नेपालको अर्थतन्त्रलाई नियाल्ने हो भने औपचारिक अर्थतन्त्रमाथि अनौपचारिक अर्थतन्त्र परम्परागत रूपमै हाबी हुँदै आएको छ । यही अनौपचारिक अर्थतन्त्रको संरचनाभित्र पछिल्ला केही वर्ष प्रविधिको विकाससँगै रोजगारी र आम्दानीको नयाँ स्वरूप देखिन थालेका छन् । यसलाई विश्वव्यापी रूपमा गिग अर्थव्यवस्थाको नामले चिनिन्छ ।
‘गिग’ शब्दको उत्पत्ति संगीतको क्षेत्रबाट भएको मानिन्छ, जहाँ संगीतकर्मीहरू कुनै एक कार्यक्रमका लागि आबद्ध हुन्थे, उनीहरू औपचारिक र पूर्णकालीन पेसामा आबद्ध हुनेभन्दा एउटा कार्यक्रममा सहभागी हुने र त्यसबापतको पारिश्रमिक लिने गर्दथे ।
तर, आजको डिजिटल युगमा यसको अर्थ र आयाम निकै फराकिलो बन्दै गएको छ । गिग अर्थव्यवस्थालाई मुख्यतया छोटो अवधिको, लचकदार र परियोजनामा आधारित कामका रुपमा परिभाषित गरिन्छ । यसमा स्थायी रोजगारमा जस्तो दायरा रहँदैनन् । यो स–साना काम वा लचिलो समय आधारित स्वतन्त्र प्रकृतिको हुन्छ ।
नेपालको सन्दर्भमा फुडमान्डु, पठाओ, इनड्राइभजस्ता स्टार्टअप प्ल्याटफर्ममा आबद्ध भएर आफूलाई पायक पर्ने समयमा काम गर्ने राइडर तथा सामान डेलिभरी गर्ने व्यक्ति यसका उदाहरण हुन् । यी प्ल्याटफर्मले सहरी जीवनशैलीलाई सहज बनाउनुका साथै रोजगारी ठूलो अवसरसमेत सिर्जना गरिरहेका छन् ।
गिग इकोनोमीको दायरा यतिमा मात्र सीमित छैन । यसको अर्को महत्वपूर्ण पाटो ‘अपवर्क, फाइबरजस्ता अन्तर्राष्ट्रिय प्ल्याटफर्म हुन्, जहाँ नेपाली युवाले नेपालमै बसेर आफ्नो सीपमार्फत् विदेशी मुद्रा आर्जन गर्न सफल छन् । यो नयाँ आर्थिक व्यवस्थाले कामदारलाई पूर्ण स्वायत्तता प्रदान गरेको छ ।
ग्राफिक्स डिजाइनरदेखि लेखक, सफ्टवेयर डेभलपर, परामर्श जोकोहीले आफ्नो दक्षताका आधारमा जुनसुकै समय जुनसुकै स्थानबाट काम गर्न सक्ने अवसर पाएका छन् । यसले मानिसलाई स्थायी कामका साथै अतिरिक्त आम्दानी गर्ने वा पूर्ण रुपमै स्वतन्त्र भएर काम गर्ने विकल्प दिएको छ । ‘आफैं आफ्नो मालिक’ बन्ने अवसर दिएको छ ।
कुनै पनि कुराको राम्रो र नराम्रो दुवै पक्ष हुन्छ भनेजस्तै यस्ता अवसरसँगै गिग अर्थव्यवस्थाका अर्को पाटो पनि छ । स्थायी रूपमा अर्थात् भनौँ औपचारिक रोजगारीमा जस्तो गिग इकोनोमीमा सञ्चय कोष, उपदान, स्वास्थ्य बिमा र रोजगारीको स्थायित्वजस्ता सामाजिक सुरक्षा व्यवस्था हुँदैन ।
यसले गर्दा कामदारको आय अस्थिर हुने र भविष्य अनिश्चित बन्ने जोखिम उत्तिकै रहन्छ । तर, बेरोजगारको ठूलो समस्याले जेलिएको नेपालका लागि गिग इकोनोमी रोजगारी सिर्जना गर्न र देशको आर्थिक अवस्थालाई चलायमान राख्न महत्वपूर्ण आयाम बन्न सक्छ । यद्यपि, यसको दिगो विकास र व्यवस्थापनका लागि विद्यमान नीतिगत व्यवस्थाको परिमार्जन आवश्यक छ ।
नेपालमा गिग अर्थव्यवस्था
नेपालमा गिग अर्थव्यवस्थाको विस्तृत अध्ययन हुन सकेको छैन । तापनि, उपलब्ध तथ्यांक र प्रवृत्तिले यसको तीव्र विस्तारलाई स्पष्ट संकेत गर्छ । यसअघि इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) ले गरेको एक अध्ययनले आइटी सेवा निर्यात गरेर विदेशी डलर भित्र्याउने क्षेत्रमा करिब ६६ हजार गिग कामदार सक्रिय रहेको देखाएको थियो । यो संख्याले नेपालमा गिग वर्करको बलियो उपस्थितिलाई मात्र पुष्टि गर्दैन, बरू यसले विदेशी मुद्रा आर्जनमा रेमिट्यान्सबाहेक अर्को महत्वपूर्ण स्रोतको सम्भावनालाई पनि उजागर गरेको छ ।
यो त केवल आइटी सेवा निर्यातको आँकडा हो । पठाओ, फुडमान्डु वा इनड्राइभजस्ता स्थानीय प्ल्याटफर्ममा आबद्ध दशौं हजार कामदार र इन्स्टाग्राम वा फेसबुकजस्ता सामाजिक सञ्जालमार्फत आफना उत्पादन वा सेवा बेचिरहेका अनगन्ती साना उद्यमीलाई जोड्ने हो भने यसको वास्तविक आकार ठूलो रहेको अनुमान गर्न सकिन्छ ।
यस क्षेत्रको जनसांख्यिक विश्लेषणले अझ रोचक तथ्य बाहिर ल्याउँछ । गिग कार्यमा संलग्न हुनेमध्ये करिब ७० प्रतिशत २३ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा छन् । यो तथ्याकले गिग इकोनोमी मूलतः युवा–केन्द्रित रहेको देखाएको छ । शैक्षिक योग्यताको पाटो पनि उत्तिकै महत्वपूर्ण छ । करिब ५० प्रतिशत गिग कामदारले स्नातक तह पूरा गरेका छन् ।
यसले गिग इकोनोमी केवल राइड सेयरिङ वा डेलिभरीजस्ता कम सीप चाहिने काममा मात्र सीमित छैन । बरू यो उच्च सीपयुक्त र ज्ञानमा आधारित कामको हब बन्दै गएको प्रस्ट हुन्छ । सूचना प्रविधि, डिजाइन, लेखन, परामर्शजस्ता क्षेत्रमा उच्च शिक्षा हासिल गरेका युवाको बाहुल्य छ । यद्यपि, राइडर वा डेलिभरीजस्ता काममा एसएलसी वा प्लस टुभन्दा कम शैक्षिक योग्यता भएका व्यक्तिको संलग्नताले समाजका विभिन्न तह र तप्कालाई गिग अर्थव्यवस्थाले समेटेको देखाउँछ ।
कार्यप्रकृतिका आधारमा हेर्ने हो भने थप नयाँ रोचक तथ्याङ्क देखिन्छ । यहाँ करिब ६६ प्रतिशत मानिसले यसलाई पार्ट टाइम कामको रूपमा अँगालेका छन् भने ३४ प्रतिशतले यसैलाई मुख्य पेसा बनाएका छन् । यसले गिग पेसालाई मानिसले मुख्य पेसा वा अध्ययनसँगै अतिरिक्त आम्दानी गर्ने स्रोतको रुपमा अंगालेको स्पष्ट देखाउँछ ।
यसरी विभिन्न पुस्ता यसप्रति आकर्षित हुनुको पछाडि यसका बहुआयामिक कारण छन् । प्रमुख कारण हो, कामको लचिलोपन । आईआईडीएसले गरेको अध्ययनअनुसार करिब २२.७ प्रतिशतले लचिलो समय तालिकाकै कारण आफूले यस्तो पेसा अँगालेको बताएका छन् ।
९ देखि ५ बजेसम्म अफिसमै उपस्थित भएर कडा अनुशासनमा काम गर्नपर्ने परम्परागत बाध्यताबाट बाहिर निस्किएर आफ्नो अनुकूल समयमा काम गर्न पाउनु यसको मुख्य विशेषता हो ।
यो लचिलोपनले विशेषगरी घरपरिवारको जिम्मेवारी निर्वाह गर्नपर्ने महिलालाई ठूलो राहत दिएको छ । उनीहरूले फुल टाइम काममा समय दिन नसके पनि फुर्सदको समय गिग व्यवसायमा संलग्न भएर आर्थिक रुपमा आत्मनिर्भर बन्ने अवसर पाएका छन् ।
त्यस्तै करिब १७.३ प्रतिशतले यसलाई आफ्नो साइड हसल वा सोखको रूपमा लिन्छन् । अध्ययनका क्रममा एक प्रतिष्ठित अस्पतालमा काम गर्ने मेडिकल डाक्टरले समेत फुर्सद समयमा पेन्टिङ गरेर त्यसलाई बिक्री गरी अतिरिक्त आम्दानी गरिरहेको समेत भेटियो । यो प्रवृत्तिले मानिस एउटै पेसामा मात्र सीमित रहन नचाहेको समेत देखाउँछ ।
अहिलेको जेन-जी पुस्ताको मानसिकता हेर्दा उनीहरू लामो समयसम्म कसैको अधीनमा बसेर कास गर्नभन्दा आफ्नै मालिक बन्न चाहन्छन् । यो स्वतन्त्रता र स्वायत्तताको तीव्र चाहनाले उनीहरूलाई गिग कार्यतर्फ डोर्याइरहेको छ ।
यसबाहेक, सिप विकास र विविधता पनि महत्वपूर्ण कारक हुन् । परम्परागत जागिरमा तोकिएको कार्यक्षेत्रभित्र मात्र सीमित हुनुपर्ने बाध्यता हुन्छ । तर, गिग वर्कमा एउटा परियोजनामा काम गर्दागर्दै बजार मागअनुसार अर्को नयाँ सिप सिक्न र त्यसमा काम गर्न पाउँछ । यसले उनीहरूलाई निरन्तर ‘अपडेटेड’ रहन मद्दत गर्छ ।
विविध कार्यक्षेत्रमा काम गर्न पाउनु र अन्तर्राष्ट्रिय परियोजनामा संलग्न भएर विश्वव्यापी अनुभव हासिल गर्न यसको अर्को आकर्षण पक्ष हो । सीपयुक्त गिग कामदारले आफ्नो अनुभवका आधारमा पारिश्रमिकको दर समेत आफैँ निर्धारण गर्न पाउँछन् र राम्रो काम गर्दै जाँदा उनीहरूको आम्दानी बढ्दै जाने प्रवृत्ति पनि देखिएको छ ।
नेपालको सन्दर्भमा बेरोजगारी र अर्ध–बेरोजगारीको दर उच्च छ । निजी क्षेत्रले अन्तर्राष्ट्रिय स्तरका रोजगारी पर्याप्त रूपमा सिर्जना गर्न सकिरहेका छैनन् । यस्तो अवस्थामा गिग इकोनोमीले तत्कालको रोजगारी अभावलाई सम्बोधन गर्न महत्वपूर्ण भूमिका खेलेको छ । देशमा काम नपाएर विदेसिनुपर्ने युवाको बाध्यतालाई सम्बोधन गर्दै यहीँ बसेर विदेशी मुद्रा कमाउने अवसर सिर्जना गर्न यसको सबैभन्दा सकारात्मक र प्रभावशाली पक्ष हो ।
उद्यमशीलता, समावेशिता र महिला सशक्तीकरण
गिग अर्थव्यवस्थाको प्रभाव केवल व्यक्तिगत आम्दानी र रोजगारीमा मात्र सीमित छैन । यसले नेपालको उद्यमशीलताको परि दृश्य र समावेशी विकासमा समेत गहिरो र सकारात्मक योगदान पुर्याइरहेको छ । गिग इकोनोमीलाई उद्यमशीलता विकासका लागि महत्वपूर्ण इन्क्युबेटरको रूपमा हेर्न सकिन्छ ।
अध्ययनका क्रममा भेटिएका केही उदाहरण निकै रोचक छन् । कतिपयले गिग प्ल्याटफर्ममा ६ महिनादेखि २ वर्षसम्म काम गरेर आवश्यक सीप र अनुभव बटुलेपछि आफ्नै कम्पनी खोलेर १५ जनासम्मलाई रोजगारी दिएको पाइएको छ । यसले के देखाउँछ भने गिग वर्क केवल रोजगारीको अन्तिम गन्तव्य मात्रै होइन । बरु उद्यमशीलताको पहिलो खुड्किलो पनि हो । यसरी गिग इकोनोमीले भविष्यका लागि कर्पोरेट क्षेत्रलाई आवश्यक पर्ने सीपयुक्त जनशक्ति र उद्यमीसमेत तयार पारिरहेको छ ।
कम्पनीहरूको दृष्टिकोणबाट हेर्दा पनि गिग इकोनोमी उत्तिकै लाभदायक छ । यसले कम्पनीलाई एक तहसम्म प्रशिक्षित र अनुभवी जनशक्ति उपलब्ध गराउँछ । नेपालमा हरेक वर्ष हजारौंले स्नातक तह उत्तीर्ण गर्छन् । तर, कर्पोरेट क्षेत्रले उनीहरूलाई सीधै रोजगारी दिन सक्दैन । कम्पनीका अनुसार स्नातक उत्तीर्णलाई सुरूमा ६ देखि ७ महिनासम्म तालिम दिनुपर्ने बाध्यता छ ।
तर, गिगमा केही समय काम गरेर आएकाहरू सीपयुक्त र अनुभवी हुने भएकाले कम्पनीले एक तहको तालिम प्राप्त जनशक्ति पाउँछन्, जसले कम्पनीको तालिम खर्च र समय दुवै बचाउँछ । यसका साथै १५ देखि २० जना कर्मचारी रहने साना तथा मध्यम स्तरका कम्पनीले आर्टिफिसिएल इन्टिलिजेन्स (एआई) वा ब्लकचेनजस्ता प्रविधिका विशेषज्ञलाई स्थायी रूपमा महँगो तलब दिएर काममा राख्न सक्दैनन् । यस्तोमा गिग व्यवस्थाले त्यस्ता साना कम्पनीहरूलाई पनि आफ्नो आवश्यकताअनुसार पार्ट टाइम वा परियोजनामा आधारित विज्ञबाट काम लिन सक्छन् ।
गिग अर्थव्यवस्थाको सबैभन्दा सबल र महत्वपूर्ण अर्को पक्ष महिला सशक्तीकरण र समावेशितामा यसले खेलेको भूमिका हो । नेपाली समाजमा विवाहपछि सन्तान जन्मिनासाथ महिलाहरू आफ्नो कामबाट लामो ब्रेक लिन बाध्य हुन्छन् । जब उनीहरू केही वर्षपछि पुनः काममा फर्कन खोज्छन्, बजारका लागि ‘आउटडेटेड भइसकेका हुन्छन्, जसले उनीहरूको करियर विकास र आर्थिक आत्मनिर्भरतामा ठूलो बाधा पुग्छ ।
गिग कार्यले यो गम्भीर समस्याको व्यावहारिक समाधान दिएको छ । यसले महिलालाई घरमै बसेर बच्चा हुर्काउँदै आफ्नो पारिवारिक जिम्मेवारीसँगै लचिलो समयमा काम गर्ने अवसर दिएको छ । यसले उनीहरूलाई आफ्नो क्षेत्रसँग अपडेटेड रहेदै करियरलाई अघि बढाउने बाटो दिएको छ । उनीहरूले काम र पारिवारिक जिम्मेवारीबीच सन्तुलन कायम गर्न सकेका छन् ।
पछिल्लो समय ब्युटी, क्लिनिङ, ई–कमर्स, शिक्षा र आइटीजस्ता विविध क्षेत्रमा महिलाको सहभागिता उल्लेख्य रूपमा बढ्दै गएको छ । यसरी, गिग इकोनोमीले महिलालाई पनि अर्थतन्त्रको मूल प्रवाहमा सँगसँगै लिएर जाने एउटा समावेशी अवसर सिर्जना गरेको छ । यसले सेवा प्रवाहको सन्दर्भमा पनि ठूलो परिवर्तन ल्याएको छ । ई–कमर्स, फुड डेलिभरी, क्लिनिङ, एसी मर्मत, ब्युटिसियनजस्ता सेवा गिग कार्यकै कारण आज ग्राहकको घरदैलोसम्म सहजै पुगेका छन् ।
आर्थिक सुशासन र नीतिगत अभाव
पारदर्शिताको विषय डिजिटल इकोनमी को गिग अर्थव्यवस्था र सुशासन एवं विस्तारसँग बढी सम्बन्धित रहेको देखिन्छ । डिजिटल प्रणालीको प्रयोगले परम्परागत रूपमा हुने भ्रष्टाचारलाई साँघुरो बनाउँदै लैजाने र पारदर्शिता प्रवर्द्धन गर्ने सम्भावना रहन्छ । गिग कामदार आफैँ पनि आफ्नो आम्दानीलाई पारदर्शी बनाउन र करको दायरामा आउन चाहेको देखिन्छ ।
अध्ययनअनुसार करिब ७६ प्रतिशत गिग वर्करले आफूहरू कर तिर्न तयार रहेको बताएका थिए । तर, यहाँ सुशासनको मुख्य चुनौती नीतिगत तहमा छ । गिग अर्थव्यवस्थाले नेपालमा रोजगारी, उद्यमशीलता र समावेशीकरणको क्षेत्रमा यति धेरै सम्भावना बोकेर आएको भए पनि यसको यात्रा भने सहज छैन । यसले सामना गरिरहेको सबैभन्दा ठूलो र गम्भीर चुनौती भनेको नीतिगत अभाव हो । नेपालको वर्तमान श्रम कानुनले गिग इकोनोमीको अस्तित्वलाई स्वीकार्दैन ।
हाम्रो कानुनले कामदारलाई औपचारिक र अनौपचारिक गरी दुई तहमा मात्रै हेर्छ । यी दुईको बीचमा रहेको यो गिग अर्थात् भनौं स्वतन्त्र र लचिलो प्रकृतिको कामलाई कसरी सम्बोधन गर्ने भन्नेमा राज्य पूर्ण रूपमा मौन छ । पछिल्ला केही वर्षमा पठाओ वा फुडमान्डुजस्ता प्ल्याटफर्मले हजारौलाई रोजगारी दिए पनि उनीहरूको प्रवर्द्धनको लागि सरकारबाट उचित नीतिगत सहयोग र प्रोत्साहन हुन सकेको छैन ।
कानुनी मान्यता अभावले गिग कामदारलाई उनीहरूको आधारभूत अधिकारबाट वञ्चित गरेको छ। औपचारिक क्षेत्रका कामदारले पाउने जस्तो सुरक्षा, स्वास्थ्य विमा वा सामाजिक सुरक्षा कोषजस्ता कुनै पनि सुविधा उपभोग गर्न पाएका छैनन् । यसले उनीहरूको कामलाई निकै जोखिमपूर्ण र असुरक्षित बनाएको छ ।
