महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख « Khabarhub

महोत्तरीको वन क्षेत्रमा ढालिए सयौँ सालका रूख


२८ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – जेनजी प्रदर्शनको मौका छोपेर महोत्तरीको वन क्षेत्रमा सयौँको सङ्ख्यामा साल (सखुवा) का रूख ढालिएका छन् ।

पूर्वपश्चिम राजमार्गबाट बर्दिवास–५ टुटेश्वरधाम र गणन्ता बस्ती जाने सडक छेउका दुई सय २५ वटा सालका रूख ढालिएका डिभिजन वन कार्यालय महोत्तरीले पुष्टि गरेको छ । बर्दिवास–५ मा पर्ने टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको क्षेत्रमा पर्छ । 

‘गत मंगलबारदेखि बिहीबार रातिसम्म यी रूख काटिएको हुनुपर्छ । जेन-जी आन्दोलनले सर्वसाधारण र वन कर्मचारीको आउजाउ निकै पातलिएको बेला पारेर रूख ढालिएका हुन्’, डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजय मिश्रले भने, ‘यो जघन्य अपराधमा संलग्नको खोजी भइरहेको छ ।’ गढन्ता सडक छेउका नौ र अरु रूख टुटेश्वर सडक छेउका काटेर ढालिएका छन् ।

गत मंगलबार केही मान्छे पूर्वपश्चिम राजमार्ग छेउकै वन क्षेत्रभित्रको टुटेश्वर साझेदारी वन उपभोक्ता समितिको कार्यालय आगजनी र तोडफोड गर्ने प्रयासमा पुगेको बुझिएको उनको भनाइ छ । उनीहरूले सो दिन कार्यालयमा समितिका पदाधिकारी र कर्मचारी देखेपछि तोडफोड नगरे पनि त्यसयता दुई सडक किनार (टुटेश्वर र गणन्ता सडक) छेउका रूख ढालेका हुन सक्ने अहिले उनको भनाइ छ । 

शुक्रबार सर्वसाधारण र कर्मचारीको  आउजाउ बढेपछि ढालिएका रूख देखिएका हुन् । डिभिजन वन कार्यालयले तत्काल यस घटनामा संलग्नको खोजतलास थालेको छ । 

दुवै सडक छेउका रूख काटिएका हुँदा यो सडक विस्तार प्रयोजनले काटिएका हुन् कि भन्ने वन अधिकारीहरूको अनुमान छ ।

टुटेश्वर साझेदारी वन उपभोक्ता समिति विसं २०६८ मा बनेको हो । यो वनक्षेत्र ९९८.९८ हेक्टर क्षेत्रफलमा छ । यहाँका ढलापडा (ढलेका, धोद्रिएका र बाढीले बगाएर ल्याएका) रूख डिभिजन वन कार्यालयको प्रत्यक्ष रेखदेखमा साझेदारी वन उपभोक्ता समितिले उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको छ । यस वनबाट ३० हजार बढी जनसङ्ख्या लाभान्वित छन् । यस साझेदारी वनबाट लाभ लिने गौशाला नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५ र ८ एवं बर्दिवास नगरपालिका–५ का उपभोक्ता छन् । यस वन क्षेत्रमा बहुमूल्य मानिने सालका रुख ४२ प्रतिशतमाथि रहेका डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा विभिन्न साझेदारी, सामुदायिक, सागरनाथ वन विकास परियोजना, सरकारबाट व्यवस्थित राष्ट्रिय वन, कवुलियती र धार्मिक वनसहित जम्मा २२ हजार दुई सय ४६ हेक्टर वनक्षेत्र रहेको डिभिजन वन कार्यालयको अभिलेखमा उल्लेख छ । सडक विस्तार, बिजुलीको लाइन विस्तार, पूर्वपश्चिम रेल  र अतिक्रमणको चपेटामा वन पर्दै आएको छ । 

विसं २०३६ को जनमतसङ्ग्रहको रापतापको बेलामा निकै वन फडानी भएको वनक्षेत्र नजिकका बस्तीका बुढापाका सम्झन्छन् । प्रत्येकजसो राजनीतिक आन्दोलनको रापतापमा वनक्षेत्र मासिने, फाँडिने र अतिक्रमणको चपेटामा पर्ने गरेको बर्दिवास–५ गणन्ताका बासिन्दा करिब ९० वर्षीय सामाजिक अगुवा धनबहादुर स्याङ्वा सम्झन्छन् ।

विसं २०३६ यता विभिन्न आन्दोलनको समयको सेरोफेरोमा वन फाँडेर बस्ती बसाउने क्रमले राजनीतिक संरक्षण प्राप्त गर्दा यहाँ पाँच हजार हेक्टरभन्दा बढी वनक्षेत्र अतिक्रमणको चपेटामा परेको वन अधिकारी नै स्वीकार गर्छन् ।

जिल्लामा ७६ सामुदायिक, तीन साझेदारी, एक धार्मिक, राष्ट्रिय वन, कवुलियत वन र सागरनाथ वन विकास परियोजनाका वन प्लट छन् । जसमा सबैभन्दा बढी सामुदायिक वन सात हजार नौ सय ४५, सागरनाथ वन विकास परियोजना छ हजार दुई सय ४५, साझेदारी वन चार हजार सात सय ९१, राष्ट्रिय वन तीन हजार दुई सय ४५, धार्मिक वन २१।०५ र कवुलियती वन १९।३४ हेक्टरमा रहेको डिभिजन वन कार्यालय महोत्तरीको अभिलेखमा उल्लेख छ ।
 

प्रकाशित मिति : २८ भाद्र २०८२, शनिबार  ४ : २० बजे

‘जान्नेलाई छान्ने’ नारा योग्यता होइन, भ्रष्टताको संस्थागत रूप हो : महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ शक्तिका रूपमा

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक