काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले दुईतिहाई बहुमतको सरकारले अध्यादेशमार्फत कानुन बनाउनु सकारात्मक पक्ष नभएको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल, लुम्बिनी प्रदेश कार्यालय बुटवलले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै साउदले संसद् छलेर अध्यादेशमार्फत गएका कुराहरूले स्थायित्व दिन नसक्नेसमेत बताए ।
बहुमत हुँदा पनि संसद् बैठक नचलाएर बन्धक बनाउन खोज्दै अध्यादेशमार्फत कानुन बनाउँदा चौतर्फी प्रश्न उठेको उनले बताए ।
उनले अध्यादेशमार्फत ल्याइएका विषयवस्तुमा विपक्षी दलको पनि समर्थन हुने खालका विषय भए पनि संसदमा नलैजाँदा प्रश्न उठेको तर्क गरे ।
साउदले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले साथ दिएको बताउँदै सरकारले तदनुसारका क्रियाकलापहरू नगरेको गुनासो गरे ।
दुई दल बिचको न्यूनतम साझा सहमति कार्यान्वयन नभएको गुनासो आइरहेको भन्दै पूर्ण पालना गर्न उनले सुझाव समेत दिए ।
नेता साउदले संविधानलाई उन्नत बनाउने विषयमा राष्ट्रिय सहमति कायम गरेर परिणाम आउने गरी काम गर्नुपर्नेमा जोड दिए। संविधान संशोधन सम्बन्धी सञ्चारकर्मीको प्रश्नमा उनले अब संविधान सबैले सर्वस्वीकार्य हुने र अपनत्व गर्नेगरि संशोधन गर्ने बेला आएको धारणा राखे ।
प्रतिक्रिया