आरती सहकारीले बेच्न थाल्यो ‘इनर्जी ड्रिङ्क’, सदस्यहरूले उठाए पारदर्शितामा प्रश्न | Khabarhub Khabarhub

आरती सहकारीले बेच्न थाल्यो ‘इनर्जी ड्रिङ्क’, सदस्यहरूले उठाए पारदर्शितामा प्रश्न


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मोरङको पथरीशनिश्चरे–१ मा अवस्थित चर्चित सहकारी संस्था आरती बहुउद्देश्यीय सहकारी संस्था हाल गम्भीर विवादमा मुछिएको छ।

सयौँ सदस्यहरूको बचत, मिहिनेत र विश्वासमा आधारित यो संस्था अहिले एक इनर्जी ड्रिङ्कबारे गरेको सम्झौतालाई लिएर पारदर्शिता, सेवाभाव र नैतिकताको गम्भीर प्रश्नको सामना गरिरहेको छ ।

एकै उत्पादनमा करोडौं लगानी

केही महिनाअघि आरती सहकारीले काठमाडौंस्थित एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित ‘एक्सट्रिम इनर्जी ड्रिङ्क’लाई बजारमा प्रवर्द्धन गर्ने निर्णय गर्‍यो।

उक्त निर्णयअनुसार सहकारीले पहिलो चरणमा १५ हजार कार्टुन र पछि थप १० हजार कार्टुन खरिद गर्‍यो, जसका लागि चार करोड रुपैयाँभन्दा बढी लगानी गरिएको छ।

यद्यपि, एग्रो थाईको उक्त पेय पदार्थको आधिकारिक डिलर पथरी बजारमै वाईबी सप्लायर्स पहिलेबाटै रहेको देखिएको छ । उक्त सप्लायर्स आरतीकै व्यवस्थापक मोहन श्रेष्ठ, अध्यक्ष यादवचन्द्र दुलाल र सदस्य टीका देवानको निजी लगानीमा सञ्चालित कम्पनी हो।

सेवा कि स्वार्थ ?

सहकारीले लगानी र बजार व्यवस्थापनको जिम्मा आफू सम्बद्ध सप्लायर्स कम्पनीलाई दिनु स्वार्थ बाझिएको रुपमा सदस्यहरूले व्याख्या गरिरहेका छन् ।

शेयर सदस्यहरूले संस्थाको पैसामा गरिने निर्णयबारे कुरा लुकाइएको, पारदर्शी प्रक्रिया नअपनाइएको र व्यक्तिगत लाभ हेरेर निर्णय गरिएकामा आपत्ति जनाएका छन्।

पथरी उद्योग वाणिज्य संघका पूर्व महासचिव तथा सहकारी सदस्य राजेन्द्र बस्नेतले यसमा आपत्ति जनाएका छन् ।‘सीमित केही व्यक्तिले अन्य शेयर सदस्यलाई अन्धकारमा राखेर लाभ लिने योजना बनाएका छन्’, उनले भने ।

कम्पनीसँगको कारोबारमै शंका

सहकारीले वाईबी सप्लायर्समार्फत् एनओसी लिएर डिलरशिप गरे पनि बिक्रीको सम्पूर्ण व्यवस्थापन र ढुवानी पनि त्यही सप्लायर्सलाई दिइएको छ। यति मात्रै होइन, कम्पनीबाट प्राप्त हुने २ प्रतिशत कमिशन पनि उक्त सप्लायर्सलाई दिने निर्णय सहकारीको कार्यसमितिबाट पारित गरिएको छ।

सहकारी व्यवस्थापक श्रेष्ठले प्रतिकार्टुन ६० रुपैयाँ मात्र फाइदा हुने बताइरहेका छन् । सदस्यहरू भने अझ धेरै लाभ र स्किमहरू लुकाइएको दाबी गर्छन्।

विष्णुचोक सप्लायर्सका राजेन्द्र ढकालले धेरै कुरा लुकाइएको बताए । ‘कम्पनीले समय–समयमा अतिरिक्त छुट र स्किम दिन्छ, तर सहकारीले त्यसबारे सदस्यहरूलाई जानकारी दिएको छैन’, उनले भने ।

व्यवस्थापकको स्पष्टीकरण

व्यवस्थापक श्रेष्ठले सहकारीसँग गाडी र कर्मचारी नभएकाले वाईबी सप्लायर्ससँग साझेदारी गरिएको बताएका छन् ।

‘सहकारीसँग गाडी वा कर्मचारी नभएकाले वाईबी सप्लायर्ससँग साझेदारी गरिएको हो’, उनले भने, ‘कार्यसमितिबाट पारित निर्णयअनुसार तरलता व्यवस्थापनका लागि व्यापारमा लगानी गरिएको हो।’ उनले सबै कार्य सहकारी नियमअनुसार भएको दाबी गरे।

राजनीतिक हस्तक्षेप र मौनता

दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाऊ अभियानका अभियन्ता तथा सदस्य हेमचन्द्र बाँस्तोलाले सहकारीका नाममा व्यापार गरेर केहीले व्यक्तिगत फाइदा लिएको बताए ।

‘व्यवस्थापक र अध्यक्षले सहकारीको नाममा व्यापार गरी व्यक्तिगत लाभ लिने संरचना बनाएका छन्’, उनले भने । उनका अनुसार राजनीतिक पहुँच भएका व्यक्तिहरूलाई जोगाउने प्रयास भइरहेको छ । उता यसबारेमा सञ्चालक समिति पनि मौन छ।

कानूनी प्रावधान र नैतिकता

सहकारी ऐन, २०७४ मा कुनै पनि सहकारीमा पारदर्शिता, सामूहिक निर्णय र संस्थाको हित प्राथमिक हुनुपर्ने स्पष्ट व्यवस्था छ। तर, सदस्यहरूले स्वयम् अध्यक्ष र व्यवस्थापक संलग्न कम्पनीसँग सहकारीको व्यापार गरिनु आपत्तिजनक मानेका छन् ।

एक सहकारी विज्ञले भने, ‘यस्ता कार्य सहकारीको मूल उद्देश्य र मूल्य विपरीत जान्छन्। पारदर्शी प्रक्रिया बिना एकल कम्पनीसँग सम्झौता गर्नु सहकारी सदस्यप्रति अन्याय हो।’

विश्वास गुम्ने खतरा

आरती सहकारीमा हाल २ हजार ३८७ जना शेयर सदस्य छन्। तर यस्ता घटनाले आरतीसहित समग्र सहकारी अभियानको नैतिकता र जनविश्वासमाथि प्रश्न उठाइरहेको छ।

यदि यस्ता गोप्य डिलिङ र स्वार्थ आधारित निर्णयहरू दोहोरिइरहेमा ग्रामीण क्षेत्रका सहकारीहरूबाट जनताको विश्वास गुम्ने खतरा प्रस्ट देखिन्छ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  १ : ५४ बजे

जेन–जी पुस्तालाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन शिवाकोटीको जोड

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसले

दक्षिण अफ्रिकाले जित्याे टेस्ट च्याम्पियनसिपको उपाधि

काठमाडौं – दक्षिण अफ्रिकाले आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको

आजबाट बंगलादेशसँग बिजुली बिक्री सुरू

काठमाडौं – नेपालले आजबाट बंगलादेशमा ४० मेगावाट विद्युत व्यवसायीक रूपमा

तनहुँ प्रशासनमा बिहान ७ बजेदेखि सेवा

तनहुँ – जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका