जेन-जी मतदाताको अठोट- ‘बाआमासँग सल्लाह गरेर भोट हाल्ने दिन गए’ | Khabarhub Khabarhub

जेन-जी मतदाताको अठोट- ‘बाआमासँग सल्लाह गरेर भोट हाल्ने दिन गए’



काठमाडौं– फागुन २१ गते चुनाव भएमा २३ वर्षकी सगुन पहारीले पहिलो पटक मतदान गर्दै छिन् । उनी आफ्नो पहिलो मतदानलाई लिएर निकै उत्साहित छिन् । काठमाडौं बसेर कम्प्युटर इन्जिनियरिङ पढ्दै गरेकी पाल्पाकी सगुनले आमाबुवाले जुन पार्टीमा भोट हाल्नुभयो, त्यही पुराना पार्टीमा भोट नहाल्ने बताउँछिन् । 

मतदाता परिचयपत्र बनाउन निर्वाचन आयोगको लाइनमा उभिएकी उनी खबरहबसँग कुरा गर्दै भन्छिन्, ‘बुवाआमाले समर्थन गरेकै पार्टीमा छोराछोरीले पनि भोट हाल्ने परिपाटीको अन्त्य हुनुपर्छ । हिजोकै पुराना नेताले हामी युवाहरुको भावना बुझेर काम गर्न सक्दैनन् । उहाँहरूले राजनीतिबाट संन्यास लिएर नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’ 

‘पार्टीभित्रकै दोस्रो र तेस्रो पुस्तालाई हस्तान्तरण गर्दा पनि हुन्छ । राजनीतिक दलसँग राजनीतिक संस्कार हुन्छ । स्वतन्त्रहरूमा त्यो संस्कारको अभाव भएको पाएँ । आफ्नो उमेरका साथीहरू देशको चरम भ्रष्टाचार रोकिनुपर्छ भनेर लाग्दा सडकमै ज्यान गुमाएको देख्न पर्‍यो’ पहारी थप्छिन्, ‘त्यसकारण पनि उनीहरू त्याग बलिदान खेर नजाओस् भनेर भोट हाल्ने तयारीमा छु । पुराना नेता आउन हुँदैन भन्ने हो । पुरानै दलहरूले राम्रो उम्मेदवार युवा उम्मेदवार उठाएमा भोट नहाल्ने भन्ने छैन ।’ 

परिवर्तनको लागि सबैले हातेमालो गर्नुपर्ने उनको भनाइ छ । ‘आफ्नो निकट चिनेको भनेर मात्रै होइन योग्य उम्मेदवारलाई भोट हाल्नुपर्छ । नेता भनेको आफ्नो भन्दा नागरिकको हितमा काम गर्ने हुनुपर्छ । जनताको जीवनशैली परिवर्तन गर्न सक्ने नेता हुनुपर्छ । शिक्षा, स्वास्थ्य र यातायात लगायत समग्र मानवका आवश्यकता पूर्ति गर्ने विकास निर्माण गर्ने हो । तर हामी कहाँ नेताहरू आफ्नो जीवनस्तर उकास्ने भन्दा सोच्दैनन् । समस्या यही हो’ उनले भनिन् ।  

नेता भनेको अडिग पनि हुनुपर्ने सगुनको तर्क छ । भन्छिन्, ‘कहिले कुन पार्टी–कहिले कुन पार्टी गरेर आफ्नो अवसरको खोजीमा दौडने व्यक्ति असल नेता होइन । विचार र निर्णयमा अडिग हुन सक्नुपर्छ । अहिले बालेन शाह मन परेको छ । जन्मिएदेखि एकै नेता देखिरहेको छु । त्यो नेताहरू विस्थापित हुनुपर्छ भन्नेमा छु ।’

त्यसैगरी मतदाता परिचयपत्र बनाउन लाइनमा उभिएका बुढानिलकण्ठ–६ का २१ आनन्द बुढाथोकी पनि पहिलो पटक भोट हाल्दैछन् । जेन–जी अभियानमा सुरुदेखि समर्थन जनाउँदै आएको भएपनि उनी आन्दोलनमा कामको सिलसिलाले सहभागी हुन पाएनन् । तर परिवर्तनको लागि साथीहरू शहीद भएको घटनाले दुखी छन् । उनी भन्छन्, ‘आन्दोलनमा यति क्षति हुनुहुँदैनथ्यो । तात्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै बुद्धि पु¥याएर राजीनामा दिएको भए ।’ 

‘देशले यति धेरै मानवीयदेखि भौतिक क्षति खेप्नुपर्ने थिएन । त्यो क्षतिप्रति युवा हुनुको नाताले दुखी छु । तर अब त्यही क्षति सम्झेर बस्ने होइन । नयाँ नेतृत्वमार्फत देशको मुहार फेर्नुपर्ने अवसर आएको छ’ उनी थप्छन्, ‘पुरानो र नयाँ उम्मेदवार भन्दा पनि सक्षमलाई भोट हाल्ने नीति अपनाउनुपर्छ । तर पुरानो सक्षम छैनन् भन्ने कुराको पुष्टि भइसकेको छ । त्यसकारण व्यक्तिगत रूपमा मैले नयाँ उम्मेदवारलाई भोट हाल्ने मनसाय बनाएको छु ।’

केही जेन–जी साथीहरूले प्रत्यक्ष कार्यकारीको माग आनन्दलाई चित्त बुझेको छैन । उनी भन्छन्, ‘समानुपातिक भोट भनेकै प्रत्यक्ष कार्यकारी भोट हो । २०७९ को चुनावमा समानुपातिक भोट एमालैकै धेरै छ । त्यसकारण प्रत्यक्ष कार्यकारीको व्यवस्था गर्ने हो भने पुनः केपी ओली नै आउँछन् । हामीले भोट हालेको नेता हाम्रो प्रतिनिधि हो । संसद्मा उक्त नेताले हाम्रो आवाज बोल्छ । प्रत्यक्ष कार्यकारी भनेको कुनै भगवान आएर देश बनाइदिन्छ भन्ने होइन ।’ 

‘प्रत्यक्ष कार्यकारीको पक्षमा म छैन । त्यसले झनै निरंकुशता फैल्याउँछ । संसदीय व्यवस्था जुन अहिले छ, यो नै सबैभन्दा राम्रो व्यवस्था हो । यसैलाई टेकेर सरकार बनाउने हो, बुढाथोकी थप भन्छन्, ‘दुईचार जना जेन–जीहरुले यसबारेमा बुलन्द आवाज उठाइरहनुभएको छ । तर यो प्रत्यक्ष व्यवस्था आवश्यक छैन । जनताले सोचेर सम्झेर चुनावमा उचित व्यक्तिलाई जिम्मेवार पदमा पुर्‍याउन सक्नुपर्छ ।’ 

सबै पार्टी लोकतान्त्रिक भइसकेपछि राजनीतिक दल आवश्यक रहने उनको भनाइ छ । ‘तर दलहरूले यति इमेज बिगारे कि दलको नाम सुन्नै नसक्ने बनाए । यसलाई सुधार्नुपर्छ । दलको विकल्प स्वतन्त्र हुन सक्दैन । दलको विकल्प उन्नत दल नै हो’ उनले भने । 

अर्का, शखरापुर–३ का राजन ओझाले भोट हाल्ने मनसाय बनाए पनि आफूलाई नयाँ वा पुराना कुनै पनि नेतृत्वमाथि विश्वास नलागेको बताउँछन् । खबरहबसँग कुरा गर्दै उनले भने, ‘पुरानोलाई भोट हाल्नेहरूले पनि देखे । नयाँ भन्नेहरू पनि त्यति विश्वासलायक कोही छैन । तर यीनै मध्ये कोहीलाई त छान्नैपर्यो । को भन्दा को कम खराबलाई भोट हाल्नुपर्ने अवस्था छ । भोट बेच्ने त हो ।’

वैदेशिक रोजगारको क्रममा लामो समय बाहिर बसेका राजनले उमेरले योग्य भए पनि यो भन्दा अगाडी मतदान गर्न नपाएको गुनासो गर्छन् । उनी भन्छन्, ‘ ३६ वर्षको भएँ तर चुनावको बेला जहिले विदेश हुँदा भोट हाल्न पाइन । पहिलो पटक मतदान गर्दैछु । भोट हाल्ने समयमा जहिले पनि विदेश हुन्थेँ । अहिले तोकिएको समयमा निर्वाचन भएमा भोट हाल्नेछु ।’

त्यसैगरी, बुढानिलकण्ठ–६ का विवेक ढकाल (२६) ले पनि पहिलो पटक भोट हाल्दैछन् । २०७९ को चुनावमा उमेर पुगे पनि भोट हाल्न लायक नेता नदेखेको कारण नहालेको उनी बताउँछन् । भन्छन्, ‘यो भन्दा अगाडीको निर्वाचनमा भोट हाल्ने उमेर पुगेको थियो । तर अहिले पनि भोट हाल्ने नेता यही हो भनेर एकिन छैन, मतदाता परिचयपत्र बनाउँदै गरौँ । चुनावसम्ममा मनपर्ने उम्मेदवार आइहाल्छ कि ?’ 

जेन–जी उदासीन हुनुको मुख्य कारण पुराना नेता घुम्दैफिर्दै सत्तामा बसिरहनु भएको विवेकको बुझाइ छ । भन्छन्, ‘त्यही पुरानै एकै नेता घुमिरहेको छ । नेपाल तानाशाहीमा चलेको देश हो । लोकतन्त्र आयो भन्ने भइरहेको छ तर त्यो भ्रम हो । शेरबहादुर देउवा, केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल र झलनाथ खनाल हुन् ।’

‘ती दशकदेखि यीबाहेक खै अरु नेता आएका ? अनि यसलाई हामीले लोकतन्त्र मान्दिनुपर्ने ? उनी प्रश्न गर्छन्– ‘कांग्रेस, एमाले र माओवादी नमिले जस्तो गर्ने तर सधैँ मिलेर सत्तामा टिकिराख्ने । शान्तिपूर्ण रूपमा राजीनामा दिएको भए देशले यत्रो विध्वंस बेहोर्नु नै पर्थेन । विद्यार्थीमाथि गोली हानेकोप्रति मेरो घोर निन्दा छ । भविष्यका कर्णधारहरूलाई सडकमा गोली ठोकेर मार्नु लोकतन्त्रमा यस्तो हुँदैन । तीन दलबाहेक लाई नै हाल्छु’ ढकालले भने । 

निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जनाएको छ । यो तथ्याङ्क मंगलबारसम्मको हो । मंगलबार एकै दिन २३ हजार ६३८ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । त्यस्तैमा १३ हजार ६६ जना पुरुष, १० हजार ५६७ जना महिला र ५ जना अन्यले नाम दर्ता गराएका हुन् । 

आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नका लागि दैनिक ८ सय बढी नाम दर्ता भइरहेका जिल्लाहरूमा ६–६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।

भट्टराई भन्छन्, ‘यस व्यवस्थापनका लागि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने प्रबन्ध मिलाइएको छ । अन्य जिल्लाहरूको हकमा भने सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापको आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको आयोगको भनाई छ ।’ 

निर्वाचन व्यवस्था शाखा आइटी प्रमुख मुकाराम राई नयाँ पुस्ता मतदान परिचयपत्र बनाउन निकै उत्साहित भएर आएको बताउँछन् । उनी भन्छन्, ‘निर्वाचन आयोगले २०७९ अनलाइनमार्फत सुरु गरेको हो । यसपाली पनि पुरै अनलाइन सहभागी हुने हो । कार्यालयमा बायोमेट्रिकको लागि मात्रै आउने हो । यसको लागि पनि अपेक्षा गरेको भन्दा धेरैले मतदाता परिचयको लागि सहभागी हुनुभएको छ ।’

‘कार्यालयको जनशक्तिले नभ्याएर निर्वाचन आयोगसँग थप जनशक्ति मगाएर र दुई सिफ्टमा काम गरिरहेका छौँ । व्यक्तिगत फारम भर्ने कार्यालयको अवस्था छैन । अनलाइन इनरोलमेन्ट आफैँले गर्ने हो । घरबाटै गरेर आउन अनुरोध गरिएको छ’ उनी थप्छन्, ‘कार्यालयले बाहिर गरेर आउनु भनेर बाध्यकारी गरेको छैन, चाँडो काम सकाएर जान्छु भन्ने सेवाग्राहीले बाहिर गर्नुभएको हो । कार्यालय बाहिर इनरोलमेन्ट गर्दा सेवा गर्नेले पक्कै पनि शुल्क लिन्छ ।’ 

स्रोतसाधनको कमी, जनशक्तिको अभावका बाबजुद पनि तोकिएको निर्धारित समयमा निर्वाचन गर्ने तयारीका साथ जुटिरहेको उनले बताए । 

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ३ : ५६ बजे

६ जना प्रजिअसहित ५८ सहसचिव र उपसचिवको सरुवा

काठमाडौं- सरकारले ६ जना प्रमुख जिल्ला अधिकारीसहित ५८ जना सहसचिव

देशभर १ करोड ८३ लाख मतदाता, चुनाव घोषणापछि २ लाख ९ हजार थपिए

काठमाडौं- निर्वाचन आयोगमा हालसम्म एक करोड ८३ लाख मतदाता अभिलिखत

प्रधानमन्त्रीले लिइन् निर्वाचनको तयारीबारे आयोगसँग जानकारी

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनको तयारीका

आयोगको निष्कर्ष : सबै दल चुनावमा जान तयार छन्, विगतमा बहिष्कार र विरोध गर्ने पनि दर्ता भए

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग आगामी निर्वाचनको तयारीका