काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय ! « Khabarhub

काठमाडौंमा मेलम्चीको बाढी : न जलदबाब परीक्षण, न त अन्तरनिकाय समन्वय !

‘दातादेखि ठेकेदारसम्मले गुणस्तरहीन काम गरेका छन्‌’


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : सङ्घीय प्रशासनिक केन्द्र सिंहदरबारबाट नजिकै रहेको बबरमहल बुधबार (आज) दिउँसो जलाम्मे भयो । वरपर रहेका सरकारी कार्यालय पनि डुबानमा परे । कार्यकक्षभित्रै पानी पसेपछि कर्मचारी र सुरक्षाकर्मीहरू कागजातका फाइल र उपकरणहरू सुरक्षित स्थानमा लैजान व्यस्त रहे ।

नेपाल विद्युत प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप नै फुटेर ६ लेन सडक नै डुब्यो । माइतीघर–तीनकुने सडकखण्डका दायाँबायाँ रहेका वन परिसर, विशेष र जिल्ला अदालत नै डुबानमा परे । यी सरकारी निकाय र वरपरका भवनमा भेल होइन, अचानक बाढी नै पस्यो ।

बाढीग्रस्त क्षेत्रमा यतिखेर सुरक्षाकर्मी खटाइएका छन् । सेनासमेत परिचालन भएको छ । बबरमहल वरपरका बस्तीमा फसेका नागरिकलाई उद्दार गर्न यतिखेर ‘रेस्क्यू’ अप्रेशन नै चलाइएको छ । बाढीले डुबान गर्दै जाँदा थापाथलीस्थित पराेपकार मातृशिशु अस्पतालमा समेत उद्दार निम्ति सुरक्षाकर्मी खटाइएको छ ।

आज चलेको बाढी अचानकको हिउँदे वर्षा या अन्य प्राकृतिक कारण निम्तिएको होइन । सरकार र राज्यसंयन्त्रलाई नै लज्जित बनाउनेगरी सिंहदरबारको छेवैमा बाढी चल्नुको मुख्य कारण गम्भीर मानवीय लापर्बाही हो ।

यो पनि –

मेलम्ची खानेपानीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

एसियाली विकास बैंक (एडीबी) को ऋण सहायतामा सिन्धुपाल्चोकको मेलम्ची नदीलाई सुरुङमा हुलेर काठमाडौंमा पानी ल्याइएको छ । खानेपानी आवश्यकता परिपूर्ति गर्न भनी ल्याइएको पानी वितरणको काम काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गर्छ ।

पाइप बिछ्याउने काम आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले गरेको थियो । आजको बाढीको मुख्य कारक पीआईडीकै लापर्बाही भएको खानेपानी मन्त्रालयका अधिकारीहरूले बताएका छन् ।

यो पनि –

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

‘तत्काललाई प्राधिकरणले भूमिगत तार बिछ्याउन ड्रिलिङ गर्दा पाइप फुटेको भनिएपनि यसमा पीआईडीकै कमजोरी छ’, मन्त्रालयका एक सहसचिवले भने, ‘काठमाडौंका अधिकांश स्थानमा एडीबीको परामर्शदाता र ठेकेदारसमेत खटाएर पाइप बिछ्याएको पीआईडीले सुरुमै जलदबाब परीक्षण (वाटरटाइट टेष्ट) नै गरेको थिएन, जुन गर्नु अनिवार्य थियो ।’

खिया र जोखिम प्रतिरोधी भन्दै डक्टाइल पाइप खरिदमै गोलमटोल गरेको केयूकेएल र एडीबीलाई यस प्रकरणमा जिम्मेवार बनाउनुपर्ने ती सहसचिवले बताए । साथै, पाइप बिछ्याइएको क्षेत्रको अलाइन्मेन्ट नै अध्ययन नगरी सडक खोतलेको नेपाल विद्युत प्राधिकरण पनि कारबाहीको भागीदार हुनुपर्ने उनको भनाइ छ ।

एडीबीको ऋण लिएर खानेपानीका लागि बिछ्याइएको पाइप फुट्दा यसअघि पनि काठमाडौं उपत्यकामा दुर्घटना भइसकेको छ । पानी पठाउँदा सडकमुनि गाडिएको पाइप पड्किएर बनेको खाडलमा कहिले मोटरसाइकल त कहिले बस नै फस्ने गरेका छन् ।

गएको असार १९ गते सोह्रखुट्टे–बालाजु सडकखण्डमा मेलम्चीको पानी वितरणका लागि जमिनमुनि गाडिएको पाइप फुट्दा पठाओ चालक मोटरसाइकलसहित डुबेका थिए । पानी वितरण प्रणाली क्षतिग्रस्त हुँदा मुख्य सडकको बीचमै ११ फिट गहिरो खाडल परेको थियो ।

गएको भदौ २९ गते ललितपुरको कुपण्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा मुख्य सडक नै भासिएर भ्वाङ परेको थियो । २०७९ मंसिर ७ गते मेलम्ची खानेपानी आयोजनाले बिनासूचना र तयारीबिनै पानी वितरण गर्दा पाइपको गास (जोइन्ट) फुटेर लैनचौर क्षेत्र जलमग्न भएको थियो ।

केयूकेएलको पीआइडीले सन् २०१३ देखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी वितरणका लागि पाइप बिछ्याउन थालेको थियो । चक्रपथभित्र मात्रै एक हजार किलोमिटरभन्दा बढी पाइप बिछ्याएको छ । तर सुरुमै पानी वितरण गर्दा, ढल र सडक बनाउँदा तथा विद्युतको तार भूमिगत गर्दा मेलम्ची आयोजनाको पाइप निरन्तर फुट्ने गरेको छ ।

पूर्वाधारविद् डा. सूर्यराज आचार्य मेलम्ची खानेपानी वितरण प्रणालीको पाइप फुट्नुमा दातादेखि नेपाल सरकारको तालुक निकायसम्मले लापर्बाही गरिरहेको बताउँछन् ।

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्दा फुट्यो मेलम्चीको मुख्य पाइप

‘पाइपबाट जताततै सडकमा पानी निस्किएको छ । त्यो हदैसम्मको लापर्बाही हो । जमिन खनेर ठूला पाइप राखेर जोडेपछि वाटरटाइट छ कि छैन भनी परीक्षण गर्नुपर्छ’ डा. आचार्य भन्छन्, ‘माटोले पर्नुभन्दा पहिले नै त्यो काम गर्नुपर्छ । पाइपबाटै पानी आएन भने ट्याङ्करको पानी ल्याएर भए पनि आवश्यक प्रेसर दिएर पाइपभित्र पानी पठाउनुपर्छ । लागत इस्टिमेटमा त्यो काम गर्ने रकम जोडेको छ ।’

तर, नेपालको सरकारी निकायका अधिकारीहरू, परामर्शदाता, ठेकेदार र ऋणदाताका प्रतिनिधिको मिलेमतोमा उक्त काम नभएको आचार्यले बताए ।

‘उनीहरूले ठेकेदारलाई पाइप जोड्न लगाए, तर टेस्ट गर्न लगाएनन् । माटो भरेर माथिबाट सडक पीच गरिदिए । पाइप राम्ररी सेट नै नगरेकाले पानी लिक भएर त्यसको प्रेसरले ठाउँठाउँमा सडक नै भ्वाङ पारिरहेको छ ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : २० बजे

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

काठमाडौं– आगामी आर्थिक बर्षका काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश–मानसरोवरमा पहिलो पटक योगाभ्यास हुँदै 

काठमाडौं– विश्व शान्ति तथा आध्यात्मिक समाजले अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा

अन्तर्राष्ट्रिय योग दिवसमा कैलाश मानसरोवरमा योगाभ्यास हुने

काठमाडौँ– अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा यस वर्ष पहिलो पटक कैलाश–मानसरोवर

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त