काठमाडौंलाई सम्पदा सफाइ सिकाइरहेको एक संस्था | Khabarhub Khabarhub

काठमाडौंलाई सम्पदा सफाइ सिकाइरहेको एक संस्था

‘सामुदायिक पशु र मानिसको आचरण उस्तै छ’


२९ माघ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हरेक दिनजसो बिहान ४ बजेदेखि ९ बजेसम्म बौद्ध क्षेत्रमा सरसफाइ गरिरहेको एउटा टोली भेटिन्छ । सफाइकर्मीको उक्त टोली यति व्यवस्थित छ कि त्यहाँ सुपरभाइजरसमेत खटाइएको हुन्छ । सफाइकर्मीका आ–आफ्नै रूट हुन्छन्, जसको सफाइ बिहान चार बजेदेखि नै सुरु हुन्छ ।

सुपरभाइजरले दिएको निर्देशन अनुसार नै विभिन्न समूहमा बाँडिएर बौद्ध क्षेत्रमा सफाइ टोली खटिन्छ । उक्त टोलीले सबैभन्दा पहिले बौद्ध स्तूपा भएको क्षेत्र वरपर सरसफाइ गर्छ, अनि बौद्धका भित्री गल्लीहरूमा रहेको फोहोर टिप्न निस्किन्छ ।

दैनिक रूपमा सङ्कलन गरेकोमध्ये प्लाष्टिक एक ठाउँमा र अन्य फोहोर अर्को ठाउँमा जम्मा गरी बोरामा हालेर मुख्य सडकसम्म ल्याउँछ ।

दिनभरमा कति फोहोर सङ्कलन भयो, त्यसमा कति प्लाष्टिक थियो, अन्य फोहोर कति थियो भन्ने सबै जानकारीको रिपोर्ट पनि तयार गर्छ । उक्त टोलीले चुच्चेपाटी र तीनचुलीस्थित अरब बैंकसम्म दैनिक सरसफाइ गरिरहेको हुन्छ ।

सफाइकर्मीको टोली बौद्ध क्षेत्रमा यसरी खटिएको माघ २७ मा ५१ दिन पुगिसकेको छ । तर यो सफाइटोलीलाई काठमाडौं महानगर, टोल समिति वा बौद्ध क्षेत्र विकास कोष खटाएको पनि होइन ।

यो त बौद्ध सम्पदा क्षेत्रलाई सफा गर्न लागिपरहेको ‘ग्रीन एन्ड क्लिन टीम नेपाल’को टोली हो ।

परिवारबाट जन्मिएको ‘ग्रीन क्लिन टीम

यो टीमका परिकल्पनाकार पासाङ लामा हुन् । उनले बौद्ध क्षेत्रमा फोहोर देखेर सफाइमा चार वर्षअघि नै व्यक्तिगत रूपमा खटिएका थिए । पासाङ एक जनाले सुरु गरेको सफाइकर्म नै अहिले अभियानको रूपमा विस्तार भएको हो ।

सरसफाइको सुरुवात आफ्नो परिवारबाट सुरु भएको लामा बताउँछन् । ‘परिवारको एक जनाले एक सफाइकर्मीलाई पाल्ने उद्देश्यसाथ यो अभियान सुरु गरेको थिएँ’, लामाले भने ।

परिवारबाट सुरु गरेको अभियान भए पनि अहिले भने लामाले अन्य व्यक्ति र संस्थाबाट पनि सहायता लिँदै आएका छन् । अहिले ग्रीन टीमलाई बौद्धको होटेल, रेस्टूराँ र विभिन्न निकायहरूले सहयोग गरिरहेको छन् ।

‘हामीलाई सहयोग आउँछ, तर हामी रसिद लिएर सहयोग माग्दै पसलपसल हिँड्दैनौँ’, लामाले बौद्ध सफाइ अभियानमा सहयोग गर्न इच्छा देखाउने व्यक्तिबारे भने, ‘अहिलेसम्म हाम्रो अभियानमा जति पनि जोडिनुभएको छ, उहाँहरू सबै आफैँ आउनुभएको हो ।’

लामाका अनुसार टीमले आठ दिने, १०० दिने र एक वर्ष अवधिको सफाइ अभियान पूरा गरिसकेको छ । अहिले ६ महिने कार्यक्रम अन्तर्गत सरसफाइका काम भइरहेको लामा बताउँछन् ।

‘हामीले गरेको कामलाई जिम्मेवार निकायले साथ नदिएको देख्दा चाहिँ दुःख लाग्छ’, लामाले भने ।

फेरिएको बौद्ध क्षेत्र

विश्व सम्पदा सूचीमा रहेको बौद्ध क्षेत्र विगत तीन वर्षको तुलनामा हाल निकै सफा भएको सफाइ अभियन्ता लामाको दाबी छ ।

नेपालमा कुनै वडा र कुनै संस्थाले पनि बिहान ४ बजेदेखि सरसफाइ नगरेको, तर आफ्नो टीम सबेरै उठेर सफाइ अभियानमा लाग्ने गरेको लामा बताउँछन् ।

‘पहिला त बौद्ध एरिया धेरै धुलाम्मे थियो’, लामाले भने, ‘तर अहिले सफा भएको छ ।’

विभिन्न तहका सरकारले निर्माण र मर्मतसम्भार गरिराख्ने भएकाले सडकहरू धुलाम्मे हुने गरेको लामाको भनाइ छ । ‘वर्षपिछे खोल्ने र बन्द गर्ने भइरहेको छ’, लामाले भने, ‘तर अहिले चाहिँ ढलान बाटो बनेका कारण अलिक राम्रो भएको छ ।’

बौद्ध पुरातात्तिक महत्वको ठाउँ रहेको, पूजापाठसँगै व्यापार व्यवसाय र ध्यानकेन्द्र समेत भएकोले यो ठाउँको सरसफाइ आवश्यक रहेको लामा बताउँछन् । ‘पहिला त यहाँका बाटोहरूमा कुकुरका दिसा, इँटाका टुक्रा र फोहोरै फोहोर हुन्थ्यो’, लामाले भने, ‘अहिले हामीले दिनहुँ सफा गर्छौं, फोहोर भेटिँदैन ।’

बौद्धको महाङ्काल पार्क पहिले फोहोरले भरिएको हुन्थ्यो, मानिसहरूले दिसापिसाब समेत त्यही गरिदिन्थे । पार्क भनेर बनाइएको ठाउँ जताततै झाडीले छोपिएको थियो, पार्क वरपर मानिस हिँड्नसमेत डराउँथे । त्यस्तो ठाउँलाई पनि ग्रीन टीमले यतिखेर सुन्दर पार्क बनाइदिएको छ ।

बौद्ध धार्मिक आस्थाको ठाउँ भएकाले उक्त क्षेत्रमा सरसफाइ हुनुपर्ने लामाको भनाइ छ ।

‘महानगर अलमलमा छ’

काठमाडौं महानगरपालिकासँग फोहोर कसरी सङ्कलन गर्ने भन्ने भिजन नै नभएको लामा दाबी गर्छन् ।

‘महानगरसँग यो क्षेत्रको फोहोरमैला व्यवस्थापनसम्बन्धी कुनै योजना नै भएको देखिँदैन’, लामाले भने, ‘उहाँहरूको दायित्वबारे उहाँहरूलाई नै थाहा छैन ।’

काठमाडौंमा फोहोरमैलासम्बन्धी जति पनि संस्था छन्, ती सबैले फोहोरमात्र उठाउने गरेको लामा बताउँछन् । तर, बौद्ध क्षेत्रमा कुन दिन फोहोर सङ्कलक आउने भन्ने टुङ्गो नै नभएको उनको भनाइ छ ।

मुख्य–मुख्य सडक दैनिक सफा गर्ने, भित्री सडक सातामा तीन दिन र अझै छोटा र साना सडक सातामा एक दिन सफा गर्नुपर्ने भए पनि महानगरबाट काम नभएको लामाले गुनासो गरे ।

‘सरसफाइको दायित्व महानगरले नै वहन गरिरहेको छैन, उहाँहरू त आफ्नो काम घर–घरमा पुगेर फोहोर उठाउने र सडकमा कुचो लगाउनेमात्र हो भन्ने ठान्नुहुन्छ, तर सरसफाइ क्षेत्रमा महानगरले गर्नुपर्ने काम अनगिन्ती छन् ।’

अत्याउँछ कुकुरले

बौद्ध क्षेत्रमा सरसफाइको मुख्य चुनौती कुकुरको दिसा भएको अनुभव ग्रीन टीमले सुनायो ।

