सुनसरी – भाषा विज्ञान र आनुवंशिकताबारे खोज अनुसन्धान गरिरहेका विश्वप्रसिद्ध भाषा वैज्ञानिक जर्ज भान ड्रिम (George van Driem) ले यसैसाता ‘लिम्बू भाषाको व्याकरण’ बजारमा ल्याएका छन् ।
आफूलाई नेदरल्याण्डमा बोलिने डच भाषामा ‘सर्स भन् दृम’ भन्न रुचाउने ड्रिमको ‘अ ग्रामर अफ लिम्बू ः बेसेड अन द फेदाप डाइलेक्ट अफ द ओल्ड लिम्बू हर्टल्याण्ड’ पुस्तक प्रकाशित भएको हो ।
पुस्तकलाई अन्तिम रुप दिने क्रममा ४२ बर्षपछि तेह्रथुमको मेयङ्लुङ (म्याग्लुङ) नजिकैको तम्फुलामा ड्रिम एक साता बास बसे । त्यहाँ आउनुको कारण विगतमा घटेका फलदायी घटनासँग उनको लामो कथा जोडिएको छ ।
जगदम्बा प्रकाशनले छापेको ७२२ पृष्ठको उक्त लिम्बू व्याकरणको पुस्तक तयार गर्न उनले ४२ बर्ष अघि तम्फुलास्थित नारायण प्रसाद पङ्याङ्गुको घरमा बसेर अनुसन्धान गरेका थिए ।
लिम्बू व्याकरणको खाका तयार गर्न गाउँ घुम्दा उनी २४ बर्षका जवान थिए । अहिले उनी ६७ बर्षका भए ।
उनले जुन ठाउँमा बसेर लिम्बू व्याकरणको खाका तयार गरे, हो त्यही ठाउँमा स्थानीय विमोचन गर्न र पुराना यादहरुलाई ताजा बनाउन उनले पूर्वी नेपालमा एक साता बिताए ।
लिम्बू भाषाको व्याकरणमाथि भानले विद्यावारिधि गरेका छन् । उनलाई डच, जर्मन, फ्रेन्च, रसियन, हिन्दी, संस्कृत, लिम्बू, जोङ्खा, अंग्रेजी लगायत करिव १४ भाषा बुझ्छन् र बोल्न सक्छन् ।
राष्ट्रिय भाषानीति सुझाव आयोगलाई बैरागी काइला (तिल विक्रम नेम्बाङ) सँगको समन्वयमा उनले भाषा वैज्ञानिकको स्तरबाट मातृभाषाको माध्यमद्वारा प्राथमिक शिक्षाको आवश्यकतामा जोड दिएका छन् ।
आफ्नो भाषा बचाउनका लागि घरपरिवारमा सन्तानसँग मातृभाषामा बोल्नुपर्छ, नत्र अर्को पुस्तामा भाषा मर्छ भन्दै आएका उनी भाषा वैज्ञानिक मात्र नभएर मानवशास्त्रीय दृष्टकोणमा आधारित आनुवांशिक (न्भलभतष्अ) अनुसन्धाता र इतिहासकार पनि हुन्।
भानले लिम्बूको व्याकरण मात्र लेखेका छैनन्, उनका ‘अ ग्रामर अफ दुमी, ल्याङ्ग्वेजेज अफ द हिमालयन, ‘द टेल अफ टि’ ‘जोङ्खा ग्रामर’ लगायत पुस्तक पनि प्रकाशित छन् । धेरै जर्नलमा अनुसन्धानात्मक लेखहरु धेरै प्रकाशित छन् ।
भाषा र भूगोलका समेत अध्येता रहेकाले भानले एसियाली हिमाली भेगका भाषा र ती भाषा बोल्ने मानिसको जिनको अध्ययन गरेर विश्व प्रसिद्ध वैज्ञानिक जर्नल नेचरमा अनुसन्धानात्मक लेखहरु प्रकाशित गरेका छन् ।
स्वीटजरल्याण्डको बर्न विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका उनी विश्वका विभिन्न विश्वविद्यालयमा भिजिटिङ प्रोफेसर भए । हालै मात्र औपचारिक प्राध्यापन पेशाबाट अवकास लिए पनि उनी थप अनुसन्धान र पुस्तक लेखनमा व्यस्त भएका छन् ।
नेपाली नाम सुरेश राखेका उनै विश्व प्रसिद्ध अध्येता, अनुसन्धानदाता जर्ज भान ड्रिमसँग धरानमा खबरहबका लागि प्रदीप मेन्याङ्बोले लिम्बू भाषाको व्याकरणको सेरोफेरोमा लिएको कुराकानीको सार संक्षेप –

तपाईको पूरा नाम जर्ज भान ड्रिम ?
अंग्रेजी बोल्ने मान्छेले भन्यो भने मेरो नाम त्यस्तै आउँछ । तर डच भाषाबाट ‘सर्स फन् दृम’ भन्छ । तर, अंग्रेजहरुले उच्चारण बिगार्छ अनि जर्ज बनाइदिन्छ । (हाँसो)
तपाईलाई लिम्बू व्याकरण लेख्ने प्रेरणा कसरी जाग्यो ?
म भाषा विज्ञानको विद्यार्थी हुँदा भविष्यमा केही गरौं कि जस्तो लाग्यो । भाषा विज्ञानमा अनसन्धान गर्न पाउँदा राम्रो लाग्थ्यो । तर, मलाई वास्तवमा केही थाहा थिएन । अहिले मलाई धेरै थाहा छ । मैले विभिन्न विश्वविद्यालयमा दशकसम्म प्राध्यापकका रुपमा पढाएको छु । प्राध्यापकहरुले विद्यार्थीको हल्का जासुस पनि गर्छ । यो विद्यार्थी अलि राम्रो छ, यो विद्यार्थीको भविष्य अर्कै क्षेत्रमा हुन सक्छ भनेर । जो मान्छे भाषा विज्ञानमा रुची छ, त्यसलाई प्राध्यापकरुले विषेश गरी पीएचडीको विद्यार्थीका रुपमा लिन खोज्छ ।
म त्यस्तै २४ बर्षको थिएँ होला । दुईजना बुढा प्राध्यापक, एकजना जर्मनीको युरोभेस्त किल भन्ने र अर्को हल्याण्डको पुरानो लेइडेन युनिभर्सिटीको प्राध्यापक फ्रेडले मलाई समाएर लिम्बूवानको भाषा अध्ययन अनुसन्धान गर्न जाउ भने । उनीहरुले नेपालमा जाउ र त्यहाँ नेपाली भाषा सिक भने । किनभने तिमीलाई हिन्दी भाषा पनि आउँछ ।
लिम्बुवानमा लिम्बू भाषा अनुसन्धान गर भने । आदेश जस्तो आयो । म तुच्छ विद्यार्थी भएर हुन्छ हजुर भनेर नेपाल आएँ ।
मलाई थाहा थिएन कहाँ जाने, कहाँ जाने । लिम्बुवान खोज्न थालेँ । तेह्रथुम पुगेर लिम्बूहरुको खोजीमा लागें ।
तम्फुला पुगेर ?
पहिला म मेयङलुङ (सदरमुकाम म्याङलुङ) बजारमा पुगेँ । त्यहाँ मैले बाहुन, क्षेत्री, नेवार बाहेक त्यति धेरै लिम्बूहरु भेटेको थिइनँ । अनि जो लिम्बू त्यहाँ थियो, जिल्ला पञ्चायतमा काम गर्ने ठूला मान्छेहरुहरुलाई मसँग कुरा गर्ने समय नै थिएन । बजारमा बस्ने लिम्बूहरुले त्यति धेरै लिम्बू भाषामा कुरा गरेनन् । आपसमा सबैजना त खस कुरा, मतलब, नेपाली–गोर्खाली भाषा बोल्दै थिए । कसरी लिम्बू सिक्ने ? जो लिम्बूसँग भेट भयो, मैले प्रश्नहरु सोध्ने गरे पनि प्रगति भएन ।
त्यसबेला तपाईलाई नेपाली बोल्न आउँथ्यो ?
आउँथ्यो । मैले हल्याण्डमा तीन महिना नेपाली भाषा सिकेको थिएँ । लण्डनबाट ल्याएको क्यासेट सुनेर सिकेको थिएँ ।
तेह्रथुमको मेयङ्लुङमा एक सातासम्म अल्मलिएँ । मैले खोजेको उत्तर पाउन सकिरहेको थिइनँ । त्यसैबेला मैले तम्फुला बस्ने नारायण प्रसाद पङ्याङ्गु भेटें । उनले पनि मलाई पहिलेदेखि नै नियालिरहेका रहेछन् ।
उनलाई याङ्सुरुम्बा (साइला) भन्छन् । उनले मलाई देखेर त्यो मिक्फुला (कुइरे) हाम्रो बजारमा केही गर्दै खोज्दै हरेक दिन बाहिर निस्कँदै लिम्बू भाषामा सोध्दै गरेपनि उसको केही प्रगति भएको छैन भन्ने सोचेछन् ।
मैले सही उत्तर दिने मान्छे नै भेटेको थिइनँ । व्याकरणात्मक, विष्लेशणात्मक दृष्टिकोणबाट बनाएका प्रश्नहरुको उद्देश्य नारायण प्रसाद पङ्याङ्गुले बुझिसकेका थिए । अनि यो व्याकरणको क्रियाको रुप सबै निकाल्न खोज्नुभएको हो भने ल मसँग आउनुस, हाम्रो तम्फुलामा झरौं । त्यहाँ आँगनमा बसौं अनि कुरा गरौं भने ।
पहिलो दिन दुई–अढाई घण्टा बसेर मेरो दुई हप्तामा नभएको प्रगति कत्ति धेरै भयो । त्यसपछि उनले मलाई भने, ‘यहाँ आउनुस् घरैमा । त्यहाँ बजार (मेयङलुङमा) अड्केर बसेको के फाइदा ?’
जे होस् नारायण प्रसाद पङ्याङ्गुले एकजना मिक्फुलाले लिम्बू भाषा सिक्न र केही गर्न खोज्दै छ भन्ने पहिचान गरेछन् होइन त ?
हो, हो । विषेश गरी लिम्बू भाषाको क्रिया, रुपशास्त्रका बारे सबैको उत्तर दिएर एकदम सन्तुष्ट पारे । त्यहाँको परिवारभित्र, गाउँघर, छिमेकी र लिम्बू भाषा बोल्ने समुदायभित्र हामी त दिनभर लिम्बूमै बोलेको बोलेकै । मैले ‘पेनि पान मेम्वापे हो, याक्थुङबा पान पात्ले हो’ (बाहुनले बोल्ने नेपाली भाषा नबोली याक्थुङ लिम्बू भाषा मात्र बोल्ने है) भनेर मलाई लिम्बूमात्र बोल्न कर लगाएर अभ्यास गर्न सकेँ ।
अहिले लिबोङ् तङ्बे (४२ बर्ष) भइसक्यो । त्यतिखेरको कुरा अहिले केरेक निङ्वा मुछुदेसुङ् (सबै बिर्सिसकें) । तर, त्यतिखेर मलाई राम्रोसँग आयो । त्यतिखेर त्यो व्याकरण दैनिक व्यवहारका रुपमा आउने (लिम्बूले बोल्ने क्रिया र रुपशास्त्र) पत्ता लगाउन सकेको थिएँ । यत्ति समृद्ध र धनी व्याकरण भएको याक्थुङ लिम्बू भाषा दुनियाँमा कम भेटिन्छ । छ, कुनै–कुनै ठाउमा । तर, लिम्बूको टपमै रहेछ ।
त्यसबेला तम्फुलामा कति दिन बस्नुभयो ?
म ०३९ सालमा आएको थिएँ । लगभग एक बर्ष जति बसें होला । म तीन महिनाजति मात्र बस्न पाउथेँ (भिसाको कारण) ।
तर, म दार्जीलिङ गएर फेरि तीन महिना आउन मिल्थ्यो । त्यसपछि हल्याण्ड गएर तम्फुलामा टिपेका कुराहरु कम्प्युटरमा राख्नु पर्नेथियो ।

त्यसबेला कम्प्युटर थियो ?
त्यतिखेरको कम्प्युटर आजकलको जस्तो थिएन । वास्तवमा एउटा टाइपराइटर जस्तै मात्रै थियो । त्यसैले लेखेको कुरा फेरि दोहोरोलेख्नु प¥यो । धेरै झण्झटिलो कम्प्युटर थियो ।
फेरि आउँदै जाँदै गरेर बीचबीचमा मैले याङ्सुरुम्बा (नारायण प्रसाद पङ्याङ्गु) सँग भेट गरें । किनभने हामी त्रिभुवन विश्वविद्यलाय र हल्याण्डको विश्वविद्यालयको मिलापअन्तर्गत त्यो वंशानुगत गुणको अनुसन्धान पनि गर्दै थियौं । त्यसमा हाम्रो याङ्सुरुम्बा पनि सहभागी थिए ।
भाषा र व्याकरणसँगै वंशाणुगत गुण अध्ययन अनुसन्धानमा पनि लागिरहनु भएको थियो ?
हो । वास्तवमा मेरो पहिलेको पढाइ जीवशास्त्र (बायोलोजी) थियो । त्यसमा जिनको अध्ययन पनि हुन्छ । जिनेटिक्स पनि एक भाग हो । बोटनी, जुओलोजी पनि पढें । तर, मैले प्रयोगशालामा पढ्न र काम गर्न नचाहेर भाषा ज्ञान पढ्न थालें । किनभने मलाई सबै मान्छेसँग छलफल गर्न झन रमाइलो लाग्छ । त्यतिखेर म धेरै जवान थिएँ । प्रयोगशालाभित्र थुनिएर काम गर्दा रमाइलो लागेन । त्यसैले मेरो पढाइ अलि ढिलो भयो ।
तपाईले अध्ययन गर्नुभएको लिम्बू भाषा र व्याकरणमा भएको सौन्दर्यशास्त्र अर्थात रुपशास्त्रको उदाहरण बताइदिनोस् न, अरु भाषासँग तुलना गरेर ।
जस्तो– भारोपेली अथवा इण्डोयुरोपियन भाषा व्याकरण अनुसार क्रियाको रुप कस्तो हुन्छ ? नेपाली भाषा भारोपेली भाषा हो ।अनि हिन्दीभन्दा नेपालीको व्याकरण पुरानो छ । सक्कली असली हो । हामी गर्र्छु भन्दैनौं, म गर्छु, तँ गर्छस्, ऊ गर्छ, हामी गर्छौं, तिमी गर्छौ, उनीहरु गर्छन्, मैले गरें, तैले गरिस्, त्यो अनुसार क्रियाको नियमित रुप परिवर्तन हुन्छ । ल्याटिन भाषा पनि यही हो ।
जस्तो– ल्याटिन, प्राचीन रोम साम्राज्यको प्राचीन भाषामा अमा रे भनेको माया गर्नु हो । त्यसको क्रिया पनि गर्छु, गर्छस् भनेजस्तै हुन्छ । जस्तो– आमो, आमास्, आमात्, आमामुस आदि । यो एउटा प्रणाली हो । त्यो विषयअनुसार, जस्तो– मैले गरें, तैंले गरिस् ।
तर लिम्बू भाषामा विषय (कर्ता) मात्रै होइन, क्रियाले कर्ता र कर्म दुईवटै हेर्छ । अनि त्यो रुप झन धेरै हुन्छ । जस्तो– उसले मलाई हिर्कायो (हिप्ताङ्) । तिनीहरुले मलाई हिर्काए (मेहिप्ताङ्) । म तपाईलाई हिर्काउँछु (हिप्ने) । अनि, दुईजना भएमा हिप्नेछिङ् । धेरैजना भएमा खेनी हिप्निङ् । म उसलाई हिर्काउँछु भन्दा आङ्गा खुने हिप्तुङ् । धेरैजना भए तिनीहरुलाई हिप्तुङ्सिङ हुन्छ ।
नेपाली र ल्याटिन भाषाको परिवर्तित रुप जति छ, त्योभन्दा लिम्बू भाषामा अझै धेरै आउँछ । किनभने क्रियाले कर्ता र कर्म दुबै हेर्छ ।
सर्वनाम पनि लिम्बू भाषामा नेपाली र अंग्रेजीमा भन्दा धेरै हुन्छ । किनभने अंग्रेजीमा ह्वी भनेको नेपाली भाषामा हामी भन्छौं । तर नेपाली भाषाको हामी भन्ने सर्वनामलाई बुझ्न लिम्बू भाषामा आनी, आनिगे, आन्छी, आन्छीगे गरी चारवटा रुप छ ।
अरु किराती भाषामा पनि छ । लोहोरुङ, वायुङ भाषामा पनि छ । जुन, भोट–बर्मेली भाषा पुरानो छ, असलीरुपमा व्याकरण रहेको छ, त्यस्तो भाषामा पनि हुन्छ । जस्तो– चीनको सिचुआनभित्र पर्ने झारोङ भाषिक समुदायमा लगभग १२ भाषा छन् । तिनीहरुको पनि एकदम पुरानो असली व्याकरण छ ।
तर, चीनको मेण्डारिन भाषा, बर्माको बर्मेली भाषा र तिब्बतको भोटे भाषामा सबै व्याकरण परिवर्तित रुपमा आएको छ । पहिलाको जुन क्रिया प्रणाली थियो, त्यो अहिले भेटिँदैन । त्यो व्याकरण हरायो ।
भनेपछि यो लिम्बूको भाषा व्याकरण क्रियापद (रुपशास्त्र) कति बर्ष पुरानो जस्तो लाग्छ तपाईलाई ?
यो प्रश्न त्यसरी सोधियो भने उत्तर दिन हल्का अप्ठ्यारो छ । किनभने, हरेक भाषा परिवर्तित हुन्छ । तर, अंग्रेजी भाषा हे¥यौं भने पहिला ‘म जान्छु’लाई ‘इग्ख गा’ भनिन्थ्यो । यो एक हजार बर्ष अगाडिको अंग्रेजी भाषा हो । ‘तँ जान्छस्’ लाई ‘सु गेस्त’, ऊ जान्छ लाई ‘हे ग्याफ’ भनिन्थ्यो । त्यो सबै परिवर्तन भयो । गो, गो मात्रै भयो । पुरानो सबै हरायो । ‘इग्ख’ त ‘आई’ भयो । ‘सु’ ‘द्यौउ’ भएर हरायो । अहिले ‘यु’ मात्रै भन्छ । ‘हे’ अहिले ‘ही’ भयो ।
पहिलाको किताव, जस्तो– विउल्फ अथवा महाराजा अल्फ्रेडले लेखेको किताव आजकलको विद्यार्थीले पढ्न सक्दैन । त्यो भाषा अध्ययन गरेर मात्र पढ्न सक्छ । किनभने एक हजार वर्षभित्र त्यति धेरै परिवर्तन भएको छ ।
अनि लिम्बू भाषामा पनि कुनै कुनै त परिवर्तन भयो होला । तर, पहिलेकै जस्तै छ धेरै कुरा । रुसको उपनिवेश जर्जिया हाल स्वतन्त्र मुलुक छ, त्यहाँ उनीहरुको भाषा लिखितरुपमा पाइन्छ । एक हजार पाँच सय बर्ष अगाडिदेखि उनीहरुको भाषा लिखित रुपमा पाइन्छ । त्यो भाषा आजकलका आधुनिक केटाहरुले सुने र लिखित किताव देखे भने प्रायः परिवर्तन भएको महसुस गर्दैनन् । पुरानै रुपमा छ । लिम्बू भाषा पनि जर्जियाको भाषाजस्तै पुरानो रुपमै छ ।
पुरै परिवर्तितरुपमा आएको भाषामा हान चाइनिज, हकेन, क्यान्टोनिज हुन् । तिब्बती पनि धेरै परिवर्तित रुपमा आएको छ । सातौं शताब्दीमा सम्बोटाको लिपि आउने समयमै तिब्बतीको भाषामा परिवर्तन आइसकेको थियो ।
बर्मेली भाषा पनि चीनको जस्तै पुरै पविर्तित भएको छ । उनीहरुको व्याकरणमा पुरानो कुरा भेटिए पनि लिम्बू भाषा जस्तो पुरानो रुपमा भेटिँदैन ।
जर्ज सर, यो लिम्बू भाषाको व्याकरण परिवर्तन नहुनुको पछाडि अलिखित भएर हो कि ? किनभने, लिम्बू भाषा सिरिजंगा लिपि आएपछि मात्र लेख्यरुपमा आएको भनिन्छ । लिम्बू भाषाका किताव भर्खरैदेखि मात्र छापिन थालेका छन् । श्रुति परम्परामै रहेकाले परिवर्तन नभएको हो कि ?
त्यो सोच्न सकिन्थ्यो । किनभने, धेरै मान्छेले त्यस्तो बारेमा सोचेका रहेछन् । तपाईले प्रश्नगरे जस्तै सोचेका रहेछन् । कुनै भाषाको लिपि हुन्छ, कुनै भाषाको हुँदैन । तर, लिपि भएको भाषा पनि धेरै छिटो परिवर्तन भएको हुन सक्छ । विस्तारै परिवर्तन भएको पनि हुन सक्छ । अनि लिपि नभएको भाषा पनि छिटो परिवर्तन हुन सक्छ वा विस्तारै परिवर्तन हुन सक्छ । कारण अर्कै हुनुपर्छ । लिपिसँग सम्बन्ध नहोला ।
जहाँ मान्छे धेरै शताव्दी, हजारौं बर्ष एकै ठाउँमा बस्छन्, अनि सामाजिक परिवर्तन कम हुन्छ, त्यहाँ धेरैजसो प्राचीनकालदेखिको निरन्तरता, स्थायित्व हुन्छ । शान्तमा बस्छन् । हुन सक्छ, आपसमा लड्छन् तर जहाँ धेरै लामो समयसम्म स्थायित्व हुन्छ, त्यहाँ भाषा त्यति धेरै परिवर्तन हुँदैन ।
बेलायतमा पुरानो अंग्रेजी बोल्ने मान्छे पाँचौं शताब्दी भन्दा अगाडि पुगेकै थिएन । त्यहाँ १५ सय वर्षअघिमात्र अंग्रेजी बोल्ने अंग्रेजहरु पुगे । त्यसअघि त त्यहाँ केल्टिक भाषा मात्रै बोलिन्थ्यो । अंग्रेजले केल्टिक भाषा बोल्ने जनतालाई आक्रमण गरेर आफ्नो सानो अधिराज्य स्थापना गरी शासन गर्न थाले । सबै अहिले अंग्रेजी बोल्छन् ।
सन् १०६६ सालमा फ्रान्सका राजा विलियम द कन्क्वेयरले बेलायतमा आक्रमण गरे । तीन शाताब्दीका लागि बेलायतमा अंग्रेजी भाषा बन्द गराए । उनले अदालत, सरकारी कामकाजमा चल्ने अंग्रेजी निषेध गरेर फ्रान्सिसी भाषा चलाए । अर्थात, तीन शताव्दी फ्रान्सिसी चलिसकेपछि मात्र बेलायतमा अंग्रेजी लिखित रुपमा भेटिन्छ ।
चौधौं शताब्दीका अंग्रेज कवि जेफ्री चाउसरले लेखेको क्यान्टरबरी टेल्सको भाषा र सातौं शताब्दीमा लेखिएको विउल्फ महाकाव्यको भाषा कति फरक छ ? यी दुई पुस्तकको लेखन समय पाँच सय बर्षको फरक छ । तर, पूरै परिवर्तित रुपमा आएको छ ।
त्यहाँ को बोल्यो त अंग्रेजी ? सर्वसाधारण, किसान, तल्लो वर्गका मानिसहरुले मात्र अंग्रेजी बोले । भन्न खोजेको के हो भने माथिल्ला वर्गले बोल्ने फ्रान्सिसी भाषाभन्दा शासित वर्गले बोल्ने अंग्रेजी भाषा बढी बोलचालमा आएकाले अंग्रेजीले जित्यो । तर, उनीहरुको भाषाभित्र कति वटा फ्रान्सिसी शब्द मिसिएर आए । त्यसरी त्यहाँ जहिले पनि आक्रमण र लडाइँ हुने भएकाले भाषाको रुप र व्याकरणमा परिवर्तन आयो ।
चीन भाषा पनि त्यस्तै हो । धेरै शताब्दीसम्म अर्को जातिले आक्रमण गर्ने, लडाइँ हुने र जित्नेले शासन गर्ने हुँदा चीनको मान्छेको जीन एकापसमा मिसिएको छ । हान चाइनिज भनेको एउटा ठिमाहा हो । कक्टेल जस्तो छ । तर, उनीहरुको सबैभन्दा ठूलो भाग भोट–बर्मेली (भाषा) सँग मिल्छ । भनेको, लिम्बू, मगरसँग मिल्छ ।
यहाँले कतिपय ठाउँमा भन्नुभएको छ भाषाको हिसाबमा लिम्बूको फेदाप, महाफेदापबाट त्यो भाषा चीनतिर गएको हो । तिब्बत हुँदै गएको हो । खासमा के होला ? अलिकति बुझाइदिनुस् न ।
मलाइ त नक्सा चाहिन्छ । अर्को, मेरो कितावमा छ । किनभने, भोट–वर्मेली भाषा परिवारमा लगभग ४०–४२ भाषा भाषाका शाखा छन् । ती हरेक शाखामा किराती, किरातीमा लिम्बू र राईमा धेरै छ । अनि सबभन्दा पुरानो रुपमा छथरे, ताप्लेजुङ्गे, फेदापे, पाँचथरे छन् । तर कम परिवर्तित छन् । हरेक शाखामा धेरै भाषिक समुदाय छन् । जहाँ मातृभाषाका रुपमा बोल्छन्, चलाउँछन् ।
यो लगभग धौलागिरिदेखि (पूर्वोत्तर भारत) हुँदै युनानसम्म एउटा बेल्ट (ट्रान्स हिमालयन) मा पर्छ । सबभन्दा धेरै केन्द्रित भएको क्षेत्र यही (याक्थुङ लिम्बू भाषा बोल्ने लिम्बूवान) नै हो ।
लिम्बूवान, सिक्किमदेखि काठमाडौंको बीचमा सबैभन्दा धेरै पुरानो व्याकरण देखाउने भाषा धेरै छन् । अनि जुन वाई क्रोमोजोम हाप्लो ग्रुप छ, ती मान्छेहरुको जिनोममा देखिन्छ । त्यो सबै एउटै हो । त्यो सबै यहीँबाट आएको (छरिएको गएको) हो ।
त्यो वाइ क्रोमोजोम हाप्लो ग्रुपभित्रै पर्छ । चीनको हानमा मंगोलियन पनि मिसिएको छ । त्यो मिसिएको सबैभन्दा ठूलो भागको भाषा लिम्बू भाषाको आफन्त पनि हो । तर, उनीहरु टाढाका परे । तर उनीहरुको भाषिक पुख्र्यौली चाही यहीबाट आएको (गएको) हो ।
किनभने सबै मान्छेका पूर्खा धेरैधेरै जना हुन्छन् । जस्तो– आमाबुबा दुईजना, हजुरबा–हजुरआमा, त्यसैगरी पुख्र्याैली मिसिँदै जान्छ । तर, भाषामा, जस्तो– मेयङलुङ र तम्फुलाको परिवारमा बोलेको भाषा त शुद्ध लिम्बू हो । तर, आमा त याक्खा हुनुहुन्थ्यो । पूरा परिवारमा फेदाप याक्थुङ भाषा मात्र चलेको हो । त्यसैले भाषिक पुर्खा बाबुको तर्फबाट आउँछ । त्यसर्थ प्राचीन चीनको भाषा (रुपशास्त्र, व्याकरण) लम्बुवान फेदापको भाषासँग मिल्छ ।
तपाईको यो भनाइ आएपछि पूर्वका याक्थुङ समुदायमा के बहस चलिरहेको छ भने चीनका हान जातिको जीन र लिम्बूको जिन धेरै मिल्छ……….
सिग्निफाइड (संकेत) का रुपमा लिन सकिन्छ । तर, यो धेरै जटिल पनि छ । यो जुन जिनोम यहाँ सबै भोट–बर्मेली समुदायभित्र पाइन्छ, त्यो चीनमा पनि पाइन्छ । उनीहरुको एक ठूलो, धेरै किसिमको ह्याप्लो ग्रुप छ । यसको सबैभन्दा ठूलो भागसँग लिम्बूको मिल्छ ।
भनेपछि, लिम्बूबाट उता भाषा गएको हो कि उताबाट हिमालवारि आएको हो ?
उताबाट यता आएको हुन सक्दैन । सबै प्रमाणले यहाँबाट उता गएको देखाउँछ ।
कतिपय मानवशास्त्रीहरुले लिम्बू, राई, तामाङ, मगर, गुरुङको अनुहार र चिनियाँहरुको अनुहार लगभग मिलेता पनि चीन अलि ठूलो र शक्तिशाली देश भएकाले उतैबाट यी समुदाय हिमाल कटेर आए भन्छन् नि ?
त्यो सोच कहिले सुरु भयो भन्ने कुरा हो । पहिलाका मानवशास्त्रीहरु कतिपय त यात्रा नै गरेनन् । इम्यानुअल कान्ट मात्र होइन, अरु पनि थिए । एसिया जाने त लामो यात्रा थियो । सबै मानव एउटै भए पनि विभिन्नता देखिन्छ । लिनेसले विभाजन गर्न खोजे । विविधतालाई लिनेसले अफ्रिका, युरोप, एसिया र अमेरिकाको गरी चारवटा बनाए ।
इम्यानुअल कान्टले मान्छेको रुप हेरेर एउटा प्रोटो टाइप बनाए । गोरो मान्छे अवथा लिम्बू भाषामा मिक्फुलाहरुको प्रोटो टाइप गर्दा गोरो जातिलाई एकजना जर्मन विद्धान व्लुमन बाखले ककेससबाट आएको भनेर कन्सेप्ट बनाए । त्यो उनको सोच मात्र हो ।
अनि कान्टले पूर्वी जातिलाई मंगोलबाट आएको भने । त्यसबेला फोटो त थिएन । अहिले जस्तो मोबाइल पनि थिएन । तर, हातले बनाएको पुरानो स्केचका आधारमा यो मंगोल जाति भनेर नाम दिए । नाम दिएपछि सबै जाति मंगोलबाट आएको भन्ठान्छ । मिक्फुला (गोरा) हरु सबै ककेससबाट आएको ठान्छन् । तर, त्यो त्यस्तो होइन रहेछ ।
अहिले आधुनिक जेनेटिक्स (वंशाणु–जीन) को अनुसन्धानको परिणामले झन जटिल देखाउँछ । यो पूर्वी एसिया एउटा भाषा परिवारको मात्र होइन, धेरै भाषा परिवारको छ । भोट–बर्मेली भाषा परिवार । थाई भाषा परिवार आदि । तर, थाई भाषा भोट–बर्मेली भाषा परिवारभित्र पर्दैन ।
जापानको लिपि चीनसँग हल्का मिल्दोजुल्दो भएता पनि जापान अर्कै भाषा परिवारभित्र पर्छ । कोरियन, तुङ्गुज, मंगोल, अहिले लोप भइसकेको खितान, तुर्किक भाषा, उइगुरदेखि टर्कीसम्म बोलिने भाषा अर्कै भाषा परिवारमा पर्छन् । त्यसैले एउटै मुल, एउटै ठाउँमा (मंगोल) मा होइन । त्यसैले अर्को पनि सोच्नुप¥यो । जब हामी विगतबारे सोच्छौं । विगतमा धेरै लामो समय बित्यो ।
भर्खर सिरिजंगाको कुरा गर्दा वा सिक्किम अधिराज्यको कुरा गर्दा सबै भर्खरकै कुरा हो । प्राचीनकालको कुरा धेरै अगाडिको समयमा थियो । त्यो मिश्र, इजिप्टमा पिरामिड छ नि, त्यो रोम साम्राज्यका पालामा शासन गर्ने अगस्टस पनि दुई हजार बर्ष अगाडि इजिप्टमा पुगेका थिए । उनले त्यहाँ शासन गर्दा पनि त्यो पिरामिड त थियो ।
रोमका मान्छे र शासकहरु हामी जित्छौं भन्थे । तर, तिनीहरु भन्दा पनि झन पुरानो थियो त्यो पिरामिड । त्यो पिरामिड ५÷६ हजार बर्ष पुरानो हो । रोमको शासन दुई हजार बर्ष मात्रै पुरानो हो । रोमका लागि त्यो पिरामिड प्राचीनकाल भइहाल्यो । त्यसरी हामीले सोच्नु पर्छ ।
किनकि, विगतले लामो समय लिएको हुन्छ । अनि पुर्खा यताबाट त्यहाँ (लिम्बूवानबाट चीनतिर) गएको मात्र होइन, मान्छे अफ्रिकाबाट निस्केर धेरै ठाउँ पुग्यो । अचेलको नेपालको हिमाली क्षेत्र (ट्रान्स हिमालयन) पसेर फेरि पूर्वतिर लाग्यो । फेरि पूर्वबाट यतातिर आए । आजकलको थाइल्याण्ड–बमा हँुदै यता आए । बायोलोजी (जीव शास्त्र) को अध्ययनबाट यसको प्रमाण देखाउन सकिन्छ ।
यताबाट उता, उताबाट यता हुनका लागि हजारौं बर्ष लाग्यो होला हैन ?
अफ्रिकाबाट निस्कँदै लगभग दुई लाख बर्षअघि हो । त्यसरी धेरै कुरा भए । तर, भाषा धेरै छिटो परिवर्तन हुन्छ । बायोलोजीबाट पत्ता लगाएको जिन भन्दा हाम्रो भाषा झन छिटो परिवर्तन हुन्छ । त्यसैले हामी भाषाविदहरु लगभग १० हजार कि १० हजार भन्दा बेसी, १५ हजार, पाँच हजार वर्षअघिको त पक्कै पनि । त्यो समयभित्र हामी हेर्न सक्छौं । भाषाविदहरुले अनुसन्धान गर्न सक्छन्।
त्यसैले, भाषाको विगत पत्ता लगाउने टाइम डेप्थस् (समयको गहिराइ) का आधारमा भोट–बर्मेलीको भाषाको मुल यहीँनेर हुन्छ (देखिन्छ) । भन्नाले, बर्मादेखि काठमाडौं । अर्थात, धवलागिरिदेखि भित्र नै हो । पुर्खाहरु यता उता गए ।
किरात खासमा कहाँबाट आए ? काठमाडौं उपत्यकामा बस्ने किरातहरु कसका पुर्खा हुन् ? लिम्बूहरुका पुर्खा थिए कि नेवारका पुर्खा थिए ? के यो बहसकै विषय हो ?
