित मनमोहन प्राविधिक विश्वविद्यालयको अनुगमन गरिन् । १७ गते उर्लाबारीको मदन भण्डारी ट्रमा सेन्टर र मदन भण्डारी प्रतिष्ठानको अवलोकन गरिन् ।

मोरङ र सुनसरीमा ८ दिन बिताएकी विद्याले राजनीति सुरु गरेको मोरङ क्याम्पसमा पुराना साथीभाइसँग भेटघाट गरिन् । ०३५ सालतिर मोरङ क्याम्पसकी कोषाध्यक्ष बनेकी उनले स्ववियुका पूर्र्वसभापतिहरूलाई पनि भेटिन् ।

महेन्द्र मोरङमा पढेका विद्यार्थीहरुले पूर्वविद्यार्थी संघ स्थापना गरेका छन्, जसको प्रमुख संरक्षक भण्डारी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले माघ १८ गते झोराहाटस्थित सरस्वती माविको कार्यक्रममा भाग लिइन् । उनले धरानको इन्जिनियरिङ क्याम्पसको अवलोकन गरिन् । इटहरीमा रहेको नेपाल टेलिभिजनको वार्षिक उत्सव कार्यक्रममा पनि सहभागिता जनाइन् ।

एमाले नेता थापा भन्छन्, ‘१९ गतेपछि उहाँले पारिवारिक एवं राजनीतिक भेटघाट गर्नुभयो । विद्यार्थी, प्राध्यापकसँग भेट्नुभयो । मदन भण्डारी फाउण्डेसन र मोरङ जिल्लाका विभिन्न क्षेत्रका समस्याबारे छलफल गर्नुभयो ।’

राष्ट्रप्रमुख भइसकेको व्यक्तिले आफ्ना सहपाठीलाई भेटेर छलफल गर्नु खुसीको कुरा भएको पूर्वमेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुली बताउँछन् । उनी भन्छन्, ‘मोरङको विकासमा उहाँले चासो राख्नुभएको छ ।’

भण्डारीको टोलीमा उनका निजी सचिव र अंगरक्षक थिए । उनका दुई छोरीहरु उषाकिरण र निशा कुसुम उनको भ्रमणमा सहभागी थिएनन् ।

एमाले नेता–कार्यकर्तासँग छलफल

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका एमाले नेता–कार्यकर्तासँग पनि विद्याले भेट गरिन् । उनले सबैका कुरा सुने पनि आफू भने ‘रिजर्भ’मा बसेको एमाले नेताहरू बताउँछन् ।

भण्डारीले मुख्यमन्त्री हिक्मत कार्कीदेखि लिएर कोशीका विभिन्न जिल्लाका एमाले अध्यक्षहरू, पूर्वमुख्यमन्त्री शेरधन राई, भीम आचार्यलगायतका नेताहरूसँग पनि छलफल गरिन् ।

आफूहरुसँगको भेटमा विद्याले राजनीतिमा फर्किने संकेत गरेको एमाले नेताहरुको बुझाइ छ । परिस्थिति आए विद्याले ०८४ मा निर्वाचन नै लड्न सक्ने एमालेका केही नेताहरुको दाबी छ । भेटमा उपस्थित एमालेका एक नेता भन्छन्, ‘एमालेका मात्र हैन, कांग्रेसका नेताहरूले समेत उहाँलाई राजनीतिमा आउन हौसला दिनुभएको छ ।’

तर, पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिक रुपमा यति मात्रै भनेकी थिइन् ‘भोलिको अवस्था हेरेर सल्लाह गरेर राजनीतिमा आउने बेग्लै कुरा हो, अहिले मेरो जनतासँग जोडिने अभियान हो । मैले पार्टीको सक्रिय राजनीति गरें भने नेकपा एमालेबाटै गर्ने हो ।’
भण्डारी गत महिना पोखरा भ्रमणमा गएकी थिइन् । उनले त्यहाँ आफ्नी मितिनी मीना गुरुङसँग सहयात्रा गरेकी थिइन् ।

माघ १९ देखि २२ गतेसम्म पूर्वमा रहँदा विद्याले मोरङ, सुनसरी, झापा र भोजपुर लगायतका जिल्लाका एमाले नेता, कार्यकर्तासँग भेटवार्ता गरेकी थिइन् । यस क्रममा उनले पूर्वबाटै सन्देश दिइन्– म खोपीको देउता भएर बस्दिनँ ।

प्रकाशित मिति : २८ माघ २०८१, सोमबार  ५ : ४४ बजे

तुलसीपुर बजार क्षेत्रका विद्युतका तार फेरियो

दाङ– दाङको तुलसीपुर बजारमा विद्युतका खाली तार थिए । ‘हाइटेन्सन’

आज केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल

विद्यालय विकास कार्यक्रम प्रभावकारी

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–६ मा रहेको जामुनाखर्क माविमा कार्यान्वयन भएको

च्याम्पियन्स ट्रफी : अस्ट्रेलिया सेमिफाइनलमा

लाहोर – अफगानिस्तानसँगको खेल वर्षाले अवरुद्ध भएपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफी

ढोरपाटनमा हिमपात, जनजीवन प्रभावित

बागलुङ– भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको