काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु « Khabarhub

काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात चल्न सुरु

चालक र यात्रु भन्छन्‌, ‘अब गरिखान पाइयोस्‌’



काठमाडौँ – देशको अवस्था सामान्य बन्दै गएपछि काठमाडौँ उपत्यकाभित्र सार्वजनिक यातायात चल्न थालेको छ ।

नेपाली सेनाले निषेधाज्ञा हटाउन र खुकुलो बनाउन थालेपछि सर्वसाधारणको आवश्यकतालाई मध्यनजर गर्दै सवारीसाधन सञ्चालनमा ल्याएको व्यवसायीले बताएका छन् ।

यातायात चलाउन सुरक्षा प्रशासनबाट कुनै रोकावट नभएको सानोठिमी भक्तपुरबाट रत्नपार्कसम्म सार्वजनिक माइक्रोबस चलाएर आएका राजन सापकोटाले बताए ।

‘गाडी चलाएर परिवार पाल्दै आएको छु, जीविकोपार्जनको बाटो नै यही माइक्रो हो’, सापकोटाले भने, ‘आवतजावतमा गरिएको सुरक्षा कडाइ अब खुकुलो हुँदै गएको छ, सर्वसाधारण पनि समस्यामा छन, त्यसैले सार्वजनिक व्यवसायीको कुनै निर्णय पर्खन सकिँन, आफ्नै जोखिममा माइक्रो लिएर सडकमा आएँ ।’

सार्वजनिक यातायात सञ्चालनमा आएको थाहा पाएपछि माइक्रोबास चढेर भक्तपुर ठिमीबाट बसपार्कमा छोरी भेट्न हिँडेको ६० वर्षीय प्रेमप्रसाद खतिवडाले बताए ।

‘आन्दोलनका कारण सोमबारदेखि छोरी र नातिनातिनी भेट्न पाएको थिइनँ, आज बल्ल घरबाट निस्किएको हुँ, गाडी निकै कम चलेको रहेछ, बसहरू खासै देखिएनन्, एक घण्टामा बल्ल माइक्रोबस भेटेँ, भोलिदेखि चाहिँ सहज भए हुन्थ्यो’ खतिवडाले भने ।

बानेश्वर आइपुगेपछि यातायात व्यवस्था कार्यालय र संसद भवनतिर नियालेर लामो श्वास तान्दै उनले भने, ‘२०४७ देखिको नागरिक आन्दोलन अनुभव गरेको छु, दुई दिनमै देश तहसनहस हुने अवस्था पहिले थिएन, नेताहरू पनि त्यस्तै हुन्, जनताको भलो हुने काम गर्न सकेनन्, सबै खरानी भयो ।’

सोमबार र मङ्गलबार भएको जेन–जी प्रदर्शन क्रममा बानेश्वर क्षेत्रमा रहेका यी दुई महत्वपूर्ण सार्वजनिक संरचनामा अराजक समूहले तोडफोड र आगजनी गरेको थियो ।

जेन्जी आन्दोलनका कारण सार्वजनिक सवारी नचलेपछि मङ्गलबारदेखि कार्यालयमै बस्नुपरेको लोकन्थली जान लागेका अर्का यात्रु भक्तबहादुर माझीले बताए ।

‘चार दिन अफिसमै सुतेँ, पालो दिन अरू साथीलाई बोलाउन पनि समस्या भयो, आज गाडी चलेको थाहा पाएपछि बल्ल घर जान लागेको हुँ’, उनले भने, ‘युवा भाईबहिनीले जरा गाडेर बसेको पुराना पुस्तालाई पन्छाएका छन्, अब नयाँ आउनेले हामी जनताको हक हितमा काम गरुन्, राम्रो होला भन्ने आशा छ ।’

गाडी चलेपछि किनमेलका लागि रत्नपार्क आएको लक्ष्मी लामाले बताइन् । ‘पसलहरू खुलेको छ भन्ने त मोबाइलमा देखेका थियौँ, गाडी चलेको थाहा पाएपछि केही किनमेल गरेर दशैँका लागि घर जाने सोचेर आएका हौँ, यता के कसो छ, त्यो बुझेर किनमेल गर्ने हो ।’

आज काठमाडौँमा आवतजावतमा कुनै रोकावट नभएको थाहा पाएपछि सोमबारपछि बल्ल घर जान लागेको रत्नपार्क–कपन रुटका माइक्रो सहचालक उद्धव खत्रीले बताए ।

‘सोमबारदेखि कलङ्कीमा बस्नुपरेको थियो, दिनमा गाडीको किस्ताबापत ४÷५ हजार रुपैयाँ तिनुपर्छ, तर गाडी चलाउन पाइएन, आज अलिक सहज भएको रहेछ, मान्छे भने छैनन्, अब काम गर्न पाए अलिक सजिलो हुनेछ’, उनले भने ।

नयाँ सरकारले आन्दोलन र हड्तालको स्थिति सिर्जना हुन नदिइ युवा व्यवसायीलाई देशमै टिक्नसक्ने वातावरण बनाउनसमेत खत्रीले सरकारसँग अनुरोध गरे ।

खाद्यान्न, डिजेल र पेट्रोललगायत अत्यावश्यक ढुवानीका सवारीसाधन भने बिहीबारदेखि नै सञ्चालनमा थिए । निजी सवारीसाधन पनि यतिबेला निर्वाध आवतजावत गरिरहेका छन् ।

सडकमा माइक्रो र टेम्पोलगायत साना सवारीसाधनहरू न्यून सङ्ख्यामा देखिएका छन् । ट्याक्सी तथा राइड सेयरिङ गर्दै आएकाहरू पनि यतिबेला सडकमा देखिएका छन् ।

निषेधाज्ञा खुकुलो भएको थाहा पाएपछि सडकमा आए पनि खासै मान्छे नपाएको राइड सेयरिङ चालक मिलन खनालले बताए ।

उपत्यकामा मात्रै होइन, शुक्रबारदेखि अरनिको राजमार्ग अन्तर्गत लोकन्थली, कौशलटार क्षेत्र र नयाँ बसपार्कबाट पनि लामो दूरीका सवारीसाधन छुटिरहेका छन् ।

हालसम्म कुनै सार्वजनिक निर्णय नभएकाले स्थानीय प्रशासनसँग सहकार्य गरेर मात्रै यातायात सुचारु गर्न अनुरोध गरेको नेपाल व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।

सडकमा सेनाको उपस्थिति अघिल्ला दिनको तुलनामा शनिबार कम देखिएको छ । तर, औपचारिक रूपमा निषेधाज्ञा खुला गरिएकोबारे काठमाडौंमा कुनै सूचना जारी गरिएको छैन । ललितपुर र भक्तपुरले भने शनिबारदेखि निषेधाज्ञा तथा कर्फ्यु स्थगित गरिसकेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  १ : ५३ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते