पोखराको पर्यटन बसपार्कमा कालो नम्बर प्लेट निषेध, चर्कियो असन्तोष | Khabarhub Khabarhub

पोखराको पर्यटन बसपार्कमा कालो नम्बर प्लेट निषेध, चर्कियो असन्तोष


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

पोखरा– पोखराको एक मात्र पर्यटन बसपार्कमा कालो नम्बर प्लेटका गाडी प्रवेश गर्न नपाउने विषयमा विवाद चुलिएको छ । पोखरा महानगरका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत ‘भ्रामक प्रचार’ विरुद्ध टिप्पणी गरेपछि सार्वजनिक बहस चर्किएको छ भने यातायात व्यवसायीले मेयरको भनाइप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

मेयर आचार्यका अनुसार पछिल्ला दिनमा सामाजिक सञ्जाल र केही व्यक्तिहरूको माध्यमबाट तथ्यविहीन प्रचार र आन्दोलनका गतिविधि देखिन थालेपछि गम्भीर ध्यानाकर्षण गराउनुपर्ने अवस्था आएको हो ।

पोखराको राष्ट्र बैंक चोकको पूर्वतर्फ अवस्थित झन्डै १५ रोपनी क्षेत्रफलको यो बसपार्क सन् १९९८ मा ‘नेपाल भ्रमण वर्ष’ का अवसरमा अस्थायी संरचनाबाट सुरु भएको थियो ।

त्यसयता पर्यटन लक्षित सवारीसाधन पार्किङ तथा यात्रु चढ्ने–ओराल्ने थलोका रूपमा प्रयोग हुँदै आएको यस बसपार्कको २०७९ सालमा पुनर्निर्माण गरिएको हो ।

उक्त पुनर्निर्माण पर्यटन विभाग, पोखरा महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिको संयुक्त लगानीमा सम्पन्न भएको हो ।

हाल बसपार्क नेपाल सरकारको स्वामित्वमा रहनुका साथै पोखरा उपत्यका नगर विकास समितिको नाममा लालपुर्जासहित कायम रहेको स्पष्ट पारिएको छ ।

मेयर आचार्यका अनुसार निर्माण सम्पन्न भएपछि सार्वजनिक टेन्डर प्रक्रियामार्फत पर्यटन क्षेत्रमा मात्र सञ्चालन हुने सवारीसाधनका लागि यो बसपार्कको प्रयोग हुँदै आएको हो । तर पछिल्लो समय ‘१५ रोपनीको सानो क्षेत्र सबै प्रकारका गाडीका लागि खुला हुनुपर्छ’ भन्ने आशयका प्रचारहरू देखिएको भन्दै उनले त्यसप्रति असहमति जनाएका छन् ।

उनले भनेका छन्, ‘यस बसपार्कको उद्देश्य र ऐतिहासिक पृष्ठभूमिलाई बेवास्ता गर्दै सतही रूपमा नयाँ सोचको नाममा गरिएका प्रचारहरू प्रचलित ऐन, कानुन र व्यवस्थाको प्रत्यक्ष उल्लंघन हुन् ।’

उनले अन्य भाडाका सार्वजनिक सवारीसाधन (कालो नम्बर प्लेट) का लागि पोखरा बसपार्क, विन्ध्यवासिनी बसपार्कलगायत स्थानहरूमा छोटो अवधिका लागि पार्किङको व्यवस्था रहँदै आएको र आगामी दिनमा पोखरा बसपार्कको पुनर्निर्माण, लामेआहालमा पूर्ण क्षमताको बसपार्क निर्माण तथा ६ वटा नाकामा साना टर्मिनल बनाउने प्रक्रिया अघि बढिरहेको समेत जानकारी गराएका छन् । ‘यस विषयमा दातृ निकायहरूसँग आवश्यक सम्झौता प्रक्रियामा हामी अघि बढिसकेका छौँ,’ मेयरको भनाइ छ ।

उनले यातायात सेवा अत्यावश्यक व्यावसायिक क्षेत्र भएको उल्लेख गर्दै यसमा संलग्न सबै पक्षले आपसी सहकार्य, कानुनी मर्यादा र संवेदनशीलताको ख्याल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कुनै पनि विषयलाई जानिबुझेर विषयान्तरण गरी आन्दोलनजस्ता गम्भीर शब्दहरूको प्रयोग गर्नु उचित, समयसापेक्ष र समाधानमुखी देखिँदैन,’ उनले लेखेका छन् ।

पोखराका यातायात व्यवसायी योगेन्द्र केसीले मेयरको फेसबुक स्टाटसमा टिप्पणी गर्दै आपत्ति जनाएका छन् । ‘पोखरा बसपार्क बनाउने सोच राम्रो हो तर त्यो कहिले बन्ने हो ? अहिले पर्यटक बोकेर चलिरहेका कालो प्लेटका गाडीलाई हटाउनु उचित होइन,’ उनले प्रतिक्रिया दिएका छन् ।

व्यवसायी केसीले हरियो र कालो प्लेटका गाडीको सेवा र सुविधाको तुलनात्मक मूल्यांकन गरेर निर्णय गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् । ‘हामीलाई मनमुटाब होइन, व्यवस्थापन चाहिएको हो । यात्रु कुन गाडी रोज्छन् त्यो हेरेर निर्णय गर्नुपर्छ,’ उनको भनाइ छ ।

केसीले मेयरप्रति व्यक्तिगत सम्मान व्यक्त गर्दै पनि सवारी व्यवसायीको हक र अस्तित्वको रक्षा गर्न आग्रह गरेका छन् । ‘हामी पनि पोखरावासी हौँ । तपाईँको कार्यकाल सफल होस् भन्ने शुभकामनासहित यो कुरा राखेका हौँ,’ उनले लेखेका छन् ।

हाल पर्यटन बसपार्कको प्रयोजन र पहुँचसम्बन्धी यो विवाद सार्वजनिक बहसको विषय बनेको छ । एकातर्फ महानगरले कानुनी र योजनागत सन्दर्भमा सीमित प्रयोगको नीति लिएको दाबी गरेको छ भने अर्कातर्फ व्यवसायीहरूले यात्रु सेवामा संलग्न सवारीमाथि असमान व्यवहार भएको तर्क गर्दै आएका छन् । पोखरा पर्यटन परिषद्को समेत संलग्नतामा यातायात व्यवसायी पोखरा उपत्यका नगर विकास समितिको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना समेत दिएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ७ : ४५ बजे

एप्पोनको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत चयन 

काठमाडौं– नेपाल औषधि उत्पादक संघ (एप्पोन)को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत

प्रेम, द्वन्द्व र मौन विद्रोहको कथा स् बसन्त चौधरीको उपन्यास ‘देवयानी’

काठमाडौं– नेपाली साहित्यमा लामो समयदेखि कविता, गजल, गीत र प्रेरणादायी

धार्मिक पर्यटन मधेस प्रदेशको समृद्धिको आधार हो : मुख्यमन्त्री सिंह

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले धार्मिक पर्यटन मधेसको समृद्धिको

करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–८ मन्सरी टोलमा सोमबार राति करेन्ट लागेर

जिल्ला प्रशासन कार्यालय उदयपुरद्वारा औषधी पसलमा अनुगमन

काठमाडौं– जिल्ला प्रशासन कार्यालय उदयपुरले जिल्लामा सञ्चालन गरिएका औषधी पसलहरूमा