काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा देखिएको १८ करोड ४३ लाख रुपैयाँ बराबरको बक्यौता अझै नतिरेको भन्दै धुर्मुस–सुन्तली फाउन्डेसनले दुःख प्रकट गरेको छ।
पाँच वर्षदेखि सरकारी कार्यालय, अड्डा–अदालत धाउँदै हिँडिरहे पनि समाधान नआएको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र पत्नी कुञ्जनाले अमेरिकाबाट गरेका हुन् ।
फाउन्डेसनका अनुसार ५९ करोड ९० लाख रुपैयाँ बराबरको संरचना र २ करोड ४६ लाख बराबरको निर्माण सामग्री भरतपुर महानगरलाई बुझाइसकिएको छ ।
तर भरतपुर महानगरले स्वीकारेको १८ करोड ४३ लाख बक्यौता रकम भुक्तानी नभई उल्टै आफैंलाई अपजस लगाउँदै आएको पीडा उनीहरूले सुनाएका छन्।
आफूहरूमाथि अख्तियारदेखि सतर्कतासम्मका निकायले छानबिन गर्दा कहीँ पनि आर्थिक अनियमितता नदेखिएको र सबैले ‘क्लिन चिट’ दिए पनि सार्वजनिकमा ‘ठग’ भन्ने आरोप झेल्नुपरेको फाउन्डेसनको गुनासो छ।
रंगशाला निर्माणका लागि भरतपुर महानगर, बागमती प्रदेश सरकार, विभिन्न स्थानीय तह र संघीय सरकारबाट ६९ करोड रुपैयाँको कबोल भएको महायज्ञ आयोजना भए पनि जम्मा ९ करोड ४१ लाख मात्र हात परेको दुवैले बताएका छन् ।
बागमती प्रदेशले ३० करोडमध्ये ३ करोड, भरतपुर महानगरले १६ करोड ७५ लाखमध्ये ८ करोड ५ लाख मात्र दिएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले दिएको विवरणअनुसार निर्माण कार्य उधारोमै अघि बढाइरहँदा संघीय सरकार तथा प्रदेश सरकारबाट पटक–पटक बजेट राखे पनि निकासा नहुने, निर्णय भएर आएको पैसा अर्थमन्त्रालयमै फ्रिज भएर फर्किने जस्ता घटनाले परियोजना अलपत्र परेको हो।
फाउन्डेसन सञ्चालकद्वयले २०७८ साउन २२ देखि निर्माण स्थगित गरी संरचना महानगरलाई हस्तान्तरण गरेपछि पनि समस्या समाधान नहुँदा आफूहरू पूर्णरूपमा रित्तिएको र आर्थिक दायित्वमै थिचिएको जनाएका छन् ।
फाउन्डेसनले सरकार र स्थानीय तहले प्रारम्भिक सहकार्य, मौखिक तथा लिखित प्रतिबद्धता र महायज्ञमा व्यक्त गरिएका कबोल पूरा नगरेका कारण आफूहरू अन्यायमा परेको बताउँदै बाँकी बक्यौता समाधान गर्न राज्यको गम्भीर ध्यानाकर्षण गराएको छ।
धुर्मुस–सुन्तली दम्पतीले आफूहरूसँग अब बाँकी केही नरहेको बताएका छन् । ‘हामीसँग अब केही बाँकी छैन। खासमा आज छोरीको उपचारमै केन्द्रित हुनुपर्ने बेला उल्टै पुराना दायित्वले जीवनभरको कमाइ र आत्मबल नै खिइएको छ’, उनीहरूले भनेका छन् ।
१८ करोड ४३ लाखको बक्यौता महानगरले नतिरेपछि आफूहरू निरन्तर आर्थिक संकटमा फसेको दुवैले बताएका छन् । ‘आज छोरीको उपचारबारे चिन्ता गर्नुपर्ने समय हो, तर पाँच वर्षदेखि सरकारी अड्डा–अदालत धाउँदा धाउँदै थाकिसक्यौं’, उनीहरू भन्छन् ।
भरतपुरमा आयोजित धनधान्याञ्चल महायज्ञमा ६९ करोडको कबोल भएकामा ९ करोड ४१ लाख मात्र उठेको, बाग्मती प्रदेशले ३० करोडमध्ये ३ करोड, भरतपुरले १६ करोड ७५ लाखमध्ये ८ करोड ५ लाख मात्र दिएको फाउन्डेसनले जनाएको छ। ‘यदि प्रतिवद्ध रकम आएको भए आज उपचारका लागि पैसा खोज्दै भौतारिनुपर्ने थिएन’, उनीहरू भन्छन्।
संघीय र प्रदेश सरकारबाट पटक–पटक बजेट राखिए पनि निकासा नभएर फ्रिज हुने, समितिहरू बनाइए पनि निर्णय नआउने, र महानगरले रकम दिन अस्वीकार गर्ने घटनाले बक्यौता झन् चुलिएको फाउन्डेसनले जनाएको छ ।
धुर्मुस–सुन्तली दम्पतीले भनेका छन्, ‘राज्यले निर्माणसँगै दायित्व पनि स्वीकारेको भए आज यो परिस्थिति आउँदैनथ्यो। हामी अब छोरीको उपचारमा ध्यान दिन चाहन्छौं, तर १८ करोडको भारले जीवन रोकिएको छ।’
फाउन्डेसनले बाँकी बक्यौता तत्काल समाधान गर्न राज्यको ध्यानाकर्षण गराउँदै छोरीको स्वास्थ्य अवस्था मध्यनजर राखेर दयालु हस्तक्षेपको अपेक्षा व्यक्त गरेको छ।













प्रतिक्रिया