शैलुङमा सम्मोहित ७८ वर्षीय वृद्ध – ‘यतै बसौँ झैँ लाग्यो’ | Khabarhub Khabarhub

शैलुङमा सम्मोहित ७८ वर्षीय वृद्ध – ‘यतै बसौँ झैँ लाग्यो’



दोलखा – शैलुङ गाउँपालिकामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल शैलुङ डाँडा ! प्रकृति र अध्यात्मको दोभानै हो भन्दा पनि फरक नपर्ला । यहाँ पुग्दा तन र मनमा छुट्टै ऊर्जा भरिन्छ । भनिन्छ – शैलुङले मनका दुःख पीडालाई हटाएर मनमा शान्ति छाइदिन्छ ।

रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीय क्षेत्र हो शैलुङ ! तामाङ भाषामा ‘शैलुङ’ शब्दको नेपाली अर्थ सय थुम्का हुन्छ । जहाँ कुनै अग्ला र कुनै होचा थुम्का छन् ।

यी सय थुम्का चढेर हेर्दा चाँदीका लहरजस्तै टल्केका हिमाल देखिन्छन् । जहाँबाट गौरीशंकर, सगरमाथा पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङ, गणेश हिमाल, लाङटाङ, सगरमाथा र नुम्बुरसम्म दर्जनौँ हिमाल प्रष्ट देखिन्छ ।

धार्मिक रूपमा पनि शैलुङ हिन्दू र बौद्ध धर्मावलम्बीको संगमस्थल हो । हिन्दूहरू यस क्षेत्रलाई शिवको तपोभूमि मान्छन् । बौद्धधर्मावलम्बीहरू बुद्धले पाइला टेकेको ठाउँको रूपमा लिने गर्छन् ।

यस क्षेत्रमा रहेको शैलुङ गुम्बा, शैलुङ महादेवको मन्दिर, धर्म गुफा, गाईको खुर र थुनजस्ता देखिने आकृति यस क्षेत्रका धार्मिक केन्द्र हुन् । शैलुङ क्षेत्रमा धर्म ढोका, १२ वर्षमा एक पटक गोदावरी फुल्ने ठाउँ, महादेव मन्दिर, हनुमान गुफा, डाँफे ढुङ्गा, जरेश्वर महादेव, गाई ढुङ्गा, बाघ ढुङ्गा जस्ता धार्मिक एवम् प्राकृतिक सुन्दरताका थलो छन् ।

धार्मिक हिसाबमा पनि यो क्षेत्र हिन्दू र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र तीर्थस्थल हो । बौद्ध धर्मावलम्बीका लागि शैलुङडाँडामा बौद्ध चैत्य र हिन्दूका लागि शैलुङ महादेवस्थान छ ।

यहाँ हरेक वर्ष बौद्ध पूर्णिमामा लाग्ने जात्रा एवम् गुफा बस्ने प्रचलन परापूर्वकालदेखि चलेको छ । यसबेला हजारौँ भक्तजन शैलुङडाँडामा लामा गुरुबाट बौद्ध चैत्यको दर्शन तथा पूजा–अर्चना गर्छन् ।

यस्तै प्रत्येक १२ वर्षमा लाग्ने गोदावरी नुहाउने मेला तथा शैलुङ महादेवको दर्शन गर्नाले पुण्य कमाइने विश्वास छ । बुद्धपूर्णिमा, बालाचर्तुदशी, तीज र नयाँ वर्ष लगायतका मुख्य चाडपर्वमा यहाँ पर्यटकको घुइँचो हुन्छ ।

सय थुम्काको शैलुङ डाँडा समुद्री सतहदेखि करिब तीन हजार चार सय मिटर उचाइमा छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको सङ्ख्या विस्तारै बढ्दै जाँदा स्थानीय व्यवसायी पनि खुसी छन् ।

भीमसेन महाराजको तरबार

हिन्दूहरूको पर्व भीमा एकादशीको दिन शैलुङ डाँडामा रहेको भीमसेन तरबार शिलापूजा गरिएको छ । किंवदन्तीमा पाँच पाण्डव मध्यको भीमसेन दोलखाबाट शैलुङको बाटो हुँदै नेपाल मण्डल जाने क्रममा शैलुङ डाँडामा तरबार बिसाएर विश्राम गरेको र हिँड्ने बेला तरबार त्यही छोडिएको भन्ने छ ।

तीन हजार १४८ मिटरको उचाइमा रहेको शैलुङको सय वटा थुम्कामा ऋषिहरूले तपस्या गरेको किंवदन्ती समेत रहेको छ । तामाङ भाषामा ‘शै’ को अर्थ सय र ‘लुङ’को अर्थ थुम्का हुने र उक्त ठाउँमा सय वटा थुम्का रहेकोले शैलुङ नामाकरण भएको स्थानीय ७६ वर्षीय दोषी शेर्पा बताउँछन् ।

भीमसेन सत्यका र बलका देवता हुन् । यहाँ आएर दर्शन गर्दा फलिफाल हुने स्थानीय नामगेल तामाङ बताउँछन् । स्थानीय तहले र वडाध्यक्षले यहाँका समस्या र यसलाई अझै कसरी अगाडी बढाउने भन्नेबारे योजना अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

भर्खरै बनेको मिनी ग्रेटवालले पनि पर्यटकलाई लोभ्याएको उनको ठम्याइ छ । शैलुङ अहिलेसम्म सय थुम्काले मात्र चिनिएको छ तर यहाँ धेरै संरचना गुम्बा मन्दिर भ्यूटावर रहेको उनी बताउँछन् ।

पर्यटकहरू यहाँ आएर धेरै हिमाल देख्दा खुसी भएर फर्किएको देख्दा निकै खुसी लाग्ने उनी बताउँछन् ।

‘शैलुङमा विस्तारै विकास भइरहेको छ स्थानीय तहले वडाले गर्ने काम त गरिनै रहेको छ तर अझै पनि पुगेको छैन ।’ उनी भन्छन्, ’यहाँ औतारीको पाइलो महादेव स्थान, धर्मद्वार छन् ।’

अहिले भएको मिनी ग्रेटवाल जम्मा ९०० मिटरको जीपीआरमा ५०० मिटर बनिसक्यो अब प्रदेश सरकारले ४०० मिटरको ठेक्का लगाइदिए देखि अझ बाहिरी मान्छे भित्रिन्थे कि भन्ने उनको आशा छ ।

रामेछाप पुँडीका ७८ वर्षीय दोर्जे लाक्पा शेर्पा (तमाङ) लट्ठी टेकेर माथि गुम्बाबाट लट्ठी टेकेर फर्किँदै थिए । शैलुङमा उनको पहिलो भ्रमण थियो ।

अरूले राम्रो छ भनेको सुनेर आएको उनले बताए । हाँस्दै भने, ’शैलुङको सुन्दरताले यही बसौँजस्तो भएको छ, तर के गर्नु !आफ्नो घर त जानैपर्‍यो ।’

पर्यटक लोभ्याउँदै मिनी ग्रेटवाल

शैलुङको कालापानीबाट माथि थुम्का जाने बाटोमा चीनको चीनको ग्रेटवालको झल्को दिने ढुङ्गाको सिँढीसहितको पर्खाल बनाइएको छ । यो सिँढीबाट शैलुङका थुम्कामा जान सहज हुने स्थानीय नामगेल तामाङको भनाइ छ ।

सिँढीले धेरै पर्यटक लोभ्याएको उनको ठम्याइ छ । शैलुङमा पहिला छुट्टै अहिलेको सिँढी तलबाट हिँडेर जानु पर्ने समस्या थियो । बाटो भुल्ने र जंगली जनावरको समेत डर हुने हुन्थ्यो । तर अहिले त्यो समस्या हटेको छ ।

कालापानीबाट शैलुङ डाँडा अर्थात् थुम्का गुम्बासम्म पुग्दा धेरै स्थानीयले जागिर पाएका देख्न सकिन्छ । धेरैले सानातिना पसलहरू लिएर बसेका छन् ।

सिँढी नहुँदा विगतमा पर्यटकले बाटो भुल्ने गरेका थिए । बाटो भुल्दा निकै कष्टकर यात्रा गर्नुपर्ने बाध्यता थियो । तर अहिले त्यो बाध्यता छैन ।

शैलुङको कोसेली चौँरीको छुर्पी र आलु

हाम्रा देशका विशेषगरी लेकाली भेगमा दूधका परिकार नै कोशेली हुने गर्छन् । त्यस्तै शैलुङमा नि पहिला चोरी चढाउने र पाल्ने गरेको स्थानीय दोषी शेर्पा बताउँछन् ।

शैलुङमा चौँरीको दूधबाट उनीहरूले मीठो छुर्पी, चिज बनाउँछन् । घुम्न आएका पर्यटकले कोशेलीका रूपमा त्यही छुर्पी चिज किनेर लागे गर्छन् ।

शैलुङमा व्यवसायिक तरकारी खेती पनि गरिन्छ । लेकको चिसो हावापानीमा उत्पादित आलु, काउली, बन्दा, केराउ, मटरकोसा धेरै फल्ने गर्छ ।

कसरी पुग्ने शैलुङ सय थुम्का ?

तामाङका अनुसार बिहान ७ बजे काठमाडौंको जडीबुटीमा शैलुङेश्वरी यातायात जसमा शैलुङ कालापानी भनेर प्लेट टाँसेको बस लाग्छ ।

‘आज काठमाडौंबाट आएको बस भोलिपल्ट ७ बजे दोलखाको सदरमुकाम चरिकोट जान्छ र अर्को बस ११ बजे काठमाडौंँ फर्किन्छ,’ उनी भन्छन् ।

काठमाडौँबाट दोलखा जाने बाटोमा पर्ने मुडेबाट चरिकोट जाने सडक छोडेर दायाँको सडक भएर जान सकिन्छ । करिब १३० किलोमिटर सडक पार गरेपछि शैलुङको सय थुम्का पुग्न सकिन्छ ।

अर्को – काठमाडौंबाट मुडेसम्म पुगेपछि चरिकोटतर्फका लागि दायाँबाट बाघखोरतर्फ जानुपर्छ । लामोसाँघु जिरी सडक खण्डअन्तर्गत तामाकोसी बजार हुँदै चर्णावतिधाम पुगेर फस्कु हुँदै पनि शैलुङ डाँडामा पुग्न सकिन्छ । रामेछापको दोरम्बाबाट शैलुङ पुग्ने अर्को बाटो पनि छ ।

अहिले शैलुङको कालापानीमा बास बस्नका लागि पर्यटक लक्षित होटलहरू पनि खुलेका छन् । अझै खुल्ने तयारीमा छन् ।

‘ट्राभल एजेन्सीले ध्यान दिनुपर्छ’

टूरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)का अध्यक्ष थानेश्वर देवकोटा शैलुङमा वाह्य पर्यटक पुर्‍याउन पहल गर्नुपर्ने बताउँछन् ।

‘वाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न शैलुङ गाउँपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृत आएर नेपाल पर्यटन बोर्डका पदाधिकारीसँग छलफल गर्नुपर्छ’, देवकोटाले भने, ‘पर्यटन बोर्डले शैलुङलक्षित पर्यटन विकासका कार्यक्रम अघि बढाउन सक्छ, त्यसपछि ट्राभल एजेन्सीहरूले प्याकेज बनाएर शैलुङसम्म पर्यटक लैजान सक्छन् ।’

सबैभन्दा पहिले शैलुङको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने देवकोटाले जनाए । ‘शैलुङमा के के छ भनेर पहिला हाम्रा ट्राभल एजेन्टहरूलाई थाहा हुनुपर्छ’, उनले थपे, ‘सबै कुरा थाहा भएपछि मात्र हामी त्यहाँ पर्यटकहरू पठाउँछौँ ।’

शैलुङलाई पर्यटन गन्तव्य बनाउन पर्यटनकर्मी तयार रहेको बताउँदै देवकोटाले भने, ‘त्यहाँ यो–यो कार्यक्रम छ, प्रवर्द्धन गर्नुपर्‍यो भनी स्थानीय पालिकाको पत्र पर्यटन बोर्डमा पठाएपछि हामीले पनि पहलकदमी लिन सक्छौँ ।’

पर्यटन बोर्डमा पत्र आएपछि होमस्टे (घरबास) प्रवर्द्धन हुने र पर्यटक लैजान सकिने देवकोटाले सुझाए । हाल होमस्टेलाई पर्यटन बोर्ड र गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भीटोफ)ले पनि सहयोग गरिरहेका छन् ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १ : ३७ बजे

कर्णाली सरकारले प्रदेश निजामती सेवा ऐन संशोधन गर्ने

काँक्रेविहार– कर्णाली प्रदेश सरकारले २०८० मा जारी गरेको निजामती सेवा

संसद् रोकेर ल्याएका अध्यादेश सरकारलाई निल्नु न ओकल्नु

काठमाडौं– संसद्को हिउँदे अधिवेशन सुरु हुनुअगाडि ल्याइएका ६ वटा अध्यादेशका

मन्त्रिपरिषद् निर्णय : बीस लाख अमेरिकी डलर अनुदान स्वीकार

काठमाडौं– सरकारले एसियाली विकास बैंकको ‘एसिया प्यासिफिक डिजास्टर रेस्पोन्स फन्ट’

लुम्बिनी र गण्डकी प्रदेश सरकारका २१ बुँदे साझा प्रतिबद्धता

गण्डकी– लुम्बिनी र गण्डकी प्रदेश सरकारले दुवै प्रदेशको रणनीतिक विकास

बालेन भन्छन्- नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा दाँजेर मूल्याङ्कन गरौँ

काठमाठौं– काठमाडौं महानगरका प्रमुख बालेन्द्र(बालेन) शाहले नतिजालाई खर्चमाभन्दा भौतिक उपलब्धिमा