बाढी नै नआई डुबेका बबरमहलबासीको प्रश्न– कसले दिन्छ क्षतिपूर्ति ? | Khabarhub Khabarhub

बाढी नै नआई डुबेका बबरमहलबासीको प्रश्न– कसले दिन्छ क्षतिपूर्ति ?

वडाध्यक्ष भन्छन्– क्षति भएकै छैन, पीडित भन्छन्– डुबियो !



काठमाडौं– बबरमहलमा बुधबार दिउँसो आकाशे वर्षा या खोलामा बाढी नै नआइकन अदालत र वन कार्यालय हुँदै व्यक्तिका भान्छाकोठा र ओछ्यानसमेत डुबानमा परे । कतिपय व्यवसायीका लाखौं–करोडौंका सामान डुबे । तर, डुबानको जिम्मा लिने कुनै पनि सरकारी निकाय अहिलेसम्म झुल्किएको छैन ।

बबरमहलको अप्रत्याशित घटनाबाट नागरिकको कति क्षति भयो भनेर अहिलेसम्म न गृहमन्त्रालयले विवरण सार्वजनिक गरेको छ, न विपद व्यवस्था प्राधिकरणको बुलेटिनमा यो घटनालाई समेटिएको छ । न त ‘नजिकको सरकार’ मानिने महानगरका जनप्रतिधिलाई नै यसले छोएको छ । मेयर बालेन्द्र शाह घटनास्थलमा पीडितलाई भेट्न जानु त धेरै टाढाको कुरा ।

नेपाल विद्युत् प्राधिकरणद्वारा विजुलीको तार भूमिगत गर्न सडक खन्ने गर्ने क्रममा खानेपानीको पाइपको फुटेको थियो । उक्त पाइप करिब २० घण्टापछि मर्मत भएको छ । तर, व्यक्तिका घरमा पुगेको क्षतिको भने कसैले आकलनसम्म गरेको छैन ।

विद्युत् प्राधिकरणको भूमिगत तार बिछ्याउने ठेकदारले सडक खन्ने क्रममा मेलम्ची खानेपानीको पाइप फुटाइदिएपछि बुधबार पुरानो जिल्ला अदालत, वन कार्यालय र विषेश अदालतसहित सरकारी कार्यालयसमेत डुबे भने व्यक्तिका पसल र निजी घरमा समेत क्षति पुगेको छ ।

घटना भएको भोलिपल्ट, विहीबार दिउँसो खबरहबकर्मी बबरमहल क्षेत्रमा पुग्दा पीडितहरु कोठामा जमेको पानी सकी–नसकी फालिरहेका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा पर्ने उक्त स्थानमा बसोबास गर्ने, पसल र व्यवसाय गर्नेहरु अन्योलको स्थितिमा छन् ।

वडाध्यक्ष भन्छन्– क्षति नै भएको छैन, के विवरण संकलन गर्ने ?

घटनाबारे बुझ्न सम्पर्क गर्दा काठमाडौं महानगर– ११ का वडाध्यक्ष हिरालाल तण्डुकारलाई फोन गर्दा यो घटनाबाट व्यक्तिहरुको घरमा कुनै क्षति नपुगेको जिकिर गरे । उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । यो वडा कांग्रेस नेता एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहको निर्वाचन क्षेत्रभित्र पर्छ ।

‘घरभित्र अलिअलि पानी पसेको हो, विवरण नै संकलन गर्नुपर्ने गरी क्षति पुगेको छैन,’ वडाध्यक्ष तण्डुकारले विहीबार खबरहबसँग भने, ‘म दिउँसो त्यहाँ गएको थिएँ, सडकमा जमेको लेदो दिउँसो १२ बजे नै उठाइसकेको छु, एक ठाउँका अलिकति पर्खाल भत्केको हो, अरु क्षति भएको छैन । अवस्था सामान्य नै छ ।’

वडाध्यक्ष तण्डुकारले भनेजस्तै पाइप फुटेर क्षति भएको स्थानमा विहीबार काठमाडौँ महानगरको एउटा सानो गाडीमा दुईचार कर्मचारीले सडकको हिलो उठाइरहेका थिए । तर, व्यक्तिका घरभित्र पुगेको क्षतिबारे भने कसैले वास्ता गरेको भेटिएन ।

कुनै प्राकृतिक प्रकोप नभई सरकारी लापरबाहीबाट क्षति व्यहोर्नुपरेको गुनासो गर्दै पीडितहरुले यथाशीघ्र क्षतिपूर्तिका लागि माग गरेका छन् । प्राकृतिक विपत्ति तथा अन्य कुनै पक्षबाट नभई सरकारकै लापरवाहीबाट घटना भएकाले सम्पूर्ण क्षतिको जिम्मा सरकारले नै लिनुपर्ने उनीको माग छ ।

बिहीबार दिउँसो खबरहबको टिम घटनास्थलमा पुग्दा सरकारी निकायको बाटो हेरेको २४ घण्टा बिते पनि कोही नआएको पीडितले गुनासो गरे । संघीय राजधानीमै नागरिकहरु असुरक्षित भएको भन्दै उनीहरुले सरकारको आलोचना गरे । तर, वडाध्यक्ष तण्डुकार भन्छन्, ‘मलाई त अहिलेसम्म कसैले पनि मेरो यति क्षति भयो, मलाई क्षतिपूर्ति दिनुपर्‍यो भनेका छैनन् ।’

वडाध्यक्ष तण्डुकारले कसैको पनि क्षति नभएको दाबी गरिरहँदा पीडितहरुको कुरो सुनौं–

४० लाखको क्षति भयो : अरविनकुमार दास

पानीमा डुबेको अफिस सफा गरेर भर्खर थकाइ मार्दै गरेको अवस्थामा अरविन कुमार भेटिए । कार्यालयका सबै सहयोगी र कर्मचारी मिलेर सरसफाइ गरिरहेका थिए । बुधबार स्टोरमा डुबान हुँदा करिब ४० लाखको सामानमा क्षति पुगेको उनले खबरहबलाई बताए ।

उनले भने, ‘हामी खानेकुरा विदेश सप्लाई गर्छौं । स्थानीय व्यवसायीबाट किनेका खानेकुराको स्टोर हो यो । तर, ढल मिसिएको बाढीले सबै सामान डुबायो । अब खानेकुरा अब बेच्ने कुरै भएन ।’

उनले अगाडि भने, ‘यो राज्यद्वारा गरिएको लापरवाही हो । यसको क्षतिपूर्ति वीमा कम्पनीले दिँदैन । आगलागी वा अन्य प्राकृतिक विपत्तिको मात्रै बीमा पाइन्छ । इन्योरेन्स कम्पनी शायद राज्यले गरेको लापरवाहीको क्षतिपूर्ति दिन बसेको होइन ।’

दुई करोडको सामान डुब्यो : नवराज श्रेष्ठ

बबरमहलकै स्थायीबासी नवराजको अटोमोबाइल व्यवसाय छ । उनी गाडीका पार्टस्, लुब्रिक्यान लगायत गाडीलाई चाहिने सामान बेच्छन् । उनको आफ्नै घरमा शो रुम छ । केही हप्ता अघि मात्रै दुई करोडको सामान थपेकोमा सबै डुबेको उनी बताउँछन् ।

डुबानमा परेको शोरुम कोही कसैले हेर्न नआएपछि आफैं कर्मचारी लगाएर सामान बाहिर निकाल्दै गरेको अवस्थामा भेटिए नवराज । उनले भने, ‘यो देशमा नागरिक जुनसुकै समस्यामा परोस् । सरकारलाई कुनै मतलब छैन । हामीसँग राज्य पनि छ है भन्ने प्रत्याभूतिसम्म गर्न सकिएन । सरकारी निकाय कुनै पनि अहिलेसम्म यहाँ आइपुगेका छैनन् । कुनै प्रतिनिधि पठाउन सक्थ्यो होला नि सरकारले ।’

उनले थपे, ‘यो सबै सामान फलामले बनेको हुन्छ । पानीले बिग्रन्छ, खिया लाग्छ । चारवटा कोठामा भएको सबै सामान ध्वस्त भयो । यस्तो सामान ग्राहकले किन्न मान्दैनन् । पाटपूर्जा पानीमा डुबेपछि पुनः प्रयोग गर्न सकिँदैन ।’

नवराजको माग छ, ‘हाम्रो क्षतिको जिम्मा नेपाल सरकारले लिनुपर्छ । उनीहरुकै कमजोरीले भएको क्षति हो । राज्यलाई कर तिरेर बसेको व्यवसायीलाई अप्ठ्यारोमा पार्ने काम नगरियोस् ।’

काठमाडौं धेरै असुरक्षित रहेछ : सरस्वती ढुङगाना

सिन्धुपाञ्चोककी सरस्वती ढुंगाना विहीबार खाजाघर सफा गर्दै थिइन् । ११ वर्षदेखि उक्त स्थानमा खाजापसल चलाउँदै आएकी उनी बुधबारको बाढी सोचेभन्दा ठूलो भएको बताउँछिन् ।

दुई छोराछोरी र श्रीमानसहित काठमाडौंमा गुजारा गर्दै आएकी ढुङ्गानाले खबरहबसँग भनिन्, ‘काठमाडौँ धेरै असुरक्षित रहेछ । माथि पाइप फुट्यो भन्ने खबर आयो । सुरुमा थोरै पानी आयो । डुबिहाल्दैन भन्ने लागेको थियो । पानी ठूलो रहेछ । अगाडिको पर्खाल भत्किएपछि सोच्नै नसकिने बाढी आयो । ठुलै खोलो पसलभित्र छिर्‍यो । केही उपाय लागेन । हेर्दाहेर्दै जम्मै डुबायो । मान्छे पनि डुबिन्छ कि जस्तो लागेर भागाभाग भयो ।’

सरकारी लापरवाहीको मूल्य सरस्वतीले पनि अनाहकमा तिर्नुपरेको छ । पसलको भूइँमा राखेको चामल, आलु, पिठो, लगायतका खाद्यान्न नष्ट भएको उनले बताइन् । फ्रिज र मोबाइल पनि बिग्रिएको उनले बताइन् । ग्यासको खाली सिलिण्डर, कुर्सी टेबल र भाँडाकुँडा पनि बगाएको र केही खोजेर ल्याएको उनले जानकारी दिइन् ।

सरस्वतीले प्रश्न गरिन्– अब यसको क्षतिपूर्ति कसले दिन्छ ? वडाले दिन्छ होला है ?

व्यवसायले डुबाएकै थियो, बाढीले थप डुबायोः इन्दिरा शाही

काठमाडौँमा होस्टल व्यवसाय गर्दै आएकी धनकुटाकी इन्दिरा शाही चिन्तित मुद्रामा भेटिइन् । ओलिज स्टोर नजिकै रहेको उनको होस्टलको भुइँतला डुबेपछि बिस्तरा, सिरक र तन्ना काम नलाग्ने भएको उनले बताइन् ।

उनले भनिन्, ‘प्लाईले बनेको पलङ पानीमा डुबेपछि गन्हाउन थाल्छ । अब नयाँ किन्नुपर्ने हुन्छ । व्यवसाय राम्रो नचलेका बेला खर्चमाथि खर्च थपियो । भुर्इँतलाका चार कोठा पुरै डुबे । अब यसको क्षतिपूर्ति कसले दिन्छ ?’

पछिल्लो समय होस्टलमा विद्यार्थीको संख्या अत्यन्त कम भइरहेको उनको दुःखेसो छ । व्यवसाय च्वाट्टै छोड्न नसकेको तर विद्यार्थी कम भएकाले चलाउन गाह्रो परिरहेको बताउँदै शाहीले भनिन्, ‘पछिल्लो तीन वर्षमा होस्टलको व्यवसाय चौपट छ । यही बेला पानीले जम्मै डुबाइदियो ।’

खबरहबकर्मीसँग उनले सोधिन्, ‘महानगरभित्रको विपत हो । तर, महानगरका कुनै कर्मचारी अवलोकन गर्न आएका छैनन् । देशकै राजधानीमा यसरी पानीले डुबाउँदा क्षतिपूर्ति त पक्कै पाइन्छ होला नि ?’

कर्मचारीको तलबमा असर गर्छ : रामेश्वर कोइराला

वर्डलिङ्कको बबरमहल शाखाका टेक्निकल डिपार्टका इलेट्रिक प्रमुख रामेश्वरले आफ्नो कम्पनीमा क्षतिमा पुगेको बताए । यो क्षतिले कर्मचारीको तलबमा समेत असर गर्ने उनी बताउँछन् ।

रामेश्वरले खबरहबसँग भने, ‘वर्डलिङ्कको सर्भर हिजैदेखि डाउन छ । हामीजस्ता कर्मचारी राखेर चलाएको कम्पनी हो, यो क्षतिले कर्मचारीको काम र तलबमा समेत असर गर्छ । यसको क्षति कसले दिने हो, सम्बन्धित निकायले अनुगमन गरेर बुझेर क्षतिपूर्तिको व्यवस्था गरोस् ।’

उनी थप्छन्, ‘यहाँ चार फिटसम्म डुब्यो । क्षतिको कुरा गर्ने हो भने अप्टिकलको ओडीएफ तीनवटा डुबेको छ । यहाँ डुबेका कारण ठमेल र सोह्रखुट्टेसम्मको सर्भर डाउन भएको छ । सर्भर चलाउने युफिएस ब्याट्री र सिस्टम सबै खत्तम भयो । यो एउटाकै तीन लाखसम्म पर्छ ।’

साथै, उनले आँखाले देखेको भरमा नोक्सानी अनुमान गर्न नसकिने बताए । ‘सर्भर मेसिन डुबेको हो, क्षतिको पूर्ण विवरण इन्जिनियरहरुले नै निकाल्नुहुन्छ ।’

उनले पनि भने ‘अब के गरी सेवा प्रशारण गर्ने ? सेवादायीले फोन गर्छन् । गुनासो गर्छन् । नेपाल सरकारको कुन निकायको लापरवाहीले गर्दा यो घटना भयो, उसले क्षतिपूर्ति दिनुपर्छ ।’

भीमार्जुन आचार्य भन्छन्– राज्यको उपस्थिति नै देखिएन

संविधानविद डा. भीमार्जुन आचार्य पनि काठमाडौं वडा नम्बर ११ का बासिन्दा हुन् । सरकारी लापरवाहीका कारण पाइप फुट्दा आचार्यको आँगनसम्म पानी पुग्यो । तर, उनको घर अलि अग्लो ठाउँमा भएकाले घरभित्र भने पस्न पाएन । तर, यो घटनाबाट आचार्य निकै गम्भीर देखिए ।

‘यो घटनाले एकैसाथ राज्यमाथि धेरै प्रश्नहरु तेर्स्याइदिएको छ’ आचार्यले खबरहबसँग भने, ‘खानेपानीको पाइप फुट्नुले सरकारी संयन्त्रहरुमा समन्वयको अभाव कस्तो रहेछ भन्ने प्रश्न उब्जाएको छ । बुधबार राति ११ बजेसम्म सडकमा पानी जमेका कारण हामीले हिँडडुल गर्न सकेनौं । एकप्रकारले भन्ने हो भने सिंहदरबार नजिकै रहेर पनि राज्यको उपस्थिति नै देखिएन ।’

‘राज्यको कमजोरीका कारण निम्तिएको दुर्घटनाको क्षति व्यक्ति आफैंले व्यहोर्नुपर्ने हो भने राज्य छ भनेर जनताले कसरी महसुस गर्ने ?’ आचार्यको प्रश्न छ, यो घटनाबाट स्थानीयलाई पीडा भएको छ । राज्यमा बसेको महसुस नै भएको छैन । बच्चाहरुमा मनोवैज्ञानिक असर परेको छ । व्यक्तिको सम्पत्ति नष्ट भएको छ । तर, राज्यको कुनै उपस्थिति महसुस भएको छैन । हामी राज्यलाई कर तिर्छौं तर हामीलाई पर्दा राज्यले नहेर्ने रहेछ भन्ने नागरिकहरुमा अनुभूति भएको छ, यो दुःखद पक्ष हो ।’

बुधबार दिउँसोदेखि नै कुनै काम गर्न नपाएको र रातभरि बत्ती समेत काटिँदा महत्पूर्ण काममा असर परेको आचार्यले बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ८ : ४५ बजे

‘दुःखी आत्मा’ शुक्रबारदेखि प्रदर्शन हुने

काठमाडौं – यौनस्वास्थ्यको विषयमा निर्माण गरिएको चलचित्र ‘दुःखी आत्मा’ को

रुस–युक्रेन युद्धमा ‘बेपत्ता ५० हजार’ व्यक्तिको अवस्थाबारे अनुसन्धान भइरहेको छ : रेडक्रस

जेनेभा – युक्रेनमा विगत तीन वर्षदेखि जारी रुसी युद्धमा ‘बेपत्ता

प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा

धरान – पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग

अनधिकृत रुपमा अस्पताल सञ्चालन गर्नेलाई कारबाही गरिने

जनकपुर – जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको

आहा रारा पोखरा गोल्डकप : उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

कास्की – उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी पोखरामा जारी राष्ट्रिय तथा