काठमाडौं– फाल्गुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व रङसँग जोडिन्छ । परापूर्व कालदेखि नै मित्रता, एकता तथा सद्भावस्वरुप खुसी आदानप्रदान गर्दै होली मनाइन्छ ।
साना बालबालिकादेखि वृद्ध वृद्धासम्म होलीको रङ्गमा रंगिने गर्दछन् । आफन्त भेट हुने एक अर्कालाई रङ लगाएर मिठो मिठो खाँदै होली पर्व मनाउने प्रचलन हाम्रो समाजमा बढ्दै गएसँगै जो कोहीलाई जथाभाबी रङ दल्ने लोला हान्ने जस्ता केही विकृति प्रवृत्ति पनि भित्रिएको छ भने अर्कोतर्फ स्वास्थ्यका हिसाबले पनि होलीमा खेलिने रङको प्रयोगमा पनि सचेतना अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् ।
होलीमा प्रयोग गरिने विभिन्न रंगमा रासायनिक वस्तु मिसाइएको हुन्छ । जसले छालालाई त असर गर्छ नै साथसाथै अप्रत्यक्ष रूपमा आन्तरिक स्वास्थ्यमा असर गर्ने चिकित्सकको भनाई छ ।
चिकित्सकका अनुसार रङ खेल्दा सावधानी नअपनाए आँखाको ज्योति गुम्ने, कानको जाली फुट्ने, छाला सुख्खा हुने, रुघाखोकी लाग्ने, दम बढ्ने जस्ता समस्याहरू देखिन्छन् ।
होलीपछि रङ खेल्दा एलर्जी बढेरै धेरै बिरामीहरू उपचारका लागि आउने गरेका चिकित्सक बताउँछन् ।
रङले स्वास्थ्यमा पार्ने असर

छाला रोग विशेषज्ञ डा. पौडेल भन्छिन् होलीमा रङ खेल्दा प्रत्यक्ष रूपमा धेरै असर हुने भनेको छालामा हो । छालामा चिलाउने डाबरहरू आउने समस्या त प्राय धेरैलाई हुन्छ भने कतिलाई यसले एलर्जी गराएर छालाको भित्री तहसम्म असर गर्न सक्छ ।
उनका अनुसार सामान्य एलर्जी आउँदा ठुलो ठुलो डाबरहरू आउन सक्छ भने आन्तरिक रूपमा भित्र पनि फैलियो भने श्वासप्रश्वासमा असहज हुने, शरीरका विभिन्न भागहरूमा एलर्जी आउँदा ज्वरो आउने, खोकी लाग्ने जस्ता समस्या पनि यसले निम्त्याउन सक्छ ।
त्यस्तै श्वासप्रश्वासको माध्यमबाट फोक्सोसम्म पुग्यो भने आज्मा (दम) गराउन सक्ने, पहिलेदेखि नै एक्जिमाको समस्या छ भने यसले झनै समस्या बढाउने र आँखामा पनि एलर्जी गराउने सम्भावना रहेको उनले बताइन् ।
सकेसम्म अर्ग्यानिक रङ प्रयोग गरौँ
धेरैजसो त आजभोलि मिसावट भएको रङ नै पाइन्छ । त्यसप्रति सचेत हुँदै आफै अर्ग्यानिक रङ पनि बनाउन सकिने डा. ईशा बताउँछिन् । खबरहबसंगको कुराकानीमा उनले भनिन् नेपालमै कति कम्पनीहरूले आफै रङ बनाउँछन् र आफैले पनि घरमा उपलब्ध वस्तुहरू जस्तै बेसार चन्दन लगायतको प्रयोग गरेर रातो पहेँलो कलरहरू बनाउन सकिन्छ ।
त्यस्तै चुकन्दर, विभिन्न किसिमका फुलहरू सुकाएर त्यसको धुलो बनाएर पनि अर्ग्यानिक कलर बनाउन सकिने र यस्ता कलरहरूको प्रयोगले एलर्जी लगायत छालामा हुने समस्याबाट छुटकारा पाउन सकिने उनले बताइन् ।
बजारमा पाइने कलरहरूमा विभिन्न किसिमका केमिकलहरूको मिसावट हुन्छ भने रातो कालो रङहरूमा मेकानिक अक्साइडहरू हुन्छ जुन स्वास्थ्यका लागि अझ धेरै हानिकारक मानिने उनको भनाई छ ।
होलीमा रङ खेल्नुअघि अपनाउनुपर्ने सावधानी
होली विशेषगरी रङकै पर्व मानिने भएकाले सबैले खेल्छन् तर खेल्नुअघि सन्स्क्रीम, मस्चराइजर, फुलस्किन कपडा र आँखामा चस्मा लगाउन कसैले भुल्नुहुँदैन डा. ईशाले भनिन् ।
त्यो बाहेक कलरहरू छान्दा अर्ग्यानिक कलरहरू छान्ने जुन कलरहरू फुल, पातहरू र बेसार तथा चन्दनबाट बनेको हुँदा यसले शरीरलाई हानी गर्दैन बरु फाइदा नै गर्छ । त्यस्तै रङहरूबाट केही समस्या भएमा तुरुन्तै चिकित्सकसँग सल्लाह लिनुपर्ने उनको सुझाव छ ।
रङ खेल्नुभन्दा केही दिन अगाडीदेखि नै छालालाई तयार गर्नुपर्छ जस्तै छालामा केही समस्या छ भने अगाडी नै उपचार गर्ने, रङले छालालाई सुख्खा बनाउने भएकाले चिल्लो बनाइराख्न मोस्चराइजरहरु लगाउने, जस्ता कुराहरू ध्यान दिनुपर्ने उनले बताइन् ।
त्यस्तै छालामा पहिले देखिनै एलर्जी वा एक्जीमा जस्ता समस्याहरू छन् भने सकेसम्म रङ नखेलेकै राम्रो हुन्छ र खेल्नै परेपनि छालालाई चिल्लो बनाइराख्न आवश्यक हुने उनी सुझाउँछिन् ।
साथै चर्को घाममा पनि नखेल्ने किनकि कुनै कुनै कलरहरू लगाएर घाममा जाँदा एलर्जी गराउने हुन्छ । त्यसैले अनुहारमा सन्स्क्रीम लगाउन पनि त्यत्तिकै जरुरी हुन्छ भने हात खुट्टाहरूमा मिलेसम्म फुलस्किन कपडाहरू नै लगाउनुपर्ने उनले बताइन् ।
रङ खेलिसकेपछि के गर्ने ?
रङलाई पुछ्नका लागि सबैभन्दा पहिले मजाले तेलले मालिस गर्ने र सफा कपडाले पुछेपछि मात्रै नुहाउनुपर्ने उनी बताउँछिन् ।
नुहाइसकेपछि फेरी मस्चराइजरहरु लगाउँदा कलर बस्न पाउँदैन र यसले छालालाई पनि खासै असर नगर्ने डा. ईशाले बताइन् ।
यदि छालामा कुनै पनि समस्या लामो समयसम्म रहिरह्यो भने तुरुन्तै चिकित्सकलाई देखाउनुपर्ने उनले बताइन् ।
आफूलाई पहिलेदेखि कुनै समस्या छ र रातो मात्रै भएको छ भने एक दिन चिल्लो पदार्थहरू लगाएर हेर्न सकिन्छ । तर २ तिन दिनसम्म पनि समस्या भइरह्यो र चिलाउने समस्या भइरहेको छ भने चिकित्सकको सल्लाह लिन उनको सुझाव छ ।
प्रतिक्रिया