सत्ता छँदा जो कोही, आपत पर्दा कोही न कोही « Khabarhub

सत्ता छँदा जो कोही, आपत पर्दा कोही न कोही


२४ आश्विन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानव सभ्यताका दुई महान् ग्रन्थहरू रामायण र महाभारत केवल धार्मिक कथा होइनन्, जीवन, राजनीति र शक्ति–संघर्षको दर्पण हुन् । यी महाकाव्यमा वर्णन गरिएका प्रसंगहरू शताब्दीऔँ पुराना भए पनि तिनको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक छन् । शक्ति, वैभव, ज्ञान वा संगठन मात्र भएर हुँदैन भन्ने सत्यलाई यी महाकाव्यले बारम्बार देखाएका छन् ।

पछिल्लो समय नेपालको राजनीतिमा देखिएका दृश्यहरूले पनि यही तथ्यलाई पुनः प्रमाणित गरिदिएका छन् । ती ग्रन्थ अध्ययन गर्ने र अहिलेको नेपाली राजनीतिको परिदृश्य पढ्नेहरुका लागि समान लाग्छन् । अझ शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहालको पछिल्ला अवस्थाले त्यही कुराको चित्रण गर्छ ।

अयोध्याका राजा दशरथका चार पुत्र थिए । राम, लक्ष्मण, भरत र शत्रुघ्न उनीहरुको समयमा अत्यन्त शक्तिशाली र आदर्श पात्र मानिन्थे । तर, दशरथको अन्तिम समय स्मरण गर्दा देखिन्छ, तीमध्ये कुनै पुत्र पनि साथमा थिएनन् । राजा भएर, पुत्र भएर, शक्ति र सम्मान भएर पनि अन्तिम क्षणमा दशरथ असहाय भएर प्राण त्याग्नुपर्‍यो । शक्ति, सन्तान वा पद अन्ततः अस्थायी हुन्छन्, जीवनको अन्तिम सत्य एक्लोपन हो भन्ने यसबाट स्पष्ट हुन्छ ।

त्यस्तै, रावणको उदाहरण अझ कडा छ । रावण विद्वान् थियो, बलशाली थियो र सुनको लंका बनाएको थियो । उसको दरबार, साम्राज्य र वैभव अपार थियो । तर, एउटा वानरको पुच्छरमा आगो सल्किँदा उसको सारा साम्राज्य ध्वस्त भयो । शक्ति र वैभवको गर्व एक क्षणमै खरानी भयो । अन्यायमा टिकेको शक्ति कुनैबेला पनि टिक्दैन, क्षणभरमै ध्वस्त हुन्छ भन्ने यसले देखाउँछ ।

वीरता पनि परिस्थिति निर्भर हुन्छ भन्ने महाभारतले शिक्षा दिन्छ । महाभारतमा द्रौपदी पाँच महान् वीरकी पत्नी थिइन् । युधिष्ठिर सत्यवादी, भीम बलशाली, अर्जुन धनुर्विद्यामा अतुलनीय, नकुल–सहदेव तरवारधारी र घोडचढी कलामा निपुण थिए । तर, राजसभामा द्रौपदीलाई अपमान गर्न खोज्दा ती पाँचै वीर शक्तिहीन भए । न कोही उठ्न सके, न कसैले प्रतिवाद गर्न सके ।

शक्ति वा वीरता केवल रणमैदानमा मात्र होइन, नैतिक साहसको क्षणमा पनि परीक्षण हुन्छ । र, असफल भए भने सारा शक्ति व्यर्थ हुन्छ भन्ने कुरा यसले देखाउँछ ।

त्यस्तै, अर्जुनपुत्र अभिमन्यूको प्रसङ्ग महाभारतकै हृदयविदारक घटना हो । गर्भमै शस्त्रविद्या सिकेका, रणकौशलमा अपार भएका अभिमन्यू चक्रव्यूहमा फसे । तर, एक्लोपन, सहयोगको अभाव र रणनीतिक कमजोरीले गर्दा उनले वीरगति पाए । ज्ञान र शक्तिले मात्रले हुँदैन, सहकार्य र परिस्थिति अनुकूलता उतिकै जरुरी हुन्छ भन्ने कुरा यहाँ भेटिन्छ ।

आजको नेपाली राजनीतिमा ती पौराणिक ग्रन्थ त्यहाँका पात्रहरु र प्रवृति मिल्दो देखिन्छ । त्यो बेला र अहिलेका समानता र सन्देश उस्तै भेटिन्छ ।

यी प्राचीन शिक्षाहरू आजको नेपाली राजनीतिमा पनि ठ्याक्कै देखिन्छन् । शक्ति, संगठन र पदको गर्व गर्ने नेताहरू संकटमा परेपछि असहाय बन्न पुगेका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका बलशाली थिए ।

नेपाली काँग्रेसमा लामो समयसम्म एकलौटी चलाएका, समितिहरूमा मनपरी निर्णय गरेका, कार्यकर्तालाई केवल पाँडेपजनी गर्ने भूमिकामा सीमित पारेका देउवा अन्ततः आफ्नै नातिपुस्ताले रक्ताम्य बनाउँदा एक्ला भए । न कार्यकर्ता आए, न संरक्षणको आवाज उठ्यो । सत्तामा हुँदा कार्यकर्तालाई उपेक्षा गर्ने प्रवृत्ति संकटमा आफ्नै पतनको कारण बन्छ भन्ने यसले देखाउँछ ।

एमाले अध्यक्ष वा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको अहिलेको अवस्थाले पनि त्यही देखाउँछ । दुईतिहाईको सरकार चलाएका, शक्तिशाली प्रधानमन्त्रीका रूपमा चिनिएका ओलीले पनि संगठनभित्र असन्तोषलाई बेवास्ता गरे । विभिन्न संगठनमा अध्यक्ष नियुक्त गर्दा असन्तोष बढ्यो, कतिपयले संगठन नै छाडे ।

अहिले आन्दोलनको घडीमा कार्यकर्ताभन्दा सेना वा व्यारेकमै आश्रित हुनुपरेको यथार्थ छ । केही कार्यकर्ताहरुले त अध्यक्ष पद छोडेर अर्को पुस्तालाई अघि लगाउन माग गर्न थालेका छन् । सवै कार्यकर्ताको विश्वास बिना राजनीतिक शक्ति क्षणिक हुन्छ भन्ने यसले देखाउँछ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको अवस्था हेरौँ न । युद्धकालका नेता, जनसेनाको सुप्रिमो, बलशाली व्यक्तित्वका रूपमा चिनिएका दाहाल आज आफ्नै घरमा आगजनी भए पनि कार्यकर्ताबाट अपेक्षित सहयोग पाउन असमर्थ रहे । युद्धकालमा सृजित शक्ति अहिले राजनीतिक असहायताको रूपमा परिणत भएको छ ।

यी सबै विषयको साझा शिक्षा भनेको शक्ति अस्थायी भन्ने हो । शक्ति, पद वा संगठन मात्र पर्याप्त हुँदैन भन्ने यी सबै घटनाबाट एउटा साझा शिक्षा प्राप्त हुन्छ ।

सत्यविरुद्ध टिकेको शक्ति क्षणभरमै ध्वस्त हुन्छ । जनताको समर्थन बिना पद असहाय हुन्छ । कार्यकर्तालाई केबल प्रयोग गर्ने प्रवृत्तिले संकटमा नेतालाई एक्लो बनाउँछ । विवेक, न्याय र सहकार्य बिना कुनै पनि बल दीर्घकालीन हुँदैन । रामायण र महाभारतले सिकाएको जस्तै आजको नेपाली राजनीतिमा पनि शक्ति दम्भ, असत्य र मनपरी नेतृत्व अन्ततः पतनतर्फ धकेलिन्छ ।

शक्ति भएर मात्र हुँदैन भन्ने कुरा इतिहास र वर्तमान दुवैले देखाएका छन् । शक्ति, विवेक, न्याय, समय र सहकार्यको सन्तुलन नै वास्तविक बल हो । नेताहरूले यो शिक्षा आत्मसात् गर्न सके मात्र राजनीति स्थायी, जनउत्तरदायी र दीर्घकालीन हुन सक्छ । अन्यथा, दशरथ, रावण, द्रौपदी, अभिमन्यूका प्रसङ्ग जस्तै आजका नेताहरूको नियति पनि असहाय र विफलतामा सीमित हुनेछ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ३ : ५९ बजे

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि

चैते धानको समर्थन मूल्य तोक्न अध्ययन सुरु

काठमाडौँ– कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि विभागले चैते धानको