झापामा एमबीबीएस पठनपाठन सुरु | Khabarhub Khabarhub

झापामा एमबीबीएस पठनपाठन सुरु


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुुरु गरेको हो ।

काठमाडौं विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरु हुनु झापावासीका लागि गर्वको विषय भएको बताए । ‘समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र महिला समुदायलाई एमबीबीएस पढ्ने कोटा दिन सके अझ राम्रो हुन्थ्यो,’ उनले भने, ‘राजबंशी, सन्थाल, मेचे, धिमाल, ताजपुरियालगायत आदिवासी समुदाय प्राविधिक शिक्षाको पहुँचबाट टाढै छ ।’

नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाइँले खाडी मुलुकमा पसिना गालेर कमाएको पैसा छोराछोरीलाई डाक्टर र इञ्जिनीयर पढाउन अस्ट्रेलिया, यूरोप र अमेरिका पठाउनुपर्ने बाध्यता अब हट्ने भन्दै जिल्लामा मेडिकल शिक्षा सुरू भएकोमा खुसी व्यक्त गरे । उनले देशभित्रै पढ्न नपाउँदा बर्सेनि अर्बौ रकम विदेश गइरहेको जनाउँदै बिएन्डसी मेडिकल कलेजले अध्ययनको नाममा नेपाली पुँजीको विदेश पलायन रोक्न ठूलो सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे । उनले झापा अब मेडिकल हब बन्ने धारणा व्यक्त गरे ।

महिला मानवाधिकार रक्षा सञ्जाल झापाकी अध्यक्ष कविता बाँस्तोलाले छोरी बुहारीका लागि स्वास्थ्य विज्ञान विषयमा अध्ययन गर्न जिल्लामै सुनौलो अवसर आएको बताइन् । उनले विदेशमा डाक्टर पढ्न जाँदा सुरक्षाका लागि विवाह गर्नैपर्ने र परनिर्भर हुनैपर्ने बाध्यताबाट छोरीहरूले छुटकारा पाएको जनाउँदै जिल्लामै यस्तो अवसर सिर्जना हुनु लैङ्गिक दृष्टिकोणले सकारात्मक भएको बताइन् ।

नेकपा (माओवादी केन्द्र) का कोशी प्रदेश कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर १ का इञ्चार्ज प्रकाश भण्डारीले बिएन्डसी मेडिकल कलेजमा एमबीबीएस तहको पढाइ सुरू हुनु भनेको झापाको शैक्षिक इतिहासमा नयाँ युगको थालनी भएको बताए ।

नेपाल अडिटर्स एशोसिएशनका केन्द्रीय सचिव जयधर्म पोखरेलले बङ्गलादेशमा एउटा नेपालीले एमबीबीएस कोर्स पूरा गर्न एक करोड तिर्नु परिरहेको जनाउँदै बिएन्डसीले जिल्लामै पठनपाठन गराउँदा हरेक ब्याचमा ५० करोड पुँजी विदेश जानबाट रोकिने बताए ।

विदेशीहरू पढ्न आउन थाले
यही पुस २६ गतेदेखि पठनपाठन सुरू भएको बिएन्डसी मेडिकल कलेजमा अध्ययनरत् ५० जनामध्ये ३६ जना नेपाली र १४ जना विदेशी विद्यार्थी छन् ।

स्वदेशी ३६ जनाध्ये पाँच जनाले नेपाल सरकारको नियमानुसार शतप्रतिशत निःशुल्क छात्रवृत्ति प्राप्त गरेको कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए ।

आफ्नै जिल्लामा एमबीबीएस तहको पठनपाठन गराउने झापावासीको दशकौँं पुरानो चाहना बल्ल पूरा भएको जनाउँदै उनले मेडिकल कलेजका लागि विसं २०६८ मा सरकारबाट आशयपत्र पाउँदा र विसं २०७१ मा ३०० शय्याको अस्पताल सञ्चालन हुँदासमेत पठनपाठन सुरु हुन एक दशक कुर्नुपरेको उनको भनाइ छ ।

सत्तरी जना प्रोफेसर कार्यरत
बिएन्डसी मेडिकल कलेजका प्रिन्सिपल प्राडा उमेश शर्माले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन पाएका ११ वटामध्ये बीएन्डसी कान्छो कलेज भएको स्मरण गर्दै पठनपाठन सुरु हुँदै गर्दा ७० जना प्रोफेसर (पूर्णकालीन फेकेल्टी) कार्यरत रहेको बताए । उनले पहिलो सत्रमै देशका राम्रो श्रेणीका विद्यार्थीले बिएन्डसी मेडिकल कलेज रोजेको जनाउँदै मेचीनगर–१२ स्थित साइन्स ब्लकमा एनाटोमी, फिजियोलोजी, बायो केमेस्ट्री, माइक्रो बाइलोजी, कम्युनिटी मेडिसिन, फर्माकोलोजीलगायतका सुविधासम्पन्न फेकेल्टीमा पठनपाठन भइरहेको बताए ।

सर्वोच्च अदालतले विसं २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  ९ : ३५ बजे

परराष्ट्रमन्त्रीको जवाफ : बीआरआई सम्झौतामा ‘ऋण’ भन्ने शब्द नै छैन

काठमाडौं- परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले चिनियाँ सहयोग परियोजना

 युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु

एजेन्सी – युक्रेनसँगको युद्धमा ३०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको

भीरबाट लडेकी विष्णुमायाको उपचार अभावमा गयो प्राण

धनगढी- भीरबाट लडेर गम्भीर घाइते भएकै अवस्थामा घटमुना अस्पताल पुर्‍याइएकी

तरकारी खेतीबाट वार्षिक छ लाख आम्दानी

वालिङ– यहाँका एक किसानले व्यावसायिक तरकारी खेतीबाट वार्षिक छ लाखभन्दा

मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर – मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक