काठमाडौं– गत चैत १५ गते काठमाडौंको तीनकुनेमा दुईजनाको ज्यान जाने गरी भएको घटनाका क्रममा मार्बल हाउसमा आगो लगाउनेमध्ये मुख्य अभियुक्तलाई प्रहरीले पहिचान गर्न सफल भएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गत चैत १९ गते नै नरेफाँटबाट पक्राउ गरिएका दुई युवकले तीनकुनेस्थित उक्त घरको पहिलो तलमा आगो लगाएको पत्ता लगाएको छ ।
चैत १५ तीनकुने क्षेत्रमा हिंसा भड्किएपछि एउटा घरको पेटीमा बसेर कराइरहेका युवक नै उक्त घरमा आगो लगाउने मुख्य अभियुक्त रहेको कार्यालयका प्रवक्ता एवम् एसपी अंगुर जिसीले खबरहबलाई बताए ।
जिसीका अनुसार रामेछापको सुनापानी गाउँपालिका–१ निवासी २२ वर्षीय तारा राजावादी भनिने सरोज गौतमको नेतृत्वमा उक्त घरमा आगो सल्काएको पत्ता लागेको छ।
चैत १५ गते नै गौतम तीनकुनेस्थित एक घरको पेटीमा बसेर कराइरहेको भिडियो भाइरल भएको थियो । त्यसबेला उनलाई प्रहरीले लाठी हानेको थियो भने अश्रुग्यासले भेटेर उनी आँसुसरी भएका थिए ।
पेटीमा बसेर भन्दै थिए- म मर्न तयार छु
खासमा यी युवक चैत १४ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई निर्मल निवास पुगेर बाहिरिएपछि राजावादीका ‘जनकमान्डर’ घोषित दुर्गा प्रसाईंकै कार्यकर्ता रहेको खुलेको छ।
सरोज गौतमलाई प्रसाईंले आफ्नो समूहका अनवरत तत्पर फौज (एनी टाइम फोर्स-एटीएफ) का प्रवक्ता एवम् जनसम्पर्क विभाग प्रमुखका रुपमा खटाएको खुलेको छ ।
आफ्नो उपनाम नै राजावादी राखेका सरोज चैत १५ गतेको प्रदर्शनलाई भड्काउनेमध्ये एक थिए । दुर्गा प्रसाईं र रवीन्द्र मिश्रले निषेधित क्षेत्र तोड्न भिडलाई उकासेपछि अवस्थालाई हिंसात्मक बनाउन भूमिका खेल्ने पात्रमध्ये एक थिए सरोज गौतम ।
उनी र अछामको पञ्चदेवल नगरपालिका–५ निवासी अनुपविक्रम शाही ठकुरी राजावादी भनिने गोकर्ण शाहीले एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकले भिडियो खिचिरहेको अवस्थामा मार्बल हाउसको पहिलो तलामा आगो लगाउँदै गरेको भिडियो नै अपराध अनुसन्धान कार्यालयले भेटेको छ।
खासमा चैत १५ गते दिउँसो प्रहरीको लाठी र अश्रुग्यास भेटेपछि सडक पेटीमा बसेर चिच्याइरहेको उक्त भिडियो नै सरोजसम्म पुग्ने क्लुका रुपमा प्रहरीले प्रयो गर्यो । उनी त्यही भिडियोका आधारमा चैत १९ मा नरेफाँटबाट समातिएका थिए ।
उनी पेटीमा बसेर छटपटिइरहेका बेला एकजना महिलाले चैत १५ गते दिउँसो पृष्ठभूमिमा भन्दैथिइन्, ‘पूरै टाउको निधारमै, टाउकोमै हानेको रहेछ ।’ ती महिलाको ढाडस पाएपछि सरोज त्यसबेला जोशिन पुगे ।
‘बरु म मर्न तयार छु, यो देशका लागि युद्ध छेडेर छाड्छौँ क्या हामी’, उनले त्यसदिन भनेका थिए, ‘बरु म एउटा सहिद हुन तयार छु, मर्न तयार छु, यस्तो चोट त केही पनि होइन ।’

कडा राजावादी
तीनकुनेमा आगो लगाएपछि हिंसा भड्किँदा पेटीमा बसेर कराइरहेका उनी कडा राजावादीका रुपमा निस्किएका छन् ।
चैत १९ मा पक्राउ गरेपछि अनुसन्धानका क्रममा प्रहरीले उनको तस्बिरहरू खिचेको थियो । चैत १५ मा आगो लगाउने क्रममा राजाकै तस्बिरअंकित टिसर्ट पहिरिएका उनले छातीमा पनि ट्याटु खोपेको भेटिएको छ । त्यसैगरी एउटा हातमा ‘राजतन्त्र जिन्दावाद’को नारासमेत लेखिएको छ ।
भिडियोमा पनि हेर्नुहोस् :
दायाँबायाँ छातीमा पूर्वराजा ज्ञानेन्द्र शाहको टोपी लगाएको र श्रीपेंच लगाएको ट्याटु खोपेका सरोज उनीहरूकै तस्बिर अंकित टिसर्ट लगाएको अवस्थामा मार्बल हाउसमा छिरेका थिए । टाउकोमा कफन जस्तै कपडा बेरेका उनले तीनकुने मार्बल हाउसमा आगो लगाउँदै गर्दा पनि आफूहरूको ट्रेलर के हो देखाइदिने बताइरहेका थिए ।
घरको पहिलो तलमा आगो झोस्दे गर्दा उनी भनिरहेका थिए, ‘बल्यो बल्यो हाम्रो आन्दोलन रोकिनेवाला छैन । दम भए छेकेर देखाऊ । अब अब हेर्नु हाम्रो टेलर के हो ।’
उनले यति भन्दै विभिन्न स्टेशनरीका सामानसमेत रहेको उक्त घरको पहिलो तलमा आगो सल्काए । उनीसँगै आगो सल्काउन खटिएका थिए अछामको पञ्चदेवल विनायक नगरपालिका–५ का अनुपविक्रम शाही ठकुरी । उनी पनि आफूलाई राजावादीका रुपमा चिनाउँथे । उनको खास नाम पनि गोकर्ण शाही हो । शाही पनि प्रसाईंले बनाएको एटीएफका सदस्य रहेको खुलेको छ ।

कसरी खुल्यो पोल ?
प्रहरीले चैत १५ को प्रकरणमा खासगरी तीनकुने आगजनी, भाटभटेनी लुटपाट र जडीबुटी उत्पादन कम्पनीमा भएको आगजनीमा केन्द्रित भएर अनुसन्धान गरिरहेको थियो ।
भाटभटेनीमा लुटका मुख्य नाइकेहरूलाई प्रहरीले अझैसम्म हिरासतमा राखेको छ । तर लुटपाटपछि सडक र भाटभटेनी परिसरमा छरिएका फलफूल र अन्य सामान लानेलाई भने कागज गर्दै परिवारको जिम्मा लगाइरहेको छ ।
यस प्रकरणमा अनुसन्धान गरिरहेको काठमाडौं प्रहरी परिसर, उपत्यका अपराध अनुसन्धान कार्यालयले मुख्य अभियुक्तहरूलाई नछाड्ने नीति लिएका छन् । त्यहीअनुसार चैत १५ गते साँझ नै रवीन्द्र मिश्र, धवलशमशेर जबरा र पुष्कर खतिवडासहित पक्राउ परेका छन् । उता उक्त प्रकरणपछि भागेका दुर्गा प्रसाईं पनि गत चैत २८ गते भारतको आसामबाट समातिइसकेका छन् ।
अनुसन्धान अघि बढाइरहेको प्रहरीकहाँ सरोजले घरको पेटीमा बसेर मर्न तयार छु भनेको भिडियो त पहिले नै पाइसकेको थियो । तर मार्बल हाउसभित्र आगो लगाउने मुख्य व्यक्ति उनै हुन् भन्ने कुरामा पनि प्रहरीले ठोस प्रमाण भेट्न सकिरहेको थिएन ।
प्रहरीकहाँ यसअघि सरोजले घरमा आगो लगाउँदै गरेको भिडियो पुगेको थिएन । सरोजले नारा लगाउँदै गरेको र पेटीमा कराइरहेको भिडियो भने पहिले नै पुगेको थियो । एसपी जीसीका अनुसार सरोज अरु नै भिडियोका आधारमा पक्राउ परेका थिए । उनलाई चैत १५ गते नै पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको थियो ।
‘अनुसन्धान चलिरहेको थियो । हामीले उक्त घरमा आगो लगाउनेहरूको पहिचान प्रयास गरिरहेका थियौँ’, जीसीले भने,‘अहिले हामीकहाँ आइपुगेको नयाँ भिडियो हेर्दा आगो लगाउने मुख्य अभियुक्त सरोज गौतम भएको खुल्न आयो । यस प्रकरणको अनुसन्धानमा नयाँ मोड आएको छ । घरमा आगो लगाउने दुवैजनाको पहिचान भएकाले अब अनुसन्धान पनि सहज भएको छ ।’
आगो लगाउनेमध्ये रामेछाका गौतम हाल भक्तपुरको पुरानो ठिमीमा बस्ने गरेका थिए । एटीएफका प्रवक्ता एवम् जनसम्पर्क विभाग प्रमुख गौतम र अछामको पञ्चदेव विनायक नगरपालिका-५ घर भई हाल ललितपुरको टीकाथली बस्ने एटीएफ सदस्य अनुपविक्रम शाही ठकुरी राजावादी भन्ने २० वर्षीय गोकर्ण शाहीमाथि अब नयाँ ढंगबाट अनुसन्धान अघि बढाइएको जीसीले बताए ।

राजावादीको तर्क
चैत १५ गतेको प्रदर्शनका क्रममा राजावादीहरूले प्रहरी घरको छतमा गएर अश्रुग्यास हानेको तर्क गरेका छन् । तर अहिलेसम्म प्राप्त सबै भिडियोले प्रहरी कुनै पनि घरको छतमा नरहेको पुष्टि गरेका छन् ।
चैत १५ गतेको प्रदर्शनलाई सबैभन्दा पहिले निषेधित क्षेत्र तोडेर दुर्गा प्रसाईंले नै भड्काएका थिए । उनले संसद् भवन कब्जा गर्ने भन्दै प्रहरीका तीन ब्यारिकेटलाई आफैंले चलाएको गाडीले किच्न खोज्दै अघि बढेपछि बल प्रयोग भएको थियो ।
प्रहरीले बल प्रयोग गरेर गाडी खोसेपछि प्रसाईं तीनकुनेकै एउटा घरको सटरमुनि लुकेका थिए । त्यसपछि उनी अर्को गाडी मगाएर भागेका थिए । भागेर ललितपुरस्थित आफ्ना गुरू पुष्कर खतिवडाको घरमा लुकेका उनी त्यही दिन दक्षिण ललितपुर हुँदै भागेर भारत पसेको खुलिसकेको छ ।
भारतमा पनि उनी लखनउ, दिल्ली, जयपुरतिर बरालिँदै अन्तिममा आसामस्थित नेपाली भाषीको घरमा लुकेको अवस्थामा पक्राउ परिसकेका छन् ।
चैत १५ गतेको प्रदर्शनका क्रममा उग्र भएका राजावादी ‘आन्दोलनकारी’ तीनकुनेको उक्त घरभित्र पसेर तोडफोड, लुटपाटपछि आगजनी गरेका थिए । यी दुई राजावादी युवकले घरमा आगो लगाएको भिडियो अन्य राजावादीले नै खिचेको खुलेको छ। उक्त भिडियो पनि भर्खरै प्रहरीकहाँ पुगेपछि आगो लगाउनेको पहिचान गर्न प्रहरी सफल भएको एसपी जीसीले बताए ।
राजावादीले उक्त घरमा प्रहरी पसेर टियर ग्यास हानेको दाबी गरेका छन् । तर त्यहाँका स्थानीयबासी र घरधनीलेसमेत कुनै पनि घरमा प्रहरी नछिरेको बताइसकेका छन् । यी राजावादीले लगाएको आगो र तोडफोडका कारण उक्त घर छियाछिया भइसकेको छ। यी राजावादीले आगो लगाएकै तलाबाट रिपोर्टिङ गरिरहेका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजक त्यहीँ जलेर बितेका छन् ।

मुद्दा
यी दुई राजावादीमाथि अपराधिक उपद्रो र सांगठनिक अपराधको कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनीहरू अहिले जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासमा छन् ।
घरमा आगो सल्काएको भिडियो प्राप्त भएपछि अब उनीहरूमाथि थप मुद्दा लाग्नेछ । दुवैविरुद्ध आगजनी र कर्तव्य ज्यानसम्मको मुद्दामा अनुसन्धान अघि बढ्न सकेन प्रहरीले जानकारी दिएको छ । त्यसदिन उक्त घरमा आगजनी हुँदा बाहिरिँदै गरेकी एनी कुँवर पनि अहिले हिरासतमा छिन् ।
गत चैत १५ गते राजसंस्था पुर्नस्थापनका नाममा दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वका राजावादीले प्रर्दशन गरेका थिए । राजावादी प्रर्दशनका नाममा अराजकता मच्याएपछि प्रसाईं पक्राउ पर्दा नवराज सुवेदी भने अहिले उनकै घरमा नजरबन्द छन् ।
यता गणतन्त्रवादी दलहरूले चैत १५ को उक्त प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष संलग्नता रहेको बताइरहेका छन् । पूर्वराजा शाहले भने आइतबार नयाँ वर्षको एक शुभकामना सन्देश जारी गर्दै चैत १५ गतेको प्रदर्शनपछि हिंसा र तोडफोडलाई दुखद भनेका छन् । १४ मिनेट लामो भिडियो जारी गर्दै उनले लोकतन्त्रमा सबैले शान्तिपूर्ण विचार राख्न र प्रदर्शन गर्न पाउने पनि तर्क गरेका छन् ।
उता नवराज सुवेदी नेतृत्वको समितिले उक्त प्रदर्शनमा पूर्वराजाको कतैबाट संलग्नता नरहेको बताइरहेका छन् । तर चैत १४ मा पूर्वराजाले निर्मल निवासमै बोलाएर प्रसाईं र सुवेदीसँग घण्टौँ लामो मन्त्रणा गरेका थिए । त्यसपछि मात्रै प्रसाईं राजावादीका जनकमान्डर भए । प्रसाईं पक्राउ र सुवेदी नरजरबन्दमा परेपछि अहिले राजावादी आन्दोलन समितिका संयोजक जगमान गुरुङ बनेका छन् ।
प्रतिक्रिया