ब्रोकरले मागेका थिए पुँजी थप्ने समय, सेबोनले दियो मर्जरको उपाय | Khabarhub Khabarhub

ब्रोकरले मागेका थिए पुँजी थप्ने समय, सेबोनले दियो मर्जरको उपाय


२८ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले धितोपत्र दलाल कम्पनीहरूलाई मर्जरको बाटो खोलिदिएको छ । सेबोनले ‘धितोपत्र व्यवसायी गाभ्ने/गाभिने वा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०८१’ जारी गर्दै मर्जरमा जाने बाटो खोलिदिएको हो ।

पछिल्लो समय बैंकदेखि बीमा कम्पनीसम्म मर्जरमा गइरहँदा ब्रोकरहरू पनि मर्जरमा जानेगरी सेबोनले मार्गप्रशस्त गरेको हो ।

सेबोनले २०८९ सालमै नयाँ ब्रोकर कम्पनीहरूलाई लाइसेन्स दिँदा न्यूनतम पुँजी २० करोड हुनुपर्ने र पुरानाका हकमा तीन वर्षभित्र २० करोड चुक्ता पुँजी पुर्‍याउन निर्देशन दिएको थियो ।

आगामी आर्थिक वर्ष २०८२/०८३ बाट लागु हुने गरी ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ पुर्‍याउनुपर्ने समयसीमा छ । ब्रोकरलाई दिएको समय सकिन अब तीन महिनामात्र बाँकी छ ।

नेपालमा हाल नयाँ र पुराना गरी ९२ वटा ब्रोकर कम्पनीहरू सञ्चालनमा छन् । जसमध्ये ५४ वटा ब्रोकर कम्पनीहरूको चुक्ता पुँजी पुगेको छ भने बाँकी ३८ वटा कम्पनीको चुक्ता पुँजी नपुगेको सेबोनका प्रवक्ता निरञ्जय घिमिरे बताउँछन् ।

यता; ब्रोकर कम्पनीहरूले भने चुक्तापुँजी २० करोड रुपैयाँ पुर्‍याउनका लागि समय माग गरिरहेका छन् । यस्तो माग राखेका बेला सेबोनले मर्जरको उपाय दिँदै निर्देशिका जारी गरेको हो ।

तर, ब्रोकर कम्पनी सञ्चालकहरूले भने पुँजी वृद्धिका लागि थप समय नै माग गरेका छन् । ब्रोकरले मर्जर र समय दुबै माग गरेको, तर सेबोनले मर्जरको मात्र उपाय दिएको स्टक ब्रोकर एसोसिएशन अफ नेपालका अध्यक्ष सागर ढकाल बताउँछन् ।

ब्रोकर कम्पनीको चुक्तापुँजी दुई करोडबाट एकैपटक बढाएर २० करोड रुपैयाँ पुर्‍याउँदा समस्या पर्ने ढकालको भनाइ छ । ‘पहिले पाँच करोड रुपैयाँमा मार्जिन ल्यान्डिङको लाइसेन्स दिएको थियो, अहिले ६० करोड रुपैयाँ पुगेको छ । त्यसको विषयमा कुरै भएको छैन’ ढकालले भने, ‘पहिले पाँच करोड हुँदा लिएको लाइसेस नवीकरण गर्ने कि नगर्ने ? ६० करोड पुँजी कसरी पुर्‍याउने ?’

बैंक र बीमा कम्पनीका हकमा व्यवहारिक कठिनाइ हेरेर मर्जर गराएकाले ब्रोकरको मर्जरमा पनि त्यसो गर्नुपर्ने ढकालको माग छ ।

‘पुँजी पुर्‍याउनुपर्ने समयको तीन महिना अगाडिमात्र मर्जर नीति आएको छ’, ढकालले थपे, ‘तीन महिनामा ३५ दिनको त सूचना दिनुपर्‍यो । अब मर्जरको काम द्रूतगतिमा गर्नुपर्ने भयो ।’

मर्जर र पुँजी वृद्धि गर्न समय लाग्ने हुनाले दुबै विषयबारे बुझेर सेबोनले समय थप गर्नुपर्ने उनको तर्क छ ।

‘हामीले दुई वर्षका लागि समय थप गरिदिनुस् भनेको हो’, ढकालले भने, ‘ता कि अहिले बजारमा भएको यति बेला भएको संकुचनले व्यवसायीलाई राहत पनि मिल्छ र अहिले गरेको नाफाले पुँजी थप गर्न पनि सहज हुन्छ र मर्जरमा जाने साथीहरूले पनि सहज रुपमा जान्छन् भन्ने हो ।’

ब्रोकरको मर्जरको बाटो नहुँदा बाटो खोलिदिएकोमा ब्रोकरहरूले त्यसलाई स्वागत गरेको ढकालको भनाइ छ । अब सेबोनले नियमावलीमा छिटो भन्दा छिटो दुई वर्षका लागि समय थप गरिदिनुपर्ने ढकाल बताउँछन् ।

‘हामी मर्जरमा पनि छिटो तरिकाले कसरी लाग्न सकिन्छ भन्नेमा छौँ’, ढकालले भने, ‘मर्जर स्वीकृति लिएकालाई सेबोनले केही समय दिनुपर्छ, हाम्रो माग दुई वर्ष थप्नुपर्छ भन्ने नै हो । उहाँहरूलाई यसको गम्भीरताको विषयमा बुझाएका छौँ, नियामकीय हिसाबले पनि कमजोरी भयो नि त !’

मर्जरको नीति पहिले आएको भए यस्तो समस्या नआउने ढकालको बुझाइ छ । नियामक निकायबाटै कमजोरी भएकाले समय दिनुपर्ने अध्यक्ष ढकालले दोहोर्‍याए ।

‘पुँजी बढाउँछौँ, तर समय चाहियो’

ब्रोकर कम्पनीको पुँजी अव्यवहारिक तरिकाले बढाइदिएकोमा ब्रोकर एसोसिएशनका महासचिव भक्तिराम घिमिरेको पनि आपत्ति छ । ब्रोकरले पुँजी बढाउने, तर समय दिनुपर्ने घिमिरेले तर्क गरेका छन् ।

‘पहिले २० लाख रुपैयाँ थियो, पछि ५० लाख रुपैयाँ बनाइयो, त्यसपछि एकैचोटी २० करोड रुपैयाँ बनाइयो । त्यो भनेको ४० गुणा बढी भयो’, घिमिरेले भने, ‘त्यसैले हामीले समयसीमा दिनुपर्‍यो, हामीलाई समय थोरै भयो भनेका हौँ ।’

आफूहरूको पहिलो प्राथमिकता मर्जरभन्दा पनि समय सीमा नै रहेको र दीर्घकालका लागि मर्जर उपयुक्त रहेको घिमिरेले बताए ।

अहिले सञ्चालनमा रहेकामध्ये २० ब्रोकरमात्रै नाफामा रहेको घिमिरेले दाबी गरे । ‘९२ वटा ब्रोकरमध्ये १० वटा नाफामा छन्, १० वटा ठीकै छन्’, घिमिरेले भने, ‘त्यो भन्दा माथि १० वटा ब्रेक इभनमा होलान्, बाँकी त घाटामै छन् जस्तो लाग्छ ।’

दिनको १० लाख, ५० लाख या एक करोड रुपैयाँसम्मको कारोबार गरेर ब्रोकर बाँच्न नसक्ने घिमिरे बताउँछन् । ‘एक करोड रुपैयाँको काम गर्‍यो भने ३९ हजार रुपैयाँ नाफा हुने हो’, घिमिरेले भने, ‘त्यसबाट पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्स्चेञ्जलाई कर तिर्नुपर्छ । बाँकी बस्ने त १४ हजार रुपैयाँमात्र हो । घर भाडा, कर्मचारी र महिनाको ४/५ लाख रुपैयाँ त इन्टरनेटमै जान्छ ।’

मर्जर नीति आएकोमा ब्रोकरहरूको विमति नरहेकाले केही ब्रोकरहरूले त्यही उपाय अपनाउने पनि घिमिरेले बताए ।

‘नयाँ ब्रोकरहरूले चुक्तापुँजी २० करोड पुर्‍याउनुको साटो मर्जर गरी एउटै बनाएर अघि बढ्दा व्यापार गर्न सकिएला भनी मर्जरमा गए भने त्यो अर्को कुरा हो’, घिमिरेले भने, ‘पुराना ब्रोकरहरूको नेटवर्थ छ, चुक्तापुँजी मात्र नपुगेको हो ।’

पुँजी थप गर्नेका लागि अबको ६ महिनामात्रै समय दिए पनि धेरै कुरा मिल्ने घिमिरे बताउँछन् । ‘पुरानाको व्यापार राम्रो छ, तर चुक्तापुँजी पुगेको छैन । नयाँको चुक्तापुँजी पुगेको छ, तर व्यापार छैन’, घिमिरेले भने, ‘नीतिले पुराना–नयाँ सबैलाई समेटेको छ । त्यो हिसाबले नयाँ र पुराना पनि मर्ज हुन पाइयो ।’

पुँजी पुर्‍याउन बाँकी रहेका ३८ ब्रोकर कम्पनीहरूले असार मसान्तसम्ममा पुँजी पुर्‍याउने भनी सेबोनलाई भनेकाले समय बढाउने कुरा अहिले नभएको प्रवक्ता घिमिरे बताउँछन् ।

‘उहाँहरू(ब्रोकर)ले हामी पुँजी पुर्‍याउँछौँ भनेर हामीलाई प्रतिबद्धता पठाउनुभएको छ’, घिमिरेले भने, ‘हामीले बुझ्ने भनेको उहाँहरूले पुर्‍याउनुहुन्छ भन्ने हो ।’

मर्जरको म्याद थप हुन्छ/हुँदैन भनी तत्काल भन्ने नसकिने घिमिरे बत्ताउँछन् । ‘म्याद थप गर्ने/नगर्ने भन्ने विषयमा अहिले छलफल भएको छैन’, घिमिरेले भने, ‘उहाँ (ब्रोकर)हरूले विनियमावली पालना गर्नुहुनेछ भन्ने विश्वास छ ।’

प्रकाशित मिति : २८ चैत्र २०८१, बिहीबार  ६ : २७ बजे

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी

रुस-युक्रेन युद्ध : अमेरिका आफ्नै बाटोमा लाग्ने ट्रम्पको भनाइ

वाशिंटन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन मध्य

किन नुहाउने ?

काठमाडौं- नुहाउनु स्वास्थ्यका लागी फाइदाजनक हो भन्ने कुरा हामी सबैले