अघि बढ्यो जाबा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजना « Khabarhub

अघि बढ्यो जाबा तिला अर्धजलाशययुक्त जलविद्युत आयोजना


२९ चैत्र २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– जुम्लाको तिला नदीमा बन्न लागेको ७०.३७ मेगावाटको जलविद्युत आयोजनाको काम अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणले जाबा तिला अर्धजलासययुक्त जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम अगाडी बढाएको हो । 

जाबा तिला अर्धजलासययूक्त जलविद्युत आयोजना जुम्ला जिल्ला र कालिकोट जिल्ला हुँदै बग्ने तिला नदीमा प्रस्ताव गरिएको छ । यस आयोजनाले ऊर्जाको माग उच्च रहेको अवस्थामासमेत पिकिङ्ग रन अफ दि एयरको रूपमा दैनिक ६ घण्टा विद्युत् उत्पादन गर्ने गरी निर्माण गरिने छ । 

जुम्लालाई केन्द्र बनाएर अगाडि बढाउन थालिएको उक्त आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम थालिएको नेपाल विद्युत् प्राधिकरण वातावरण मूल्याङ्कन अध्ययन टोलीका प्रमुख प्रकाश गौडेलले बताए । 

‘अब यो आयोजना अगाडि बढाउन वातावरण प्रभाव मूल्याङ्कनपछि डिजाइन स्टमेट तयार गरी स्रोत सुनिश्चितता लगायतका काम अघि बढाउने लक्ष्य छ,’ उनले भने, ‘जुम्लामा निर्माण भइरहेको विद्युत् प्राधिकरण सब स्टेसनले पनि विद्युत् प्रवाहमा गुणस्तरता कायम गर्न यो परियोजना अगाडि बढेमा राज्यलाई नै फाइदा हुन्छ ।’ 

जुम्ला जिल्लाको तिला गाउँपालिका, हिमा गाउँपालिका र तातोपानी गाउँपालिका र कालिकोट जिल्लाको तिलागुफा नगरपालिकामा नेपाल विद्युत् प्राधिकरणले वातावरणीय मुल्याङ्कन गर्न लागेको छ । यस आयोजनाले ऊर्जाको माग उच्च रहेको बेलामा समेत पिकिङ रन अफ द रिभरको रूपमा दैनिक ६ घण्टा (बिहान–२ घण्टा र बेलुका–४ घण्टा) ७०.३७ मेगावाट विद्युत् उत्पादन गर्ने गरी निर्माण गरिनेछ ।

यसका लागि जुम्ला जिल्लाको तिला गाउँपालिकाको रारालिहीको पहुखोला स्थानमा १८ मिटर अग्लो तथा ५७.५० मिटर लामो बाँध निर्माण गरिनेछ । यस बाँधले ०.१८४ करोड घनमिटर (१.८४ एमसिएम) पानी तिला नदीमा जम्मा गर्नेछ र आयोजनाको डिजाइन बहाव ५५ घनमिटर प्रति सेकेन्ड छ । बाँधबाट ६.४२३ किलोमिटर लामो सुरुङमार्फत पानी नाग्मामा रहेको विद्युत् गृहमा खसाइनेछ । 

यस आयोजनाको विद्युत् गृहमा ३५.१८ मेगावाट क्षमताका दुई फरनसिस टर्वाइनहरु राखिनेछ र विद्युत् उत्पादन पश्चात् पानी पुनः तिला नदीमा छाडिनेछ । सुरुमा यो आयोजना प्राधिकरणको बोर्डले एक सय ५० मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । 

तथापि एक सय ५० मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्न सम्भव नभएपछि ७०.३७ मेगावाटको योजना अघि बढाइएको हो । जुम्लाको तिला नदीमा ७०.३७ मेगावाटको विद्युत्का लागि जवा–तिला जलविद्युत आयोजनाको लाइसेन्स स्वीकृत गरिएपछि विद्युत् निर्माणको काम थालिने भएको छ ।

पूर्वमन्त्री नरेश भण्डारीका अनुसार तिला नदीमा ७०.३७ मेगावाट विद्युत् लाइसेन्स तीन वर्ष लामो समयदेखि पहल भएको हो । नेपाल विद्युत् प्राधिकरणले ७०.३७ मेगावाट क्षमताको जाबा–तिला जलविद्युत आयोजना निर्माणका लागि सर्भे लाइसेन्स प्राप्त गरेको छ । अहिले प्रारम्भिक चरणमा एक करोड ६० लाख रकम निकासा गरिएको छ । 

आयोजना कार्यान्वयन हुँदा जुम्ला जिल्लाको तिला गाउँपालिकाका वडा नं. १, २, ३, ४, ७ र ८ हिमा गाउँपालिकाका वडा नं. ७ र तातोपानी गाउँपालिका वडा नं–१ कालिकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं.–१ प्रभावित हुनेछन् ।

प्रभावित क्षेत्रमा वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन सम्बन्धी क्षेत्र निर्धारण तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, सांस्कृतिक प्रणाली र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न ती स्थानको नगरपालिका/गाउँपालिका तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिनेछ । 

३५ अर्ब लाग्ने अनुमान

प्राधिकरणको २१ मंसिर २०७९ को सञ्चालक समितिको बैंठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । जुम्लामा बिजुलीको समस्या समाधान गर्न र बिक्री गरी आम्दानी समेत गर्न लक्ष्यका साथ संविधानसभा सदस्य एंव कर्णाली प्रदेशका पूर्वमन्त्री भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेका थिए । 

कोहलपुरदेखि लामो दरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुली गुणस्तरमा रहेको समस्या समाधान गर्न आयोजना निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ । 

प्राधिकरणका अनुसार कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ अर्ब रुपैयाँ बराबरको लगानी गर्ने तयारी भइरहेको छ । प्रारम्भिक अनुमानका आधारमा आयोजनाको कुल लागत ३५ अर्ब रुपैयाँ रहनेछ ।

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार  ३ : १२ बजे

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्

नयाँ ठेक्काबाट घुमाउने पुल निर्माण हुन्छ : अर्थमन्त्री डा वाग्ले

तनहुँ – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले घुमाउने पुलको निर्माण कार्य

बुवाको निधनपछि भावुक मेसीलाई रोनाल्डोले दिए सान्त्वना

काठमाडौं – अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेसी बुवा जोर्गे मेसीको

सर्लाहीमा ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

रौतहट – सर्लाहीमा स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित