मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्ने समय आइसक्यो : पूर्वराजा शाह (सन्देशको पूर्णपाठ) | Khabarhub Khabarhub

मुलुकको समग्र संरचनामा हेरफेर र सुधार गर्ने समय आइसक्यो : पूर्वराजा शाह (सन्देशको पूर्णपाठ)


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 5 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गरेका छन् ।

उनले भिडियो सन्देशमा जनभावना र चाहना बुझी मुलुककै समग्र संरचनामा नै हेरफेर र सुधारका कदम चाल्नुपर्ने देखिएको बताएका छन्।

देशलाई शान्त र समृद्ध मुलुक बनाउने जागरूकता जनतामा पैदा भएको उल्लेख गर्दै उनले आगामी वर्ष परिणाम आउने विश्वास थपिएको बताएका छन्।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे दुख जनाउँदै नागरिक स्वतन्त्रताभन्दा ठूलो कुनै बाद वा तन्त्र नहुने पनि जिकिर गरेका छन् । ‘केही दिनअघि हिंसा, आगजनी तोडफोड भयो। मानवीय एवम् भौतिक क्षति भयो । त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो’, उनले भनेका छन् ।

सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार रहेको उल्लेख गर्दै यही नै राजनीतिको मूलधार हुनुपर्ने पनि सन्देशमा भनेका छन्।

‘हरेक नयाँ वर्ष नूतन आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशा हुने गरेको धेरै साल भयो’, उनले भनेका छन्, ‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो। तर त्यस्तो धारणा प्रस्तुत गर्दा सबैले संयम अपनाऔँ।’

नागरिक स्वतन्त्रताभन्दा ठूलो तन्त्र वा वाद नहुने उनको जिकिर छ । ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ, जहाँ राम्रो, नराम्रो, जनगुनासो वा गुनगान सुन्ने परम्परा र संस्कार हुन्छ’, शाहको तर्क छ ।

उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर पैदा भएको जागरुकतालाई सकारात्मक रुपमा लिएको पनि उल्लेख गरेका छन् ।

‘वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुशरणीय छ। देशलाई विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, त्यो नयाँ वर्ष २०८२ मा नेपाली जनताको चाहनाअनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ’, शाहले उत्साह व्यक्त गर्दै भनेका छन् ।

मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आमनेपालीलाई मुक्त गर्न राजसंस्थाले जहिले पनि योगदान पुर्‍याउँदै आएको विदितै रहेको पनि उनले भनेका छन् ।

‘राष्ट्रियता र प्रजातन्त्रलाई मूल कार्य मान्दै जनभावनाबमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहीआएको छ’, शाहले थपेका छन्, ‘वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै भन्ने मञ्जुरी सदैव स्थापित हुनु पर्दछ ।’

उनले राष्ट्रनिर्माता श्री ५ बडामहाराधिज पृथ्वीनारायण शाहको दिव्य उपदेशलाई अबको राज्यसत्ताको मूल मन्त्र हुनुपर्ने पनि उल्लेख गरेका छन्। ‘सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मूल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो,’ शाहले थपे ।

शाहले पछिल्लो समय विश्वले चरम आर्थिक मन्दी भोग्नुपरेको अहिलेको सन्दर्भमा नेपालजस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको पनि भनेका छन् ।

‘विश्वभरि छरिएर रहेका नेपालीहरू एकताका सुत्रमा बाँधिन अब ढिला गर्नु हुँदैन। आफ्नो ज्ञान सीप र सामर्थ्य मात्र होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधनसमेत नेपालमै लगाउनु पर्दछ भन्ने भावना सबै जागृत गराउनु परेको छ,’ शाहले गैरआवासीय नेपालीबारे भनेका छन् ।

शाहले प्रकृतिले दिएको स्वर्गजस्तै सुन्दर हिमवतखण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने पनि बताएका छन् । ‘स्वदेश फर्क, स्वदेश नै स्वर्ग भन्ने अभियान चलाउनु पर्ने आजको आवश्यकता भएको छ’, उनले भनेका छन् ।

जनभावना र चाहना बुझेर मुलुककै समग्र संरचनामा हेरफेर र सुधारका कदम चाल्नुपर्ने अवस्था आएको पनि उनको तर्क छ।

‘शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीहरुमा आमूल परिवर्तन र सुधार गरी तिनको आधुनिकीकरण अनिवार्य भइसकेको छ,’ शाहले थपेका छन्, ‘सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूलनारा हुनुपर्छ। हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचार अन्त्य चाहन्छौँ । त्यसका लागि नेपाली जनताबाट हुने प्रयासमा ऐक्यबद्धता छ ।’

सन्देशको पूर्ण पाठ

प्रिय आत्मीय नेपाली दाजुभाई दिदीबहिनीहरू,

हामी नेपालीहरूको घर आँगनमा नयाँ वर्ष २०८२ आइपुगेको छ । नयाँ घाम, नयाँ ज्योति, नयाँ उत्साह लिएर आएको नयाँ वर्षको उपलक्ष्यमा देश तथा विदेशमा रहेबसेका सम्पूर्ण नेपालीको सुख र शान्तिको मंगलमय शुभकामना !

हरेक नयाँ वर्ष नूतन, आशा र विश्वास बोकेर आउने तर वर्षको बिदाइमा एउटा घनघोर निराशाकाबीच हुने गरेको धेरै साल भयो । समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा, आस्था तथा अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो । तर, त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम अपनाउनुपर्छ।

केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड, भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो । नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद हुँदैन । वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ । नेपाली जनतामा देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ, त्यसलाई हामीले सकारात्मक रुपमा लिएका छौँ ।

वास्तवमा नेपाली जनतामा रहेको देशभक्तिपूर्ण भावना विश्वमै अनुकरणीय र अनुसरणीय छ । देशलाइ विद्यमान जटिलताबाट मुक्त गराई शान्त, स्थिर र समृद्ध मुलुक बनाउने जागरुकता जुन पैदा भएको छ, नयाँ वर्षमा ०८२ मा नेपाली जनताको चाहना अनुसारको परिणाम हासिल हुने विश्वास थपिएको छ । मुलुकमा व्याप्त अशान्ति, अराजकता, निराशा र असन्तुष्टिबाट आम नेपालीलाई मुक्त गर्न नेपालको राजसंस्थाले जहिल्यैपनि योगदान पुर्‍याउँदै आएको विदितै छ । राष्ट्रियता र प्रजातन्त्रलाई मुल कार्य मान्दै जनभावना बमोजिम चल्ने बहुदलीय प्रजातन्त्र र संवैधानिक राजसंस्थाको परम्परामा हाम्रो मान्यता रहिआएको छ ।

वर्तमानमा बदलिँदो जनचाहनाको पनि कदर गरी राज्यशक्तिको स्रोत जनता नै हुन् भन्ने मन्जुरी सदैव स्थापित हुनुपर्दछ । राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशलाई नै अबको राज्यसत्ताको मूल मन्त्र सोच्नुमा के होला ? सन्तुलित कूटनीतिक सम्बन्ध र आत्मनिर्भर नेपालको परिकल्पना नै पृथ्वीपथको मुल सार हो। यही नै राजनीतिको मूल धार हुनुपर्ने हो ।

विश्वको बदलिँदो परिस्थितिलाई मनन गर्दै विश्वव्यापीकरण र स्वतन्त्र व्यापारका आधारलाई चुनौतीको रुपमा लिँदै चरम आर्थिक मन्दी भोग्नुपरिरहेको अहिलेको सन्दर्भमा नेपाल जस्ता विकासोन्मुख देशले आत्मनिर्भर अर्थतन्त्र निर्माणको कार्यमा अर्जुनदृष्टि लगाउनुपर्ने समय आएको छ ।

स्वदेशी स्रोत साधनको प्रयोगले स्वदशमै उत्पादन गरी स्वदेशमै खपत गर्दै आन्तरिक अर्थतन्त्रको चक्रभित्रबाटै मुलुकको समग्र अर्थतन्त्र आत्मनिर्भर र चलायमान गर्नुपर्ने विश्व परिवेश निर्माण हुँदैछ भन्ने संकेतहरू देखा परिरहेका छन् । विश्वकै उत्कृष्ट यो भूमिमा बाँच्नसमेत गार्हो हुने स्थिति पैदा भएपछि बढ्दो युवा पलायनलाई रोकि युवाशक्तिको श्रम र सीपलाई स्वदेशमै उच्च उपयोग गर्नुपर्दछ ।

युवा स्वरोजगारको निम्ति अवसरको खोजी गरी नेपालमै आयआर्जन गर्नसक्ने वातावरण तयार गर्नुपर्ने आजको पहिलो आवश्यकता बनेको छ । सबै नेपालीको तन, मन र ध्यान त्यसैमा लगाउनु परेको छ । विश्वभर छरिरहेका नेपाली एकताको सूत्रमा बाँधिन अब ढिला गर्न हुँदैन ।

आफ्ना ज्ञान, सीप र सामर्थ्य मात्रै होइन त्यहाँ आर्जेको पुँजी, स्रोत र साधनसमेत नेपालमै लगाउनुपर्नेछ भन्ने भावना सबैमा जागृत गराउनुपर्नेछ । प्रकृतिले दिएको स्वर्गजस्तै दिएको सुन्दर हिमवत खण्ड नेपाल सिंगार्न र विकासको बिगुल फुक्न कसरी लाग्ने र लगाउने, स्वदेश फर्क, स्वदेशर्म स्वर्ग भन्ने अभियान चलाउने आजको आवश्यकता भएको छ ।

जनभावना र जनचाहना बुझि मुलुकको समग्र संरचनामा नै हेरफेर गर्नुपर्ने तथ्य स्पष्ट देखिन्छ । शिक्षा, स्वास्थ्य र दैनिक कामकाजका पद्धति र प्रणालीमा आमुल परिवर्तन र सुधार गरी यीनको आधुनिकीकरण अनिवार्य भएको छ । युग प्रविधिको हो, सावधानीपूर्वक उपयोग गर्न सकेमा राष्ट्रको योगदानमा ठूलो टेवा पुग्न सक्नेछ । सुशासन र भ्रष्टाचारमुक्त प्रशासन मूल नारा हुनुपर्छ ।

हामी अस्थिरता, अशान्ति, अराजकता, विपन्नता र भ्रष्टाचारको अन्त्य चाहन्छौं । त्यसका निम्ति नेपाली जनताबाट हुने हरेक प्रयासमा ऐक्यबद्धता रहनेछ । रुग्ण हुँदै गएको औद्योगिक उत्पादन, बढ्दो राष्ट्रिय ऋण र बेरोजगारी, रक्षात्मक बन्दै गएको राष्ट्रियता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, मौलिक धर्म, संस्कृति तथा जनस्तरमा बढेको निराशा, असन्तुष्टि हाम्रो चिन्ताको मूल विषय हो । नागरिक पलायनसँगै पुँजी पलायन, भ्रष्टाचार र बेथिति देशले धान्नै नसक्ने स्तरमा झाँगिएको छ ।

यो स्थितिमा नयाँ वर्षलाई उपलब्धीमुलक बनाउनु हामी सबै नेपालीको सामूहिक र एकताबद्ध प्रयास अपरिहार्य भएको छ । नेपाली नेपालीबीच द्वन्द्व नहोस् । परस्पर अविश्वास र हिंसाको दुःखद मनस्थिति नबनोस्, देशबासीहरू कुनैपनि नाम र निउँमा ध्रुवीकृत नबनुन् भन्ने कुरामा संवेदनशील छौं । नेपालीको एकतामा नै नेपालको भविष्य निहीत रहेको यथार्थलाई हामीले आत्मसाथ गरेका छौं । सबैले यही वास्तविकतालाई आत्मबोध गनुपर्दछ भन्ने ठान्दछौं ।

हाम्रा आह्वान हामी कसैको नीजि स्वार्थपूर्तिका लागि होइन, कुनै खालको सैद्धान्तिकवाद वा विचारको होइन । समग्र राष्ट्रको स्वाधीनता, समग्र जनताको समप्रभुता, नेपाल र नेपालीको सुखमय प्रतिष्ठाको निम्ति हो । आफ्नै प्रकारको अग्रणी राष्ट्र हामीले नै बनाउने हो । अनि आफ्नो स्वतः अस्तित्व हामी आफैँले उठाउने हो ।

संसार धेरै अघि बढिसक्यो । तर हामी यो वा त्यो वादको चक्रमा फसेका छौं । नेपाल आमालाई केन्द्रमा राखेर हाम्रा विचार बन्नुपर्छ, हाम्रा कदम चल्नुपर्छ । हरेक समस्याको समाधान, संवाद, सहमति समन्वय र सहकार्यबाट हुनसक्छ । आगामी वर्ष नेपाली इतिहासको स्मरणीय र सुनौलो सम्झना बन्नुपर्छ । र बनाउन सकिन्छ भन्ने विश्वास हामीले लिएका छौं । नयाँ वर्षले नयाँ आशा, उमंग र उत्साह ल्यायोस् । अनि नेपालीको सुनौलो भविष्यको सुनिश्चितता होस् ।

श्री पशुपतिनाथले हामी सबैको हामी सबैको कल्याण गरुन् । जय नेपाल !

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ३९ बजे

चलचित्र छायाङ्कनको ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ– पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै मुस्ताङ

शिक्षकका मागबारे कांग्रेस महामन्त्रीद्वयको चासो, शिक्षक प्रतिनिधिसँग छलफल

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश

ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण

म्याग्दी– ढोरपाटन सिकार आरक्षको गुर्जाघाट र म्याग्दीको धवलागिरि गाउँपालिका– १

युवा सङ्घ कप भलिबल : उपाधिका लागि मालिका र डोटी भिड्ने

धनगढी–  कैलालीको धनगढीमा जारी  राष्ट्रिय युवा सङ्घ कप भलिबल प्रतियोगिताको

कक्षा १२ को परीक्षा र विद्यार्थी भर्ना अभियान बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय

काठमाडौं– विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै नेपाल शिक्षक