राजनीतिक अस्थिरताको लाभ सुर्ती उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता « Khabarhub

राजनीतिक अस्थिरताको लाभ सुर्ती उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता


२७ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुर्तिजन्य पदार्थमा कर बढाउने र चुरोटका प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्ने कानुनको कार्यान्वयनको विषयमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

स्वास्थ्य खबर फाउन्डेसनले आयोजना गरेको छलफल कार्यक्रममा सहभागीहरूले हाल देशमा देखिएको राजनीतिक अस्थिरताका कारण सुर्ती उद्योगीले मौका छोप्न सक्ने भन्दै सचेत रहनुपर्नेमा जोड दिएका हुन् । 

जेन-जी आन्दोलनपछि बनेको सरकारलाई जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको सुझाव दिँदै उद्योगीहरूले प्रभाव बढाउन खोजेको भन्दै चनाखो हुनुपर्नेमा अधिकांश सहभागीले जोड दिएका थिए ।

कार्यक्रममा स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सुर्तीजन्य पदार्थसम्बन्धी कानुनको कार्यान्वयनमा अवरोध आउने गरेको बताउँदै सचेत भएर अघि बढ्नुपर्ने बताइन् । उनले भनिन्, १८ वर्ष नपुगेकालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने, एउटा मात्रै पिस बेच्न नपाइने, देखाएर बेच्न नपाइनेजस्ता नियम भए पनि कार्यान्वयन नभएको स्थिति छ। 

डा.थपलियाका अनुसार यस्ता पदार्थमा कर बढाउँदा प्रयोग दर घट्ने विभिन्न अध्ययनले देखाएका छन् । उनले सुर्तीजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सञ्चार माध्यमको निरन्तर प्रयास आवश्यक रहेको उल्लेख गर्दै भनिन्, ‘सञ्चार माध्यमले नियमित सचेतनामूलक सामग्री प्रकाशन र प्रसारण गरे नतिजा सकारात्मक आउँछ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कानुन उपसचिव गोपीकृष्ण रेग्मीले सुर्तीजन्य पदार्थरहित नेपाल निर्माण नै सबैकै साझा लक्ष्य भएको बताए। उनले गत माघ २१ गते मन्त्रालयले जारी गरेको निर्देशिकाअनुसार सुर्तीजन्य पदार्थको प्याकेजिङमा १०० प्रतिशत चेतावनीमूलक चित्र छाप्नुपर्ने व्यवस्था ल्याइएको जानकारी दिए ।

तर, उद्योगीहरूले त्यस विरुद्ध विभिन्न मुद्दा हालेकाले कार्यान्वयनमा ढिलाइ भएको उनले बताए । रेग्मीले भने,’अदालतमा मुद्दासँग सम्बन्धित सबै कागजात पुगेका छन्, हाम्रो मान्यता स्पष्ट छ, यो नियम शतप्रतिशत लागू हुनै पर्छ ।’ उनले यस्ता अवस्थाको फाइदा अरूले नलिउन् भनेर सबै सचेत हुनुपर्नेमा जोड दिए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रणका कानुनमाथि भएका अवरोधहरूलाई परास्त गर्दै हालको अवस्थामा आइपुगिएको बताए  । 

उनले भने, ‘अदालतमा मुद्दा हालेर ढिलासुस्ती गराउने प्रचलन विश्वव्यापी हो । उद्योगीहरूले हरेक कानुनविरुद्ध मुद्दा हाले पनि सर्वोच्च अदालतले प्रायः सार्वजनिक स्वास्थ्यकै पक्षमा निर्णय गरेको पाइन्छ ।’

चन्दका अनुसार ९० प्रतिशत चित्राङ्कन प्रभावकारी भएको अनुसन्धानले देखाएको छ, त्यसैले नेपालमा १०० प्रतिशत चित्रको नीति दीर्घकालीन रूपमा सफल हुने विश्वास गर्न सकिन्छ । 

जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुंगानाले सुर्तीजन्य पदार्थमा शतप्रतिशत चित्राङ्कन र ‘प्लेन प्याकेजिङ’ प्रणालीबारे प्राविधिक जानकारी प्रस्तुत गर्दै एउटै कम्पनीलाई विभिन्न ब्रान्ड उत्पादन गर्न नदिनेलाई समेत छलफलमा ल्याउनुपर्ने बताए । 

उनले भने, ‘अस्ट्रेलियामा प्लेन प्याकेजिङका कारण उद्योगीले सर्वोच्च र अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हारेका थिए । त्यसैले नेपालमा पनि अदालतको फैसला जनस्वास्थ्यको पक्षमा आउने अपेक्षा गर्न सकिन्छ।’

स्वास्थ्य खबर फाउन्डेसनका अध्यक्ष प्रवीण ढकालले जेन-जी आन्दोलनपछि जनस्वास्थ्यका महत्त्वपूर्ण मुद्दा ओझेलमा परेकाले पुनः केन्द्रमा ल्याउन यो कार्यक्रम आयोजना गरिएको बताए। उनले आगामी दिनमा पनि सुर्ती नियन्त्रणसम्बन्धी विषयलाई प्राथमिकतामा राख्दै निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा पत्रकार र स्वास्थ्य सरोकारवालाले कानुन कार्यान्वयन र बजेटको सदुपयोगबारे पनि प्रश्न उठाए । 

पत्रकार रामप्रसाद न्यौपानेले अदालतको मुद्दाको अवस्थाबारे प्रश्न सोधे भने, प्रेस काउन्सिल नेपालका सदस्य पदमराज जोशीले कर कोषमा सचेतनाका लागि विनियोजित बजेट प्रभावकारी रूपमा प्रयोग हुन नसकेको उल्लेख गरे।

हेल्थ कन्सर्नका अध्यक्ष डा.सुवास प्याकुरेलले कानुन कार्यान्वयनपछिको प्रभावबारे अनुभव साझा गर्दै जनचेतनामूलक कार्यक्रमहरू अझ बलियो बनाउनुपर्ने सुझाव दिए । त्यस्तै पत्रकार अतुल मिश्रले ‘ज्ञान हुनु र व्यवहारमा देखाउनु फरक कुरा हो’भन्दै व्यवहार परिवर्तनका लागि योजनाबद्ध प्रयास आवश्यक रहेको बताए ।

सरकारले गत माघमा ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको थियो । 

उक्त निर्देशिकाअनुसार भदौदेखि लागू हुने भनिए पनि उद्योगीहरूले अदालतमा मुद्दा हालेकाले कार्यान्वयन रोकिएको छ ।

सरोकारवालाहरूले भने जनस्वास्थ्यका पक्षमा सर्वोच्च अदालतबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार  ५ : १६ बजे

ध्वंसमा नभई शान्तिबाट मात्रै देशको विकास हुन्छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले शान्तिको बाटोबाट देशलाई विकासतर्फ अघि

विकासको सपनालाई साकार पार्ने तयारी र कार्यान्वयन आवश्यक : अध्यक्ष ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विकासका

आजका समाचार : निर्वाचन एकै चरणमा, कांग्रेसले चुनावअगाडि कसैसँग तालमेल नगर्ने, इरान-अमेरिका वार्ता भोलि र अभ्यास खेलमा नेपाल विजयी

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच निर्वाचनकेन्द्रित वार्ताप्रधानमन्त्री सुशीला कार्की

अमेरिकासँग वार्तामा सहभागी हुन इरानलाई आग्रह

दोहा– जर्मनीका चान्सलर फ्रेडरिक मर्जले इरानलाई अमेरिकासँग हुने योजनाबद्ध वार्तामा

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर– प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर शान्तिपूर्ण