महानगरका प्रहरी प्रमुख पाण्डे भन्छन् - ‘कबाडीखाना जुनसुकै हालतमा हटाउँछौँ’ | Khabarhub Khabarhub

महानगरका प्रहरी प्रमुख पाण्डे भन्छन् – ‘कबाडीखाना जुनसुकै हालतमा हटाउँछौँ’


२ फाल्गुन २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाको नगर प्रहरीले काठमाडौं उपत्यकाको बस्तीभित्र रहेका कबाडी व्यवसायीलाई हटाउन सख्त अभियान चलाइरहेको छ । यही विषयमा जानकारी दिन भन्दै नगर प्रहरीले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्‍यो ।

दिउँसो १ बजेका लागि बोलाइएको पत्रकार सम्मेलनमा पत्रकार कम, युट्यूबर बढी थिए । निर्धारित समयमै सुरु भएको सम्मेलनमा महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले नै पत्रकारलाई सम्बोधन गरे ।

पाण्डे सुरुमै आक्रोशित हुँदै कबाडी व्यवसायीमाथि खनिए । काठमाडौं महानगरपालिकाको कार्यपालिकाले आवासीय क्षेत्रमा कबाडी व्यवसाय सञ्चालन गर्नै नदिने भन्दै तुरुन्त हट्न निर्देशन दिए । व्यवसायीलाई गुन्डाकै संज्ञा दिँदै पाण्डेले आवासीय क्षेत्र छाडेर बाहेक खुला ठाउँमा जान भने ।

‘कबाडी व्यवसायीले आफूहरू प्रतिकारमा उत्रिने भनेका छन् नि !’ भनी सोधेको प्रश्नको जवाफ दिने क्रममा पाण्डेले कबाडी व्यवसायीलाई गुन्डा संज्ञा दिएका थिए ।

‘उहाँहरू (कबाडी व्यवसायी) जतिसक्दो चाँडो हटेर जानुस्, नहटे हामी निर्मम तरिकाले कारबाही गछौँ’, पाण्डेले आक्रोशित हुँदै भने, ‘उहाँहरूले गुण्डागर्दी गरिरहनुभएको छ ।’

कबाडी व्यवसायी प्रायःले अदालतमा मुद्दा लिएर जाँदा रिट नै खारेज भएको समेत पाण्डेले दाबी गरे । कबाडी व्यवसायीले बनाएका अस्थायी टहराहरू महानगरले दर्ता र नवीकरण नगरेको समेत पाण्डेले जानकारी दिए ।

‘महानगरभित्र खुला ठाउँमा उहाँहरूले व्यवसाय सञ्चालन गर्नुभयो भने हामीले केही पनि भन्दैनौँ’, पाण्डेले भने, ‘आवसीय क्षेत्रमा कबाडी व्यवसाय हटाउने भन्ने छ, त्यहाँ बाहेक अन्य ठाउँमा गरे हुन्छ ।’

पत्रकारको ‘तपाईँहरूले जग्गाधनी या घरवालालाई नभनेर व्यवसायीलाई नै किन धरपकड गर्नुभएको ?’ भन्ने प्रश्न गरे ।

पाण्डेले जवाफमा भने, ‘जग्गाधनीलाई पनि वडाको प्रतिनिधिले भनिरहनुभएको छ । कतिपय अवस्थामा घरधनी त्यहाँ बस्नुहुन्न । तर, जहाँ खाली ठाउँ छ – त्यहाँ जस्तापाताले घेरेर कबाडी राखिदिनुभएको छ । कतिपय घरधनी त नेपालमै हुनुहुन्न ।’

कात्तिकमा महानगरले कबाडी व्यवसायीलाई ठाउँ खाली गराउन भन्दै प्रत्येक कबाडखानामा सूचना टाँसिदिँदा पनि नहटेकोमा पाण्डेले आक्रोश पोखे । महानगर क्षेत्रभित्र झन्डै १०० को संख्यामा कबाडी व्यवसायी रहेकोमा कतिपय हटिसकेको र कतिपय हट्ने क्रममा रहेको पाण्डेको भनाइ थियो ।

महानगरबाट हट्न खोजेका व्यवसायीलाई सहजीकरण गर्ने विश्वाससमेत पाण्डेले दिलाउन खोजे । ‘तर, हामीले एकपटक हटाएको ठाउँमा फेरि कबाडखाना राख्न जबर्जस्ती गरिएको छ’, पाण्डेले पुनः आक्रोशित हुँदै भने, ‘स्थानीय तहको क्षेत्रभित्र स्थानीय तहको कानुन मान्दिनँ भन्नु अराजकता हो, त्यो हामी सहन्नौँ ।’

स्थानीय व्यक्तिले आफ्नो आवासीय क्षेत्रमा जोखिम बढ्यो, हल्लाखल्ला भयो, धराप भयो भन्ने गुनासो गरेपछि स्थानीय जनप्रतिनिधिले कार्यपालिका बैठकमा कुरा उठाएको र कार्यपालिकाले कानुन बनाएपछि आफूहरूले कार्यान्वयन गरेको पाण्डेको भनाइ थियो ।

‘स्थानीय जनप्रतिनिधिलाई धेरै गुनासो आउँछ नि त !’, पाण्डेले भने, ‘हामीले कोटेश्वर एरियामा कारबाही गर्दा जनप्रतिनिधि पनि सँगै हुनुहुन्छ ।’

आवासीय क्षेत्रमास्थानीय तहले तोकेको मापदण्डभित्र बस्न तयार हुनुपर्ने, अन्यथा हट्नुपर्ने पाण्डेले दोहोर्‍याए । ‘हैन भने जबरजस्ती जोखिम हुनेगरी बस्न पाइँदैन । म फेरि पनि अनुरोध गर्छु’, पाण्डेले भने ।

कबाडी व्यवसायीका कारण आवासीय क्षेत्रमा आगलागीका घटना बढेको पनि पाण्डेले उल्लेख गरे । कबाडी व्यवसायीले बनाएको संरचना नै मापदण्ड विपरीत रहेको उनले जानकारी दिए ।

‘उहाँहरूले जस्ता ठड्याएर राख्नुहुन्छ, त्यसलाई जुनसुकै बेला हावाले उडाउन सक्छ । त्यही जोखिम व्यवस्थापन गर्न खोजेको हो’, पाण्डेले भने, ‘उहाँहरूलाई व्यवसाय नगर्नुस् भनेको छैन, खुला ठाउँमा जानुस् भनेको हो । आवासीय क्षेत्रमा भएको गोदाम कारखाना हटाउन खोजेको हो ।’

स्थानीय वडामा नियम र प्रक्रिया पूरा गरेर सञ्चालन गरेका कबाडखानालाई आफूहरूले नरोकेको पाण्डेले बताए । भने, ‘महानगरले तोकेको मापदण्डभित्र रहेर गरिएका कामलाई हामीले कतै पनि रोकेका छैनौँ ।’

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ५ : ३० बजे

हिमालयन हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने 

काठमाडौं– हिमालयन हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ

विश्व पौडेलको छलाङ : देउवा परिवारसँग ‘कनेक्सन’को कमाल

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको

पूर्वराष्ट्रपति भण्डारीबाट बुद्धजयन्ती र उँभौली पर्वको शुभकामना 

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जीवनमा करुणा, अहिंसा र शान्तिले मात्रै

बुद्ध जयन्ती कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली लुम्बिनीमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी पुगेका छन् । २५६९औँ

राष्ट्रपति पौडेलबाट बौद्धस्थित गुम्बामा पूजा, आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले २५६९औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथस्थित गुरु ल्हाखाङ