१९ फेब्रुअरीमा पाकिस्तान र युएईमा सुरु हुने च्याम्पियन्स ट्रफीमा भारतलाई ठुलो धक्का लागेको छ। टोलीका सबै भन्दा प्रमुख खेलाडी जसप्रित बुमराह उपस्थित नहुने पक्का भएको छ। च्याम्पियन्स टोलीमा भारत मात्र होइन स्तरीय खेल हेर्न चाहने सबैका लागि यो पक्कै दुखद् हो।
भारतीय टोलीबाट दुई खेलाडी परिवर्तन गरिएका छन्। यसरी परिवर्तन गरिएका खेलाडीमा बुमराहको स्थानमा हर्षित राना तथा यसस्वी जयसवालको स्थानमा वरुण चक्रवर्ती छन्। यी दुवै खेलाडी कलकत्ता नाइट राइडर्सका हुन्।
चक्रवर्तीले इंग्ल्यान्डसँगको टी-२० शृङ्खलामा शानदार प्रदर्शन गरेका थिए। प्लेयर अफ द सिरिज हुने क्रममा चक्रवर्तीले १४ विकेट लिएका थिए। यसैगरी इंग्ल्यान्डसँगको शृङ्खलामा नै एक दिवसीय डेब्यु गरेका रानाले सो खेलमा ३ विकेट लिए। राना एक दिवसीय क्रिकेटमा डेथ ओभरका विज्ञ मानिन्छन्।

बुमराहको पछिल्लो परीक्षणले प्रतियोगितामा बलिङ गर्न असमर्थ रहको पुष्टि भएको छ। उनको पूर्ण रिपोर्ट तथा खेल्न चाहने समय भने अनिश्चित नै छ।
उनी खेलमा फर्कने समयको बारेमा सबै अनिश्चित नै रहेको जनाइन्छ। रानाको हकमा भने उनको प्रतिस्पर्धा मोहम्मद सिराजसँग थियो। इंग्ल्यान्डसँगको शृङ्खलामा पहिलो खेलमा लिएको ३ विकेटका लागि प्रमुख छनोटकर्ताको मन जित्न राना सफल भएका हुन्।
अर्कोतर्फ इंग्ल्यान्डसँगको एक दिवसीय खेलमा अवसर पाएका जयसवाललाई प्रतिस्थापित गर्दै चक्रवर्तीलाई मौका दिने आधार भने टी-२० शृङ्खला नै हो। इंग्ल्यान्डसँगको शृङ्खला जयसवालका लागि भने दुखद रह्यो। उनी बाहेकका अन्य शीर्ष ब्याट्सम्यान सफल भए। भारतले गरेको विभिन्न परीक्षणले फेरि पनि कप्तान रोहित शर्मा र शुभमन गिलको प्रारम्भिक साझेदारी नै उपयुक्त ठहर भएको छ। तीन खेलमा भारतले सबै जिती सकेको छ। पहिलो एक दिवसीयमा कमजोर प्रदर्शन गरेका कप्तान शर्माले दोस्रो एक दिवसीयमा शतक प्रहार गरेका छन्।
अर्कोतर्फ शुभमन गिल त झन् सानदार फर्ममा रहे। विराट कोहली तेस्रो क्रममा झन्डै पक्का देखिए भने श्रेयास ऐयार र लोकेश राहुल पनि पहिलो रोजाइको टोलीमा रहने पक्का जस्तै भएको छ। इंग्ल्यान्डसँगको शृङ्खलामा मौका पाएका दुवै बायाँ हाते स्पिनर अलराउण्डर अक्षर पटेल र रवीन्द्र जडेजाले राम्रो प्रदर्शन गरेपछि भारतीय टोलीको पहिलो रोजाइमा हार्दिक पाण्डेको स्थान असुरक्षित देखिएको छ।

टोलीमा पटेल, जडेजा, पाण्डे र वासिङ्टन सुन्दरसहित चार अलराउण्डर छन्। यसमा पाण्डेबाहेक सबै स्पिनर अलराउण्डर हुन यसै गरी, शर्मा, गिल, कोहली र ऐयार गरी चार ब्याट्सम्यान छन्। विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त र लाकेश राहुल छन्। विशेषज्ञ सिमर रानाका साथमा आर्सदीप सिंह छन्। विशेषज्ञ बलर चक्रवर्तीको साथमा कुलदीप यादव छन्।
गत विश्वकप विजयी फ्रन्ट लाइन सिमर बिना अस्ट्रेलियाले यस च्याम्पियन्स ट्रफीका सहभागिता जनाउने भएको छ। मिचेल स्टार्कले व्यक्तिगत कारणले नाम फिर्ता लिएपछि अस्ट्रेलियाको टोलीको नेतृत्व स्टेभन स्मिथले गर्ने भएका छन्। यसअघि नै प्याट कुमिन्स, जोस हजेलउड र मिचेल मार्सले चोटका कारण परिवर्तन गरिएका छन्। यसैगरी मार्कस स्टोनिसको संन्यासका कारण अस्ट्रेलियाको टिमको बलिङ आक्रमणमा नै समस्या देखिएको छ।

सियन एबोट, बेन ड्रसियस, ज्याक फ्रेजर म्याक गुरुक, स्पेन्सर जोन्सन र तनवीर सांगा टोलीमा अटाएका छन्।
अफगानिस्तानका एफ जाफन्जर पनि च्याम्पियन्स ट्रफीको पूर्व सन्ध्यामा घाइते भएका छन्। यसरी खेल गुमाउने अन्य स्टारमा इंग्ल्यान्डका ज्याकोब बेथल पनि छन्। भारत भ्रमणको क्रममा उनले चोट बोकेका हुन्।
न्युजिल्यान्डका दुई खेलाडीले पनि च्याम्पियन्स ट्रफीको पूर्व सन्ध्यामा चोट बोकेका छन्। फेब्रुअरी महिनाको पहिलो सातामा भएको आइएल टी–२० मा लुकी फर्गुसनले चोट बोकेका हुन्। यसैगरी पाकिस्तान श्रीलङ्का सम्मिलित त्रिकोणीय शृङ्खलाको क्रममा रचिन रवीन्द्रले पनि चोट बोके। फिल्डिङको क्रममा घाइते भएका उनको च्याम्पियन्स ट्रफीमा अनुपस्थिति अनिश्चित नै छ।
पाकिस्तानका हरिस राउफले चोट बोकेका छन्। यसरी चोट बोक्ने खेलाडीमा दक्षिण अफ्रिकाका गेराल्ड कोयट्जे तथा न्रिच नोत्र्जे छन्। यी दुईको चोटपछि कासिगो रबाडा, लुङ्गी एनगीडी तथा मार्को जेन्सनले सबै खेल खेल्ने सम्भावना छ। पेस बलर क्वाना मापाखा भने रिजर्भ खेलाडीको रूपमा पाकिस्तान पुग्ने छन्।

दक्षिण अफ्रिकी टोली तेम्बा बभुमाको नेतृत्वमा रहने छ। सो टोली पछिल्लो टेस्ट शृङ्खलामा शानदार प्रदर्शन गरेका रेन रिकल्टनमा बढी नै आशावादी छन्। १९ फेब्रुअरीदेखि हुने च्याम्पियन्स ट्रफीको समूह ‘ए’मा बङ्गलादेश, भारत, पाकिस्तान र न्युजिल्यान्ड छन्। यसैगरी समूह ‘बि’मा अफगानिस्तान, इङ्गल्यान्ड, अस्ट्रेलिया र दक्षिण अफ्रिका छन्। पहिलो खेल १९ फेब्रुअरीमा कराँचीमा पाकिस्तान र न्युजिल्यान्डबीच हुनेछ। भारतले भने पाकिस्तानमा कुनै खेल खेल्ने छैन। भारतका सबै खेल युएईमा हुने छन्।
हरेक प्रतियोगिताले केही नयाँ स्टारको जन्म गराउँछ। सन् २०२३ को एक दिवसीय विश्वकपले नपत्याउँदो रूपले ट्रेभिस हेडलाई स्टारको रूपमा स्थापित गराएको थियो। हुनसक्छ यस पटकको च्याम्पियन्स ट्रफीले केही नयाँ खेलाडीलाई नयाँ स्टारको रूपमा स्थापित गराउन सक्ने छ। को स्टार बन्छ त्यो सबैको चासोको विषय हो। धेरै पटक नपत्याउँदो रूपले टोलीमा अटाएका खेलाडीले नै सफलता दिलाएका छन्। यस पटक कसको भाग्य चम्किन्छ भनेर खेल सुरुभएपछि मात्र भन्न सकिन्छ। स्रोतः क्रिक इन्फो , आइसिसी
प्रतिक्रिया