फेमेखोलामा पुल निर्माण गर्न माग | Khabarhub Khabarhub

फेमेखोलामा पुल निर्माण गर्न माग


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पाँचथर– फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलामा पुल निर्माण गरिदिन फिदिम नगरपालिकाले माग गरेको छ । गत असोज १२ गते आएको बाढीले पुल बगाएको उक्त स्थानमा ‘बेलिब्रिज’ निर्माण गरी आगामी वर्षायाममा यातायात सञ्चालन गर्न फिदिम नगरपालिकाले माग गरेको हो ।

प्रदेश र सङ्घीय सरकारलाई पटकपटक आग्रह गर्दा पनि पुल निर्माण अघि बढ्न नसकेको नगरप्रमुख मित्रप्रसाद काफ्लेले बताए। उक्त स्थानमा बेलिब्रिज निर्माण नभए वर्षायाममा बिरामीलाई अस्पताल पुर्‍याउन बाटो नहुने र प्रभावित क्षेत्रमा खाद्य संकट हुने नगरपालिकाको चिन्ता छ ।

बिहीबार पत्रकार सम्मेलन गर्दै फिदिम नगरपालिकाले उक्त स्थानमा यथाशीघ्र बेलिब्रिज निर्माण अघि बढाउन माग गरेको हो । बाढीले फिदिम–फालोट सडकअन्तर्गत फेमेखोलाको २५ मिटर लामो सडक पुल बगाएको थियो । पुल बगेपछि अस्थायी डाइभर्सनमार्फत सवारीसाधन खोला पार गर्ने गरेका छन् । 

तर आगामी वर्षायामसम्ममा बेलिब्रिज निर्माण नभए यो बाटो प्रयोग गर्ने फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाका नागरिक प्रभावित हुनेछन् । वर्षा हुनासाथ अहिले निर्माण भएको अस्थायी डाइभर्सन बगाउने खतरा छ । डाइभर्सनमा क्षति हुनासाथ फिदिम नगरपालिकाका–१०, ११, १२ र १३ तथा फालेलुङ गाउँपालिकाको सदरमुकाम फिदिमसँगको सडक सम्पर्कविच्छेद हुने छ ।

फिदिम–फालोट सडक कालोपत्रको काम कोशी प्रदेश सरकारले गरिरहेको छ । पुल निर्माण पनि प्रदेश सरकारले नै गर्नुपर्ने भए पनि हालसम्म प्रक्रिया अगाडि बढ्न सकेको छैन । 

“अहिलेसम्म बजेट सुनिश्चित भएको छैन । प्रदेश सरकारबाट पनि पहल गर्छौँ भन्ने जवाफमात्र आएको छ”, नगरप्रमुख काफ्लेले भने, “नागरिकले नगरपालिका के गरेर बसिरहेको छ भन्न थाल्नुभएको छ । नगरपालिकाले बेलिब्रिज लगाउन सक्ने कुरा भएन ।” 

आफूहरूले पत्राचार, टेलिफोनलगायत माध्यमबाट पहल गरे पनि बेलिब्रिज निर्माणका लागि बजेटको व्यवस्था हुन नसकेको नगरप्रमुख काफ्लेको गुनासो छ ।

प्रदेश र सङ्घीय सरकारबाट यस वर्ष पुल निर्माण नहुने जानकारी पाएको अवस्थामा नगरपालिकाले डाइभर्सन निर्माणको काम थाल्ने नगरप्रमुख काफ्लेको भनाइ छ । 

“बाटो नबनाए बिरामी र सुत्केरीलाई फिदिम ल्याउने पनि उपाय हुँदैन”, काफ्लेले भने । यस्तै पहिरोले फिदिम–३ स्थित लालीखर्क स्वास्थ्य चौकीको भवन पुर्दा स्वास्थ्य सेवा सञ्चालन हुन नसकेको तथा फिदिम–६ को काफलबोटे आधारभूत विद्यालयको चारकोठे भवन पहिरोले बगाउँदा उक्त विद्यालयको पठनपाठन प्रभावित बनेको नगरप्रमुख काफ्लेले बताए ।

नगर क्षेत्रभित्र रू एक करोड चार लाखको लागतमा पहिरोबाट क्षतिग्रस्त शाखा सडकको मर्मत र पुनःनिर्माण गरिएको नगरपालिकाले जनाएको छ । यस्तै पहिरोले पूर्ण क्षति भएका ९० घरलाई अस्थायी आवास निर्माणका लागि रू २५ हजारका दरले पहिलो किस्तावापतको रकम उपलब्ध गराउन थालिएको नगर प्रमुख काफ्लेको भनाइ छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ९ : २५ बजे

स्कटल्याण्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

दीपेन्द्र र सोम्पालको अर्धशतक पूरा

काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

बिर्तामोडमा पुरुषको शव भेटियो

झापा – बिर्तामोड नगरपालिका–२ चैतुवाडीस्थित श्रीराम प्लाई उदोग नजिकैको कच्ची

ओडीआईमा दीपेन्द्रको एक हजार रन पूरा

काठमाडौं – नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले अन्तराष्ट्रिय एक

माधव नेपालले भने : पतञ्जलि जग्गा प्रकरणमा गहन अनुसन्धान आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले