गण्डकीमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना खुम्चिँदो  « Khabarhub

गण्डकीमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना खुम्चिँदो 

युवा भने आशावादी 


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पोखरा–  नेपालमा अवसर नभएरै प्रतिभाशाली व्यक्ति बिदेसिने चर्चा भइरहँदा गण्डकी प्रदेशका नागरिकको धारणा पनि त्यसैसँगै मिलेको छ । पूरक एसियाले गण्डकीका ९ जिल्लामा गरेको सर्वेक्षणले प्रदेशमा रोजगारी, लगानी र उद्यमशीलताको सम्भावना निकै खुम्चिएको देखाएको छ ।

गत पुस १२ देखि माघ ११ सम्म कास्की, स्याङ्जा, तनहुँ, गोरखा, लमजुङ, म्याग्दी, पर्वत, बागलुङ र नवलपुरमा १ हजार ६७ जनाबीच गरिएको सर्वेक्षण अनुसार, पेशाप्रति सन्तुष्ट हुने ७०.३ प्रतिशत भए पनि देशमा लगानीको अवसर देख्ने ३०.७ प्रतिशत मात्र छन् । लगानीको वातावरण नरहेकामा असहमत हुनेको संख्या ६१ प्रतिशत पुगेको छ, जुन निकै निराशाजनक संकेत हो ।

देशभित्रका कामका प्रकृतिमा परिवर्तन, जनसंख्या बनावट र आर्थिक संरचनाको फेरबदलसँगै अबको अवसर कस्तो हुने भन्ने प्रश्न उठ्न थालेको छ । जबकि पछिल्लो दशकमा नेपालले संविधान जारी गर्दै संघीयता लागु गरेको, पूर्वाधार विस्तार गरेको र प्रविधिमा भने फड्को मारेको छ । २ पटकका ठूला भूकम्प, भारतको नाकाबन्दी र कोरोना महामारीका कारण अर्थतन्त्रमा असर पारेकै कारण युवाहरू अवसरको खोजीमा विदेशिनु परेको छ । 

सर्वेक्षणले व्यवसाय सुरु गर्न वा अगाडि बढाउन धेरै अवरोध रहेको, नीति अस्पष्ट रहेको, सरकारी प्रक्रिया झन्झटिला हुनका साथै कर्मचारी संयन्त्रबाटै सिर्जित अवरोध निकै रहेको देखाएको छ । त्यसकै कारण नयाँ लगानीकर्ता हिच्किचाउने, स–सानो पुँजी भएका उद्यमी पछाडि पर्ने र स्थापित व्यवसायीहरूको प्रभावले नयाँलाई दबाउने अवस्था देखिएको छ । व्यवसाय फस्टाउने अवसर नदेख्ने ७०.२ प्रतिशत जनमतले यही सन्देश दिन्छ ।

शिक्षित नागरिकले पनि योग्यताअनुसारको काम नपाएको गुनासो गरेका छन् । सीप, ज्ञान र अध्ययन अनुसार देशमै रोजगारीको अवसर देख्ने १८.४ प्रतिशत मात्र छन् भने त्यसमा असहमत हुने ७७.७ प्रतिशत छन् । प्रवीणता तहसम्मका भन्दा स्नातक र स्नातकोत्तर अध्ययन गरेका बढी निराश छन्, जसले शिक्षा र रोजगारीबीच तालमेलको अभाव देखाउँछ । बजारको माग र शैक्षिक प्रणालीबीचको खाडलले पनि समस्यालाई बढाएको छ ।

युवाको विदेश पलायनबारे पनि नागरिक असन्तुष्ट देखिएका छन् । ८७.९ प्रतिशत उत्तरदाताले युवाको पलायनप्रति असन्तुष्टि जनाएका छन् भने ८६.८ प्रतिशतले देशमै अवसर नपाएकै कारण विदेश जानु परेको बताएका छन् । आफ्नै परिवारको सदस्य विदेश गएमा पनि खुसी नहुनेको संख्या झन्डै दोब्बर छ ।
यसैबीच १८–२५ वर्ष उमेर समूह भने केही हदसम्म आशावादी देखिएको छ । उनीहरूले व्यवसाय र रोजगारीको सम्भावना अरू उमेर समूहभन्दा बढी देखेका छन्, यद्यपि लगानी अवसरको मामिलामा उनीहरूमा पुँजीको अभाव भने समस्याका रूपमा उभिएको छ ।

सर्वेक्षणको निष्कर्ष भन्छ, ‘नेपालमा लगानी गर्ने इच्छा र बचत गर्ने क्षमता बढेको भए पनि सरकारी संरचना, नीति र वातावरण अनुकूल छैन ।’ जसको कारण आर्थिक स्थिरताको विरोधाभास सिर्जना भएको छ । जनशक्ति, आशा र ऊर्जा हुँदाहुँदै पनि अवसरको खडेरीले आर्थिक वृद्धि अवरुद्ध भएको महसुस नागरिकले गरिरहेका छन् । नीति निर्माण र त्यसको व्यावहारिक कार्यान्वयनमा सुधार ल्याइएन भने यो अवस्था अझै जटिल हुन सक्ने संकेत सर्वेक्षणले देखाएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : २३ बजे

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित