काठमाडौं– करिब एक महिनासम्म पोखरामा बसेर पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार निर्मल निवास फर्किएका छन् । पोखरामै रहँदा ज्ञानेन्द्रले फागुन ६ गते साँझ एउटा भिडियो सन्देश सार्वजनिक गरे । उक्त भिडियोलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले तीन सातापछि आइतबार सुदूरपश्चिम प्रदेशसभाबाट पूर्वराजाविरुद्ध आक्रामक जवाफ फर्काए ।
पूर्वराजा शाहले फागुन ७ गतेको प्रजातन्त्र दिवसका सन्दर्भमा शुभकामना दिने क्रममा भिडियो सन्देश दिएका थिए । उक्त सन्देशलाई राजेन्द्र लिङदेन, कमल थापा लगायतका राजावादी नेताहरुले स्वागत गरेका थिए ।
तर, गणतन्त्रवादी दलहरु भने पूर्वराजाको सम्वोधनलाई लिएर आक्रोशित देखिएका छन् । माओवादीले जागरण अभियान नै रोकेर बैठक डाकेको छ । प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई राजनीतिमा आउन खुल्ला चुनौती दिएका छन् ।
कांग्रेस नेताहरुले पनि आक्रोश पोख्दै पूर्वराजाले खाईपाई आएको सुविधासमेत खोस्न सकिने चेतावनी दिएका छन् ।

आखिर, गत फागुन ६ गतेको आफ्नो सम्वोधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले त्यस्तो के कुरा बोलेका थिए, जसले प्रधानमन्त्री ओलीलाई समेत आक्रोशित बनायो ?
पूर्वराजाले भिडियो सन्देशमा जनतालाई उक्साउने अभिव्यक्ति दिएको गणतन्त्र पक्षधर नेताहरुको आरोप छ । सन्देशमा उनले जनतासँग सहयोग माग्दै भनेका थिए, ‘अब समय आयो । राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।’
शाहको यही भनाइप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका हुन् । प्रधानमन्त्री ओलीले आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्नेक्रममा भने, ‘अस्ति फागुन ७ गतेको लागि अघिल्लै दिन बेलुका ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधन सुनेर छक्क लाग्यो ।’
प्रधानमन्त्रीले अगाडि भने, ‘संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । ‘मलाई साथ दिनोस्, म आउँछु, देश बचाउँछु’ देश के भएको छ ? उहाँहरुका यस्ता अस्थिरताका क्रियाकलापले, अराजक क्रियाकलापले उहाँहरुद्वारा प्रेरित अराजक क्रियाकलापहरुले देश अप्ठ्यारोमा पर्दैछ ।’
पूर्वराजालाई प्रधानमन्त्री ओलीको चेतावनीको विस्तृत चर्चा गर्नुअघि शाहले फागुन ६ गतेको भिडियो सन्देशको पूर्णपाठ पढौं–
अब समय आयो, हामीलाई साथ दिनोस् : ज्ञानेन्द्र

नेपाली दिदी बहिनी तथा दाजुभाइहरु
नेपालमा प्रजातन्त्रको मिर्मिरे बिहानी उदय भएको फागुन ७ गतेको शुभ सन्दर्भमा हामी सबै नेपालीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रजातन्त्र स्थापनाका निम्ति उदारता दर्साइबक्सिने हाम्रो जिजुबुबाज्यू राष्ट्रपिता श्री ५ त्रिभुवनको सम्झना गर्दै यो अवसरमा मौसुफप्रति हामी श्रद्धासुमन अर्पण गर्दछौं ।
जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास साक्षी छ । त्यसैले प्रजातन्त्रका निम्ति जीवन दान दिने ज्ञात अज्ञात शहीदहरु र प्रजातन्त्रका लागि क्रियाशील रहने सबै पात्रहरुप्रति पनि हामी उच्च सम्मान भाव राख्दछौं ।
प्रजातन्त्र आजको युगको उत्तम शासन पद्दति हुनुपर्ने हो । आम जनताको मन, मगज र मतका आधारमा देशको विधि व्यवस्था तथा मान्यता अनुसार राज्य सञ्चालन गर्ने सर्वमान्य आदर्श पनि हुनुपर्दथ्यो । यसबाट हामी कोही विमुख छैनौं ।
राष्ट्रभित्रका हरेक वर्ग, समूह र व्यक्तिको हक अधिकारको संरक्षण गर्दै प्रतिष्ठा तथा प्रगति अघि बढाउने प्रजातन्त्र सबैको प्रिय व्यवस्था हुनुपर्दथ्यो । त्यसमा कहीँ कसैको शंका हुनु हुँदैन ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ
प्रजातन्त्रको कुरा गर्दा हामीले यसलाई वाद, विवाद, द्वन्द्व, विग्रह वा विरोध प्रतिरोधको अर्थले मात्र बुझ्नु हुँदैन । यस प्रणालीलाई हामीले समाजमैत्री र जनहितैषीको रुपमा पनि हेर्नुपर्दछ ।
सुन्दर शब्द, आकर्षक आदर्शले मात्र प्रजातन्त्र सार्थक हुने होइन । कर्म र व्यवहारमा प्रजातन्त्रलाई उतार्ने सेवाभाव र सही प्रजातान्त्रिक आचरण हुनुपर्दछ । सबैको पहिचान हुनुपर्दछ । सबैको अस्थित्व सुरक्षित हुनुपर्दछ । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन । पक्ष–विपक्षको अहंकार, आ–आफ्नै खालको स्वार्थ तथा हठवादले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन ।
आज देशको इतिहास मेटिँदै गएको छ । नेपालको अस्थित्व नासिँदै गएको छ । नेपालका होनहार जनशक्ति दिनहुँ ताँती लागेर देशबाट बाहिरिँदै गएका छन् । नेपालीको पसीना आफ्नो माटोमा होइन, अन्तै पोखिइरहेको छ । जन्मँदै नेपालीको शीरमा हजार होइन, लाखको ऋणभारको बोझ छ । हाम्रा कलकारखाना, व्यापार, व्यवसाय निरन्तर धरासायी बन्दैछ । हुँदा हुँदा हाम्रा शिक्षालयहरुमा समेत शिक्षक र विद्यार्थीहरु पातलिँदै गएका छन् ।
नेपालको पद्दति, नीति र गतिविधि ठीक छैन, यहाँ बसेर केही हुँदैन, श्रम, सीप, चेतना र ज्ञान भएका हाम्रा नागरिकहरुमा त्यस प्रकारको भाष्य चलिरहेको छ । यस्ता कुराले प्रजातन्त्रलाई शोभनीय बनाउँदैन । प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्दछ । जनताको भरोसा जगाउने प्रणाली हुनुपर्दछ । प्रजातन्त्र फल्दै, फुल्दै जाँदा हामी सबैको भाग्य र भविश्य चम्कन्छ भन्ने भावना जागरण गराउने हुनुपर्दछ ।
तर, तीन दशक यताको हाम्रो स्थिति यस्तो छैन । आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुशी र सुखी बनाउने सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो । व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्ररी बदल्न नसक्नु दुखद कुरा हो ।
हाम्रो यो नेपाल देशभक्त पूर्खाहरुले फलाएको र फुलाएको सुन्दर राष्ट्र हो । यो राष्ट्रमा कुनै संकट नआओस् भन्ने हाम्रो परिकल्पना हो । त्यसैले राष्ट्रको हितमा हामीले उदारता राख्दै आयौं । त्यतिमात्र होइन, हामीले जनताको भलो होस् भनेर आफ्नो ओहोदा र सुख सुविधालाई पनि त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन र त्यस्तो भावलाई कसैले पनि कमजोरी ठान्नु हुँदैन । कतै कुनै पन, पक्ष नगरी सबैलाई समेटेर जाने हाम्रो अभिलाषा हो । हाम्रो त्यागको अर्थ र भाष्य पनि त्यही नै हो ।
म्रो इतिहासलाई नास गरेर र पहिचानको अपमान गरेर हामी उँभो लाग्दैनौं भन्ने कुराको हेक्का राखेर हामी अघि बढौं ।
विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृतिविरुद्धका त्रुटि सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।
देशका निम्ति र राष्ट्रका खातिर हाम्रो समर्पण निष्ठा सदैव हुनेछ । राष्ट्र रक्षाको निम्ति सबैको अनुशासन र इमानदार प्रयत्न हुनुपर्दछ । हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौँ । अब नेपालको उन्नतिका लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौँ ।
अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौँ ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन्।
प्रधानमन्त्रीको जवाफ : चुनावमा साथ माग्या कि ? के मागेको ?

प्रधानमन्त्री ओली आइतबार सुदूरपश्चिम प्रदेशसभालाई सम्वोधन गर्ने क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए ।
पूर्वराजालाई प्रधानमन्त्रीको जवाफ उनकै शब्दमा–
अहिले संविधान नमान्ने, लोकतन्त्र नमान्ने, कानून नमान्ने, प्रणाली नमान्ने अनौठो प्रवृत्ति देखा पर्न थालेको छ । अस्ति फागुन ७ गतेको लागि अघिल्लै दिन बेलुका ६ गते नै पूर्वराजा ज्ञानेन्द्र शाहले गरेको सम्वोधन सुनेर छक्क लाग्यो । संविधानको पनि कुरा गर्नुहुन्न त उहाँ त । कानूनको पनि कुरा गर्नुहुन्न उहाँ । लोकतन्त्रको कुरा गर्नुहुन्न । प्रणालीको कुरा गर्नुहुन्न । प्रक्रियाको कुरा गर्नुहुन्न ।
‘मलाई साथ दिनोस्, म आउँछु, देश बचाउँछु’ देश के भएको छ ? उहाँहरुका यस्ता अस्थिरताका क्रियाकलापहरुले, अराजक क्रियाकलापहरुले उहाँहरुद्वारा प्रेरित अराजक क्रियाकलापहरुले देश अप्ठ्यारोमा पर्दैछ ।
आज पनि पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने ! के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिनु परेन ? अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ? यो देशमा त राष्ट्रपति छ । चुनेको राष्ट्रपति
उहाँलाई सुझाव दिन चाहन्छु– एउटा पूर्वराजाको हैसियतले उहाँले त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले त्यति वर्ष पुस्तौनी सत्ता चलाएको हैसियतले उहाँले देशलाई सभ्य सुसंस्कृत ढंगले लोकतान्त्रिक बाटोमा लोकतान्त्रिक विधिबाट संविधान र कानून अनुसार सञ्चालन गर्नुपर्छ भनेर सिकाउनुपर्ने ठाउँमा के चुनावमा साथ माग्या कि ? भोट माग्या कि ? के मागेको ? मलाई साथ देऊ, म आउँछु ! कहाँ आउने उहाँ ? पोलिटिक्समा आउनोस् न हामी त स्वागत गर्छौं त । अराजनीतिमा आउने कि राजनीतिमा आउने ? राजनीतिमा आउने हो भने यो आर वेलकम । आउनोस् । स्वागत छ ।
उम्मदेवार हुनुहुन्छ र साथ माग्नुहुन्छ भने माग्न मजाले पाइन्छ । तर, केमा साथ माग्नुभएको तपाईले ? बुझिएन । केमा साथ माग्नुभएको ? अहिले बुझिएन मात्रै भनौं ।
अब यस्ता कुराहरुलाई साथ दिएर देशलाई फेरि पछाडि फर्काउने प्रयासहरु पनि देखिँदैछन् । अनेक नाममा देशलाई टुक्रा–टुक्रा पार्ने । जातका नाममा, भूगोलका नाममा, अनेक नाममा देशलाई टुक्रा–टुक्रा पार्ने कामहरु भइराखेको छ ।
देशको जनताको मनोभावना, मनलाई टुक्रा टुक्रा पारेपछि देश त यसै विभाजित भएन ? टुक्रिएन ? जनताको मनलाई भाँड्ने, विभाजित गर्ने प्रयास भइराखेको छ । मनैदेखि जनतालाई टुक्र्याउने कोसिस भइराखेको छ । केही तत्व त्यसमा लागेका छन् । केही भूगोलका नाममा, केही धर्मका नाममा, केही जातका नाममा, केही भाषाका नाममा । राष्ट्रिय एकतालाई मजबुद बनाउन छोडेर बेठीक ढंगले चल्न खोजिएको छ । यी चिजहरु सही बाटो होइनन् । सही तरिका होइनन् । त्यसकारण हामीले समयानुसार सही तरिकाले जानु पर्दछ ।
कसैले व्यक्तिबाट दिएको संविधान होइन । एउटा संविधानसभाले पार लगाउन नसकेपछि फेरि अर्को निर्वाचन गराएर सम्पूर्ण देशका कुनाकाप्चा सबै ठाउँबाट, कुना कन्दरादेखिका सबै पेशा व्यवसाय, भूगोल, जाति धर्म सबैका प्रतिनिधित्वको ६०१ को वृहत् संविधानसभाले बनाएको संविधान हो यो । जनताको बलिदानपूर्ण लामो संघर्षले बनाएको संविधान हो । त्यसले स्थापना गरेको लोकतन्त्र । लोकतन्त्र कस्तो भन्ने कुरालाई व्यवस्थित गर्न बनेको संविधान । त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने संरचनागत पक्ष हो संघीय लोकतान्त्रिक गणतन्त्र । यसबाट सञ्चालन गर्ने ।
यसरी लाएको लोकतन्त्रको रक्षा गर्नु कर्तव्य हो । यही कुरा बुझेर, कतै फाटोवादी प्रवृत्तिहरु छन् । कतै प्रतिगामी प्रवृत्तिहरु छन् । कतै देशलाई फेरि पछाडि धकेल्ने दुस्वपनाहरु छन् । कुचेष्टाहरु छन् । यिनै सबै कुराहरुलाई देखेर अस्थिरता र अस्थायित्वमा रमाउन खोज्नेहरुका क्रियाकलापलाई हेरेर त्यसले देशलाई अधोगतितिर फर्काउन खोजेको देखेर नै नेपाली कांग्रेस र नेकपा एमाले भएर अहिले स्थिरता र स्थायित्वका लागि, सुशासन र विकासका लागि यो सरकार बनेको छ ।
त्यसकारण यो सरकारको सन्दर्भमा कुनै भ्रम नरहोस् साथीहरुलाई कि यो सरकार अस्थायी हो कि, यो ढलिहाल्छ कि ? यो अहिल्यै ढल्छ, भरै ढल्छ, बिहानै ढल्छ, दिउँसै ढल्छ, बेलुकै ढल्छ, राति नै ढल्छ भनेको कति सुन्नुभयो ।
आज पनि पूर्वराजालाई लगेर सिंहासनमा बसाउने, नारायणहिटी छिराउने ! के भन्या त्यो ? कुनै कुर्सीमा लगेर राख्दा शासक हुन्छ मान्छे ? मानिदिनु परेन ? अनि राष्ट्रपति रामचन्द्र पौडेलजीलाई के गर्नुहुन्छ उहाँ एउटा कुर्सीमा बसेपछि ? यो देशमा त राष्ट्रपति छ । चुनेको राष्ट्रपति । उहाँ के गर्नुहुन्छ ?
म निर्वाचित भएको छु । निर्वाचित भएको प्रतिनिधिसभाको सदस्यलाई प्रतिनिधिसभाको अत्यधिक बहुमतले छानेको प्रधानमन्त्री छु । मैले बनाएको, दुई दलको सहमतिको मजबुद सरकार छ । यो केही थाहा पाउनुहुन्न कि क्या हो उहाँहरु ?
हामी कुनै बलमिच्याइँका कुरा गर्दैनौं । विधिका कुरा गर्छौं । र, यो सरकार चुनाव (०८४ साल) सम्म हामीले सहमति गरेका छौं । नेपाली कांग्रेस र नेकपा एमालेको सहमतिअनुसार अब १६ महिना मैले प्रधानमन्त्रित्व चलाउँछु ।
त्यसपछि मैले नेपाली कांग्रेसलाई सुम्पिन्छु । शेरबहादुर देउवाजी नेपाली कांग्रेसको संसदीय दलको नेता, देउवाजी प्रधानमन्त्री हुनुहुन्छ अबको १६ महिनापछि । त्यसपछि लगभग १८ महिना उहाँले चलाउनुहुन्छ । चुनाव हुन्छ, चुनावपछि सरकार उहाँले हस्तान्तरण गर्नुहुन्छ । चुनावपछि पनि हस्तान्तरण गर्न अलिक समय लाग्छ फेरि । र, यो सरकारले चुनाव गराएर जस्तो परिणााम आउँछ, त्यस अनुसारको सरकार बन्ला । त्यहाँसम्म यो सरकार रहन्छ ।
हामी कुनै आवेश, उत्तेजनामा छैनौं । आवेश, उत्तेजना र भावनामा बगेर देश बन्दैन । हामीलाई थाहा छ । हामी गम्भीर छौं । र, त्यो गम्भीरताका साथ हामीले उत्तरदायित्व लिन्छौं र दुईटा प्रमुख पार्टीहरु, यथार्थमा भन्दा सबभन्दा ठूला दुईवटा पार्टी प्रतिस्पर्धी हुने गर्छन् । तर, यहाँ प्रतिस्पर्धा भन्दा ठूलो कुरा यो अस्थिरता जन्माउने खालका खेलहरु जुन हुन थाले, फाटो ल्याउनेखालका खेलहरु हुन थाले । फेरि हुन थाले ।
संविधान निर्माणको समयमा त्यस्ता खेलहरु भएका थिए । त्यसलाई हामीले पराजित गरेका थियौं । फेरि त्यस्ता खेलहरु हुन थालेका छन् । ती कुराहरुलाई सम्वोधन गर्नैपर्ने छ ।
म राजनीतिक दलका जिम्मेवार साथीहरुलाई आग्रह गर्न चाहन्छु कि नेताहरुले अहिलेको परिस्थितिलाई बुझेर लोकतान्त्रिक प्रणालीको पक्षमा, संविधानको पक्षमा जिम्मेवार राजनीतिक पार्टीहरु, प्रमुख पार्टीहरु सबै, सरकारमा भएका मात्रै होइन, प्रतिपक्षमा भएका पनि प्रतिगमनतिर देशलाई जान नदिनका लागि एक आवाजमा उभिएको अहिलेको स्थिति छ ।
म सबैलाई धन्यवाद भन्न चाहन्छु यस समझदारीका लागि । र, जसले अनेक प्रकारका अस्थिरता वा संविधान विपरीतका वा प्रणाली विपरीतका, लोकतन्त्र विपरीतको कुराहरु गर्नुभएको छ, उहाँहरुलाई म भन्न चाहन्छु, सम्झाउन चाहन्छु कि फेरि पनि देशलाई विकासको बाटोमा अगाडि बढ्नबाट रोक्ने, अस्थिरता मच्चाउने र जनतालाई भ्रममा पार्न खोज्ने काम कसैले पनि नगरौं भनेर म आग्रह गर्न चाहन्छु ।
म भन्न चाहन्छु– यदि अराजकताको बाटोबाट नै हिँडेर कसैले केही हत्याइहाल्छु, केही प्राप्त गरिहाल्छु भन्ने सपना देखेको छ भने त्यो सपना नदेख्दा राम्रो ।
आज म यस्तो भूमिबाट यी कुराहरु भनिरहेको छु जुन भूमि शहीदहरुको भूमि हो । उहाँहरुका सपनालाई हामीले साकार पार्दै लगेका छौं, यसलाई पछाडि फर्काउन नदिने संकल्पका साथ मैले यस प्रदेशसभामा यी कुरा भनिरहेको छु ।
यो पनि-
प्रतिक्रिया