दुई वर्षअघि आईटी क्षेत्रमा लागू गरिएको १ प्रतिशत करको व्यवस्थाले कम्तीमा त्यस क्षेत्रबाट हुने कमाइ कानुनी रूपमा दर्ता हुन थालेको छ । तर, यो पूर्ण समाधान भने होइन । ७६ प्रतिशत गिग वर्करले आफू कर तिर्न तयार रहेको बताए पनि श्रम कानुनले नचिन्दा उनीहरूले आफ्नो आम्दानीलाई वैध बनाउन सकेका छैनन् । सोही कारण उनीहरू वित्तीय विभेदको सिकार भइरहेका छन् ।
मासिक लाखौं कमाउने गिग वर्करलाई बैंक तथा वित्तीय संस्थाले चिन्दैन । बैंकहरूले औपचारिक आयस्रोत र तलबको पे–रोललाई मात्र आधार मान्ने हुँदा गिग वर्करको इनभ्वाइस र परियोजना सम्झौतालाई आयस्रोतको रूपमा मान्यता दिईदैनन् । जसको परिणाम, मासिक दुई–तीन लाख कमाउने एक दक्ष गिग वर्करले घर बनाउनका लागि ऋण पाउँदैन ।
जबकि ९ देखि ५ बजेसम्म कुनै कम्पनीमा काम गरेर मासिक ३० हजार मात्र कमाउनेले सजिलै सवारीसाधन किन्न ऋण पाउन सक्छ । यो वित्तीय विभेदले गिग कामदारको जीवनस्तर उकास्न र उनीहरूको भविष्य निर्माणमा ठूलो अड्चन छ ।
यसका साथै उनीहरूले सामाजिक कलंक पनि खेप्नुपरेको छ । अझै पनि हाम्रो समाजमा अफिस जाने र जागिर खानुलाई मात्र काम मान्ने मानसिकता बलियो छ । घरबाटै कम्प्युटरमा काम गर्ने वा आवश्यकताअनुसार काम गर्न गिग वर्करको कामप्रति अविश्वासको नजरले हेरिन्छ ।
परिवार र समाजले के साँच्चै काम गरिरहेको छ ? वा यसरी पनि कतै कमाइ हुन्छ ? जस्ता प्रश्न तेर्साइरहेका हुन्छन् । जसको प्रभाव उनीहरूको विवाहजस्ता सामाजिक सम्बन्धमा समेत पर्छ । यी सबै चुनौतीलाई सम्बोधन गर्न सरकारले गिग कार्यलाई पहिचान दिन आवश्यक छ ।
त्यसका लागि सर्वप्रथम सरकारले श्रम कानुनमा संशोधन गरेर गिग कामदारलाई स्वतन्त्र कामदार वा अर्थतन्त्रको एक हिस्साको रूपमा कानुनी पहिचान दिनुपर्छ । दोस्रो, बैंक तथा वित्तीय संस्थाले समेत उनीहरूलाई चिन्ने खालको व्यवस्था गर्न आवश्यक छ । तेस्रो, उनीहरूलाई कम्तीमा आधारभूत बिमा र सामाजिक सुरक्षाको दायरामा ल्याउने संयन्त्र विकास गर्नुपर्छ ।
अन्त्यमा, नेपालजस्तो सानो अर्थतन्त्र र बेरोजगारी दर उच्च रहेको मुलुकले श्रम, सीप वा सेवा जे भए पनि बाहिरी बजारमा निर्यात गर्न यो सुनौलो अवसरलाई गुमाउनु हुँदैन । गिग इकोनोमीले त्यो अवसर प्रदान गरेको छ ।
अब सरकारको भूमिका कुशल मालीको जस्तो हुनुपर्छ, जसले गिग इकोनोमीलाई पूर्ण नियन्त्रण गर्नभन्दा त्यसलाई कानुनी मान्यताको मलजल प्रदान गरी फल्नफुल सहयोग गर्नुपर्छ ।
शर्मा अनुसन्धानदाता हुन् । आलेख सेजन स्मारिकाबाट लिइएको हो ।













प्रतिक्रिया