काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ ।
राष्ट्रिय सभागृहमा भएको नगर सभाको १७ औँ अधिवेशनमा उपमेयर सुनिता डंगोलले २५ अर्ब ७६ करोड ७३ लाख ४१ हजार रुपैयाँको बराबरको अनुमानित बजेट ल्याएको बताएकी हुन् । ६५ करोड रुपैयाँ अन्य बाह्य व्ययभार हुने गरी उक्त परिमाणको बजेट ल्याएको उनले बताइन् ।
उपप्रमुख सुनिता डंगोलज्यूको बजेट बक्तव्य
बैठकका सभाध्यक्ष काठमाडौँ महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहज्यू, नगरसभाका सदस्यज्यूहरू, बैठकका सचिवज्यू, काठमाडौँ महानगरपालिकाका कर्मचारीमित्रहरू, विभिन्न क्षेत्रको प्रतिनिधित्व गरी नगरसभामा उपस्थित हुनु भएका विशिष्ट महानुभावहरू, सांकेतिक भाषाको माध्यमबाट र अन्य माध्यमबाट यस कार्यक्रमलाई सम्प्रेषण गर्नुहुने संचारकर्मी मित्रहरू, स्वदेश तथा विदेशबाट यस कार्यक्रमको प्रत्यक्ष प्रसारणमा जोडिनु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत तथा अभिवादन व्यक्त गर्दछु ।
सवैप्रथम यस महत्वपूर्ण अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापनाको लागि आफ्नो अमूल्य जीवनको आहुती दिनुहुने अमर सहिदहरू प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु ।
आज हामी काठमाडौं महानगरपालिकाको नगर सभाको १७ औँ अधिवेशनको पहिलो बैठकमा उपस्थित भएका छौं । यस बैठकमा अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि वार्षिक नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक पेश गरी छलफल गर्ने क्रममा छौं ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू
अगामी आर्थिक वर्ष २०८२।०८३ को वार्षिक नीति, कार्यक्रम तथा बजेट पेश गर्ने सन्दर्भमा स्थानीय सरकार संचालन ऐनमा भएको समयसिमा भन्दा हामी केही ढिला भएका छौं । विगतका दिनहरूमा हामी विच केही अविश्वास, केही तिता मिठा अनुभव प्रस्तुत भए, आरोप प्रत्यारोप पनि भए सवैकुरा मन्थन भयो समस्यहरू समाधान पनि भए र आज हामी फेरी एक ढिक्का भएर यस गरिमामय सभामा उपस्थित भएकाछौं । समयमै अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फवाट र सवै नगरसभा सदस्यहरूको तर्फवाट महानगरवासी र सरोकारवाला निकाय समक्ष क्षमा याचना व्यक्त गर्दछौं । ढिलै भए पनि अगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम ल्याउन हामी सवैले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि यस गरिमामय सभामार्फत यहाँहरूलाई जानकारी गराउन चाहान्छु ।
सभाध्यक्षज्यू तथा नगरसभा सदस्यज्यूहरू,
हाम्रो सहयात्रा ३ वर्ष पुगिसकेको छ । जनताको अपेक्षाहरू धेरै छन, अवका दिनमा हामी महानगरवासीलाई आफ्नो सामथ्र्यले भ्याउनेसम्मको काम गर्ने प्रण यसै सभा मार्फत गर्न चाहान्छु । जसलाई पूरा गर्न आपसमा सहमति, समन्वय र सहअस्तित्वको भावना सहित सहकार्य गरेमा जनताको इच्छा पूरा गर्न सहज हुन्छ भन्ने मैले विश्वमस लिएकी छु ।
हामी काठमाडौंको विकास गर्न आएका निर्वाचित जनप्रतिनिधिहरू हौं, हामी काठमाडौंको मुहार परिवर्तन गर्न अन्य निकाय र सरोकारवाला निकायहरूबीच परस्पर सहकार्य र समन्वयमा कामहरू अगाडि बढाउन चाहन्छौं । यसका लागि हामीले संघ र प्रदेश सरकारसँग सधै सहकार्यको अपेक्षा राखेका छौं ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा गर्दा नेपालको संबिधान, प्रचलित कानून, नगर सभामा प्रस्तुत भएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम,संघ र प्रदेश सरकारले अबलम्बन गरेका नीति, कार्यक्रम तथा बजेट समेतलाई आधार मानी तयार गरिएको छ । बजेट तर्जुमाका सिलसिलामा प्रमुखज्यू, कार्यपालिका सदस्यज्यूहरू, नगरसभा सदस्यज्यूहरू, बजेट तर्जुमा समिति, स्थानीय राजस्व परामर्श समिति, अन्य बिषयगत समितिहरू, बिभिन्न संघसंस्था, विद्धत वर्ग, नागरिक समुदाय लगायत सबैबाट प्राप्त सुझाब समेतलाई आधार मानिएको छ ।
नेपालको संबिधान जारी भएपश्चात राज्यको शासकीय संरचना ३ तहको सरकारबाट सन्चालित छ । स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार हो । स्थानीय सरकारको रुपमा काठमाडौँ महानगरपालिकाले व्यवस्थापकीय, कार्यकारी र न्यायिक अधिकारको प्रयोग गर्दै आएको छ । यस सम्मानित नगरसभामा बजेट तथा कार्यक्रमको साथै आर्थिक र बिनियोजन विधेयक समेत पेश हुने भएकाले उक्त विधेयकहरूमा आम्दानी तथा खर्चको विषयहरू विस्तृतरुपमा प्रस्तावहरू पेश हुने व्यहोरा यस सभा समक्ष जानकारीको लागि अनुरोध गर्दछु ।
सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,
अब म यस गरिमामय सभामा अगामी आर्थिक वर्ष २०८२।०८३ को बजेट प्रस्तुत गर्नु पूर्व चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्वन्धमा संक्षिप्तमा प्रकाश पार्न चाहान्छु ।
नगरसभाको १५ औँ अधिवेशनले संचित कोषमा जम्मा हुने रकमवाट आर्थिक वर्ष २०८१।०८२ का लागि रु. २४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट पारित गरेको थियो । कुल बजेटमा परिवर्तन नहुने गरी २०८२ पुष १४ गते वसेको नगरसभाको १६ औँ अधिवेसनले केही योजनाहरूलाई शंसोधन समेत गरेको थियो । बजेट कार्यान्वयनका लागि आन्तरिक तथा अन्य निकायवाट प्राप्त हुने आम्दानीमा रु.१२ अरब ९० करोड ६३ लाख रुपैयाँ, र वैक मौज्दात १२ अरब रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको बजेट कार्यान्वयनतर्फ हेर्दा कुल बजेट रु.२४ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँमा असार २५ गतेसम्मको कुल खर्च जम्मा रु.१३ अरब ३ करोड ७४ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ५२.१३ प्रतिशत हुन आँउछ । त्यसैगरी पूँजीगत तर्फ खर्च विश्लेषण गर्दा रु.१५ अरब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन भएकोमा जम्मा खर्च रु.६ अरब ७३ करोड ७४ लाख ८० हजार रुपैयाँ रहेको छ । जुन कुल बजेटको ४४.७२ प्रतिशत हुन आउँछ । चालू तर्फ रु.९ अरब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन भएकोमा रु.६ अरब २२ करोड ९९ लाख ८० हजार रुपैयाँ खर्च भएको छ । जुन कुल बजेटको ६३.४२ प्रतिशत हो ।
क्षेत्रगतरुपमा बजेट विश्लेषण गर्दा आर्थिक विकास क्षेत्रतर्फ कुल रु.७४ करोड ३९ लाख ८१ हजार विनियोजन भएकोमा त्यसको ३७.६९ प्रतिशत खर्च भएको छ । त्यसैगरी, सामाजिक क्षेत्रतर्फ कुल विनियोजन रकम रु.५ अरव ४२ करोड ३० लाख ४८ हजार रुपैयाँमा ४७.९२ प्रतिशत खर्च भएको देखिएको छ । पूर्वाधार क्षेत्रमा कुल विनियोजन रकम रु.११ अरव ३९ करोड ३९ लाख १७ हजार रुपैयाँमा ५२.५२ प्रतिशत रकम खर्च भएको देखिएको छ । त्यसैगरी सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा कुल विनियोजन भएको रकम रु.३ अरव २४ करोड ५२ लाख ५१ हजार रुपैयाँमा त्यसको २८.८ प्रतिशत रकम खर्च भएको छ भने कार्यालय सन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ कुल विनियोजन भएको रकम रु.४ अरव २० करोड २४ लाख ५२ हजार रुपैयाँमा त्यसको ७७.०२ प्रतिशत रकम खर्च भएको छ ।
राजश्व आम्दानीतर्फ चालू आर्थिक वर्षमा रु.१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँको लक्ष्य निर्धारण गरिएको थियो । त्यसमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य रु.८ अरब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । मिति २०८२ असार २५ गतेसम्म कुल रु.१० अरब ९ करोड ८५ लाख १५ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।
जसमध्ये आन्तरिक आय अन्तर्गत रु.५ अरब ४९ करोड ८८ लाख १९ हजार रुपैयाँँ रहेको छ । समग्र प्रतिशतमा हेर्ने हो भने कुल आम्दानीको लक्ष्य अनुसार प्रगति ७८.२४ प्रतिशत हुन आउँछ । आन्तरिकतर्फ कुल लक्ष्यको ६८.४३ प्रतिशत प्रगति भएको देखिन्छ । चालू आर्थिक वर्षमा संघ, प्रदेशवाट राजश्व वाँडफाँडवाट लक्ष्यको ९०.६४ प्रतिशत राजश्व प्राप्त भएको छ भने, आन्तरिक अनुदान (समानिकरण र शसर्त) मा लक्ष्यको ९८.४६ प्रतिशत रकम अनुदान मार्फत प्राप्त भएको छ ।

सभाध्यक्षज्यू तथा नगर सभा सदस्यज्यूहरू,
अब म काठमाडौं महानगरपालिकाको अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि बजेट पेश गर्न चाहन्छु । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा गर्दा बजेटका परिलक्ष्ति उद्देश्य हासिल गर्न मैले देहाय अनुसारका क्षेत्रगत र कार्यक्रमगत प्राथमिकता निर्धारण गरेकी छु :
१. उपलब्ध श्रोत,सूचना र मानब संसाधनको उच्चतम परिचालन गर्दै विकासको गतिलाई तिब्रता दिने बिषयहरू,
२. स्थानीय स्रोत र साधनलाई सन्तुलित र समन्यायिक ढंगले परिचालन गरी आर्थिक असमानता र गरिवी न्यूनिकरण गर्ने विषयहरू,
३. सामाजिक, आर्थिक, भौतिक पूर्वाधार विकासमार्फत समुन्नत र समाजबाद उन्मुख राष्ट्रिय अर्थतन्त्र निर्माणमा महानगरको आर्थिक गतिविधिहरू मार्फत योगदान गर्ने विषयहरू,
४. लैङ्गिक समानता र सामाजिक समावेशीकरणलाई टेवा पुग्ने कार्यक्रम मार्फत समतामूलक समाज निर्माण गर्ने विषयहरू,
५. स्थानीय भाषा, संस्कृति तथा सस्पदाहरूको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पु–याउने बिषयहरू र
६. बढ्दो बेरोजगार दरलाई न्यूनिकरण गर्न स्वदेशमै सिप तथा तालिम दिई स्वरोजगार वनाई विदेशिने दर घटाउने विषयहरू,
७. खाद्य गुणस्तरलाई प्राथमिकता दिई गुणस्तरीय वस्तु तथा सेवा जनतालाई उपलब्ध गराउने विषयहरू ।
अगामी आर्थिक वर्षको वार्षिक नीति तथा बजेट कार्यक्रम तर्जुमाका क्रममा विभिन्न दस्तावेजहरूको आधार लिइएको छ । जस्मा नेपालको संविधान, नेपालको सोहै योजना, संघ तथा प्रदेश सरकारवाट प्राप्त नीतिगत विषयवस्तुलाई मार्ग दर्शनका रुपमा लिइएको छ । साथै दिगो विकासका लक्ष्यहरू,अन्तरराष्ट्रिय सन्धी सम्झौताहरूलाई समेत आधार वनाइएको छ । प्रस्तुत नीति तथा कार्यक्रमवाट काठमाडौँ महानगरवासीहरूको समग्र हितमा टेवा पुग्ने विश्वास मैले लिएको छु ।

सभाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू,
काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमलाई साकार पार्न आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ संचितकोषमा व्ययभार पर्ने र ६५ करोड रुपैयाँँ अन्य बाह्य व्ययभार हुने गरी कुल रु.२५ अरव ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट पेश गर्न चाहान्छु ।
अगामी आर्थिक वर्षको लागि सन्चित कोषमा २५ अरब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ जम्मा हुने देखिएको छ । जसमध्ये काठमाडौँ महानगरपालिकाको आन्तरिक आय र वैक मौज्दात गरी कुल २० अरव १२ करोड ६४ लाख रुपैयाँको स्रोत व्यवस्थापन हुने अनुमान गरिएको छ भने नेपाल सरकार तथा प्रदेश सरकारवाट शसर्त, समानिकरण, राजश्व वाँडफाँडवाट प्राप्त हुने अनुदान ४ अर्ब ९८ करोड ७९ लाख ४१ हजार रुपैयाँको स्रोत सुनिश्चित भएको छ ।
क्षेत्रगत रुपमा हेर्दा प्रस्तुत बजेट तथा कार्यक्रम अन्तर्गत आर्थिक विकासमा कुल बजेटको ३ प्रतिशत अर्थात ७५ करोड ३४ लाख ३० हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी सामाजिक विकासमा २० प्रतिशत अर्थात ५ अरव २ करोड २८ लाख ६८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । त्यसैगरी पूर्वाधार विकास तर्फ ५१ प्रतिशत अर्थात १२ अरव ८० करोड ८३ लाख १४ हजार रुपैयाँँ रहेको छ भने सुशासन तथा अन्तरसम्वन्धित क्षेत्र तर्फ १२ प्रतिशत अर्थात ३ अरव १ करोड ३७ लाख २१ हजार प्रस्ताव गरिएको छ भने कार्यालय संन्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ प्रतिशत अर्थात ३ अरव ५१ करोड ६० लाख ८ हजार रुपैयाँ प्रस्ताव गरिएको छ ।
अगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनाहरूलाई उच्च प्रथामिकतामा राखिएको छ, भने फोहोरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा सुधार,सुशासन प्रवद्र्धन, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको क्षमतावृद्धि,एक वडा एक उद्यम कार्यक्रमलाई प्रवद्र्धन गरी रोजगारी र आयवृद्धीगर्ने कार्यक्रमहरूलाई समेत उच्च प्राथामिकतामा राखिएको छ । त्यसैगरी काठमाडौ महानगरपालिका क्षेत्रभित्रको ध्वनी प्रदुषण कम गर्ने, सार्वजनिक यातायातलाई व्यवस्थित गर्ने, महानगरक्षेत्रभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक,महत्व वोकेका मठ, मन्दिर,बहाल, पोखरी, हिटी,वहाः वही, ननी लगायतका सम्पदास्थलहरूको संरक्षण र प्रवद्र्धनमा समेत येथेस्ट बजेट व्यवस्थापन गरिएको छ ।
सभाध्यक्षज्यू एवं नगरसभा सदस्यज्यूहरू,
अगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ काठमाडौँ महानगरपालिकाले लक्ष्य अनुसारको प्रगति हासिल गर्न देहायका नीतिहरू अवलम्वन गरेको छ :
अगामी आर्थिक वर्षका लागि राजश्व असुलीलाई प्रभावकारी वनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदाताहरूलाई व्यवसाय। कारोवारस्थलमा नै गई समन्वय तथा सहजिकरण गर्ने कार्यलाई प्राथमिकतामा राखिनेछ ।
त्यसैगरी अगामी आर्थिक वर्ष २०८२।०८३ मा करको दायरामा नआएका करदाताहरूलाई करको दायरामा ल्याउन पौष मसान्तसम्म कर वुझाउने करदातालाई १० प्रतिशत छुट दिइएको छ । वहाल करलाई एकद्धार प्रणाली मार्फत संकलन गर्न संधीय सरकारसंग समन्वय र सहकार्य गर्ने व्यवस्था मिलाइनेछ । साथै कर प्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही करका शिर्षकमा सिफारिस दस्तुर निशुल्क गरिएको छ । कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसंग सहकार्य गर्ने कार्यक्रमहरू प्रस्ताव गरिएको छ । कारदातालाई वस्तुगत संघहरूसंग आवद्ध गरी दायरा फराकिलो वनाउने सोच अधि सारिएको छ ।
सभाध्यक्षज्यू र नगरसभाका सदस्यज्यूहरू,
अन्त्यमा,
काठमाडौं महानगरपालिकाको अगामी आर्थिक वर्ष २०८२।०८३ को लागि यस गरिमामय सभामा प्रस्तुत भएको वार्षिक नीति तथा कार्यक्रमहरू समग्र महानगरक्षेत्रको विकासका लागि भएकाले यसको कार्यान्वयन गर्न सवै वर्ग, समुदाय, नगरसभाका सदस्य, कार्यापालिका सदस्य, कर्मचारी, पत्रकार सवै एक जुट भएर सक्रिय हुनुपर्ने देखिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरू शतप्रतिशत प्रगतिको अपेक्षा सहित उपस्थित सभाध्यक्षज्यू, नगरसभाका सदस्यज्यूहरू कार्यापालिका सदस्यज्यूहरू, नीति तथा कार्यक्रम वनाउन अहोरात्र खटिनुहुन स्रोत अनुमान समितिका पदाधिकार तथा विषयविज्ञ सदस्यहरू, बजेट तर्जुमा समितिका सम्पूर्ण सदस्यज्यूहरू, राजश्व परामर्श समितिका सदस्यज्यूहरू तथा कर्मचारीमित्र र पत्रकारमित्रहरूलाई पून एकपटक धन्यवाद दिन चाहन्छु ।
साथै, काठमाडौंलाई स्वच्छ, सफा, हरियाली, सुरक्षित साँस्कृतिक र जीवन्त सहरको रुपमा विकास गर्ने हाम्रो मूल उद्धेश्य साकार पार्नका लागि सम्पूर्ण महानगरबासी, जनप्रतिनिधि, कर्मचारी, करदाता महानुभावहरू, विकास साझेदार संघसंस्थाहरू,सरकारी,गैर–सरकारी तथा सामुदायिक संघसंस्थाहरू, संचार जगतप्रति हार्दिक अपील गर्दछु । यस बजेटको सफल कार्यान्वयनमा सबै पक्षहरूको साथ र सहयोगको समेत अपेक्षागरेको छु ।
धन्यवाद !
सुनिता डंगोल
उपप्रमुख, काठमाडौं महानगरपालिका ।
मिति २०८२ असार २९ गते आइतबार
नेपाल सम्वत, ११४५ दिल्लागा तृतीया
प्रतिक्रिया