‘बौद्धमा जताततै भुस्याहा (सामुदायिक) कुकुरको दिसा नै दिसा भेटिन्छ, घरमा पालिरहेको कुकुरलाई अलिक उमेर बढेपछि मानिसहरूले सडकमा ल्याएर छाडिदिन्छन्, तिनै कुकुरले यो क्षेत्रका सडकमा अत्यधिक फोहोर गरिदिन्छन्’, लामाले सुनाए ।

कुकुरले फोहोर गरेको बाटो भएरै वृद्धवृद्धा, अपाङ्ग, अशक्त मानिस हिँडडूल गर्नुपर्छ । तर, कुकुरको दिसाका कारण उनीहरूले सास्ती भोग्नुपर्छ ।

‘मानिसहरू कुकुरको दिसामा चिप्लिएर लड्ने गर्छन्’, सफाइ अभियन्ता लामाले भने, ‘कुकुरको दिसाबाट विभिन्न रोगसमेत फैलनसक्छ, तर हामीले सफा नगरे त्यस्तो फोहोरले दुर्गन्ध फैलाइरहेको हुन्छ, महानगर या वडाले यसतर्फ ध्यान दिएको देखिँदैन ।’

आफ्नो टोलीले कुकुरकै दिसा पनि सफाइ गरिरहेको लामा बताउँछन् । ‘हामीले जहाँ कुकुरको दिसा छ – त्यो ठाउँमा अलिकति माटो हालेर, हातमा प्लाष्टिक लगाएर सोहर्छौँ’, लामाले भने, ‘काम गर्ने सफाइकर्मीलाई अप्ठ्यारो नहोस् भनेर हामी आफैँले त्यस्तो काम गरेका छौँ ।’

परेवाहरूले बिस्ट्याएर पनि बौद्ध स्तूपा कुरुप बन्ने गरेकोले त्यसको स्थायी समाधान खोजिरहेको लामा बताउँछन् ।

लामाले सुनाए, ‘बौद्ध क्षेत्र पहिलेदेखि नै परेवाको बसोबासस्थल हो, बौद्ध क्षेत्र विकास कोषसँग मिलेर आकस्मिक पाइपबाट पानी हालेर हप्ता÷दुई हप्तामा स्तूपा सफा चाहिँ गरिरहेका हुन्छौँ ।’

परेवाको फोहोर पूर्णरूपमा निर्मूल गर्ने कार्यक्रम आफूले कतै नदेखेको लामाको भनाइ छ । दैनिक सरसफाइ क्रममा सफा गर्दा केही हदसम्म समाधान भने भएको उनको भनाइ छ ।

बदलिँदैछन् मानिस

फोहोर व्यवस्थापन मामिलामा मानिसको व्यवहार पहिलेको तुलनामा पछिल्लो समय धेरै सुधार भएको लामा बताउँछन् ।

‘आफूले खाएपछि जताततै फोहोर गर्ने खराब बानीमा मानिस अभ्यस्त छ, त्यस्तो फोहोर व्यवस्थित ठाउँमा राखिदिने हो भने त सबैतिर सफा हुन्थ्यो नि !’ लामाले सुनाए ।

‘पसल वरपर फोहोर नै फोहोर हुन्छ, पसलेहरूबीच अर्कोले उठाइहाल्छ नि भन्ने प्रवृत्ति देखिन्छ’, लामाले थपे, ‘बौद्धको २÷३ वटा गल्लीमा भने सुधार आएको छ । हाम्रा सफाइकर्मी दिदीबहिनीहरूले बारम्बार आग्रह गर्ने गरेका कारण पसलेहरूमा पछिल्लो समय केही परिवर्तन आएको छ ।’

प्रकाशित मिति : २९ माघ २०८१, मंगलबार  १२ : ५१ बजे

भारत अर्को विश्वव्यापी एआई शिखर सम्मेलन आयोजना गर्न तयार : मोदी

पेरिस – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फाउन्डेसन

खुकुरी प्रहार गरी दुई जनाको हत्या, आरोपित व्यक्तिको शव भेटियो

रूकुम पश्चिम – रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ

पश्चिम नवलपरासीमा वर्षौंदेखि ५० खानेपानी योजना अधुरै

नवलपरासी – पश्चिम नवलपरासीमा वर्षौंदेखि निर्माण सुरु भएका ५० वटा

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि पास गर्छौं : मन्त्री गुरूङ

काठमाडौं – सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी

माओवादी केन्द्रलाई सरकारमा जाने हतार छैन : दीननाथ शर्मा

कास्की – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सचिव एवं गण्डकी