हो । त्यो (किरातको ) प्रयोगशालाबाट प्राचीन डीएनए पत्ता नलगाएसम्म थाहा हुँदैन ।
तर लिम्बू समुदायको एक पक्षले त काठमाडौंका किरात हामीसँग सम्बन्धित छैनन्, अर्कै समुदाय हुन् पो भन्दै छन् त ?
भन्न पाइन्छ । किनभने त्यो अनुमानको कुरो मात्रै हो । यलम्बर अथवा यलम्बर हाङ यहाँका लिम्बू थिए कि थिएनन् ? जहाँसम्म हामी इतिहास हेर्छौं, फेदाप लिम्बूहरुको मूल क्षेत्र थियो भन्ने कुरा आउँछ । हो कि होइन त ? त्यो अनुसन्धानको कुरा हो ।
हाम्रो दृष्य (दृष्टिकोण) वा सोचले भविष्यमा अर्कै परिणाम देखाउन सक्छ । अनि हाम्रो सोच परिवर्तन हुनुपर्छ । भाषा विज्ञान मैले मात्र अनुसन्धान गरेको होइन । सैयौंले तुलनात्मक ऐतिहासिक भाषा विज्ञानको अनुसन्धान गरेका छन् ।
त्यो भोट–बर्मेली भाषा समुहमा एउटा परिणाम देखिन्छ । त्यो वाइ क्रोमोजोम ह्याप्लो ग्रुपको जेनेटिक्स अनुसन्धान र विश्लेषण पनि त्योसँग मिल्छ । अनि पुरातत्वविदको अनुसन्धानले पनि धेरै कुरा देखाउँछ ।
त्यसरी विगत कस्तो थियो भनेर हामीले पत्ता लगाउन सकिन्छ । तर किराती जातिहरु सबै राई, नाछिरिङ, थुलुङ, वायुङ, दुमी, लोहोरुङ, याक्खा, लिम्बूको मूल धेरै शताब्दी, धेरै हजार बर्षका लागि यतातिरै थियो होला जस्तो लाग्छ ।
तर, जुन किरात त्यहाँ (काठमाडौं उपत्यकामा) बसेका थिए । ती त नेवार भाषाका पनि आफन्त छन् । थामी (थाङ् मि) भाषा पनि नेवार भाषाको आफन्त हो ।
जर्ज सर, तपाईले लामो अनुसन्धान गरेर यो लिम्बू व्याकरण निकाल्नुभयो, तर लिम्बूहरुको मुन्धुमको सन्दर्भमा ताप्लेजुङ क्षेत्र, फक्ताङ्लुङ आसपास, लेलेप, मुरिङ्ला खारिङ्ला, तापेथोकतिर मुन्धुमी स्थलहरुको बाहुल्य छ र त्यहीँबाट मुन्धुमको निर्माण र विकास भएको भनिरहेका बेला तपाईले यता तेह्रथुम फेदापमा बोलिने लिम्बू भाषा (टोन) लाई अझै पुरानो हो भन्नु भएको छ । अनि मुन्धुममा प्रयोग भएका कतिपय भाषा र शब्दको अनुवाद पनि गर्न सकिएको छैन । राम्रो गरी, ठ्याक्क बुझ्न पनि सकिएको छैन । अझै त्यो मुन्धुमको भाषा पो पुरानो हो कि ?
होला । त्यस्तो अनुमान गर्न सकिन्छ । त्यो पुरानो भाषालाई अनुसन्धान गर्नुपर्छ । धेरै कुरा बाँकी छ । समस्या के हो भने भाषा ज्ञान राम्रोसँग बुझ्ने काम धेरै लामो पढाइ हो ।
तपाईले लिम्बू भाषा पुरानो र समृद्ध भन्नुभयो । भाषा समृद्ध हुँदैमा समुदाय चाहिँ समृद्ध (आर्थिक सन्दर्भमा) हुँदैन कि क्या हो ?
त्यो आर्थिक परिस्थितिमा भाषाको व्याकरणसँग सरोकार हुँदैन र छैन । भाषाको व्याकरण अर्कै प्रक्रियाको परिणाम हो । आर्थिक परिस्थिति कुनै समाजको अर्कै कुरा हो ।
तपाईको बुझाइमा र अहिलेसम्मको लामो अनुसन्धानमा भाषा र व्याकरण भनेको के हो त ?
यसको बारेमा एउटा किताव लेखिरहेको छु । यसका बारेमा विश्वविद्यालयमा एउटा समेस्टरको कोर्ष छ । त्यो बारेमा संक्षिप्त रुपमा बताउन अहिले मलाई गाह्रो पर्छ । अहिले त्यसका बारेमा कुरा नगरौं ।
तपाईले मुन्धुमको कुरा गर्नु भयो । मुन्धुमको कुरा धेरै पुरानो हुन्छ । त्यसलाई विश्लेषण आफ्नै तरिकाले गरेर हेर्ने मान्छे चाहिन्छ । तर, भाषा विज्ञानको समस्या के हो भने भाषा विज्ञान राम्रोसित, एकदम गम्भीररुपमा पढ्ने हो भने सौन्दर्यशास्त्र, रुपशास्त्र बाहेक तुलनात्मक पद्दतिको धेरै कुरो बुझ्नुपर्छ । धेरै कुरा सिक्नुपर्छ । जो सवै लिङ्ग्वीस्टिक (भाषा विज्ञान) प्रोगामहरुमा उपलब्ध नै हुँदैनन् ।
धेरै विश्वविद्यालयमा भाषा विज्ञानको प्रोगाम हुन्छ । तर, त्यो प्रोफेशनल मात्रै हो । नत्र अमेरिकाबाट आएको त्यो सैद्धान्तिक अवधारणा मात्रै हो, जसको व्यावहारिक प्रयोग त्यति छैन । त्यस्तो तालिम पाएको मान्छेले मुन्धुमको अनुसन्धान गर्न राम्रोसँग सक्दैन ।
तपाईलाई अर्काे प्रश्न, विश्वविद्यालयबाट अवकास पाइसक्नु भयो ?
स्वीटजरल्याण्डको राजधानीमा रहेको वर्न विश्वविद्यालयबाट अवकास पाइसकेको छु । हाल इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी गुहाटी (आसाम) सँग सम्बन्धित छु भिजिटिङ प्रोफेसरका रुपमा ।
अहिले मलाई धेरै स्वतन्त्रता पनि छ । पढाउन त पढाउँछु । ताइवानको विश्वविद्यालय लगायतमा । अन्तराष्ट्रिय संस्थानले मलाई बोलाउँछ । पढाउनका लागि विएचयु अथवा बेंगलोर विश्वविद्यालयमा बोलाउँछन् । फुर्सद भएकाले कितावहरु लेखिरहेको छु । लेख्ने काममा व्यस्त छु ।
गुगलमा तपाईको उमेर ६७ बर्ष देखाएको छ । तपाईले भन्न मिल्छ भने तपाईका परिवारहरु सबै नेदरल्याण्डमा हुनुहुन्छ कि स्वीटजरल्याण्डमा ?
स्वीटजरल्याण्डमा त मेरा साथीहरुमात्र छन् । मेरो विवाह भएको छैन । सन्तान छैनन् । कुनै–कुनै ठाउँमा मेरा आफन्तहरु पुगेका छन् । बसेका छन् । तर, भेट हुन सकेको छैन ।
मेरा आफन्तहरु प्रायः हल्याण्ड (नेदरल्याण्डको पश्चिमी क्षेत्रको पुरानो प्रान्त) मा हुनुहुन्छ ।

भाषाशास्त्रको अध्ययन गर्दागर्दै बिहे गर्न बिर्सिनु भएको कि क्या हो ?
अँ त्यस्तै हो । (गज्जबको हाँसो) । उमेर भएको छैन । अलि उमेर पाकेपछि मात्रै गर्ने । (फेरि हाँसो )
अब के–के किताबहरु निकाल्दै हुनुहुन्छ ?
लोहोरुङ भाषाको किताब तयार गर्दैछु । बौद्ध धर्मको ऐतिहासिक किताव पनि लेखिरहेको छु । अहिले सबै भन्दिनँ । तर, भाषा क्रान्तिका बारेमा पनि एउटा किताब लेख्दैछु । यी सबै मेरो कम्प्युटरमा छन् । कुन पहिला सिध्याउने र कुन पछि, सो अनुसार किताव निकाल्छु ।
लिम्बूहरुका बारेमा, त्यो पुरानो पाण्डुलिपिका बारेमा हाम्रो अर्जुनबाबु माबुहाङले धेरै लेख्नु भएको छ । इमानसिंह चेम्जोङले पनि लेख्नु भएको छ । अनि हाम्रो डाक्टर आर के स्प्रिङले पनि लेख्नु भएको छ । अर्जुनको नयाँ किताब अझ राम्रो छ ।
लिम्बू पाण्डुलिपि हेर्नका लागि ४० बर्ष अघि लण्डन गएको थिएँ । त्यतिखेर माइकल किव त्यहाँ काम गर्दै हुनुहुन्थ्यो । अहिले त्यो विभाग छाडेको पनि लगभग ३५ बर्ष भयो । त्यतिखेर हामीले कुरा गरेका थियौं । म जति थप गर्न सक्छु लिम्बू पाण्डुलिपिको किताव पनि तयार गर्दै छु ।
तपाईलाई कति भाषा आउँछ ?
मलाई ? थाहा छैन । गन्न बिर्सेँ, बिहे गर्न बिर्सेको जस्तै । (फेरि हाँसो)
लोहोरुङ भाषाको व्याकरण ९० प्रतिशत पूरा गरेको थिएँ । त्यसबीचमा भुटानको सरकारले मलाई जोङ्खा भाषाको व्याकरण लेख्न बोलायो । त्यो निस्किसकेको छ । त्यसैले मैले लोहोरुङ भाषाको व्याकरण सिध्याउन सकिनँ ।
विश्वविद्यालयले पढाउन मात्र लगाउँदैन, अरु अनावश्यक काम पनि गराउँछ, जो समय खेर फाल्नु मात्र हो । त्यो विश्वविद्यालयभित्र हुने राजनीति मात्र हो । म सकभर त्यसबाट बच्न बर्नमा आएको थिएँ । वर्न त्यति पुरानो छैन । १८० बर्ष पुरानो मात्र हो ।
आइन्स्टाइन (वैज्ञानिक अल्वर्ट आइन्स्टाइन) पनि बर्न अनि जुरिचमा थिए । पछि हल्याण्डकाे लेइडेन भएर अमेरिका जानुभयो । सपना (जर्मनमा अध्ययनरत नारायण प्रसाद पङ्याङ्गुकी छोरी) र मैले आइन्स्टाइनको घरमा बसेर चिया खायौं । त्यहाँ बसेर लिम्बू भाषाको व्याकरण र इतिहासको कुरा गरेका थियौं ।
तपाई अब भाषा विज्ञानको आइन्स्टाइन ?
मजस्तो तुच्छ मानवलाई आइन्स्टाइनसँग तुलना गर्न मिल्दैन । अँ, म त केही पनि होइन ।
प्रतिक्रिया