जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार | Khabarhub Khabarhub

जमिन भासिएपछि सुरक्षित आश्रयको खोजीमा छन् हायु परिवार


२५ आश्विन २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – कमलामाई नगरपालिका–१ सिम्लेमा जमिन भासिएर बस्ती नै जोखिममा परिरहेको छ । यहाँ हायु समुदायको मात्रै बसोबास रहेको छ । शुक्रबार जिल्ला सुरक्षा समितिको टोली निरीक्षण गर्न यहाँ पुग्यो, तर प्रभावित हायु परिवारमा कुनै उत्साह थिएन । प्रभावित परिवार स्थलगत निरीक्षणमा पुगेका सरकारका प्रतिनिधिहरूसँग सहयोगको याचना गरे । यद्दपि, सरकारबाट तत्कालै केही हुन्छ भनेर पूर्ण रूपमा आशावादी हुन सकेनन् ।

यसको कारण थियो, यहाँ न पहिलो पटक जमिन भासिएको हो, न त पहिलो पटक सरकारी टोली आएको हो । अघिल्लो वर्ष पनि उसैगरी सरकारका प्रतिनिधिरू यहाँ निरीक्षण गर्न पुगेका थिए, तर जोखिम क्षेत्रमा बसोबास गरिरहेका प्रभावित बस्तीका समस्या न्यूनीकरणका लागि पहल नभएकाले कुनै उत्साह नआएको प्रभावित हायु परिवारको गुनासो छ ।

“जमिनचिरा–चिरा परेर फाटेको छ । जमिन सरेर बस्ती ढल्किएको छ । कुन समय माटो सोरिएर तल पहिरो खस्छ ठेगान छैन । हामी त्रासै–त्रासमा छौँ । पानी पर्न थालेपछि डरले मुटु काम्न थाल्छ”, प्रभावित पूर्णिमाया हायुले भने, “हाम्रो दुःख हेर्न त सरकार आउँछ, तर हालसम्म दुःख हटाउन केही गरेको छैन ।”

पूर्णिमायाजस्तै कमलामाई नगरपालिका–१ सिम्लेका १५ घरका हायु परिवारको पनि त्यस्तै गुनासो छ । गत वर्ष लगातार भएको वर्षापछि यहाँको जमिन भासिएर बस्ती जोखिममा परेकोे थियो । यो क्रम रोकिएको छैन । जोखिम झनै बढेको छ । “घरको आधा भाग झुकेको छ । जमिन फाटेको छ । धानखेत, बस्ती सबै सरेर तल झर्दै गएको छ । कहाँ जाने ? आफूसँग भएको जग्गा, जायजेथा सबै यहीँ छ”, सथानीय फूलकुमारी हायुले दुखेसो व्यक्त गरे।

वडा नं १ का अध्यक्ष नरेश गोलेले सिम्लेको हायु बस्ती एक वर्षदेखि जोखिममा रहेको र सुरक्षित आश्रयस्थलको अभावमा अझै पनि जोखिमपूर्ण बस्तीमा बस्न बाध्य रहेको बताए । उनले भने,“यो समस्या नयाँ होइन । अघिल्लो वर्षदेखि नै यहाँका २०० भन्दा बढी व्यक्ति प्रभावित छन् । यही असोज १७ देखि २१ असोजसम्म परेको अविरल वर्षापछि जमिन थप भासिँदै गएको छ । बस्तीको संरचना नै अस्थिर बन्दै गएपछि स्थानीयवासी अत्तालिन थालेका छन् ।”

वडाध्यक्ष गोलेका अनुसार जोखिममा रहेका सबै घरको सूची बनाएर अघिल्लो वर्ष नै नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा पठाइसकिएको छ । सम्बन्धित निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि स्थलगत निरीक्षणबाहेक थप प्रगति नभएको उनको भनाइ छ । “जोखिम क्षेत्रमा बसिरहनु खतरनाक हुन्छ, त्यसैले अब बस्ती स्थानान्तरण गर्नुको विकल्प छैन । समस्याको दीर्घकालीन समाधान गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारको सहकार्य अत्यावश्यक छ”, वडाध्यक्ष गोलेले भने ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले यहाँको अवस्थाबारे सम्बन्धित निकायमा प्रतिवेदन पठाएर समस्या समाधानका लागि आवश्यक समन्वय गर्ने आश्वासन दिए । उनले भने, “बस्ती जोखिममा छ । हायु परिवार त्रासमा छन् । सरकार हाम्रो साथमा छ भन्ने अनुभूति दिलाउन जोखिममा रहेका बस्ती पुगेर प्रभावित व्यक्तिलाई भेटेर संवाद गरेका छौँ । समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । अब तत्कालै विपद् व्यवस्थापन समितिको बैठक बसेर थप निर्णय गर्नेछाँै ।”

नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले पनि समस्याको दीर्घकालीन समाधानका लागि नगरपालिकाले पनि आवश्यक समन्वय र पहल गरिरहेको बताए । प्रकृतिलाई पूजक हायु समुदाय यतिबेला विपत्तिको चपेटामा छ ।

वर्षौदेखिको थातथलो नै जोखिममा परेपछि प्रभावितहरूले स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग सहयोगको याचना गरिरहेका छन् । हरेक हिसाबले पछाडि परेको यो लोपोन्मुख जातिको अस्तित्व बचाउन सरकारले जतिसक्दो छिटो दीर्घकालीन समस्या समाधानका लागि सुरक्षित पुनर्वासको व्यवस्थापनमा जोड दिनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति : २५ आश्विन २०८२, शनिबार  ९ : ०७ बजे

‘टीओबी’बारे सुदन गुरुङले भने : फ्री तिब्बतसँग जोडेर बदनाम गर्ने नियोजित खेल

काठमाडौं – ‘हामी नेपाल’ संस्थापक सुदन गुरुङले आफ्नो अभियानलाई विदेशी

पर्सामा आइतबारदेखि हैजाको खोप दिइने

पर्सा – पर्साका १४ वटै स्थानीय तहमा आइतबारदेखि हैजाविरुद्धको खोप

शरणार्थी शिविरमा लागुऔषध कारोबारको आरोपमा आठ जना पक्राउ

झापा – झापाको दमक नगरपालिका-३ वेलडाँगीस्थित भूटानी शरणार्थी शिविरमा लागुऔषध

म्याग्दीका पशुगोठ ‘बुकी’बाट बेँसी झर्न थाले

म्याग्दी – म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका