घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा « Khabarhub

घर डुबान हुँदा वादी समुदायको बिचल्लीमा


२८ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लम्की– वर्षासँगै कैलालीको लम्की चुहा नगरपालिका–३ बल्चौरमा बसोबास गर्दै आएको वादी समुदायका घर डुबानमा पर्दा बिचल्ली भएको छ ।

वादीका १२ घर डुबानमा पर्दा घरपरिवारका सदस्यहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएका छन् । घरमा पानी पसे पनि कतिपय परिवार आफ्नै घरमा बसेका छन् । 

सो क्षेत्रमा ७१ परिवार वादीका छन् । घरमा पानी पसेपछि खाना पकाउन र शौच गर्न समस्या भइरहेको गुनासो उनीहरूको छ । काठको सानो कच्चीघरमा बस्दै आएकी ३३ वर्षीया रीमादेवी वादी डुबानकै कारण घरमा एक हप्तादेखि चुलो बाल्न नसकेको बताउँछिन् । 

उनले भनिन्, ‘घर वरिपरिको जमेको पानीमा सर्प हिँडिरहन्छन्, छोरालाई एक्लै घरमा छोडेर कतै काममा पनि जान सकेकी छैन ।’ उनका श्रीमान्को केही महिनाअघि नजिकै रहेको रानीजमरा कुलरिया सिँचाइ आयोजनको नहरमा डुबेर मृत्यु भएको थियो । 

श्रीमान्को निधनपछि रीमा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएकी छन् । उनले भनिन्, ‘नहरमा डुबेर श्रीमान्को मृत्युपछि अहिले आफू सहाराविहीन छु, तीन छोराछोरी पालेर बसेकी छु ।’

वर्षा भएपछि घर डुबानमा पर्ने र छाना पनि चुहिने समस्याले थप समस्या झेल्नु परेको अर्की महिला शान्ता वादीले बताउँछिन् । उनको घर परिसर वर्षाको पानी जम्दा भान्सा पनि पूरै पानी भरिएको छ ।

‘हजुर साह्रै दुःख पाइयो, न खाना पकाउने ठाउँ छ, न शौच गर्ने ठाउँ । कतिखेर साना बच्चा पानी डुब्ने हुन भन्ने चिन्ताले सताइरहन्छ ।’  उनले भनिन् ।

सरकारले बनाइदिएको कच्ची घरमा बस्दै आएका आफूहरूलाई यति बेला घर डुबानमा पर्दा समस्या हेरिदिने कोही नपाइएको अर्की महिला गजगी वादीको गुनासो छ । 
 
उनले भनिन्, ‘घर निर्माण गरिदिएर सरकारले राम्रो काम गरेको छ, तर पानी निकास हुने व्यवस्था नगर्दा डुबानको समस्या झेल्नुपर्यो, घरभित्रको खाद्यान्न र लत्ताकपडा भिजेर क्षति पुग्ने गरेको छ  ।’ 

घर डुबानमा परेपछि विपन्न वादी समुदायका कुनै पनि व्यक्ति केही दिनदेखि दैनिक मजदुरीमा जान सकेका छैनन् । मजदुरीमा जान नपाएर आफूहरूलाई बालबच्चाको बिहान साँझको छाक टार्न समस्या भएको अर्का अर्जुन वादीले भने ।

पूर्वपश्चिम राजमार्ग छेउमै रहेको यो बस्ती वर्षायामसँगै बर्सेनि डुबानमा पर्ने गरेको छ । बस्तीमा पानी निकासको व्यवस्था गरिए पनि त्यसले काम नगरेको उनीहरूको भनाइ छ ।

बस्तीमा रहेका रुख यसै वर्ष हटाइएपछि हावाहुरीको समयमा हुनसक्ने जोखिमको त्रासबाट मुक्ति पाइए पनि पानी निकासको व्यवस्था गरिएको छैन । उनीहरूले डुबानको समस्या समाधानका लागि सरकारलाई अनुरोध गरेका छन् ।
  
रमा वादीले भनिन्, ‘यो वर्षमा मात्र यसै बस्तीका दुई बालबालिकासहित चार जनाले नहरमा डुबेर ज्यान गएको छ, वर्षाले घर डुबानमा पर्ने  र नजिकै रानीजमरा कुरिया सिँचाइ आयोजनाको नहरमा मान्छे डुबेर मर्ने, बस्तीका लागि यो जोखिम देखियो ।’

विसं २०६४देखि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट यो क्षेत्रमा बसाइसराइ गरेका वादी समुदायका ७१ परिवारको बसोबास छ ।

भूमिहीन वादीका परिवारलाई सरकारले सोही क्षेत्रमा जग्गा उपलब्ध गराएर १४३ वटा सुरक्षित आवास(घर) निर्माण गरिदिएको छ । उक्त बस्तीका ३३ घरपरिवार मात्रै सुरक्षित आवास (घर) निर्माण गर्न बाँकी रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार  २ : ०८ बजे

यूएईद्वारा इरान, इराक र लेबनान यात्रामा प्रतिबन्ध, आफ्ना नागरिकलाई तत्काल फर्किन आग्रह

काठमाडौं– संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्ना नागरिकका लागि इरान,

सरकारविरोधी प्रदर्शनमा सहभागी इरानका २१ वर्षीय युवकलाई फाँसी

तेहरान- इरानमा एकजना २१ वर्षीय युवकलाई फाँसीमा चढाइएको छ। बीबीसी

रिपोर्ट भन्छ : इरानविरुद्ध अमेरिकी सैन्य कारबाही टुङ्गियो

वासिङ्टन- अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले इरानविरुद्ध २८ फेब्रुअरीमा सुरू भएको

बौद्धमा र्‍यालीसहित यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

काठमाडौं– भगवान् गौतम बुद्धको २५७०औँ जयन्ती शुक्रबार देशभर मनाइँदैछ । शान्तिका

विदेशी नागरिकता लिएका १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले विभिन्न देशको नागरिकता लिएर नेपाली नागरिकता